कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

नेकपा एसको रणनीति : एमाले र कांग्रेस दुवैतिर ‘बार्गेनिङ’

प्रकाश धौलाकोटी

काठमाडौँ — नेकपा एकीकृत समाजवादी (एस) ले राष्ट्रपति निर्वाचनमा एमाले र कांग्रेस दुवैतिर शक्तिका लागि बार्गेनिङ गर्ने रणनीति लिएको छ । बुधबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा सकेसम्म राष्ट्रिय सहमति बन्नुपर्ने, यदि त्यस्तो सहमति नभए सम्भावित समीकरणमा आफ्नो दल संसद्मा रहेका सबै राजनीतिक दलसँग संवादका लागि खुला रहने निर्णय गरेको छ ।

नेकपा एसको रणनीति : एमाले र कांग्रेस दुवैतिर ‘बार्गेनिङ’

सत्ता गठबन्धनमा भएको शक्ति बाँडफाँटको विषयमा असमझदारी सिर्जना हुँदा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने अडान लिइरहेका छन् । तर अर्को सत्ताघटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट राष्ट्रपति नबन्ने अवस्थामा राष्ट्रिय सहमतिबाटै राष्ट्रपतिका लागि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको नाम अनौपचारिक रुपमा अघि सारेका छन् ।

ओलीले सोमबार मात्रै अध्यक्ष नेपाललाई भेटेर पार्टी एकता गर्ने शर्तसहित राष्ट्रपति बन्न प्रस्ताव गरेका थिए । नेताहरूका अनुसार बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्री दाहालसँगको भेटमा समेत ओलीले नेपाललाई राष्ट्रपति बनाउन राष्ट्रिय सहमतिको वातावरण बनाउन प्रस्ताव गरेका छन् ।

यद्यपि प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिको अडान लिइरहँदा राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति हुने वा कुन दलको कस्तो पोजिसन हुने भन्ने निश्चित भइसकेको छैन । माओवादी केन्द्रले यसअघि नै राष्ट्रपतिमा एमालेभन्दा फरक दलको उम्मेदवारको खोजी हुनुपर्ने निर्णय गरिसकेको छ भने प्रधानमन्त्री दाहालले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपति बनाउन कांग्रेस नेताहरूलाई वचन नै दिइसकेको कांग्रेस नेताहरूको दाबी छ ।

राष्ट्रपति निर्वाचनबारे अन्योल सिर्जना भइरहेका बेला नेकपा एसले भने मध्यमार्गी बनेर एमाले र कांग्रेस दुवै दलसँग बार्गेनिङ गर्ने बाटो बनाएको हो । तर, पार्टी एकताकै तहसम्म भने अहिले सोच नबनाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

उनले सकेसम्म राष्ट्रिय सहमति गरेर सर्वसम्मतरुपमा राष्ट्रपति चयन गर्नुपर्नेमा पार्टीको जोड रहेको समेत बताए । ‘हामीले सकेसम्म सर्वसम्मतरुपमा राष्ट्रपति चयन गरौं भनेका छौं । यदि राष्ट्रिय सहमति हुँदैन भने हामी जोसँग पनि सहकार्यका लागि तयार छौं, त्यस्तो सम्भावित समीकरणका लागि सबै दलसँग छलफल गर्न तयार छौं,’ उनले भने, ‘तर राष्ट्रपति निर्वाचनकै समीकरणमा सामेल हुने गरी कुनै पनि दलसँग हाम्रो पार्टी एकता हुँदैन ।’

एमालेले पार्टी एकताको शर्तसहित राष्ट्रपतिका लागि प्रस्ताव गरेको बाहिरिए पनि अध्यक्ष नेपालले बुधबार बसेको पार्टीको सचिवालय बैठकमा त्यसबारे उल्लेख नगरेको नेताहरूको दाबी छ । ‘अध्यक्षजीले बैठकमा अहिले भइरहेका राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नुभयो तर अहिलेसम्म हामीलाई कसैले पनि राष्ट्रपति बन्न प्रस्ताव गरेको भनेर सुनाउनुभएन,’ बैठकपछि नेता झलनाथ खनालले भने ।

बैठकले राष्ट्रपति निर्वाचनमा नेकपा एसको पनि भूमिका हुने र त्यसका लागि संसद्मा भएका सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए ।

