प्रचण्डले जनताको विश्वास गुमाइसके : महासचिव वैद्य- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रचण्डले जनताको विश्वास गुमाइसके : महासचिव वैद्य

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको विश्वास गुमाइसकेको दाबी गरेका छन् । राजनीतिमा विचित्रको ‘लिला’ देखाउन थालेकाले प्रधानमन्त्री दाहाललाई नेपाली जनताले अब विश्वास गर्ने ठाउँ नरहेको उनको जिकिर थियो । 

इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव वैद्यले ओलीलाई खत्तम पार्छु भनेर लाग्ने, फेरि ओलीको शरणमा परेर सरकार बनाउने तर टिकाउन नसकेर प्रधानमन्त्री दाहालले जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको आरोप लगाए । 'चुनावमा जाने बेलामा गठबन्धन बनाए । प्रतिगमनका विरुद्ध जाने हो । संविधानको रक्षा गर्ने हो, ओलीले खत्तम पारे भनेर कांग्रेस–माओवादी केन्द्रहरु एकदम कुर्लिएर गए । जसका विरुद्ध गएका थिए, त्यसैसँग शरण परेर सरकार बनाउने ल हेर्नुस् । यहाँ भन्दा विचित्र के हुन्छ ?,' उनले भने,' त्यो सरकार त टिकाउनुपर्ने हो नि एमालेसँग बसेर । टिकाउन नसकेर फेरि कांग्रेसतिर । राजनीतिक विचित्रता भन्ने कि के भन्ने यो । राजनीतिमा लिला भइसक्यो भन्नुस् । यस्तो चालले अब चल्नेवाला छैन । जनताले विश्वास पनि अब गर्नेवाला छैनन् ।’

उनले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका सत्ता र त्यसका अवयवहरु ‘मरेको लास’जस्तै अवस्थामा पुगेको टिप्पणी गरे ।

उनले भने, ‘यो सत्ता र यसका अवयवहरुलाई पूरै फ्याँक्नु पर्छ । कार्यपालिका पनि असफल, न्यायपालिका पनि असफल, व्यवस्थापिका पनि असफल भएको देख्यौं नि हामीले । कांग्रेस त असफल नै हो । पुरानो सत्ता र व्यवस्थालाई चलाउन भनेर कम्युनिष्ट आन्दोलनको नेताहरु भनौं कि गद्दारहरु भनौं । थाम्न भनेर गए । त्यो पुरानो व्यवस्थालाई काँध थाप्न थाले । काँध थापेर के गर्ने त्यो गनाएर बसेको लास जस्तैलाई ? सक्ने अवस्थामा छैन अब त्यो काँध थापेर । यो व्यवस्था सिद्धिएर जाने प्रक्रियामा छ ।'

महासचिव वैद्यले वर्तमान राज्यसत्ता संचालनका लागि कांग्रेस असफल भइसकेको र कम्युनिष्ट नेताहरुलाई पनि जनताले विश्वास गर्ने अवस्था नरहेकाले नयाँ राज्य व्यवस्था स्थापना गर्ने बलियो आधार बन्दै गएको बताए । नयाँ राज्य सत्ता निर्माणका लागि तयार रहन पनि उनले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित : चैत्र ५, २०७९ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्

गाँजा नियन्त्रणमा लिने क्रममा एक राउण्ड हवाई फायर

अवधेशकुमार झा

राजविराज — सप्तरी प्रहरीले गोबरगाढाबाट १ सय ८४ किलो गाँजा नियन्त्रणमा लिएको छ । शनिबार राति हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढाको छतौनीबाट घोडामा राखेर भारततर्फ लगिरहेको अवस्थामा १ सय ८४ किलो गाँजा नियन्त्रणमा लिइएको डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको टोलीलाई देखेपछि तस्करहरु घोडा र गाँजा छाडी फरार भएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको गाँजा कार्यालयतर्फ ल्याउने क्रममा केही व्यक्तिहरु समूह नै बनाएर प्रहरीबाट गाँजा खोस्ने प्रयास गरेको थियो ।

भीडलाई तितरवितर पार्न प्रहरीले एक राउण्ड हवाई फायर गरेपछि सो समूह भागेको डिएसपी सिंहले बताए । प्रहरीले गाँजा तस्करको खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित : चैत्र ५, २०७९ १७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×