प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसको ह्वीप, सरकारमा सहभागी हुने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसको ह्वीप, सरकारमा सहभागी हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनका लागि प्रतिनिधिसभा सदस्यहरूका लागि ह्वीप लगाएको छ । कांग्रेस संसदीय दलको आइतबार बसेको निर्णयअनुसार सांसदहरूलाई दाहाललाई विश्वासको मत दिनका लागि ह्वीप लगाएको हो । 

तस्बिर : अंगद ढकाल/कान्तिपुर

संघीय संसद भवनस्थित ल्होत्से हलमा बसेको बैठकले सांसदहरूलाई प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिन ह्वीप लगाउने र सरकारमा सहभागी हुने निर्णय गरेको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपालको संविधानको धारा १०० को (२) बमोजिम नेपाली कांग्रेस प्रधानमन्त्रीले प्रस्तुत गर्ने विश्वासको मतको प्रस्तावको पक्षमा उभिने निर्णय भएको जानकारी दिए ।

'संसदीय दलको बैठकले राष्ट्रपतिमा निर्वाचित सम्माननीय रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा निर्वाचित सम्माननीय रामसहायप्रसाद यादवलाई बधाई ज्ञापन गर्ने निर्णय गरेको छ । उहाँहरूको कार्यकालको सफल शुभकामना दिने निर्णय गरेको छ । सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोग, सुरक्षा निकाय र सञ्चारमाध्यमहरूलाई धन्यवाद दिने निर्णय गरेको छ,' उनले भने, 'कार्यसम्पादन समितिको निर्णयलाई मध्यनजर गरी नेपालको संविधानको धारा १०० को (२) बमोजिम सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालजीले भोलि विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । नेपाली कांग्रेस प्रधानमन्त्रीले प्रस्तुत गर्नुहुने विश्वासको मतको प्रस्तावको पक्षमा रहेको छ । प्रधानमन्त्रीको पक्षमा मतदान गर्नेछ । तदनुरुप कांग्रेस संसदीय दलका सांसदहरूलाई निर्देशन दिन्छ । त्यसपछि मात्रै प्रधानमन्त्रीको दाहालको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । सरकारमा हामी सहभागी हुन्छौँ ।’

कांग्रेस संसदीय दलको बैठकले नेपाली राष्ट्रिय क्रिकेट टिमले पाएको सफलतालाई मध्यनजर गरी धन्यवाद ज्ञापन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेर प्रतिपक्षमा गएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् । उनले यसअघि पुस २६ मा विश्वासको मत लिएका थिए ।

प्रकाशित : चैत्र ५, २०७९ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्

ललितपुरमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

कान्तिपुर संवाददाता

ललितपुर — ललितपुर महानगरपालिका–१७ ग्वार्को चोकस्थित सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शनिबार राति सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२–००१ ब २२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्री काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका–२ घर भइ ललितपुर महानगर–१७ भेल्पा बस्ने ३४ वर्षीय बुद्धराज तिमिल्सिनाको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट सख्त घाइते तिमिल्सिनाको उपचारको क्रममा बीएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । दुर्घटनमा मोटरसाइकल चालक धादिङ धुनिबेंसीका तुल्सीराम गिरी घाइते भएका छन् । घाइतेको पनि बीएण्डबी अस्पतालमा उपचार भइरहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ५, २०७९ १२:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×