दोस्रो पटक विश्वासको मत लिँदा तेस्रोको चिन्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — गठबन्धन परिवर्तन भएपछि ६९ दिनमै दोस्रो पटक विश्वासको मत माग्न प्रतिनिधिसभाको रोस्ट्रममा उभिएका प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले विश्वासको मतको अर्को श्रृंखलामा पनि जोडिनुपर्ने हो कि भन्ने आशंका गरे । उनले फेरि विश्वासको मत नलिने अवस्थाका लागि हाल समर्थन गर्ने दल र सांसद एकजुट भइराख्नुपर्ने उल्लेख गरे ।

विश्वासको मत लिने क्रममै अर्को यस्तै श्रृंखलाबारे प्रतिनिधिसभामा प्रधानमन्त्री स्वयंले समेत चर्चा गर्नुपर्ने अवस्थाले चाँडै संसद्‍मा आउन सक्ने अर्को सत्तासंकटको भय झल्किन्छ ।

दाहाल मात्रै होइन प्रस्तावमाथिको छलफलमा भाग लिने अन्य दलका नेताहरुले पनि चाँडै तेस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने बताएका थिए ।

नयाँ गठबन्धनमा एजेण्डा मिल्ने दलहरु एकै स्थानमा भएकाले त्यो अवस्था आउन दिन नहुने बताएका प्रधानमन्त्री दाहालले जवाफ दिने क्रममा त्यस्तो कुरालाई असफल बनाउनु पर्ने बताए । पुस १० गते एमालेसहितको ७ राजनीतिक दलको समर्थनमा प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिएका थिए । तर राष्ट्रपति कुन दलको बनाउने भन्ने विषयमा माओवादी र एमालेबीच सहमति जुट्न नसक्दा पुस १० गते बनेको गठबन्धन टुटेको थियो । गत फागुन १४ गते राप्रपा र फागुन १५ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसपछि दाहालले दुई महिना केही दिनभित्रै विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको थियो । उनले संविधानका धारा १०० (२) अनुसार विश्वासको मतको प्रस्ताव राखेका थिए ।

संसदमा प्रधानमन्त्री दाहालले मात्रै भएर अन्य दलका नेताहरुले पनि यो विषयलाई उठाएका थिए । जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा राष्ट्रपति कार्यालयको लबी (पूर्व प्रधानमन्त्री) सँग हुने भनेको प्रसंग पनि सुनाएका थिए । प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमति भन्दै कांग्रेसलाई सभापति दिनुपर्छ भन्ने अडानमा कायम राखेपछि उनलाई भेट्न पुगेका ओलीले सो कुरा बताएका थिए । जसमा ओलीले दाहाललाई कांग्रेसले चाँडै सरकारबाट हटाउने बताएका थिए ।

गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सांसदहरुतर्फ हेर्दै प्रधानमन्त्री दाहालले त्यो भनाईलाई पुष्टि गर्ने वा फेल गर्ने सांसदहरुको हातमा रहेको बताएका थिए ।

'पुरानो कुरा नल्याउने विषयमा बाहिर गएपछि एमालेसँग टिक्दैन कि भन्ने लागेको थियो । तर अहिलेको गठबन्धन टिक्ने प्रचुर संभावना छ किनभने एजेण्डाको हिसाबले एकै ठाउँमा छौं । यो चाहिँ टिक्छ भन्ने लाग्छ । छुट्टिने समयमा केपीजीले वैशाखमा राष्ट्रपतिको लबीमा तपाईं र म एकै ठाउँमा हुन्छौं भन्नु भएको छ । उहाँको भनाईलाई पुष्टि गर्ने कि फेल गर्ने हामी सबैको हातमा छ,'दाहालले भने 'अघि पनि कुरा उठ्यो २ महिनापछि फेरि विश्वासको मत लिने अवस्थामा आउने होइन ? मलाई लाग्छ आउँदैन र आउन पनि दिनु हुँदैन । लोकतन्त्र र गणतन्त्रका लागि शान्तिका लागि । मैले धेरै कुरा छलफल गरेको कानुनविद् अन्यसँग पनि छलफल गरेको छु । अहिले १० वटा दल भइयो एउटाले समर्थन फिर्ता लिने भएपछि २-२ महिनामा लिनुपर्ने भयो । तर बुझ्दा त्यस्तो हुँदैन । संसदमा बहुमत छ भन्ने विषयमा लाग्दासम्म विश्वासको मत लिनु पर्दैन ।'

विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफलको क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले चाँडै विश्वासको मत लिने अवस्था आउने बताएका थिए । प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपा अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालको अस्थिर चरित्रमाथि प्रश्न गरेका थिए । उबिनाकारण प्रधानमन्त्री दाहालले बाटो परिवर्तन कारण सरकारबाट बाहिरिएको भन्दै लिङ्देनले वैशाख १५ अघिनै तेस्रोपटक विश्वासको मत लिने अवस्था नआओस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

