‘संघीयता संस्थागत गर्न सोच बदलौं’- समाचार - कान्तिपुर समाचार

‘संघीयता संस्थागत गर्न सोच बदलौं’

घनश्याम गौतम

रूपन्देही — संघीयताको संस्थागत विकासका लागि एकीकृत राज्य सञ्चालनको सोच र दृष्टिकोण बदल्नुपर्ने सरोकारवालाले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपको आयोजनामा शनिबार भैरहवामा आयोजित ‘लुम्बिनीको सामर्थ्य’ विषयक कार्यक्रमको ‘संघीयता संस्थागत गर्ने समय’ सत्रमा बोल्ने अधिकांश वक्ताले संघीयताको पाँच वर्ष पूरा हुँदा पनि प्रदेशको औचित्य पुष्टि हुन नसकेको बताएका हुन् ।

कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रदेशको महत्त्व दर्शाउन र संस्थागत विकासका लागि राजनीतिक नेतृत्वमा भूगोलप्रतिको दृष्टिकोण प्रमुख समस्या रहेको उनीहरूको तर्क थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले संघीयताको विषयमा अहिले हुने चर्चा हल्का भएको बताए । संघीयताको नयाँ आयाम नै प्रदेश भएको उल्लेख गर्दै उनले २०७४ मा प्रदेश सरकार बन्दा शासन भए पनि आसन नभएको बताए । ‘हामी सरकारमा जाँदा शासन थियो तर आसन थिएन,’ उनले भने, ‘कर्मचारी, कानुन र भवनबिना सुरु भएको प्रदेश सरकार अहिले ७२ वटा कानुन निर्माण गर्दै संस्थागत विकासमा अघि बढेको छ । नाम राखिएको छ, स्थायी राजधानी टुंगो लागेर निर्माणाधीन छ ।’

अहिले संघीयताको विषयमा हुने टिप्पणी हल्का भएको उनको तर्क थियो । ‘कतिपय व्यक्तिका सोचले संघीयता संस्थागत गर्न अप्ठ्यारो पारेको छ,’ उनले भने, ‘तर पनि संघीयता कार्यान्वयन र संस्थागत विकासका लागि संविधानमा स्पष्ट किटान गरिएका प्रावधान र अनुसूचीअनुसार अघि बढ्नुको विकल्प छैन ।’ मुख्यमन्त्री गिरीले कोभिडकै बेला पनि प्रदेशको विकास खर्च बढी भएको र चुनावका कारण अहिलेसम्म पुँजीगत खर्च कम भए पनि अबका ६ महिनामा त्यो वृद्धि हुने बताए ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीयता संस्थागत गर्नका लागि कर्मचारीको सोच र दृष्टिकोणले प्रभाव पार्ने बताए । उनले त्यसका लागि आफ्नै पालामा निजामती कर्मचारी विधेयक संसद्मा पेस हुने दाबी गरे । अहिलेको सरकार संघीयता कार्यान्वयनका विषयमा गम्भीर रहेको भन्दै उनले त्यसका लागि आवश्यक पर्ने हरेक कानुन निर्माणमा आफूले पहल गर्ने बताए । ‘म भारतीय मोदी होइन, नेपाली मोदी हुँ,’ उनले भने, ‘ढुक्क हुनुहोला, मेरै कार्यकालमा निजामती कर्मचारी विधेयक संसद्मा पेस हुन्छ ।’

