दुई वर्षभित्र सबै नेपालीको घरमा बिजुली पुग्छ : कुलमान घिसिङ

सम्झना रसाइली

तनहुँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब दुई वर्षभित्र सबै नेपालीको घरघरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पहुँच पुर्‍याउने बताएका छन् । तनहुँको बन्दिपुर गाउँपालिका–६ स्थित ३३/११ केभीको सराङघाट सबस्टेसनको सोमबार उद्घाटन गर्दै उनले नेपाललाई उज्यालो बनाउने हिसावमा काम भइरहेको बताए । 

दुई वर्षभित्र सबै नेपालीको घरमा बिजुली पुग्छ : कुलमान घिसिङ

‘सबै नेपालीको घरमा विद्युत् पुर्‍याउने सरकारको लक्ष्यलाई पूरा गर्न विद्युतीकरणको अन्तिम माइलको यात्रामा छौं, यसका लागि अधिकांश ठेक्का सम्झौता सम्पन्न भइसकेका छन्’, घिसिङले भने, ‘योसँगै विद्युत् पुगेका ठाउँमा आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन प्रणाली सुधारमा व्यापक काम गरिरहेका छौं ।’

एसियाली विकास बैंक (एडीबी) नेपाल आवासीय नियोगका प्रमुख आर्नो कुश्वाले नेपालले पछिल्लो एक दशकमा विद्युतीकरणमा उल्लेख्य प्रगति हासिल गरेको बताए । उनले भने, ‘विश्वको विद्युत् पहुँचको वार्षिक वृद्धिदर औसतमा ०.८ प्रतिशत रहेकोमा यसको तुलनामा नेपालको धेरै तीव्रदर अर्थात ४.३ प्रतिशत रहेको छ, विद्युत् प्राधिकरणको नेतृत्वमा भइरहेको यो कामको हामी प्रशंसा गर्दछौं ।’ उनले नेपालको पूर्वाधार क्षेत्रमा एडीबीको लगानी निरन्तर रहने समेत जानकारी गराए ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावरले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख राजाभाइ सिल्पकारले बताए । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’ मार्फत निर्माण गरिएको प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न गरी केही दिन अगाडि सञ्चालनमा ल्याइएको थियो ।

आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोक सबस्टेसनदेखि बन्दिपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ । प्रसारण लाइनलाई बन्दिपुर–५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पुर्‍याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण सम्पन्न भएको छ । यसमध्ये एक हजार १३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ ।

तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित जिल्लामा विद्युतीकरण गर्न र विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको प्रमुख सिल्पकारले बताए । आयोजनाअन्तर्गत शुक्लागण्डकी नगरपालिका–५ स्थिति खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन र ३३/११ केभीको घिरिङ सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छन् ।

सराङघाट सबस्टेसनमा ६/८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीय रुपमा विद्युत आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका ३ वटा फिडर लाइन निकालिएको छ । एउटा फिडर जगेडामा राखिएको छ । सबस्टेसनमार्फत आँबुखैरेनी, बन्दिपुर र देवघाट गाउँपालिकामा विद्युत आपूर्ति भइरहेको छ । यसबाट त्यस क्षेत्रका उपभोक्ताहरुले भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति सेवा पाउने छन् ।

दुई वटा सबस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इष्ट इन्डिया उद्योग/वाइवा इन्फ्राटेक जेभीसँग २०७५ को मंसिरमा ठेक्का सम्झौता भएको थियो । ग्रामीण विद्युतीकरणअन्तर्गतका सम्पूर्ण कार्यहरु चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना कार्यान्वयनमा ल्याइएको हो ।

यस्तै, विद्युत् प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीले जिल्लालाई ‘उज्यालो तनहुँ’ घोषणा गर्ने अभियान चलाएको छ । विद्युत् पहुँच नपुगेका क्षेत्रमा विद्युतीयकरण गरी यसै वर्षभित्र अन्धकारमुक्त जिल्ला घोषणा गर्ने तयारी भएको केन्द्रले जनाएको छ ।

देवघाट गाउँपालिकाका केही वडामा विद्युत् पहुँच पुग्न बाँकी रहेकाले विद्युत् विस्तारको कार्य तीव्र गतिमा भइरहेको केन्द्रका इन्जिनियार जनार्धन पौडेलले बताए । देवघाट गाउँपालिकाको वडा नं १ को जामुने देउसरामा ७५, वडा नं २ को डिहीमा २०, च्यापिङ्गा ४०, वडा नं ३ को साविडाँडामा २०, क्वादी फस्टेपानीमा ६० घरहरुमा विद्युत् पहुँच पुर्‍याउन बाँकी छ । वितरण केन्द्रको तथ्यांक अनुसार जिल्लामा करिव ४३ हजार विद्युतका ग्राहकहरु छन् ।

प्रकाशित : चैत्र ६, २०७९ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?