'प्रधानमन्त्रीलाई अर्को यात्राका लागि शुभकामना छ । तपाईंले बिनाकारण बाटो फेर्नुभयो । जुहारी चलाउने मन छैन । भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ । २ महिनामा २ पटक विश्वासको मत लिनु भएको छ । वैशाख १५ भित्र फेरि विश्वासको मत लिनुपर्ने अवस्था नआओस्,' उनले भने ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैशाख दोस्रो साता विश्वासको मत लिनुपर्ने अवस्था आउने त होइन भन्ने शंका व्यक्त गरेका थिए ।

नेपालले आगामी वैशाख दोस्रो हप्ता प्रधानमन्त्री दाहालले फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउने त होइन भन्ने आशंका उत्पन्न भएको बताएका छन् । त्यस्तो आशंका उत्पन्न भएकोलाई अस्वाभाविक भन्न पनि नसकिने बताए ।

वैशाखको अर्को हप्तामा फेरि विश्वासको मत लिनुपर्ने अवस्था त आउँदैन ? यो आशंका गर्नु अस्वाभाविक ठान्दिनँ,' उनले भने, 'तर त्यो अवस्था आउँदैन भन्ने कुराको मलाई विश्वास छ । अब यो गठबन्धन आउने पाँच वर्षसम्म टिक्छ, देशलाई राजनीतिक स्थायीत्व दिन्छ ।'

राजनीतिक दलहरूले गठबन्धन भत्किनुका पछाडिका कारणबारे समीक्षा गर्न पनि नेपालले सुझाव दिएका छन् । उनले अरुलाई दोषारोपण गर्नुभन्दा पहिले किन कसैले आफूसँग सहकार्य गरिरहेको छैन र कसैसँग गरेका सहकार्य पनि टिकाउ भइरहेका छैनन् भन्नेबारे सोच्न आग्रह गरे । 'आफूमा के कमीकमजोरी रहेको भन्ने खोजी छैन, सुधार्ने होइन । अरुलाई दोषारोपण गर्ने कुरामा केन्द्रित रहने गरेको छ । यो प्रवृतिलाई कायम राख्ने हो भने राजनीति कहिले पनि सही दिशामा जान सक्दैन । किन अरुसँग सहकार्य हुन सकिरहेको छैन ? किन सहकार्य टिकाउ भइरहेको छैन ? यो टिकाउ हुनुको दोषी अरु हुन् कि आफै दोषी हौं ? यो सन्दर्भमा सबै दल नेताहरूको ध्यानाकर्षण गर्न चाहन्छु,' उनले भने ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाको सांसद चित्रबहादुर केसीले पनि आजभन्दा २ महिना पहिले सरकार निर्माण गर्दा पनि त्यस्तै छलफल बहस भएको थियो । 'त्यस समयमा संसदभित्रका सबै दलहरुले प्रधानमन्त्री दाहाललाई समर्थन गरेर उत्पात थियो । २ महिनाभित्रै अर्को खेल भयो। यो खेल हेर्दा नेपाली जनताले हामीलाई के भन्दा हुन्' केसीले भने, 'निर्वाचन प्रणालीको कारण बहुमत कुनै पनि दलको आउन नसक्ने अवस्था छ । जे जस्तो कार्यक्रम नीति भएका भएपनि सरकार निर्माणका लागि मिसाउनु पर्ने भयो । यो निर्वाचन प्रणाली २-२ महिनामा सरकार बदल्ने काम गर्दा लोकतन्त्रलाई बचाउन सक्छौं ? ' उनले सरकार ढाल्ने खेलले लोकतन्त्र र गणतन्त्र दुवैलाई धरापमा पारेको बताए ।

बैठकमा एमालेका सांसद विष्णु पौडेलले देश अविच्छिन्न अस्थिरतामा पुगेको बताएका थिए । 'यो प्रधानमन्त्रीले दिएको वचन पनि विश्‍वास गर्न नसकिने देश हो । वचनको विश्वास गर्न नसिकने प्रधानमन्त्री भएपछि यो विश्वासको मत फेरि कति दिन पछि फेरि लिने हो । त्यो मिति पनि अहिले नै प्रधानमन्त्री दाहालले भनिदिए हुन्छ,' उनले भने, 'आफ्नो वचनमा अडिन नसक्ने प्रधानमन्त्रीलाई कसैले पनि विश्वासको मत दिनु हुँदैन ।'

प्रकाशित : चैत्र ६, २०७९ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्

आईएमई लाइफको आईपीओ सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी 

कान्तिपुर संवाददाता

काठमाडौँ — आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभाले सर्वसाधारणलाई छुट्याइएको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ । सोमबार अध्यक्ष रामहरि अर्यालको सभापतित्वमा बसेको कम्पनीको छैटौं वार्षिक साधारणसभाले यो अख्तियारी प्रदान गरेको हो । 

त्यस्तै सभाबाट गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूची तथा एनएफआरएस प्रणाली लागू गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी सभाले संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन आएमा सोही अनुसार गर्न पनि सञ्चालक समितिलाई अख्तियारी दिइएको छ । पुस मसान्तसम्मको अपरिस्कृत विवरण अनुसार कम्पनीको बीमा कोष २२.३१ प्रतिशतले वृद्धि भई ५ अर्ब ४७ करोड ९४ लाख पुगेको अध्यक्ष अर्यालले जानकारी दिए ।


प्रकाशित : चैत्र ६, २०७९ १९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×