इकोनोमिक्स ओलम्पियाडका लागि ५ विद्यार्थी छानिए

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालबाट अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा भाग लिने पाँच विद्यार्थीको टुंगो लागेको छ । ललितपुरमा आइतबार सम्पन्न नेपाल इकोनोमिक्स ओलम्पियाड (नियो) मा गोल्ड मेडल जित्ने ५ जना विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिएका हुन् । 

बूढानीलकण्ठ स्कुलका भार्गभ चटौत र भिक्टर हमाल, लिटिल एन्जल्सका द्रयुश यादव, ट्रिनिटीका मयंक शंकर झा र सेन्ट जेभियरका अनुभव ढुंगाना ओलम्पियाडका लागि छानिएका नियोले जनाएको छ । प्लस टु तहमा व्यवस्थापन संकाय अध्ययनरत ८० मध्येबाट ओलम्पियाडका लागि ५ विद्यार्थी छानिएका हुन् । क्षेत्रीय प्रतिस्पर्धामा भने देशभरका १६२ कलेजका एक हजारभन्दा बढी विद्यार्थीहरू सहभागी थिए । तीमध्येबाट उत्कृष्ट ७५ जना र सिधै छनोटमा परेका ५ जनाले राष्ट्रिय ओलम्पियाडमा प्रतिस्पर्धा गरेका थिए ।

नियोले प्रतिस्पर्धामा सहभागी विद्यार्थीलाई बिजनेस केस एनलाइसिस, सिमुलेसन र अर्थशास्त्र विषयसँग सम्बन्धित प्रश्न समेटिएको ३ घण्टाको लिखित परीक्षा लिएर उत्कृष्ट ५ जना छनोट गरेको हो । यसअघिका ओलम्पियाडमा नेपाली विद्यार्थीले तेस्रो स्थान हासिल गरेका थिए । तर यसपालि गोल्ड मेडल जित्ने लक्ष्य राखेको नियोका साझेदारी निर्देशक दीपक भण्डारीले बताए ।

प्रकाशित : फाल्गुन ९, २०७९ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्

बेलुन चढेर कोरियाबाट क्यानडा

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९९५ मा आजकै दिन (फेब्रुअरी २१) मा स्टिभ फोसेट बेलुनमा उडेर एक्लै प्रशान्त महासागर पार गरेका थिए । दक्षिण कोरियाबाट बेलुनमा चढेका उनी क्यानडाको लिडरमा उत्रेका हुन् । 

त्यस्तै, सन् २००२ मा उनले तातो हावा भरिएको बेलुनमा एक्लै उडेर विश्वको परिक्रमा गरी विश्व रेडर्क समेत कायम गरेका थिए । त्यसका साथै उनले विभिन्न साहसिक गतिविधिसम्बन्धी अन्य रेकर्डहरू समेत कायम गरेका छन् । उड्डयनसम्बन्धी उनले राखेका ९१ वटा रेकर्डमध्ये ३६ वटा हालसम्म पनि कायम छन् । त्यस्तै उनले नौकाबिहारसम्बन्धी २३ वर्टा विश्व रेकर्ड राखेका छन् ।

अमेरिकाको टेनसीमा सन् १९४४ को अप्रिल २२ मा जन्मिएका फोसेटको ६३ वर्षको उमेरमा २००७ को सेप्टेम्बर ३ मा दुर्घटनामा मृत्यु भएको थियो । उनी चढेको हलुका एयरक्राफ्ट अमेरिकी राज्यहरू नेभदा र क्यालिफोर्नियाबीचको ग्रेट बेसिन डेजर्टमा वेपत्ता भएको थियो । दुर्घटनामा परेको उक्त एयरक्राफ्ट २००८ मा पत्ता लागेको थियो ।

प्रकाशित : फाल्गुन ९, २०७९ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×