पूर्वपश्चिम हिँडेका सयौं गाडी महेन्द्र राजमार्गमा रोकिए

नारायण शर्मा

पूर्वी नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको ४० किलोमिटर भन्ने स्थानमा १२ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार महेन्द्र राजमार्ग फराकिलो पार्ने क्रममा निर्माण गरिएको डाइभर्सन भास्सिएका कारण गएराति साढे १० बजेबाट राजमार्ग अवरुद्ध भएको हो । 

महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका सवारी साधन चोरमारा र डन्डामा अलपत्र परेका छन् । महेन्द्रराजमार्गको चोरमारा र कावासोतीको बिचमा पर्ने ४० किलोमिटर भन्ने स्थानमा राजमार्ग बिग्रिएको हो । सडक बनाएर राजमार्ग सुरु गर्न हिलैहिलो भएका कारण नसकिएको प्रहरीको भनाइ छ ।

‘यो क्षेत्रमा गएराति वर्षात् भएको थियो । राजमार्ग खुलाउन जेसीभी र स्काभेटर मगाइएको छ,’ प्रहरीले भन्यो । निर्माणाधीन सडक हिलैहिलो भएकाले त्यस क्षेत्रमा आवतजावतमा कठिनाइ भएको छ । राजमार्ग बिग्रिएको स्थान जंगलमा पर्दछ ।

चोरमारा प्रहरी चौकीका अनुसार बिग्रिएको ठाउँमा ग्राइभेल हाल्न जामका कारण सकिएको छैन । ‘राजमार्गमा रातिदेखि नै डबल पार्किङ छ । ग्राइभेल ल्याउनै सकिएको छैन । ग्राभेल नहालेसम्म सडक सुरु गर्न सकिएको छैन,’ प्रहरीले भन्यो । राजमार्गको चारमारासम्म दोहोरो सवारी जाम छ ।

प्रकाशित : चैत्र ७, २०७९ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्

मुगुको हिमाली क्षेत्रमा हिउँ, बेंसीमा झरी

राजबहादुर शाही

मुगु — जिल्लाको उच्च हिमाली क्षेत्रमा चैतमा हिउँ र बेंसीतिर झरी परेको छ । मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फू, छायाँनाथ, मुगु, किम्री परलोक, ऋणिमोक्ष, सोबालेक, मालिकाथान, चंखेली, चुचुमारे लगायत क्षेत्रमा हिउँ परेको छ र तल्लो क्षेत्रमा झरी परेको छ । 

हुम्लाको माथिल्लो हिमाली क्षेत्र नाम्खा गाउँपालिका लिमी, यारी मुचुलगायत क्षेत्रमा पनि झरीसँगै हिमपात भएको छ ।

दुई दिनदेखि मौसममा परिर्वतन भइ उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । गमगढी, ताल्चा, सोरु, खत्याड क्षेत्रमा गाउँबस्तीमा झरी परेपछि खडेरीबाट चिन्तित भएका किसान उत्साहित भएका छन् ।

कार्मारोङ गाउँपालिकाको माथिल्लो हिमाली बस्तीमा हिउँ परेको पालिका अध्यक्ष छिरिङक्याप्सने लामाले बताए । समुद्री सतहदेखि २९ सय उचाइभन्दा माथिका बस्तीमा हिमपात भएको उनको भनाइ छ ।

लेकदेखि बेंसीसम्म यो वर्ष मुगुमा एक पटक मात्र हिमपात भएको छ । खडेरीको संकेत देखापरेको यस जिल्लामा हिमपात र झरी किसानलाई उत्साह थपेको छ ।

बोटबिरुवा टुसाउने फुल्ने र जडिबुटी उम्रिने मौसममा हिमपात झरी परेको छ । झरी र हिमपातले खडेरीबाट सुक्न लागेको जौं, गहुँबाली जोगाएको किसानको भनाइ छ ।

प्रकाशित : चैत्र ७, २०७९ ११:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×