राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौंदी निर्वाचित

दुर्गालाल केसी

दाङ — लुम्बिनी प्रदेशको अन्य समूह अन्तर्गत राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौंदी विजयी भएका छन् । उनी ४ हजार२६ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए । दसौंदी सत्ता गठबन्धनका उम्मेदवार थिए।


कांग्रेसका माधवप्रसाद आचार्यले ३ हजार ७ सय २० र नागरिक उन्मुक्तिका राजेन्द्रबीर रायले १ सय ९३ मत प्राप्त गरेका छन् । सत्तागठबन्धनका तर्फबाट दसौंदीको उम्मेदवारी दर्ता भए पनि उन्मुक्तिले असन्तुष्टि जनाउँदै छुट्टै उम्मेदवारी दिएको थियो।

एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनका क्रममा राजीनामा दिएपछि रिक्त भएको पदमा उपनिर्वाचन भएको हो । रुपन्देहीका भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन राष्ट्रियसभा सदस्य छोडेका थिए । उनले रुपन्देही–५ बाट उम्मेदवारी दर्ता गरेका थिए तर उनीभन्दा पहिला एमालेबाटै तिलोत्तमा नगरपालिकाका पूर्व प्रमुख बासुदेव घिमिरेको उम्मेदवारी दर्ता भएका कारण भट्टराईको उम्मेदवारी खारेज भएको थियो ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ रहेकोमा ३ सय ४ मत खसेको थियो । रूपन्देहीको मर्चवार गाउँपालिका उपाध्यक्ष आशासिं उपचारका लागि भारत गएकाले मतदानमा सहभागी हुन नसकेको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरले बताए ।

प्रदेशसभा सदस्यको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुखको संख्या २ सय १८ छ । लुम्बिनी प्रदेशमा १ सय ९ पालिकाहरु छन् । तीमध्ये कांग्रेसले ४८, एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २/२ तथा राप्रपा र जनता प्रगतिशीलले १/१ स्थान जितेका छन् ।

८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४/४, जसपा, लोसपा र जनमतले ३/३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १/१ सिट जितेका थिए । स्वतन्त्रबाट ३ जनाले जितेकामा एक जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रकाशित : माघ २५, २०७९ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्

सुर्खेतमा लागूऔषधसहित चार जना पक्राउ

तृप्ति शाही

वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगरमा लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–३ पाथिभारा मन्दिर नजिकबाट कोठा र जमिनमुनि गाडेको अवस्थामा १५ ग्राम ९ मिलीग्राम ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका –३ बस्ने २४ वर्षीय प्रितम शाही, वीरेन्द्रनगर- ४ बस्ने १९ वर्षका अभिषेक बस्नेत र २० वर्षका रोहन धौलाकोटी छन् । यस्तै २६ वर्षका दिपेश थापामगरलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रितम शाहीको कोठा र कोठा नजिकै जमिनमुनिबाट लागूऔषध बरामद गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए । उनीहरूको साथबाट २१ हजार ९ सय ४० रुपैयाँ पनि फेला बरामद गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी ब्युरो, लागूऔषध नियन्त्रण ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त प्रहरीको टोलीले उनीहरुलाई समातेको हो । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनामा राखिएको छ ।

प्रकाशित : माघ २५, २०७९ १६:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×