निभ्यो ‘परालको आगो’- समाचार - कान्तिपुर समाचार

निभ्यो ‘परालको आगो’

प्रताप सुब्बाले दिदी, चट्याङ, भीष्म प्रतिज्ञा, बचन, दोबाटोजस्ता लोकप्रिय फिल्म बनाएका थिए
पर्वत पोर्तेल

झापा — कथाकार गुरुप्रसाद मैनालीको सामाजिक कथा ‘परालको आगो’ लगायत दर्जन बढी नेपाली सिनेमामा निर्देशन शिल्प देखाएका दार्जिलिङका प्रताप सुब्बाले बिहीबार अपराह्न अन्तिम सास फेरे । केही वर्षअघि कान्तिपुरसँगको एक अन्तर्वार्तामा सुब्बाले अर्गानिक स्वादको फिल्म बनाउने योजना सुनाएका थिए । 

योजना अधुरै छाडेर ७६ वर्षको उमेरमा उनी सधैंका लागि बिदा भएका छन् । ‘भित्री मनले प्रताप तँ अझै अधुरै छस् भन्छ,’ उनले भनेका थिए, ‘त्यही भएर नेपाली दर्शकको मन जित्ने अर्गानिक फिल्म बनाएर मर्न पाएँ भने मात्रै आनन्द मिल्छ ।’

इलामपारि दार्जिलिङको सुकेपोखरीमा जन्मिएका उनको सिलिगुडीस्थित एक अस्पतालमा निधन भयो । गुरुप्रसाद मैनालीको कथा स्कुलदेखि नै मन परेपछि सुब्बाले सिनेमामा ढाल्ने निधो गरे । ‘परालको आगोको कथाले मलाई पागल नै बनाइसकेको थियो,’ सुब्बाले भनेका थिए, ‘दिनरात फिल्मका प्लटहरू कल्पनामा आउँथे, फिल्म बनाउने भित्री इच्छा थियो । पूरा गरें ।’

दार्जिलिङका रंगकर्मी टंक शर्मालाई कहिलेकाहीं चौरस्तातिर देख्थें । उनलाई लाग्थ्यो ‘चामे’ को भूमिकाको यिनले बाहेक अरूले न्याय गर्न नसक्लान् । उनै शर्माले फिल्ममा चामे भएर खेले ।

सन् १९७८ मा बन्यो ‘परालको आगो’ । भाषा, संस्कृति, कला र नेपालीत्व भावप्रति दार्जिलिङ जुरुक्कै उठेको बेला थियो त्यो । अलग राज्य गोर्खाल्यान्डको मुद्दा उठ्ने तरखरमा थियो । ‘प्रताप सुब्बाले परालको आगो बनायो,’ सुब्बाले भनेका थिए, ‘परालको आगोले मलाई बनायो ।’ परालको आगोपछि दार्जिलिङमै उनले ‘बाँच्न चाहनेहरू’ भन्ने सिनेमा बनाए । जति परालको आगो चल्यो, त्यति त्यो चलेन । ‘अहिले पनि धेरैले प्रताप सुब्बा भन्नेबित्तिकै परालको आगो नै सम्झिन्छन्,’ सिलिगुडीका साहित्यकार ज्ञानेन्द्र खतिवडाले भने, ‘उनले अरू पनि धेरै फिल्म बनाए तर परालको आगोले नै उनलाई चिनायो ।’

इतिहासमा ‘सत्य हरिश्चन्द्र’ पहिलो नेपाली फिल्म मानिन्छ । तर, सुब्बाको दाबी थियो, पहिलो नेपाली फिल्म ‘परालको आगो’ नै हो । ‘इन्डियन सिनेमा हिस्ट्री’ पुस्तकमा नेपाली भाषाको पहिलो फिल्म ‘परालको आगो’ उल्लेख छ । सत्य हरिश्चन्द्रचाहिँ हिन्दीको ‘डबिङ’ मात्रै थियो भन्ने दाबी उनको रहिरह्यो ।

