कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

राष्ट्रपतिबारे माओवादीको निर्णय कुर्दै कांग्रेस

कांग्रेसतिर नजिक हुन खोज्नुमा दाहालका तीन स्वार्थ– आफू कम्तीमा ४ वर्षसम्म प्रधानमन्त्री बन्ने, शान्ति प्रक्रियाका काम पूरा गर्ने र ओलीको त्रासबाट मुक्त हुने
राष्ट्रपति पद लिने मात्र नभएर पुरानै पाँचदलीय गठबन्धन ब्युँताउने देउवाको प्रयत्न, दाहालले अघि सार्ने उम्मेदवारमै एमालेले सहमति जनाउला कि भन्ने कांग्रेसको आशंका
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसले माओवादीसँगको समझदारीमै राष्ट्रपति पदको उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने’ अडान राखिरहेका कारण कांग्रेसले मुलुकको सर्वोच्च पद आफ्नो पोल्टामा पर्ने आशा राखेको छ । सरकारलाई विश्वासको मत दिएर दाहाललाई फकाउन सुरु गरेका कांग्रेस नेताहरू पछिल्लो समय राष्ट्रपति पद पाउनेमा थप विश्वस्त हुँदै गएको देखिन्छ । 

राष्ट्रपतिबारे माओवादीको निर्णय कुर्दै कांग्रेस

राष्ट्रपति निर्वाचनका लागि माओवादीको निर्णायक मत छ । राष्ट्रिय सहमतिको कुरा गरिरहे पनि माओवादीले एमालेसँगको सत्ता गठबन्धन छाड्ने, नछाड्ने प्रस्ट भइसकेको छैन । एमाले र कांग्रेस दुवैका उम्मेदवारलाई समर्थन नगरेर उसले बीचको बाटो लिने आशंका पनि कांग्रेस नेताहरूले गरिरहेका छन् । बीचको विकल्पका रूपमा कांग्रेस र एमालेबाहेकका दल वा गैरदलीय क्षेत्रबाट राष्ट्रपति बनाउने हुन सक्छ । यस्तो विकल्पमा जान नहुने मत पार्टीभित्र बलियो रहेकाले एमालेसँगको गठबन्धन छाडेर माओवादी पुरानै गठबन्धनमा आउने विकल्प बलियो रहेको कांग्रेस नेताहरू बताउँछन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेताहरूसँग अनौपचारिक कुराकानीमा नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिका लागि अघि सार्ने बताउने गरेका छन् । कांग्रेसमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपतिमा चाहना राखेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित सिटौलाले प्रधानमन्त्री दाहालसँगको पूर्वसम्बन्धका आधारमा माहोल बनाउन खोजिरहेका हुन् । तर, देउवाको रोजाइ पौडेल नै रहेको कांग्रेसका एक नेताले बताए ।

माओवादीको प्रस्ट धारणा बनिनसकेका कारण उम्मेदवार चयनमा प्रधानमन्त्री दाहालकै निर्णय पर्खिरहेको कांग्रेसका एक पदाधिकारीले बताए । ‘कांग्रेसले राष्ट्रपति पाउने कि नपाउने प्रचण्डजीको हातमा छ । एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग आउनु हामी र माओवादीका लागि पनि अवसर हो,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘ओलीजीले अघि सारेको व्यक्तिलाई माओवादीले सघाउँछ भन्नेमा त विश्वास छैन । बरु ओलीसँग पनि सम्बन्ध नबिगार्ने र कांग्रेससँग पनि नटाढिने गरी प्रचण्डजीले नै बीच बाटो लिन्छन् कि भन्ने आशंका हो ।

