महेन्द्र राजमार्गमा रोकिएका गाडी वैकल्पिक बाटोबाट गन्तव्यतर्फ पठाइँदै

१३ घण्टादेखि जाममा परेका गाडी झ्यालबासको बाटो हुँदै पठाइयो
नारायण शर्मा

पूर्वी नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको ४० किलोमिटर भन्ने स्थानमा १३ घण्टादेखि जाममा परेका गाडी झ्यालबासको वैकल्पिक बाटोको प्रयोग गरेर गन्तव्यतर्फ पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार महेन्द्र राजमार्ग फराकिलो पार्ने क्रममा निर्माण गरिएको डाइभर्सन भास्सिएका कारण गएराति साढे १० बजेबाट राजमार्गमा रोकिएका सवारी अहिले बिहान साढे ११ बजेपछि राजमार्गको उत्तरतर्फको कच्ची बाटो (४० किलोमिटर हुँदै झ्यालबासको बाटो) हुँदै हिँडाइएको छ ।

राजमार्गको ४० किलोमिटरदेखि उत्तर झ्यालबास हुँदै महेन्द्र राजमार्गको डन्डामा गाडी निस्कने वैकल्पिक बाटो बनाइएको छ । ‘डाइभर्सन सडकमा पनि ठाउँठाउँमा गाडी फसेर हैरान छ । गएराति वर्षात्का कारण महेन्द्र राजमार्गको ४० किलोमिटर भन्ने स्थानमा गाडी हिलोमा फसेको हो । अहिले पनि त्यहाँ फसेका गाडी डोजर र स्काभेटरले धकेल्दै र तान्दै गरेर पठाउँदै छौं,’ प्रहरी प्रमुख भुवनेश्वर तिवारी भन्छन्, ‘राजमार्ग सुकेपछि सोझै राजमार्गबाट वारपार गराइने छ ।

यो क्षेत्रमा गएराति वर्षात् भएको थियो । राजमार्ग बिग्रिएको स्थान जंगलमा पर्दछ ।

प्रकाशित : चैत्र ७, २०७९ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्

पैसा तिर्नेले मात्रै ट्विटरको एसएमएस भेरिफिकेसन पाउने

ट्विटर खाता कसरी सुरक्षित राख्ने?
कान्तिपुर संवाददाता

काठमाडौँ — आफ्नो ट्विटर खातामा अरुको पहुँच नहोस् भनेर सुरक्षाका लागि अपनाइने टु फ्याक्टर अथेन्टिकेसनका तीनमध्ये एक, एसएमएस भेरिफिकेसनको विकल्प मंगलबारबाट हटाइएको छ । ट्विटर ब्लुका सब्स्क्राइबरहरूले मात्रै अब एसएमएसमा आधारित सुरक्षाको यो विकल्प प्रयोग गर्न सक्छन् ।

एसएमएसमा आधारित टु फ्याक्टर अथेन्टिकेसनका लागि शुल्क लाग्ने भएको हो । मासिक वा वार्षिक शुल्क तिरेर लिइने ट्विटर ब्लु खाताबाहेक प्रयोगकर्ताको नि:शुल्क खातामा टु फ्याक्टर अथेन्टिकेसनको यो सुविधा हटाइएको छ । एसएमएस भेरिफिकेसन वा ट्विवर ब्लुको सब्स्क्रिप्सन नलिने प्रयोगकर्ताको खाता असुरक्षित बनेका छन्, ह्याकरको निसानामा पर्ने जोखिम बढेको छ ।

मोबाइल फोनमा प्राप्त भेरिफिकेसन कोड राखेपछि ट्विटरमा लगइन गर्ने सुविधा ‘खराब नियत भएकाहरू’ले दुरुपयोग गरेको भन्दै ट्विटरले गत फेब्रुअरीमा एसएमएस भेरिफिकेसनको नीति परिवर्तन गर्ने जनाएको थियो । स्क्यामरहरूले अथेन्टिकेसनका लागि ‘झुटो एसएमएस रिक्वेस्ट’ पठाउँदा बर्सेनि ६ करोड डलर एसएमएसमा खर्च भइरहेको भन्दै ट्विटरका मालिक इलन मस्कले खर्च कटौतिका लागि एमएमएस भेरिफिकेसनलाई आफ्ना सबस्क्राइबरहरूमा मात्रै सीमित राखिने बताएका थिए । मार्च २० पछि ट्विटर ब्लु सब्स्क्राइबरबाहेक अन्यले त्यो सुविधा नपाउने भनिएसँगै हाल यो विकल्प 'डिसेबल' भएको छ ।

नि:शुल्क खाताहरूमा टु फ्याक्टर अथेन्टिकेसनका लागि टेक्स्ट म्यासेज विकल्प रोज्दा भेरिफिकेसनका लागि अन्य विकल्प रोज्नु भन्ने डाइलग बक्स देखापर्छ । बाँकी दुई विकल्पमा थर्ड पार्टी अथेन्टिकेसन एप वा 'सेक्युरिटी की' विधि प्रयोग गर्ने सुविधा उपलब्ध छन् । 'सेक्युरिटी की'का लागि छुट्टै हार्डवेयर खरिद गर्नुपर्ने भएकाले अथेन्टिकेसन एप हाम्रा लागि उत्तम विकल्प हो । यसका लागि गुगल अथेन्टिकेटर, ट्वीलियोको अथिजस्ता भरपर्दा अथेन्टिकेटर एप प्रयोग गर्न सकिन्छ । यी दुवै एप एन्ड्रोइड र आईओएसमा नि:शुल्क उपलब्ध छन् ।

प्रकाशित : चैत्र ७, २०७९ ११:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×