मूलपानी क्रिकेट मैदान सम्पन्‍न गर्न प्रधानमन्त्रीलाई सांसद गौतमको आग्रह- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मूलपानी क्रिकेट मैदान सम्पन्‍न गर्न प्रधानमन्त्रीलाई सांसद गौतमको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य सोबिता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष मूलपानी क्रिकेट मैदान निर्माण सम्पन्न गर्न आग्रह गरेकी छन् ।

काठमाडौं क्षेत्र नम्बर २ को विकास निर्माण र मूलपानी क्रिकेट मैदान निर्माण सम्पन्न गर्ने विषयमा छलफल गर्न सांसद गौतम शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन् ।

प्रधानमन्त्री दाहालले मूलपानी क्रिमेट मैदानको निर्माण कार्य सम्पन्न गर्नका लागि भूमिका खेल्ने प्रतिबद्धता जनाएको सांसद गौतमले बताइन् ।

'मूलपानी क्रिकेट मैदान निर्माण सम्पन्न गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको छ । मूलपानी क्रिकेट मैदान निर्माण कार्य सम्पन्न गर्नुपर्ने विषय प्रधानमन्त्रीसँग राखेको छु । मूलपानी क्रिकेट स्टेडियमबारे जहिल्यै कुरा हुने तर निर्माण सम्पन्न नहुने, सरकारको आयोजनामा रहने तर कहिल्यै सम्पन्न नहुने भइरहेको थियो,' प्रधानमन्त्रीसँग भएको छलफलबारे सांसद गौतमले भनिन्, 'यसको निर्माणलाई लिएर पहिले केही समस्याहरू थिए तर अहिले समाधान भइराखेको छ । त्यो कारणले गर्दा यो पटक तपाईंको प्रधानमन्त्री कालमा सम्पन्न हुनुपर्छ भनेको छु ।'

प्रधानमन्त्री दाहालले क्रिकेट मैदानको निर्माणको अवस्था र त्यसलाई सम्पन्न गर्ने विषयमा चासो राख्ने सकरात्मक जवाफ दिएको सांसद गौतमले उल्लेख गरिन् । 'प्रधानमन्त्रीले मूलपानी क्रिकेट ग्राउन्ड निर्माण सम्पन्न गर्ने विषयमा सकारात्मक जवाफ दिनुभएको छ,' उनले भनिन् ।

सांसद गौतमले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को विकास निर्माणका योजना सम्पन्न गर्नेबारे पनि प्रधानमन्त्री दाहालसँग कुरा राखेकी थिइन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने करिडोरको सडक निर्माण सम्पन्न र कोटेश्वरको ट्राफिक जाम अन्त्य गर्ने लगायतका योजनाबारे प्रधानमन्त्रीसँग छलफल भएको उनले बताइन् ।

सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमले वर्तमान राजनीतिक विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको उनले बताइन् ।

प्रधानमन्त्री दाहालले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पनि प्रधानमन्त्री दाहाललाई समर्थन पनि कायमै राखेको छ ।

प्रकाशित : चैत्र ४, २०७९ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्

वात्स्यायनलाई पोखरामा नागरिक अभिनन्दन

दीपक परियार

पोखरा — कार्टुनिस्ट दुर्गा बराल 'वात्स्यायन'लाई शनिबार पोखरामा रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ । उनी ८० वर्ष पूरा भएको अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारको नेतृत्वमा तीन दर्जन वाङ्ममय तथा सामाजिक संघसंस्थाले उनलाई विशेष अभिनन्दन गरेका हुन् ।

नदीपुरस्थित उनको घरबाट सुरू भएको रथयात्रा बगर, बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरमा पुगेर अभिनन्दन समारोहमा परिणत भएको थियो । बाजागाजासहितको रथयात्रालाई स्थानीयले घरघर अघि फूल र घडाले स्वागत गरे । समारोहमा पोखरा महानगरसहित विभिन्न संघसंस्थाले सम्मानपत्रले सम्मान गरे ।

अभिनन्दन समारोहमा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले वात्स्यायनलाई 'व्यंग्यचित्रका बादशाह'को उपमा दिए । 'समाजका विकृति, विसङ्गति, राजनीतिका विकृति, विसङ्गतिको विरूद्धमा कार्टुनको माध्यमबाट कसैले युद्ध छेडेका छन् भने त्यो वात्स्यायनले छेडेका छन्,' उनले भने, 'प्रजातन्त्र प्राप्तिको इतिहासमा कार्टुनको माध्यमबाट उनले जति योगदान अरूले पुर्‍याएका छैनन् ।' पोखरालाई पानी रंगको पाठशालाको रूपमा स्थापित गर्न वात्स्यायनको योगदानको उनले चर्चा गरे ।

साहित्यकार सरूभक्तले वात्स्यायन कला क्षेत्रमा निरन्तर साधनाले ऋषित्व प्राप्त गरको व्यक्ति भएको बताए । 'उनी चित्रकला जगतका मूर्धन्य कलाकार हुन्,' सरूभक्तले भने, 'अन्य कलाकारका व्यंग्यचित्रमा वात्स्यायनको प्रभाव देखिन्छ ।' वात्स्यायनलाई उनले पोखरामा जन्मिएका विश्वस्तरीय कलाकारको संज्ञा दिए ।

समारोहमा वात्स्यायनले चित्रकलाका सुरूआति दिनदेखिका आफ्ना संघर्ष गाथा सुनाए । उनले काठमाडौंबाट पोखरा फर्किएर इगल आई आर्ट स्टुडियो खोल्नु सम्पूर्ण कलायात्राको 'टर्निङ प्वाइन्ट' भएको बताए । अभिनन्दनले आफूलाई थप जिम्मेवारीबोध गराएको बताउँदै सक्ने अवस्थासम्म कला सिर्जनालाई निरन्तरता दिने उल्लेख गरे । 'यो अभिनन्दन पाएर आफूलाई सौभाग्शाली सम्झिएको छु,' उनले भने, 'पोखराले गर्दा सबैथोक पाएँ ।'

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले वात्स्यायनलाई अभिनन्दन गर्न पाउँदा पोखरा नै धन्य भएको बताए ।


प्रकाशित : चैत्र ४, २०७९ १४:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×