सञ्चारकर्मी तथा सञ्चार प्रतिष्ठानमा अप्रिय घटना भए लामिछाने र रास्वपा जिम्मेवार : पत्रकार महासंघ

काठमाडौँ — नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आइतबार गरिएको पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएको छ । पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही रहेको आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको पनि महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सञ्चारकर्मी तथा सञ्चार प्रतिष्ठानमा अप्रिय घटना भए लामिछाने र रास्वपा जिम्मेवार : पत्रकार महासंघ

महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै संसदको चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेका व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार भएको समेत बताएको छ ।

‘लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयं अध्यक्ष लमिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रष्ट पार्न चाहन्छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ ।’

साथै, महासंघले सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्नसकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको पनि बताएको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित हुने छैन,’ विज्ञप्तिमा उल्लेख छ ।

लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको महासंघले कडा शब्दमा निन्दा गर्दै त्यसलाई फिर्ता लिइ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न पनि महासंघ माग गरेको छ ।

आइतबार रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरे लगत्तै सभापति लामिछानेले पत्रकार सम्मेलन गर्दै मिडियाले आफ्नो दोहोरो नागरिकता र राहदानीको विषय निरन्तर उठाएकोमा गाली गरेका थिए ।

प्रकाशित : माघ २२, २०७९ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?