रोचक त के भने त्यही सत्य हरिश्चन्द्र निर्माणका क्रममा सुब्बाले गायकको अडिसन दिएका थिए, दार्जिलिङकै एक होटलमा । सत्य हरिश्चन्द्रका निर्देशक डीवी परियारले नै उनको अडिसन लिएका थिए । भलै उनी गायकका रूपमा छनोट भएनन् । ‘त्यो अडिसन पास भएको भए, फिल्म निर्देशक होइन, प्रताप गायक हुन्थ्यो अहिले,’ उनले हँस्यौली गरेका थिए ।

उनका बुबा ब्रिटिसकालमै भूमिसुधार विभागका इन्स्पेक्टर थिए । साह्रै कडा अनुशासन थियो बुबाको । बाबुले छोरालाई सरकारी जागिरे बनाउने धेरै प्रयत्न गरे । तर, खेर गयो । किनकि प्रतापलाई सरकारी जागिरप्रति दिलचस्पी नै थिएन । उनको सोच, विचार भिन्न थियो । भगीरथ प्रयत्न गर्दा पनि छोरालाई जागिरे बनाउन नसकेपछि वाक्क भएर बुबाले रुचिको क्षेत्रमा लाग्न छुट दिएका थिए ।

दार्जिलिङमा सुवास घिसिङहरूको अलग राज्य गोर्खाल्यान्डको आगो दन्किरहेका बेला सन् ८० को दशकमा उनले ‘कहीं अँध्यारो कहीं उज्यालो’ फिचर फिल्म बनाएका थिए । आन्दोलनका कारण दार्जिलिङमा रिलिज हुनै पाएन । ‘कम्युनिस्ट फिल्म’ को ट्याग लगाएर प्रतिबन्ध नै लगाइयो ।

अन्ततः उनी मेची तरेर काठमाडौं उक्लिए फिल्मी भविष्यको खोजीमा । त्यही बेला कुन्ती र शिलाबहादुर मोक्तान, उदय सोताङहरू नेपाल छिरिसकेका थिए । अभिनेता नीर शाहसँग उनको राम्रै संगत भयो । सुब्बाले फिल्मी करिअरकै पहिलो डकुमेन्ट्री फिल्म ‘पोनी ब्वाइ अफ दार्जिलिङ’ मा नीरलाई ब्रेक दिएका थिए । यो पश्चिम बंगाल सरकारको लगानीमा पर्यटन प्रवर्द्धनका लागि बनाइएको घोडाचढी व्यवसायसँग सम्बन्धित डकुमेन्ट्री थियो ।

नीरसँगको चिनजानले सुब्बालाई काठमाडौंमा संघर्ष गर्न सहज भयो । नीरले केही टेलिफिल्म निर्देशनमा प्रतापलाई संलग्न गराए । नीरपछि चलचित्र संस्थानमा रहेका डीबी थापाले मौका दिए ।

काठमाडौं बसाइका क्रममा उनले दिदी, चट्याङ, भीष्म प्रतिज्ञा, बचन, दोबाटो जस्ता लोकप्रिय फिल्म बनाए । डाइमन्ड फिल्म इन्स्टिच्युट सञ्चालन गरी धेरै कलाकार, निर्देशक पनि जन्माए । अन्ततः गोर्खाल्यान्ड आन्दोलनको समयमा घर छाडेर हिँडेका सुब्बालाई केही राजनीतिक नेताहरूले ‘भगौडा’ पनि भने ।

दार्जिलिङ छाडेर हिँडेको १५ वर्षपछि दार्जिलिङ फर्किएका उनी त्यसयता निरन्तर यतै थिए । बेलाबखत मेची तरेर नेपाल छिर्थे । नत्र उतै फिल्मीकर्ममै बित्यो उनको जिन्दगी । कोरोनाअघि उनले ‘याद तिम्रो आयो’ भन्ने लभस्टोरी फिल्म बनाए । त्यो नै उनको अन्तिम फिल्म थियो । मधुमेह र फोक्सोसम्बन्धी बिरामी उनी चार वर्षदेखि निरन्तर अस्वस्थ रहेको निकट परिवारजनले जनाएका छन् । सुब्बाको शनिबार दार्जिलिङमा अन्त्येष्टि गरिँदै छ । उनका दुई श्रीमती र तीन छोराछोरी छन् ।

