कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

‘चार महिनापछि मेलम्चीको पानी बन्द हुन सक्छ’

वर्षात् लागेपछि हेडवर्क्समा जान र पानी पठाउन सकिने अवस्था छैन : प्राविधिक
ऋषिराम पौड्याल

सिन्धुपाल्चोक — गत जेठमा वर्षात् सुरु भएलगत्तै सुरुङ बन्द गरेर मंसिरबाट मेलम्चीको पानी काठमाडौं पठाइयो । कुलोजस्तो बनाएर पानी सुरुङमा प्रवेश त गराइएको थियो तर सामान्य वर्षात् हुनेबित्तिकै हिलोमाटो र गेग्रान बगेर सुरुङको मुख थुनिने अवस्था छ । प्राविधिकहरू भन्छन्, ‘हेडवर्क्स निर्माणको गति यही अवस्थामा रहे चार महिनापछि फेरि सुरुङ बन्द गर्नुपर्छ ।’

‘चार महिनापछि मेलम्चीको पानी बन्द हुन सक्छ’

२०७८ असारको बाढीले झन्डै १० मिटर हेडवर्क्सको संरचना गेग्रानले पुरेको छ । मुख्य बाँध र सुरुङ पुरिएको ढुंगामाटो पन्छाइसकिएको छैन । मुहानमा जाने झन्डै ६ किमि सडक पूर्णरूपमा बगरमा परिणत भएको छ । बगाएको मोटरेबल पुल निर्माणको सुरसार छैन । मेलम्ची खोलाको सतह गेग्रान र ढुंगाले भरिएर उकासिएको छ । आयोजनाका प्राविधिकका अनुसार अहिले मेलम्ची पानीको मुहानस्थित हेडवर्क्स ढुंगा, गेग्रान र बालुवाले पुरिएको छ । वर्षात् लागेपछि हेडवर्क्समा जान र पानी पठाउन सकिने अवस्था छैन । पानी पर्न सुरु गर्नेबितिक्कै काम बन्द गर्नुपर्ने प्राविधिक बताउँछन् ।

आयोजनाको निरीक्षण गर्न शनिबार आएका नवनियुक्त खानेपानीमन्त्री अब्दुल खानले बाह्रै महिना पानी दिने वातावरण तयार गर्न निर्देशन दिएका छन् । सचिव मणिराम गेलाल, आयोजनाका कर्मचारीसहित उनी मुहान पुगेका थिए । मन्त्रीले निर्देशन दिएलगत्तै आयोजनाका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले बाह्रै महिना पानी सञ्चालन गर्न आफूले योजना बनाएको जानकारी दिए । तर त्यसका लागि अहिले सुरुङको काम गरिरहेको चिनियाँ कन्ट्रक्सन कम्पनी सिनो हाइड्रोलाई जिम्मेवारी दिने वा छुट्टै टेन्डर गर्ने यकिन गर्नुपर्ने उनको भनाइ छ । कम्तीमा १० करोड रुपैयाँ उपलब्ध भए अस्थायी कंक्रिट टावर निर्माण गरेर सामान्य बाढीमा पनि सुरुङबाट पानी पठाउन सकिने उनले जानकारी गराए ।


बाढीपहिरो गएको दुई हिउँद बित्दा पनि सरकारले सामान्य संरचना निर्माणका लागि ठूलो रकम उपलब्ध गराएको छैन । तत्कालै बजेट उपलब्ध नभए जेठ १५ सम्म संरचना बन्न नसक्ने जानकारी कार्यकारी निर्देशक श्रेष्ठले मन्त्री खानलाई दिएका हुन् ।

मुहान क्षेत्र सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट करिब २० किमि माथिल्लो भाग भेमाथाङबाट आएको पहिरोको भय अझै कायम छ । स्थायी रूपमा पानी सञ्चालन गर्न थप भौगोलिक अध्ययन गर्नुपर्ने भएकाले तत्काल स्थायी संरचना बनाउने अवस्था नभएको कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् । दक्षिणतिरबाट पानी तर्काएर सुरुङलाई बचाउने प्रयास भइरहेको उनले बताए । ‘सामान्य बाढी र वर्षात्ले पानी बन्द गर्नुपर्दैन भन्ने आकलन छ,’ उनले भने ।

२०५५ सालमा विकास समिति गठन गरेर आधिकारिक रूपमा सुरु भएको मेलम्चीबाट २०७७ चैतमा पहिलोपटक पानी काठमाडौं पुर्‍याइएको थियो । अहिले पानी वितरण तेस्रो पटक गरिएको हो । अहिले मेलम्ची खोलाको करिब ७५ प्रतिशत पानी काठमाडौं पठाइएको छ ।

डेढ वर्षअघिको क्षतिभन्दा पनि अब के होला भन्ने आकलन गर्न सक्ने अवस्था नभएकाले मुख्य ऋणदाता एसियाली विकास बैंक (एडीबी) ले अन्तिम रिपोर्ट दिन नसकेको स्रोतको भनाइ छ । हाल आयोजनाको पानी काठमाडौंवासीले पिउन पाए पनि यसलाई स्थायी रूप दिन नसके कामको उपलब्धि नदेखिने प्राविधिकहरू बताउँछन् ।

मेलम्चीको करिब २७ किमि सुरुङ, सुन्दरीजलको प्रशोधन केन्द्र र काठमाडौं उपत्यकाको पानी वितरण प्रणालीका लागि ६५ अर्बभन्दा धेरै खर्च भइसकेको छ । उपत्यकाको पानी वितरण संरचना बनाउन मात्र करिब ३० अर्ब खर्च भएको छ ।


डेढ वर्षअघिको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित हेडवर्क्स । तस्बिर : ऋषिराम/कान्तिपुर

प्रकाशित : माघ २२, २०७९ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×