दाहालले बीचको बाटो लिए अहिलेको सत्ता गठबन्धन कायमै रहन सक्ने ती पदाधिकारीले बताए । ‘प्रचण्डले बीचको बाटो लिए भने ओलीजी ‘सर्वनाश’ भन्दा अर्धनाश ठीक भन्ने ठाउँमा पुग्न सक्छन् । हामी पनि एमालेले अघि सारेको व्यक्ति राष्ट्रपति हुनुभन्दा विकल्पमा जानुपर्ने ठाउँमा आउन सक्छौं । त्यसैले पनि उम्मेदवार चयनमा हामीले हतारो नगरेका हौं ।’ कांग्रेससँग निकट हुन खोज्नुमा दाहालका तीन स्वार्थ देखिन्छन् । पहिलो, आफ्नो प्रधानमन्त्रित्व कम्तीमा चार वर्ष पुर्‍याउने । दोस्रो, शान्ति प्रक्रियाका काम पूरा गर्ने । र तेस्रो, एमाले अध्यक्ष केपी शर्मा ओलीको त्रासबाट मुक्त हुने ।

एमालेले पुस १० मा दाहाललाई प्रधानमन्त्री बनाउने बेला भएको भद्र सहमतिअनुसार राष्ट्रपति पद आफूहरूले पाउनुपर्नेमा जोड दिइरहेको छ । तर, ओलीले राष्ट्रपतिमा कसलाई अघि सार्न खोजेका छन् भन्ने कुनै संकेत गरेका छैनन् । कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएपछि परिस्थिति बदलिएको तर्क गर्दै माओवादीले एमाले अध्यक्ष ओलीको ‘खल्तीबाट निकालिने उम्मेदवार’ लाई समर्थन नगर्ने प्रस्ट जनाउ दिइसकेको छ ।

भारतीय विदेश सचिव विनयमोहन क्वात्राले सोमबार र मंगलबार भएका राजनीतिक भेटघाटमा समेत राष्ट्रपतिको उम्मेदवारका विषयमा कांग्रेस नेताहरूसँग विशेष चासो राखेका थिए । क्वात्राले कांग्र्रेस सभापति देउवाका साथै नेता शेखर कोइराला, बालकृष्ण खाँण र रमेश लेखकसँग यस विषयमा छुट्टाछुट्टै कुराकानी गरेका थिए । उनले पार्टीको आन्तरिक एकताका विषयमा समेत चासो राखेको स्रोतले जनाएको छ । ‘शेखर कोइरालासँग रामचन्द्र पौडेल नै उम्मेदवार भए तपाईंको पोजिसन के हुन्छ भन्ने जिज्ञासा राख्नुभएछ, शेखर दाइले शेरबहादुरजीले अघि सार्ने उम्मेदवारकै पक्षमा आफूहरू रहने जवाफ दिनुभएछ,’ देउवानिकट स्रोतले भन्यो, ‘राष्ट्रपतिमा कांग्रेसले अघि सार्ने उम्मेदवारका विषयमा कुनै विवाद हुँदैन भन्ने सन्देश क्वात्रालाई दिइएको छ ।’

एमालेबाहिरबाट राष्ट्रपति बनाउनुपर्ने पक्षमा कांग्रेस र माओवादीसहितका राजनीतिक दल मात्रै नभएर भारतसहितका शक्ति राष्ट्रसमेत जोडिएको अनौपचारिक संवादमा नेताहरूले बताउने गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीका असंवैधानिक र विवादास्पद कदम नै यो स्थितिका कारण रहेको कांग्रेस नेताहरूको भनाइ छ । राष्ट्रपति कस्तो व्यक्ति बन्ने भन्ने चासो बढिरहेकै पृष्ठभूमिमा भारतीय र अमेरिकी अधिकारीहरूको भेटघाट बाक्लो हुन थालेको बुझाइ छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले गठबन्धन नभत्किने गरी राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रयत्न माओवादीले जारी राखेको बताए । तर, एमाले अध्यक्ष ओली आफैंले गठबन्धन टुट्ने संकेत गरिसकेकाले राष्ट्रपतिका विषयमा निर्णय के हुन्छ, अहिले भन्न नसकिने उनको भनाइ छ । ‘राष्ट्रपतिको पात्र र समर्थनका विषयमा हामी बहसमै छौं । एमाले र कांग्रेसले आफ्नो पार्टीबाट बनाउन खोजिरहनुभएको छ । हामीले जसको भए पनि राष्ट्रिय सहमतिबाट गरौं भन्दै आएका छौं,’ उनले भने । सकभर गैरदलीय व्यक्ति नहोस् भन्ने पक्षमा आफूहरू रहेको तर दुवै पक्षको अडानले कहाँ पुगेर सहमति हुन्छ भन्न सकिने अवस्था नरहेको गजुरेलले बताए । ‘जसमा सहमति हुन्छ, उही राष्ट्रपति बन्छ,’ उनले भने ।

कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद उम्मेदवारका विषयमा अहिल्यै औपचारिक निर्णय लिनु अपरिपक्व हुने बताउँछन् । ‘उम्मेदवार तय अन्तिम घडीमा हुने हो । अनौपचारिक तहमा को हुने भन्ने छँदै छ तर माओवादीसँग प्रस्ट कुरा नगरी औपचारिक निर्णय लिन हुन्न, पार्टीले कसलाई उम्मेदवार बनाउने भन्ने तय गर्न सभापतिलाई जिम्मा दिनुपर्छ,’ उनले भने, ‘पहिला त माओवादीसँग अनौपचारिक तहमा भए पनि कुरा टुंगिनुपर्‍यो ।’

कांग्रेस सभापति देउवा भने राष्ट्रपति पद लिने मात्रै नभएर तत्कालीन पाँचदलीय गठबन्धन नै ब्युँताउने प्रयत्नमा छन् । कांग्रेसले अघि सार्ने उम्मेदवारलाई माओवादीले समर्थन गर्ने निर्णय लिए एमाले सत्ताबाट अलग्गिने देउवाको बुझाइ छ । तर, गठबन्धन जोगाउन माओवादीले राखेकै प्रस्तावलाई एमालेले स्वीकार गर्ने सम्भावना पनि कायमै रहेको नेताहरू बताउँछन् ।

देउवाले पुस १० पछि विकसित अविश्वास हटाउन दाहालसँग अनौपचारिक संवाद जारी राखेका छन् । उनले सहयोगीका रूपमा उपसभापति पूर्णबहादुर खड्का र संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई पनि बेलाबखत अघि सार्ने गरेका छन् । दाहाललाई प्रधानमन्त्री पद दिनै हुन्न अडान राख्नेमध्येका नेता ज्ञानेन्द्रबहादुर कार्कीका ठाउँमा देउवाले यस पटक लेखकलाई अघि सारेका हुन् । ‘सभापति देउवाको सम्पूर्ण शक्ति पार्टीले अघि सार्ने उम्मेदवारलाई राष्ट्रपति बनाउने र त्यसैको जगमा पुस १० मा गुमेको पाँचदलीय गठबन्धन ब्युँताउने प्रयत्न छ,’ कांग्रेसका एक नेताले भने, ‘गठबन्धन ब्युँतिए गुमेको साख फर्कने विश्वासमा देउवा हुनुहुन्छ । त्यसले आत्मविश्वास पनि बढ्छ ।’

देउवाप्रति माओवादीको अविश्वास पूरै हटिसकेको देखिँदैन । ‘पुस १० को घटनाले दाहालमा अविश्वास बढाएको छ । एमालेसँगको गठबन्धन छाड्दा देउवाले संवैधानिक छिद्रको प्रयोग गरेर आफैं प्रधानमन्त्री बन्ने लोभ फेरि पनि राख्ने हुन् कि भन्ने आशंका पनि प्रचण्डमा देखिन्छ,’ देउवानिकट स्रोतले भन्यो । पुस ८ सम्म दाहाललाई प्रधानमन्त्री दिन राजी भएका देउवा भारत र आफ्नै पत्नी आरजु राणासहितका सहयोगीको विश्वासमा परेर प्रधानमन्त्री नदिने ठाउँमा पुगेका थिए । त्यसैका कारण गठबन्धन टुटेको थियो । फेरि कुनै शक्ति केन्द्रको प्रभावमा परेर दाहालले त्यस्तै कदम चाल्ने हुन् कि भन्ने आशंका भने भारतीय विदेश सचिव क्वात्रासँगको भेटपछि टुटेको हुन सक्ने स्रोतले जनाएको छ ।