प्रकाशित : चैत्र ४, २०७९ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्

परिवारभित्रै अपराध, महिलामाथि दोहोरो अत्याचार

सम्पत्ति विवाद, लागूऔषध दुर्व्यसन, दाम्पत्य सम्बन्धमा दरार र प्रतिशोधले आफन्तकै हत्या
धेरैजसो घटनामा महिलाकै हत्या, पुरुष नै मारिएका घटनामा पनि आर्थिक र सामाजिक रूपले महिला मर्कामा
तुफान न्यौपाने, सन्तोष सिंह, भरत जर्घामगर

जनकपुर, लहान — धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का मिल, जेनेरेटर, पम्पसेट बनाउने मिस्त्री धनुखधारी दास (५० वर्ष) सधैंझैं गत पुस ९ मा पनि आँगनमा जेनेरेटर बनाउँदै थिए । उनकी ७० वर्षीया आमा महाजनीदेवी घरको दक्षिणपट्टि अर्को सानो छाप्रोमा रहेको किराना पसलमा थिइन् ।

म सहुँ कसरी : मारिएका श्रीमान् र जेल परेका छोरा सम्झेर भावविह्वल भएकी सिरहाको कल्याणपुर–११ की सुमारीदेवी सहनी । लागूऔषधको लतमा फसेका जेठा छोरा राकेशले बाबुको हत्या गरेका थिए । तस्बिर : तुफान न्यौपाने/कान्तिपुर

साँझ साढे ५ बजेतिर पल्सर मोटरसाइकलमा आएका दुई युवा उनको पसल अगाडि रोकिए, चुरोट किनेर खाए । उनीहरूले महाजनीलाई आफ्नो पम्पसेट बिग्रिएकाले मर्मत गर्ने मिस्त्री खोज्दै सीमावर्ती भारतीय गाउँ पिप्रौनबाट आएको बताए अनि सोधे, ‘धनुख मिस्त्री कहाँ छन् ?’

नेपाल–भारत सीमामा रहेको मुखियापट्टी गाउँका धनुख आफ्नो सीपअनुसार सामान मर्मत गर्न ग्राहकका घरघरै जाने गर्थे । खुला सीमा रहेको भारतीय गाउँ पनि जानु–आउनु सामान्य थियो । त्यस्तै कोही ग्राहक होलान् भन्ने ठानेकी आमाले उत्तरपट्टि आँगनमा काम गरिरहेका छोरोलाई देखाउँदै भनिन्, ‘ऊ नै हो धनुख मिस्त्री ।’ मोटरसाइकल हाँकेर आएका एक जना मोटरसाइकलमै बसिरहे, अर्का व्यक्ति धनुखछेउ पुगेर आफूहरूको मोटरसाइकलमा बसेर पिप्रौन गाउँमा बिग्रेको पम्पसेट बनाइदिन आग्रह गरे । धनुखले परिचय मागे र पिप्रौन गाउँमा त्यो नाम गरेको कोही पनि व्यक्ति आफूले नचिनेको भन्दै जान अस्वीकार गरे । उनलाई त्यहीं छाडेर ती दुई युवा बाटो लागे ।

धनुषाको मुखियापट्टी मुसहरनिया–२ मिस्त्री धनुखधारी दासका आमा महाजनीदेवी, श्रीमती शैलोदेवी र छोरी । ५० वर्षीय दासको गत पुस ९ मा हत्या भएको थियो । हत्या आरोपित छोरा र ज्वाइँ थुनामा छन् । तस्बिर : तुफान न्यौपाने/कान्तिपुर

महाजनीदेवीका अनुसार दुई घण्टापछि ती दुई जना फेरि आए । मोटरसाइकल रोके । धनुख आफ्नै सुरले काम गरिरहेका थिए । सरासर अगाडि बढेर एक जनाले धनुखको बायाँ कोखामा टाँसेर गोली दाग्यो, महाजनीदेवीका आँखै अगाडि छोरा ढले, गोली हान्ने युवक कुदेर मोटरसाइकल चढ्न पुगे, अर्कोले पहिल्यैदेखि स्टार्ट गरिराखेको मोटरसाइकल हुइँक्याइहाल्यो । महाजनीदेवीले हारगुहार गरिन्, उनका छोरालाई गोली चलाउने व्यक्तिले मोटरसाइकलको पछाडिबाट एक राउन्ड हवाई फायर गरे । घाइते धनुखलाई मोटरसाइकलमा राखेर जनकपुरस्थित प्रादेशिक अस्पताल पुर्‍याइयो । डाक्टरले मृत घोषित गरे ।

