प्रधानमन्त्रीले तपाईं नभएपछि गृह मन्त्रालय दिन मिल्दैन भन्नुभयो : रवि लामिछाने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीले तपाईं नभएपछि गृह मन्त्रालय दिन मिल्दैन भन्नुभयो : रवि लामिछाने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता गठबन्धनमा भएको शक्ति बाँडफाँटबमोजिम पार्टीले गृह मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको बताएका छन् । केन्द्रीय समितिको बैठकपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमा पार्टीले गृह मन्त्रालय नपाउने भएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको बताएका हुन् ।

‘गृह मन्त्रालय हामीले शक्ति बाँडफाँटमा गठबन्धनमा सम्झौता गरिसकेको विषय हो । त्यहीअनुसार पार्टीले पाउनुपर्छ भनेका थियौं,’ उनले भने, ‘प्रधानमन्त्रीले तपाईं पार्टी अध्यक्ष भएको हिसाबले तपाईं आफैँ हुँदा गृह मन्त्रालय ठीक थियो, अब हुँदैन भन्नुभयो । हामीले गृह मन्त्रालयबाटै धेरै डेलिभेरी दिन सक्थ्यौं भन्ने थियो, त्यो नभएपछि हामी रहेनौं ।’

उनले आफूले पनि पुनः गृहमन्त्री बन्न चाहेको, तर सत्ता गठबन्धनमा स्वीकार्य नभएपछि सरकारबाट बाहिरिएको बताए । ‘हामीले गृह नै माग्नुको कारण छ । सरकारमा गइसकेपछि हामीले डेलिभेरी दिनुपर्ने हुन्छ । त्यो डेलिभेरी जहाँ हुन्छ, त्यहाँ जाने हो,’ उनले भने, ‘मैले नै नपाएका कारण सरकार छोडेको होइन ।’

प्रकाशित : माघ २२, २०७९ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्

साढे ७८ लाखसहित हुन्डी कारोबारी पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले साढे ७८ लाख रुपैयाँसहित हुन्डी कारोबारमा संलग्नको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कैलाली धनगढी उपमहानगरपालिका–९ घरभई काठमाडौं बिजुलीबजार बस्ने २३ वर्षीय किशोर चौधरी र कैलाली गोदावरी नगरपालिका–१० का ५९ वर्षीय दिपेन्द्र बहादुर मल्ल छन् । 

काठमाडौं उपत्यकाको न्यूरोड क्षेत्रमा विभिन्न व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश/निर्देशनविपरीत ईजाजतपत्र नलिई वित्तीय कारोबार (हुन्डी) गरिरहेको सूचनाको आधारमा उनीहरुलाई नगदसहित पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए । उनीहरुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट प्रहरीले नगद ७८ लाख ५० हजार रुपैयाँ र ४ लाख रुपैयाँको चेक बरामद गरेको छ ।

पक्राउ परेकामध्ये दिपेन्द्र मल्लले विगत ५ वर्षदेखि र किशोर चौधरीले ४ वर्षदेखि न्यूरोड क्षेत्रमा विभिन्न व्यक्तिहरुबाट हुन्डीको रकम संकलन गर्ने र बैंक डिपोजिटमार्फत रकम व्यवस्थापन गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी कोइरालाले बताए । उनीहरुले दैनिक करिब १ करोडभन्दा बढीको रकम कारोबार गर्ने गरेको समेत अनुसन्धानमा खुलेको जनाएको छ ।

उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको छ ।

प्रकाशित : माघ २२, २०७९ १७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×