अध्यक्ष नेपालले मंगलबार मात्रै राष्ट्रपतिको निर्वाचनकै बेला बन्ने गठबन्धनहरूमा राजनीतिक पदहरूको बाँडफाँट हुँदा आफ्नो पार्टीलाई पनि भूमिका दिनुपर्ने बताएका थिए । दाङमा मंगलबार भएको पत्रकार सम्मेलनमा नेपालले भनेका थिए, ‘चाहना राख्ने बेग्लै कुरा हो । मैले पनि आफूले के गर्ने भन्ने सोचेको छैन, हाम्रो पार्टीले पनि सोचेको छैन, तर अब कुनै पनि गठबन्धन बन्दा पावर सेयरिङमा हाम्रो पार्टीको पनि भूमिका हुनुपर्छ । पावर सेयरिङमा भूमिका नभए अरूको निम्ति मात्रै हामी बलिदान हुने, अरूले त्यसको फाइदा उठाउने कुरा हुन सक्दैन ।’

निर्वाचनमा कांग्रेससहित पाँच दलीय गठबन्धनको बलमा प्रतिनिधिसभामा १० सिट जितेको नेकपा एस तत्कालीन गठबन्धनको शक्ति बाँडफाँटको हिस्सेदार त थियो, तर कांग्रेस र माओवादीबीचको सहमति भड्किएपछि प्रतिपक्षी कित्तामा पुगेको थियो । गठबन्धन टुटेर माओवादी अध्यक्ष दाहाल एमालेको सहयोगमा प्रधानमन्त्री बनेपनि कांग्रेससँग निरन्तर संवादमा रहेका अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वातावरण बनाएका थिए ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा कांग्रेस उम्मेदवारलाई समर्थन गरेको नेकपा एसले प्रदेश सरकार र प्रदेशसभाका सभामुख र उपसभामुखमा पनि कांग्रेससँग सहकार्य गरेको थियो । कांग्रेस नेताहरू १० पुसपछि फेरि कांग्रेस र माओवादीबीच संवादको वातावरण बनाउनेमा नेपालको प्रमुख भूमिका रहेको बताउँछन् । त्यही संवादको निरन्तरताले अहिले प्रधानमन्त्री दाहाल फेरि कांग्रेससहितको पाँच दलीय गठबन्धन ब्युँताउन तयार भएको नेताहरूको दाबी छ ।

राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री दाहाल एमाले उम्मेदवारलाई नसघाउने निष्कर्षमा पुगिसकेको अवस्थामा नेपालले भने शक्ति बाँडफाँटमा हिस्सा हुनुपर्ने तर्क अघि सारेका हुन् । ‘एमालेले माधव नेपालको कार्ड फ्याँकेर अल्मल्याउन खोजेको हो । तर, त्यो कार्डले माधव नेपाललाई नै बार्गेनिङ गर्न सहज बनाइदिएको छ,’ कांग्रेसका एक नेताले भने, ‘उहाँ १० पुसपछि निरन्तर कांग्रेससँगै हुनुहुन्छ । त्यसैले अहिले एक्कासी एमालेको भर पर्नुहोला भन्ने लाग्दैन तर अब बन्ने गठबन्धनमा उहाँको बार्गेनिङ पावर भने बढेको छ । हिजोजस्तो अब १० सिटको दलभनेर पन्छाएर हिँड्न मिल्ने अवस्थाचाहिँ देखिरहेको छैन ।’

एमालेले नेपाललाई राष्ट्रिय सहमतिमा राष्ट्रपति बन्न प्रस्ताव गरेको बाहिरिएपछि मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाललाई उनकै निवासमा पुगेर भेटेका छन् । कोटेश्वरस्थित उनको निवासमा करिब डेढ घण्टासम्म देउवा र नेपालबीच संवाद भएको थियो । देउवानिकट एक नेताले नेपालले कांग्रेसबाटै राष्ट्रपति चुन्ने विषयमा सकारात्मक प्रतिक्रिया दिएको तर शक्ति बाँडफाँटका विषयमा भने आफ्नो पार्टीको हिस्सेदारीको सुनिश्चितता खोजेको बताए ।

अध्यक्ष नेपालले तत्कालीन पाँच दलीय गठबन्धनमा प्रधानमन्त्रीका लागि दाबी गरेका थिए । त्यसबेला प्रधानमन्त्रीमा २–२–१ वर्ष आलोपालो गर्ने चर्चा समेत चलेको थियो ।

‘राष्ट्रपति निर्वाचनपछि बन्ने समीकरणबारे अहिले नै प्रष्ट छलफल नभएपनि नेपाललाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल सुरु भइसकेको छ, उहाँ हामीसँगै हुनुहुन्छ,’ कांग्रेस महामन्त्री गगन थापाले भने, ‘हामी कांग्रेस नेतृत्वको पुरानै पाँच दलीय गठबन्धन ब्युँतिन्छ भन्नेमा ढुक्क छौं ।’

प्रकाशित : फाल्गुन १०, २०७९ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×