अनुसन्धानका क्रममा प्रहरीले धनुषाको नगराइन नगरपालिका–२ जटहीका २१ वर्षीय रन्जितकुमार यादवलाई पक्राउ गर्‍यो । धनुखलाई गोली हान्ने उनै थिए, हत्या योजनामा लागेका अन्य दुई जना भारतीय सुमितकुमार सिंह र आकाशकुमार मण्डल अझै फरार छन् । प्रहरीले मोटरसाइकल चालक धनुषाको नगराइन–२ का २७ वर्षीय नवीनकुमार मिश्रलाई पनि समातेको छ । बयानका क्रममा यादव र मिश्रले धनुखको हत्यामा आफूहरूसहित हाल फरार रहेका सिंह र मण्डल संलग्न रहेको बताएका छन् । तर, धनुखसँग चिनजान नै नभएका यी चार जनाले मात्र उक्त घटना गराएको कुरा पत्यारलाग्दो थिएन । प्रहरीले उनीहरूको कल डिटेल विश्लेषण गर्‍यो, त्यसक्रममा धनुखलाई गोली प्रहार गर्ने रन्जितसँग मृतक धनुखका जेठा छोरा प्रदीप र प्रहरी हवल्दारसमेत रहेका उनका ज्वाइँ उदय दासको अस्वाभाविक ‘फोन सम्पर्क’ भएको देखियो । उनीहरू दुवै जना पक्राउ परे ।

धनुषा जिल्ला अदालतमा यही फागुन १७ मा दर्ता भएको अभियोग पत्रअनुसार बहुविवाह गरेका धनुखले कान्छी श्रीमतीलाई नागरिकता र नवजात छोरीको जन्मदर्ता गराउने प्रक्रिया सुरु गरेपछि पुर्ख्यौली सम्पत्ति आफूहरूले नपाउने भयमा रहेका छोरा प्रदीपले प्रहरीमा रहेका भिनाजु उदयको सहयोगमा बावुको हत्या योजना बनाएका रहेछन् । त्यसका लागि उनीहरूले ५ लाखमा ‘कन्ट्र्याक्ट किलर’ खोजेका रहेछन् । बाबुको हत्यापछि थप चार लाख दिने सर्त राखेर सुरुमा तयारीका लागि एक लाख रुपैयाँको ‘सुपारी’ दिएछन् । रन्जितले उक्त रकम लिएर हतियार र मोटरसाइकलको व्यवस्थापन गर्न र हत्यापछि केही समय आफूहरू लुकेर बस्ने व्यवस्था मिलाउन उनका भारतीय साथीहरूसँग सम्पर्क गरेका थिए ।

प्रहरीले प्रदीप र उदयलाई पक्राउ गरिसकेको छ । उनीहरूलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि घरमा ठूलो रिक्तता छाएको छ । महाजनीदेवी बुढ्यौलीमा पुत्र वियोगमा छिन्, उनीसँगै बुहारी शैलोदेवी पति वियोगका साथै छोरासमेत थुनिएकामा मर्माहत छिन् । उदय पक्राउ परेपछि उनकी पत्नी अंशुदेवी पनि दुई सन्तान लिएर माइतै आएकी छन् । बुवाको हत्याको पीडा छँदै छ, श्रीमान् उदय थुनिँदा आफ्नो र सन्तानको अनिश्चित भविष्य सम्झेर उनी कहालिएकी छन् । ‘प्रहरीले मेरो भाइ र श्रीमान् मिलेर बुवाको हत्या गरेका हुन् भनेको छ । तर, उनीहरूले त्यसो गरेका हुन् कि होइनन्, थाहा छैन । बुवालाई कसले र किन मार्‍यो भन्ने पनि हामीलाई केही थाहा छैन,’ उनी भन्छिन्, ‘बुवा मारिनुभयो, श्रीमान् र भाइ जेलमा छन् । हामीलाई मर्नु न बाँच्नुभएको छ ।’

