सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि चीनका राजदूत छन् सोङले सभामुख देवराज घिमिरेसँग बुधबार शिष्टाचार भेट गरेका छन् ।सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय आदानप्रदानलगायत विषयमा छलफल भएको छ ।

सभामुखको सचिवालयका अनुसार चिनियाँ राजदूतले चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुले घिमिरेलाई पठाएको शुभकामना सन्देश हस्तान्तरण गरेका थिए ।

घिमिरे माघ ५ गते प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका थिए । सभामुख घिमिरेले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामा चीनले इतिहासदेखि नै देखाउँदै आएको नीतिको सराहना गर्दै ‘एक चीन नीति’ प्रति नेपाल दृढ रहेको, नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने र चीनको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई उच्च महत्त्व दिने उल्लेख गरे । उनले कोभिड महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पुर्‍याएको सहयोगको प्रशंसा गरे ।

भूकम्पपछिको पुनर्निर्माणमा चीनबाट भएको सहयोग स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले दुई देशका नाकाहरू क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गरे ।

भेटमा सभामुख घिमिरेले चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुले गत भदौमा गरेको नेपाल भ्रमणमा भएको अन्तरसंसदीय सहकार्य सम्बन्धी समझदारी कार्यान्वयन गर्न संघीय संसद् सचिवालयले कार्यारम्भ गरेको जानकारी दिए ।

राजदूत छन् सोङले चिनियाँ राष्ट्रपतिको तीन वर्षअघि भएको भ्रमणपछि नेपालमा पूर्वाधारलगायत क्षेत्रमा चीनले ठूलो लगानी गरेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने उल्लेख गरे ।

प्रकाशित : माघ २५, २०७९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्

दलहरू विचारधारामा अस्पष्ट हुँदा लोकतन्त्र कमजोर बन्दै छ : झाँक्री

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले राजनीतिक विचारधारामा प्रस्ट नहुँदा मुलुकको राजनीति ‘जात्रा’ जस्तो बनेको बताएकी छन् ।

उनले दलहरूमा विचारधाराको अस्पष्टता र सत्ताप्राप्ति बाहेक सहकार्यको निश्चित मापदण्ड नहुँदा सरकारमा बसेका मन्त्रीहरूले संविधान र व्यवस्थाको विरोध गर्ने र प्रतिपक्षमा बसेका शक्तिहरूले संविधान र व्यवस्थाको रक्षा गर्नुपर्ने स्थिति पैदा भएको बताइन् । उनले त्यही कारण लोकतन्त्रमाथि खतरा पैदा हुने बताइन् ।

बुधबार काठमाडौंमा भएको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीमा बोल्दै उनले राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गरे पनि डेलिभरीमा खरो उत्रिन नसक्दा व्यवस्थामाथि विषवमन गर्ने ठाउँ भेटिएको बताइन् ।

‘राजनीतिक दलहरू विचारधारामा प्रस्ट हुनुपर्छ । को दक्षिणपन्थी हो ? के पूर्वपन्थी हो ? को वामपन्थी हो ? विचारधारामा सबै प्रस्ट हुनुपर्छ । नत्र एक रात कसले‚ कता काँध जोडेको छ; अर्को रात फेरि अर्कैसँग काँध जोडेको छ । यो सुहाउँदो भएन,’ उनले भनिन्, ‘हामीले कम्तीमा विचारधारालाई प्रमुख आधार बनाएर प्रस्ट भएर अघि बढ्नुपर्ने हुन्छ । त्यसो भयो भने लोकतन्त्र र यसका संस्थाहरूले पनि ठिक ढंगले काम गर्न सक्छन् ।’

उनले व्यवस्था परिवर्तन र संविधान निर्माणमा योगदान गर्ने राजनीतिक दलहरूले डेलिभरी गर्न नसकेकै कारण उनीहरूको विरुद्धमा जनमत सिर्जना भए पनि आत्तिनुपर्ने अवस्था भने नरहेको बताइन् ।

प्रकाशित : माघ २५, २०७९ १३:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×