कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाहेकै बेला सत्ता गठबन्धन भत्काउन सक्छौं : विष्णु पौडेल

'सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुग्यो । गठबन्धनसँग सरकार टिकाउने मात्रै चिन्ता छ'

जनकपुर — नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरूले चाहेकै बेला सत्तारुढ गठबन्धन भत्काउन सक्ने चेतावनी दिएका छन् । तर एमाले जिम्मेवार प्रतिपक्षको रुपमा रहने उनको भनाइ छ ।

चाहेकै बेला सत्ता गठबन्धन भत्काउन सक्छौं : विष्णु पौडेल

सत्ता गठबन्धन भत्काउनसक्ने हैसियत एमालेसँग रहेको उनको जिकिर थियो । ‘जुनसुकै बेला गठबन्धन भत्काउन सक्ने हैसियत एमालेसँग छ तर हामी जिम्मेवार प्रतिपक्ष भएर काम गर्न खोजेका हौं,’ उनले भने ।

तर अहिलेको सत्ता गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुगेको उनको आरोप छ । एमालेको 'मिसन ग्रासरुट' अभियान अन्तर्गत शुक्रबार जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले सत्तारुढ गठबन्धन अन्तरविरोधमा फसेको र यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने दाबी गरे ।

सत्तारुढ गठबन्धनको ध्यान सरकार टिकाउने कुरामा मात्रै रहेकाले यसले देश र जनताको समस्या समाधान गर्नै नसक्ने उपाध्यक्ष पौडेलको तर्क थियो । यस क्रममा उनले एमाले राष्ट्रिय राजनीतिको मियो रहेको भन्दै एमालेबिना राष्ट्रिय राजनीति एक इन्च पनि अगाडि बढ्न नसक्ने बताएका थिए ।

निवर्तमान उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीसमेत रहेका उनले मुलुकको अर्थतन्त्र धरापमा परेको बताएका थिए । नेता पौडेलले भनेका छन्, ‘यो सरकारले जनताका समस्या समाधान गर्न सक्ने छैन । राष्ट्रको समस्यातर्फ यसको कुनै ध्यान पनि छैन । तपाईँहरुले देखिरहनुभएको छ, जम्माजम्मी गठबन्धनको चिन्ता के छ भने सरकार कसरी टिकाउने, सरकार कसरी जोगाउने । सरकारमा कसरी पुग्ने चिन्ता थियो । अब सरकार कसरी टिकाउने ? सरकार कसरी जोगाउने ? यो भन्दा अर्को चिन्ता गठबन्धनसँग कुनै छैन । यसकारणले यो गठबन्धनले देश र जनताका समस्या समाधान गर्न सक्दैन । सत्तारुढ गठबन्धन अन्तरविरोधग्रस्त बनिसकेको छ । आजै बनिसकेको छ । अहिले नै तपाईँ देखिरहनु भएको छ, मन्त्रालयको बाँडफाँड गर्न नसक्ने ठाउँमा अवस्थामा यो गठबन्धन पुगीसकेको छ । देशको अर्थतन्त्र एकदम धरापमा परेको छ । राजस्वले साधारण खर्च धान्न नसक्ने अवस्था भएको छ ।’

यस्तै राजस्वले मुलुकको साधारण खर्च धान्न नसक्ने अवस्था आउँदा पनि सरकार गम्भीर नभएको उनको आरोप थियो ।

प्रकाशित : चैत्र १०, २०७९ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?