धनुखकी छोरी र श्रीमती ।

धनुखकी श्रीमती शैलोदेवी शरीर सुन्निने समस्याले पीडित छिन् । उपचारका लागि जनकपुर गएका बखत जेलमा रहेका छोरा प्रदीपलाई भटिन् । ‘देख्नेबित्तिकै मन थाम्नै सकिनँ, रुन थालें,’ उनले सुनाइन्, ‘केही कुरा गर्नै सकिनँ, त्यसै फर्किएँ । त्यसपछि भेट्न गएकी छैन ।’ छोरा–ज्वाइँको योजनामा भएको धनुखको हत्याले सम्पत्तिका लागि परिवारकै सदस्यको ज्यान लिनसमेत पछाडि नपर्ने गरी समाजमा मौलाउँदो अपराधको चित्र देखाउँछ ।

धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरकी अमृताकुमारी यादव (२८ वर्ष) गत मंसिर २६ गते बिहान ४ बजे नबिउझिँदै बन्चरो प्रहारमा परिन् । अनुहार र टाउकोमा बन्चरोको निरन्तर प्रहारपछि अचेत भएकी अमृतालाई उनका पति वीरेन्द्र यादवले चोर आएको हल्लाखल्ला गरेपछि जम्मा भएका छिमेकीले जनकपुरको काव्या अस्पताल पुर्‍याए । अस्पताल पुगुन्जेल अमृताको मृत्यु भइसकेको थियो, अस्पतालले प्रहरीलाई खबर गर्‍यो । प्रहरीले वीरेन्द्र र उनकी आमालाई सोधपुछ गर्‍यो । उनीहरूले बिहान चोर आएको र आक्रमण गरी भागेको बयान दिए । तर, प्रहरीको केरकारसामु वीरेन्द्र धेरैबेर टिक्न सकेनन्, ‘बिहान झगडा परेपछि मैले नै बन्चरोले हिर्काएको हुँ । त्यसपछि पिलासले बिजुलीको तार काटेर घरमा अँध्यारो पारेपछि बन्चरो लगायतका सामान लुकाएँ । अनि चोर आयो भन्दै कराएपछि आमा उठिन्, त्यसपछि छिमेकीहरू जम्मा भएर अस्पताल पुर्‍याएका हौं ।’

ज्वाइँले छोरीको हत्या गरेपछि पीर लिएर दिन बिताउँदै महोत्तरीको भंगहा–९ अजगेवाकी ७० वर्षीया चुल्हियादेवी यादव । तस्बिर : तुफान न्यौपाने/कान्तिपुर

महोत्तरीको भंगहा–९, अजगेवाकी अमृताले १० वर्ष अगाडि वीरेन्द्रसँग परम्पराअनुसार बिहे गरेकी थिइन् । उनीहरूका दुई छोरा (सात र पाँच वर्ष) छन् । अमृताकी आमा चुल्हिया यादव (७०) का अनुसार सुरुमा राम्रै चलेको छोरीको घर–व्यवहार ज्वाइँ रोजगारीका लागि चार वर्ष साउदी अरबमा बसेर आएपछि बिग्रिएको हो । ‘विदेशबाट फर्किएपछि अनेक आरोप लगाउँदै कुटपिट गरिरहन्थ्यो । छोरीलाई धेरै दुःख दिएपछि यहाँ ल्याएर राखेकी थिएँ,’ चुल्हियाले सम्झिइन्, ‘एक महिनापछि यहाँ आएर आइन्दा दुःख नदिने वाचा गरेर लिएर गएको थियो । त्यसपछि पनि कुटपिट रोकिएको थिएन ।’

