तन्नेरी पुस्ता एकदमै आत्तिएको छ, देश छोडेर भाग्न चाहन्छ : गगन थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा तन्नेरी पुस्ता अहिले सबैभन्दा धेरै आत्तिएको अवस्थामा रहेको बताएका छन् । उनले युवाहरूले देशमा केही हुँदैछ, देशमै राम्रो भविष्य छ भनेर विश्वास गर्न नसकिरहेकोप्रति चिन्ता व्यक्त गरे ।

बिहीबार सामुदायिक रेडियो प्रशारक संघको १७ औँ साधारणसभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनमा महामन्त्री थापाले सरकारले युवा पुस्तामा आशाको सञ्चार गर्न समयको महत्त्वलाई बुझ्नुपर्ने आवश्यकता रहेको बताए ।

‘हाम्रो देशमा आज तन्नेरीहरू कोही पनि देशमै राम्रो हुन्छ भनेर विश्वास गर्न सकिरहेको छैन, सबै भाग्न मात्रै चाहन्छन् । हिजोभन्दा आज, आजभन्दा भोलि राम्रो हुँदैछ भनेर कसैले आश गर्न सकिरहेको छैन,’ उनले भने, ‘मान्छेले राजनीतिक दाउपेचका समाचार सुनेर खुसी हुने अवस्था छैन । वास्तवमा अवस्था त्यति धेरै बिग्रिएको पनि होइन, त्यसैले मान्छेले घरमा सुत्दै गर्दा देशमा केही न केही त राम्रो हुँदैछ भनेर आशा राखेर सुत्न पाउने अवस्था बनाउन सामुदायिक रेडियोहरूको भूमिका होस् ।’

उनले आफूले अहिलेजस्तो तन्नेरीहरू आत्तिएको कहिल्यै पनि नदेखेको बताए । ‘मैले यति धेरै तन्नेरीहरू आत्तिएको कहिल्यै पनि देखेको थिएन । मैले कसैलाई पनि अत्याउन खोजेको होइन, तर मैले काम गर्दा जे अनुभूति गरिरहेको छु, त्यो भन्दैछु कि अहिले मुलुकको भविष्य ठानिएको तन्नेरी पुस्ता बेस्सरी आत्तिएको छ,’ उनले भने ।

उनले सरकारले हिजोभन्दा आज राम्रो हुँदैछ भनेर नागरिकमा आशाको सञ्चार गर्न सक्नुपर्ने बताए । ‘वास्तवमा अहिले तन्नेरीहरू आत्तिनुपर्ने बेला होइन, डराउनुपर्ने, आत्तिनुपर्ने प्रधानमन्त्रीले हो, सरकारले हो,’ उनले भने, ‘वास्तवमा यो प्रधानमन्त्री डराउने बेला हो । मैले त प्रधानमन्त्रीजीलाई भनेको पनि छु कि तपाईंहरू केही समय लिएर सोच्नुहोस्, वरिपरिको गणित मात्रै हेर्नुभयो भने सिंगै देश डराउनुपर्ने स्थिति हुन्छ । तर बेलैमा डराइदिनुभयो भने नागरिकको डर भाग्छ ।’

प्रकाशित : चैत्र ९, २०७९ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्

नागरिक स्वतन्त्रतासँग हरेक सरकार भयभीत जस्तो देखिन्छ : गगन थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जसको नेतृत्वमा सरकार बने पनि नागरिक स्वतन्त्रतालाई खुम्च्याउने प्रयास हुने गरेको बताएका छन् । उनले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता पनि नागरिक स्वतन्त्रताकै पक्षहरू भएको भन्दै दलहरूले धारणा फेरेपनि सञ्चारमाध्यमहरूले सधैं यसको पक्षमा वकालत गर्न सक्नुपर्ने बताए ।

बिहीबार सामुदायिक रेडियो प्रसारक संघको १७ औं साधारणसभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सामुदायिक रेडियोहरूले तीनै तहका सरकारले गरिरहेका कामलाई सूक्ष्म निगरानी गर्न सक्ने बताए ।

‘हामी लोकतन्त्रमा निर्वाचनलाई सुन्दर पक्ष मान्छौँ तर निर्वाचित भएको सरकारले के गरिरहेको छ भनेर निगरानी गर्ने कुरा महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘सरकारले निरन्तर विधिको शासनको परिपालना गरिरहेको छ कि छैन ? संविधानले सरकारको पनि सीमाना तोकिएको छ, त्यहाँ बसिरहेको छ कि छैन ? सञ्चार क्षेत्रले त्यसको निगरानी गर्न सक्नुपर्छ ।’

उनले सरकारले अहिले नागरिकको मोबाइल फोन ट्यापिङ गर्न मिल्ने गरी कानुनको ड्राफ्ट गरिरहेको भन्ने सुनिएको भन्दै जुन सरकार आए पनि नागरिक स्वतन्त्रतालाई खुम्च्याउनमात्रै प्रयास गरिरहेको अनुभव सुनाए ।

‘नागरिकको आधारभूत स्वतन्त्रता जसलाई संविधानले तोकिदिएको छ, सरकारले त्यसलाई विस्तार गर्न सकिरहेको छैन । बरू जुन सरकार आएपनि नागरिक स्वतन्त्रताका सन्दर्भमा कुनै न कुनै मौका खोजिरहेको जस्तो देखिन्छ, नागरिकको स्वतन्त्रतासँग सरकार भयभीत भएको जस्तो देखिन्छ,’ थापाले अघि भने, ‘प्रतिपक्षमा हुँदा जसले नागरिक स्वतन्त्रताको वकालत गर्छ, ऊ आफैं सरकारमा जाने बित्तिकै त्यही विधेयक लिएर आउँछ, यस्तो बेलामा सञ्चारमाध्यमहरू चनाखो हुनुपर्छ । हामी बदलिरहन्छौँ, तपाईंहरू, सञ्चारमाध्यमहरू सधैं प्रतिपक्षी हो, तपाईंहरूले ख्याल गर्नुपर्छ ।’

उनले सामुदायिक रेडियोहरूको वृत्ति विकासमा सरकारले सहयोग गर्नुपर्ने बताए ।

प्रकाशित : चैत्र ९, २०७९ ११:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×