कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

‘कूटनीति बुझेका भन्दा पैसा र पावर भएकाहरू राजदूत’

नेपालको विदेश मामिला सन् २००६ देखि कमजोर बन्दै गइरहेको छ : हेमराज सुवेदी, प्राध्यापक
कान्तिपुर संवाददाता

काठमाडौँ — प्राध्यापक हेमराज सुवेदीले विदेश नीति कार्यान्वयनमा दलबीच एउटै सहमति आवश्यक रहेको बताएका छन् । परराष्ट्र मामिला अध्यक्ष प्रतिष्ठान (आईएफए) द्वारा आयोजित दोस्रो आईएफए संवाद शृंखलामा ‘आन्तरिक अस्थिरता, विश्व व्यवस्था र नेपालको परराष्ट्र नीति’ शीर्षकबारे आफ्नो पत्र प्रस्तुत गर्दै उनले नेपालका दलबीचमा परराष्ट्र नीतिलाई लिएर एकरूपता नभएको उल्लेख गरे ।

‘कूटनीति बुझेका भन्दा पैसा र पावर भएकाहरू राजदूत’

परराष्ट्र मामिलालाई लिएर प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीच नै फरक धारणा आएको उनको भनाइ थियो । ‘केही समयअघि प्रधानमन्त्री (पुष्पकमल दाहाल) ले नेपालबाट संयुक्त राष्ट्रसंघ मानव अधिकारको वार्षिक सत्रमा भाग लिन जान लागेकी परराष्ट्रमन्त्री (विमला राई पौड्याल) लाई रोकेका थिए । यसबाट पनि परराष्ट्र मामिलामा एउटै सरकारमा रहेका फरक दलबीच एकै धारणा छैन भन्ने देखाउँछ,’ उनले भने । नेपालले आफ्ना छिमेकीहरूलाई सन्तुलित रूपमा व्यवहार गर्नुपर्ने भन्दै उनले थपे, ‘हामीले छिमेकीलाई परिवर्तन गर्न सक्दैनौं ।’ नेपालमा कूटनीति बुझेका भन्दा पनि पैसा र पावर भएकाहरू राजदूत नियुक्त हुने गरेको उनले बताए । जसका कारण नेपालको विदेश मामिला सन् २००६ देखि कमजोर बन्दै गइरहेको उनले दाबी गरे ।

प्राध्यापक सुवेदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई अहिलेको हिसाबमा अघि बढाउन नहुने पनि बताएका छन् । ‘सार्कलाई यही अवस्थामा अघि बढाउन सकिन्न । सार्क अहिले झन्डै मरितुल्य भइसक्यो,’ उनले भने । उनको पत्रमाथि टिप्पणी गर्दै सुरक्षा जानकार तथा अवकाश प्राप्त एआईजी सुरेन्द्रबहादुर शाहले ‘नेपाललाई लिएर अमेरिकी कूटनीतिज्ञले प्रो–नेपाली हुनुपर्छ र चिनियाँहरूले तपाईं (नेपाल) को सार्वभौमिकतामा आँच आएमा हामी (चीन) चुप लागेर बस्दैन भन्छन्, यो उनीहरूले कसलाई भनेको हो ?’ भनी प्रश्न गरे ।

अर्का टिप्पणीकर्ता पूर्वराजदूत खगराज अधिकारीले नेपाल र भारतबीच सम्बन्धमा नराम्रो मात्र नभई केही राम्रा पाटा पनि रहेको उदाहरण प्रस्तुत गरे । आफू सन् २०१० देखि २०१४ सम्म नयाँ दिल्लीस्थित नेपाली दूतावासमा सेवामा रहँदा नेपालीलाई विश्वका विभिन्न स्थानबाट उद्धार गरेर ल्याउन भारतले सहयोग गरेको बताए । नेपालका नेताहरूले भारतको सहयोगमा उपचार गरेको र भारतीयसँग आफ्ना सन्तानलाई छात्रवृत्ति माग गरेको पनि उनले सुनाए । पूर्वप्रधानमन्त्री मरिचमान सिंहले भने भारतले सहयोग गर्न खोज्दासमेत अस्वीकार गरेको उनले स्मरण गरे ।

प्रकाशित : फाल्गुन २६, २०७९ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×