राष्ट्रपति पद पाउने र पुरानो सत्ता गठबन्धन ब्युँतिने सम्भावना देखेरै कांग्रेसले माओवादीप्रति कहीँ कतै आलोचना र विरोध नगर्ने नीति लिएको छ । बुधबार संसद्मा बोल्दै कांग्रेस सांसद प्रदीप पौडेलले राष्ट्रपति निर्वाचनमा एमाले अध्यक्ष ओलीले भनेजस्तै कांग्रेसले ‘ढोक्सा’ नै थापेको बताए । उनले राष्ट्रपतिको निर्वाचनबाट देशको अभिभावक र संविधानको संरक्षक चुन्न सबैको कोसिस हुने बताए । ‘हामीलाई थाहा छ, अहिले कसै–कसैलाई रबरस्टाम्प राष्ट्रपति चाहिएको छ । नेपाली कांग्रेसले त्यस्तो हुन दिँदैन,’ उनले भने, ‘संवैधानिक मर्यादा रक्षाका लागि देशको अभिभावक राष्ट्रपति हो । संविधानका मान्यताहरू अक्षुण्ण राख्ने दत्तचित्त व्यक्तिलाई राष्ट्रपति बनाउन कांग्रेसले कोसिस गर्छ ।’ एमाले अध्यक्ष ओलीले ‘सुपर प्रधानमन्त्री’ का रूपमा संसद्मा फुर्ती देखाएकै कारण सत्ता गठबन्धन संकटमा परेको पनि उनको भनाइ थियो ।

माओवादीसँग सम्बन्ध सुधारमा केन्द्रित रहेका कारण सभापति देउवाले पार्टीका काम नै ठप्प पारेका छन् । निर्वाचनको समीक्षा गर्न बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकको मिति तीन पटक सारेर अनिश्चित कालका लागि स्थगन गरिएको छ । सभापति निर्वाचित भएको ६ महिनाभित्र पूर्णता पाउनुपर्ने पार्टीका संरचनाहरू एक वर्ष कटिसक्दा गठन हुन सकेका छैनन् । भ्रातृ संस्थाको पूर्णता र पुनर्गठनको मुद्दा पनि थाती छ । तैपनि कांग्रेस जिम्मेवार नेताहरू पार्टी संगठन ठप्प भएको, संसदीय भूमिका कमजोर भएको र सरकारका गलत निर्णयमा समेत मौन छन् ।

नेता साउद राष्ट्रपतिको निर्वाचनअघि पार्टीको गतिविधि खासै नहुने देखिएको बताउँछन् । ‘अब पार्टीका सबै गतिविधि राष्ट्रपति निर्वाचनपछि नै जान्छ । त्यसपछि केन्द्रीय कार्यसमितिको बैठक बस्ने, नीति महाधिवेशनको तिथि तोक्ने र भ्रातृ संस्थासहित पार्टीको संरचनालाई पूर्णता दिने काम हुन्छ,’ उनले भने । कांग्रेस नेता प्रदीप पौडेलले भने राष्ट्रपति र गठबन्धनलाई ब्युँताउने प्रयत्न गर्दा पनि पार्टी र संसद्को कामकारबाहीलाई प्रभावकारी बनाउन सकिने बताउँछन् । ‘यही निहुँमा पार्टीको काम रोक्नु उचित छैन । लक्ष्य तलमाथि हुन नदिएर पनि पार्टीका कामलाई आफ्नो लयमा अघि बढाउन सकिन्छ तर नेतृत्व त्यसका लागि तयार भएको लाग्दैन,’ उनले भने ।

प्रकाशित : फाल्गुन ४, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×