चुल्हियाका अनुसार अमृताले आफूमाथि गालीगलौज र कुटपिट भइरहेको फोनबाट सुनाइरहन्थिन् । पछि त वीरेन्द्रले मोबाइल चलाउनसमेत रोक लगाएका थिए । ३ वर्षअघि आफ्ना श्रीमान् गुमाएकी चुल्हियाले अहिले छोरी गुमाएपछि आफैंलाई सम्हाल्न सकेकी छैनन् । उनका एकमात्र छोरा सुखचन्द्र यादव रोजगारीका लागि विदेशमा छन् । बुहारीसँग बस्दै आएकी उनी छोरीको हत्यापछि बेहोस भएर ढलेकी थिइन्, त्यसपछि राम्ररी निको भएकी छैनन् । ‘आफैंले बन्चरोले हिर्काएर मारेछ, त्यसपछि चोरले काटेर भागे भनेर खबर गरेको थियो, हामीले पत्याएनौं,’ उनले भनिन् । अहिले वीरेन्द्र मुद्दाको पुर्पक्षका लागि सिन्धुली कारागारमा छन् । धनुषाको यो घटना दाम्पत्य जीवनमा वैदेशिक रोजगारीले पारेको प्रभावको दृष्टान्त हो ।

सिरहाको कल्याणपुर नगरपालिका–११, मलाहका रामबाबु सहनीको पूर्व र पश्चिमपट्टिका दुवै छिमेकीका घर पक्की छन् । दक्षिणमा सार्वजनिक कच्ची बाटो र उत्तरमा सार्वजनिक पोखरीको बीचमा रहेको कच्ची घरको छेउमै उनले पक्की घर बनाउँदै थिए । यसबीचमा लागूऔषधको दुर्व्यसनमा फसेका जेठा छोरा राकेशलाई उपचारका लागि कहिले ढल्केबर त कहिले जनकपुरको पुनःस्थापना केन्द्रमा पुर्‍याउँथे । पुनःस्थापना केन्द्रमा पनि स्थिर भएर बस्न नसकेका राकेश घरै फर्किएका थिए, सामान्य विषयमा बाबु र भाइसँग झगडा गरिरहन्थे ।

मारिएका श्रीमान् र जेल परेका छोरा सम्झेर भावविह्वल भएकी सिरहाको कल्याणपुर–११ की सुमारीदेवी सहनीलाई सम्झाउँदै आफन्तजन । तस्बिर : तुफान न्यौपाने/कान्तिपुर

गत माघ १८ गते साँझ भान्सामा खाना पकाउँदै गरेकी आमासँग राकेशले भाइले आफूलाई दाइको सम्मान नदिएको गुनासो गरे । छेउमै रहेका उनका बा रामबाबुले सम्झाएछन्, ‘लागूऔषध छाडेर भाइलाई माया गरिस् भने उसले पनि सम्मान गरिहाल्छ नि ।’ त्यसपछि सधैं भाइको पक्ष लिने गरेको भन्दै उनी बासँग झगडा गरेर निस्किए । रामबाबु बिस्तारामा पल्टिएर मोबाइल चलाउँदै रहेछन्, राकेशले एक्कासि फलामको रडले टाउकोमा बजारे । त्यसपछि नजिकै रहेको ढुंगा टिपेर टाउकोमै हिर्काएपछि त्यहीं उनी अचेत भए । गाउँलेले मिर्चैयास्थित आरके मेडिसिटी अस्पताल पुर्‍याए पनि रामबाबु बाँच्न सकेनन् ।

राकेशकी आमा सुमारीदेवी आफ्नो छोरो नै दुश्मन बन्न पुगेको बताउँछिन् । राकेशका दुई छोरी र उनकी श्रीमती रुबीको समेत भरणपोषणको जिम्मेवारीमा सम्हाल्न पुगेकी उनले परिवारमा डकैती लागेजस्तो भएको बताइन् । ‘मेरै छोरो दुश्मन भयो, बाउलाई नै मार्‍यो । दैवले मलाई पनि लगे हुनेजस्तो भएको छ,’ उनले भनिन्, ‘प्रहरीले कहाँ राखेको छ, थाहा छैन । भेट्न जान पनि मन लागेको छैन । तर, उसका छोरीहरू र बुहारीको त माया लाग्छ, यिनीहरूको के दोष छ र ?’

