नेपालमा पर्यटन नीति नै छैन : पर्यटनमन्त्री किराती- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा पर्यटन नीति नै छैन : पर्यटनमन्त्री किराती

कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले नेपालमा पर्यटन नीति नै नभएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित नेपाल थामी समाजको छैटौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धी नीति नै नभएको स्वीकार गरेका हुन् ।

मन्त्री किरातीले भने, ‘पर्यटन नीति हामीले अहिलेसम्म बनाउनै सकेनौं । हाम्रो संस्कृति नीति बनाउनै सकेनौं । सकिएन छ म त भर्खर मन्त्री भएको ६१ दिन भयो ।’

उनले अबको नेपालको पर्यटन नेपालीपनको हुने घोषणा गर्दै रैथाने स्वाद र संस्कृतिसहितको पर्यटन हुनुपर्ने बताए । ‘अबको पर्यटन भनेको चाहिँ प्रकृतिको सम्पदा र मानवको सम्पदालाई मिश्रण गरेर बनेको नेपालीपनको पर्यटन हुन्छ । रैथाने स्वाद र संस्कृतिसहितको अबको पर्यटन हुनुपर्छ,’ उनले भने ।

मन्त्री किरातीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भए पनि त्यसको परिचालन गर्ने नीतिहरुकै अभाव देखिएको बताए । उनले मुलुकको पर्यटन व्यवसायलाई अघि बढाउन सोसम्बन्धी अध्ययन, अनुसन्धान हुनुपर्नेमा पनि जोड दिए ।

मन्त्री किरातीले अन्य देशका कल्चर सेन्टरहरु नेपालमा भए पनि नेपालले भने सो काम नगरेकाले यहाँका संस्कृतिहरु लोप हुने अवस्था पुगेको बताए । उनले नेपालीपनको विकास गरेरमात्रै नेपालले पर्यटनको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सक्ने दोहोर्‍याए ।

प्रकाशित : चैत्र ४, २०७९ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्

फेसबुक र युट्युबमा फर्किए ट्रम्प

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुई वर्षपछि फेसबुक र युट्युबमा फर्किएका छन् । नेपाली समयअनुसार शनिबार बिहान उनले यी दुवै प्लाटफर्ममा 'म फर्किएँ' शीर्षकको ११ सेकेन्डको भिडियो पोस्ट गर्दै पुनरागमनको जानकारी दिएका थिए । भिडियोमा उनले सन् २०१६ को चुनावी सफलतापछि 'यत्तिका समय पर्खाउनु परेकोमा क्षमा चाहन्छु, प्रक्रिया जटिल छ' भन्दै गरेको दृष्य राखिएको छ ।

ट्रम्पले यसअघि सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटल हिलमा हुलदंगा हुनुभन्दा केहीसमयअघि मात्रै अन्तिम पटक फेसबुकमा लेखेका थिए । दोस्रो पटक राष्ट्रपति बन्ने चाहना अधुरो रहेको झोंकमा संसद्मा हिंसा भड्काउन प्रेरित गरेको भन्दै उनलाई जनवरी ७ देखि फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध लगाइएको थियो । गत जनवरी २५ मा फेसबुक र इन्स्टाको प्यारेन्ट कम्पनी मेटा प्लाटफर्म्सले ट्रम्पका खाता फुकुवा गरिदिने बताए पनि उनी फर्किन्छन्/फर्किँदैनन् भन्ने यकिन थिएन ।

सस्पेन्सन हटाउने क्रममा मेटाले राजनीतिकर्मीहरूका कुरा सर्वसाधरणले थाहा पाउनुपर्छ तर नीति उल्लंघका घटना पुन: दोहोर्‍याए उनीमाथि 'थप कारबाही' हुने जनाएको थियो । ट्वीटर इलन मस्कको स्वामित्वमा आएपछि उनलाई त्यसमा पनि गत नोभेम्बरमै 'रिन्स्टेट' गरिएको थियो अर्थात उनका प्रतिबन्धित खाता फुकुवा गरिएको थियो । तर ट्रम्पले यतिञ्जेल त्यसमा कुनै ट्वीट गरेका छैनन् ।

सन् २०१६ मा विशेषत: फेसबुकलगायत सामाजिक सञ्जालको सहायतामा ट्रम्पले चुनाव जितेका थिए । आगामी राष्ट्रपतीय चुनावमा उम्मेदवारी दिन चाहेका ट्रम्पलाई फेसबुक, युट्युबजस्ता प्लाटफर्मबाट चन्दा संकलनलगायत काममा सहजता हुने भएको छ ।

फेसबुकमा उनका १४६ मिलियन फलोअर छन् । वासिङ्टन पोस्टको एक समाचार अनुसार हालसम्म ट्रम्पले जति अर्को कुनै राजनीतिकर्मीले फेसबुक र इन्स्टाग्राममा पैसा खन्याएको छैन । सन् २०१८ को मेदेखि २०२३ को जनवरीसम्म ट्रम्प र उनी संलघ्न राजनीतिक अभियान आयोजकहरूले १.३ मिलियन विज्ञापनका लागि मेटालाई १५९ मिलियन डलर तिरेको मेटाले जनाएको छ ।

प्रकाशित : चैत्र ४, २०७९ १५:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×