देश जहाँ छोयो, त्यहीँ फाटेको छ : मन्त्री किराती

कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश सोचेभन्दा फरक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ६२ औं रंगमञ्च दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताए । 

मन्त्री किरातीले १० वर्ष सांसद भइसक्दा आफूले देशको बारेमा सबैकुरा बुझेको जस्तो अनुभव भए पनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको बताए । मन्त्री किराँतीले आफू व्यक्तिको परीक्षामा भन्दा युगको परीक्षा चरणमा रहेकाले असफल हुने छुट नरहेको पनि बताए ।

‘देश जहाँ छोयो, त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन । १० वर्ष सांसद भएर जति बुझेका थिएँ, बुझेजस्तो लाग्थ्यो, मन्त्री भएर कुर्सीमा आएर जे देखेँ, जे देख्दैछु, देश अर्कै रहेछ । अझै अर्को रहेछ । म बस्ने कुर्सी आगोको कुर्सी हो, मैले कुदाउने घोडा बाघको घोडा हो हात्तीको होइन । हामी युगको परीक्षा दिँदैछौँ । व्यक्तिको होइन । हामी फेल भयौँ भने युग फेल हुन्छ । व्यवस्था फेल हुन्छ । हामीले बरु विदेशको धेरै कुरा गरेका छौँ, स्वदेशको कुरा गरेनौँ । स्थानीय सोचहरुलाई प्राथमिकता दिएनौँ । १२ कक्षा पढेपछि नेपाली विद्यार्थीहरु विदेश जान्छन्, किनभन्दा रोजगार छैन भनेर होला जस्तो लाग्थ्यो तर होइन रहेछ । हामी त बेरोजगार भएर मात्रै विदेश गएका होइन रहेछौँ, सुखपूर्ण जीवन छोडेर पनि विदेश जानुको कारण हाम्रो शिक्षामा विष परेको छ । स्वदेशको सपना मरिसकेछ हाम्रो शिक्षा र संस्कृतिमा । शिक्षा र संस्कृतिमा हामीले स्वदेशी सपनाको मृत्यु हुने विष हालिसकेका रहेछौँ,’ उनले भने । मन्त्री किरातीले नेपालमा स्वदेशी सपनालाई मर्न नदिनेगरी काम हुन जरुरी रहेको बताए ।

प्रकाशित : चैत्र १३, २०७९ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्

१७ अंक बढ्यो सेयर बजार

यी हुन् धेरै मूल्य बढेका १० कम्पनी 
कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार सेयर बजारको परिसूचक नेप्से १७.७० अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९ सय ६ अंकमा पुगेको छ । कुल १ अर्ब ३८ करोडको कारोबार भयो । १६७ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ४ को स्थिर रहृयो । समग्र बजार बढ्दा पनि अधिकांश लघुवित्त कम्पनीहरुको मूल्य घट्यो ।

बैंकिङ ३, विकास बैंक ७६, फाइनान्स ३२, होटल तथा पर्यटन ४७, जलविद्युत् ४३, जीवन बीमा १९४, उत्पादन ९९, निर्जीवन बीमा १२६, अन्य १४ र ब्यापार उपसमूह २६ अंक बढे । माइक्रोफाइनान्स उपसमूह भने १७ अंक घट्यो ।

सुपर मादी, एसियन हाइड्रो र कालिन्चोक दर्शनको मूल्य १० प्रतिशत बढ्यो । अजोड इन्स्योरेन्सको ८.३, लक्ष्मी लघुवित्तको ५.५, अपर सोलुको ५.२, ग्रीन डेभलपमेन्ट बैंकको ४.८, युनाइनेट मोदीको ४.८, बेस्ट फाइनान्सको ४.७ र तेह्रथुम पावरको मूल्य ४.५ प्रतिशत बढ्यो । नेसनल माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत घट्यो । जल्पा सामुदायिकको ८.३ र जनउत्थान सामुदायिक लघुवित्तको मूल्य ६.९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, जीवन विकास लघुवित्त, नबिल बैंक, एनआईसी एसिया बैंक र शिवश्री हाइड्रोपावर क्रमशः अगाडि रहे ।


प्रकाशित : चैत्र १३, २०७९ १५:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×