कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

हिउँदे वर्षाजस्तो प्रि-मनसुन

पश्चिमी वायुका कारण केही दिनयता देशका विभिन्न स्थानमा वर्षा, बिहीबार र शुक्रबार भने स्थानीय वायु सक्रिय
गोविन्द पोखरेल

काठमाडौँ — केही दिनयता नेपालका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सुक्खा हिउँद बनेको यस वर्ष प्रि–मनसुन सुरु भएलगत्तै कृषकलाई राहत मिलेको छ । अंग्रेजी महिनाको मार्चदेखि मेसम्मको समयलाई नेपालमा प्रि–मनसुनको समय मानिन्छ । यो समय स्थानीय वायुको प्रभाव हुँदा ठाउँ–ठाउँमा पानी पर्ने, मेघ गर्जनसहित चट्याङ पर्ने र हावाहुरी चल्ने गर्छ ।

हिउँदे वर्षाजस्तो प्रि-मनसुन

प्रि–मनसुनको अर्को विशेषता भनेको अपराह्न र साँझमा केही समय पानी पर्नु हो । केही दिनयता भइरहेको वर्षाको चरित्र हेर्दा भने यो अवस्था देखिएको छैन । पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भएको थियो । बिहीबारदेखि पश्चिमी वायुको प्रभाव घट्दै जाने मौसमविद्ले जनाएका छन् । जल तथा मौसम पूर्वानुमान विभागकी मौसमविद् गंगा नगरकोटी भन्छिन्, ‘दुई/तीन दिनअघि देखिएको पश्चिमी वायुको प्रभाव बिहीबारदेखि हट्दै गएर स्थानीय वायु सक्रिय भएको छ ।’ शुक्रबार रातिदेखि फेरि पश्चिमी वायुको प्रभाव देखिने र पश्चिमी नेपालमा वर्षा हुने उनले जानकारी दिइन् ।

जल तथा मौसम विज्ञान विभागले चैत ३ गते २४८ वटा मापन केन्द्रमध्ये १ सय १३ वटामा वर्षा मापन भएको थियो । यस्तै, चैत ५ गते १ सय ७७ वटा, चैत ६ गते २ सय १० वटा, चैत ८ गते २ सय १० र बुधबार ७१ वटा मापन केन्द्रमा वर्षा मापन भएको हो । ती मापन केन्द्रमा अधिकतम वर्षा ९३.५ मिमिसम्म रेकर्ड गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार प्रि–मनसुनको औसत वर्षा २२६.२ मिलिमिटर हो । यो तथ्यांक विभागले सन् १९९१ देखि २०२० सम्म नियमित रूपमा चलेका २० वटा मौसम मापन केन्द्रबाट निकालेको औसत हो । मंगलबारसम्म ११.७ प्रतिशत वर्षा भएको उनले बताइन् ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेल नेपालमा चैत पहिलो सातायताको वर्षाको चरित्र प्रि–मनसुन जस्तो नभएको बताउँछन् । उनी भन्छन्, ‘जुन दिन ला–लिना सकियो त्यही दिनदेखि नेपालमा पानी पर्न थालेको छ । यसले यो वर्षको हिउँद सुक्खा हुनुमा ला–लिनाको प्रभावले पनि देखाउँछ । अहिले भइरहेको वर्षाको चरित्र हिउँदे वर्षाको जस्तो देखिन्छ ।’

प्रि–मनसुनमा हुने वर्षा छोटो समयमा कुनै एउटा निश्चित ठाउँमा पर्ने खालको हुने उनले बताए । मौसमविद् नगरकोटी प्रि–मनसुनमा साँझ/अपराह्नतिर वर्षा हुने बताउँछिन् । ‘दिउँसो जमिन तातिएपछि आर्द्रता (मोइस्चर) भएको हावा बिस्तारै माथितिर जान्छ । पानी गराउने बादल (क्युमिलोनिम्बस) बन्छ,’ नगरकोटीले भनिन्, ‘प्रि–मनसुनमा बिहानदेखि घाम लाग्ने, जमिन तातिने र जमिनमा भएको आर्द्रतामाथि गएपछि दिउँसोदेखि क्युमिलोनिम्बस बादल बनेर पानी पर्छ ।’

प्रकाशित : चैत्र ९, २०७९ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×