बुहारी रुबीसँग सुमारीदेवी सहनी ।

सिरहाको जिल्ला सरकारी वकिल कार्यालयले गत माघमा जिल्ला अदालतमा ४६ वटा अपराधका मुद्दा दायर गरेकामा एकतिहाइभन्दा बढी (१६ वटा) लागूऔषधको सेवन र कारोबारसँग सम्बन्धित छन् । त्यसको अघिल्लो महिना पुसमा (दर्ता २६ मुद्दामध्ये लागूऔषधका ७) र त्यसपछिको फागुन (दर्ता २४ मध्ये लागूऔषधका मुद्दा ८ वटा) मा पनि झन्डै यही अनुपातमा मुद्दा परिरहेको देखिन्छ । मधेशमा लागूऔषधको दुर्व्यसनीमा फसेका युवाका लागि पुनःस्थापना केन्द्र चलाइरहेका एक जना सञ्चालक (जो उनी आफैं पनि पूर्वलागूऔषध प्रयोगकर्ता हुन्) मधेशी समाजमा लागूऔषधको कुलत जरासम्मै फैलिएको बताउँछन् । ‘रोजगारीका लागि विदेश गएका बाबुले पठाएको पैसा छ । आमालाई उनीहरूले टेर्दैनन् । खुला सीमाका कारण लागूऔषध सजिलै उपलब्ध हुन्छ । अहिले किशोर र युवा लागूऔषधको दुर्व्यसनमा नफसेको गाउँ–टोल भेट्टाउन मुस्किल छ,’ उनी भन्छन्, ‘त्यसबाट अन्य अपराधसमेत जन्मिरहेका छन् । चोरी, अपहरण र परिवारकै सदस्यको हत्या जस्ता अपराधहरूसमेत त्यसका कारण भइरहेका छन् ।’

सम्पत्ति, वैदेशिक रोजगारीपछि दाम्पत्य जीवनमा बढ्दो अविश्वास र लागूऔषधका कारण परिवारजनको हत्या भएका यी केही उदाहरणले आफन्तकै संलग्नतामा मधेशमा मौलाउँदो अपराधको कथा भन्छन् । नेपाल प्रहरीको मधेश प्रदेश प्रमुख डीआईजी वसन्तबहादुर कुँवरले परिवारका सदस्यहरू संलग्न अपराधको अनुसन्धान गर्न र प्रमाण जुटाउन पनि तुलनात्मक रूपमा कठिन हुने गरेको बताउँछन् । ‘हत्या, बलात्कार जस्ता अपराधमा परिवारका सदस्यहरू संलग्न भएका घटना बढ्दो क्रममा देखिएको छ,’ उनले भने, ‘सम्पत्ति, सम्बन्ध, रिसइबी र बदलाका लागि आफन्त नै संलग्न भएर अपराध भइरहेको देखिन्छ । उनीहरूलाई एकअर्काका बारेमा बढी जानकारी हुने भएकाले अपराधको योजना बनाई त्यसलाई कार्यान्वयन गर्न पनि सजिलो मान्दा रहेछन् ।’

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो २० महिनामा प्रदेशभरमा आफन्त संलग्न हत्याका घटना मात्रै ७४ वटा छन्, जसमा १०३ जना संलग्न भएको अभियोग छ । अघिल्लो आर्थिक वर्षमा ३३ वटा आफन्त हत्या भएकामा यो आर्थिक वर्षको ८ महिनामै ४१ वटा पुगिसकेका छन् । सबैभन्दा बढी श्रीमान्ले श्रीमतीको हत्या गरेका २८ (अघिल्लो आर्थिक वर्षमा १० र यो आवको ८ महिनामा १८ जना) घटना छन् । त्यसपछि छोराले आमा/बाबुको हत्या (अघिल्लो आवमा ३ र यो आवमा ७) छन्, त्यसपछि सासू/ससुराले बुहारी (अघिल्लो आवमा १ र यो आवमा ४) को हत्या गरेको घटना छन् ।

जनकपुरमा क्रियाशील अधिवक्ता श्यामिका महतो मधेशी समाजमा बढिरहेको यस्तो अपराधबाट सबैभन्दा पीडित महिलाहरू बन्न पुगेको बताउँछिन् । ‘श्रीमान् वा बाबु/दाजु–भाइ र सासू–ससुराको समेत निसानामा परेका पीडितहरू महिला नै छन्,’ उनले भनिन् ।

जेलबाट छुटे पनि कहाँ पो गइजाउँला !

प्रकाशित : चैत्र ४, २०७९ ०९:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×