कर्मचारीको पुरानो सोच र दृष्टिकोणले संघीयता संस्थागत गर्ने समय लम्बिएको भन्दै उनले त्यो दृष्टिकोण बदल्न समय लागेको बताए । ‘दृष्टिकोण एकैसाथ बदलिँदैन,’ उनले भने, ‘अर्कोतर्फ सरकारमा गणतन्त्र स्वीकार नगर्ने दलहरू पनि छन् ।’ यी सबै समस्या र अप्ठ्यारा चिर्दै संघीयता कार्यान्वयनमा सरकार अघि बढ्ने उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभाका विपक्षी दलका नेता कांग्रेसका डिल्लीबहादुर चौधरीले अहिलेसम्मका कुनै पनि सरकार संघीयताप्रति बफादार हुन नसक्दा संघीयता संस्थागत गर्ने समय लम्बिँदै गएको बताए । उनले पनि संघीयता संस्थागत गर्न सोचमै परिवर्तन ल्याउन जरुरी रहेको बताए । धेरैलाई संघीयता आवश्यकताले भन्दा घिसारेर ल्याएको हो भन्ने लाग्दा पनि संस्थागत हुन नसकेको उनको भनाइ थियो । ‘त्यसैले यसको संस्थागत विकासका लागि स्रोतको बाँडफाँट र नीति आयोगको सोच बदल्नुपर्छ, प्रदेश सरकारहरू संघीय सरकारलाई दबाब दिन सक्ने गरी अघि बढ्नुपर्छ,’ उनले भने, ‘अहिले प्रदेश नेता र कर्मचारीको डम्पिङ साइट बनेको छ, त्यो अन्त्य हुनुपर्छ । त्यसका लागि दलहरूले सामूहिक रूपमा संघीय सरकारलाई प्रदेशका कानुन निर्माणमा दबाब दिन सक्नुपर्छ ।’

गाउँपालिका महासंघकी केन्द्रीय अध्यक्ष लक्ष्मी पाण्डेले तीन तहका सरकारको अक्षरशः पालना नहुँदा संघीयता संस्थागत गर्ने समय लम्बिँदै गएको बताइन् । उनले कतिपय मूल कानुन नबनेको र राज्य संरचनाप्रतिको सोच र मानसिकताले पनि अप्ठ्यारो पारेको बताइन् । ‘मूल कानुन निर्माणमा सबै संविधानअनुसार इमानदार भएर अघि बढ्नुपर्छ,’ उनले भनिन्, ‘संघीय सरकार र मन्त्रीले बजेट विनियोजन गर्दा देखाऊने सोच र टुत्रे योजनाको दृष्टिकोण पनि बदल्नुपर्छ ।’

राजनीतिक, प्रशासनिक र वित्तीय संघीयता एकैसाथ कार्यान्वयन भएमा मात्र प्रदेशको विकास हुने र त्यसका लागि तीन तहको सरकारले आ–आफ्नो दायराभित्र रहेर काम गर्न सके संघीयता संस्थागत हुने उनको तर्क थियो ।

प्रकाशित : माघ २२, २०७९ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्

‘पूर्वाधारलाई पहिलो सर्त ३ सरकारबीच समन्वय’

कान्तिपुर संवाददाता

भैरहवा — संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय नहुँदा संघीयता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको विज्ञहरूले बताएका छन् । संविधानले परिकल्पना गरेअनुसार तीनै तहका सरकारबीच समन्वय नभएकै कारण संघीयता कार्यान्वयन कमजोर बनेको उनीहरूको भनाइ छ ।

भैरहवामा कान्तिपुर मिडिया ग्रुपले शनिबार आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तर्क्रियाको दोस्रो सत्र ‘पालिका र पूर्वाधार’ का वक्ताले संघले प्रदेश र स्थानीय तहमा पठाएका साना तथा टुक्रे योजनालाई समेत केन्द्रमै फकाउनु गलत रहेको दाबी गरे ।

स्थानीय सरकारले आवश्यकताअनुसार उपयोग गर्ने ऐन नबन्दासम्म संघ र प्रदेश सरकारसँग स्थानीय तह लडिरहनुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ । तीन तहका सरकार हुँदा पनि विकासका प्रयत्न परम्परागत रहेको उनीहरू बताउँछन् । तसर्थ विकासको अभ्यास परिवर्तनका लागि ढिलाइ गर्न नहुनेमा पूर्वमन्त्री तथा एमाले सचिव गोकर्ण विष्टको जोड छ ।

‘स्थानीय तहले पूर्वाधार निर्माणका लागि निश्चित विधि र कानुनी प्रावधान पालना गर्नुपर्छ । तर अहिले पनि केही समस्या देखिएका छन्,’ उनले भने, ‘संविधानले स्थानीय तहलाई २२ अधिकार प्रदान गरेको छ, जसमा संघ, प्रदेश र स्थानीय तहका साझा अधिकार १५ वटा छन् ।’ कुनै पनि पालिकाले गुरुयोजना बनाउने, आवधिक योजना निर्माण गर्ने र सूचकांका आधारमा योजना छनोट गर्ने काम व्यवस्थित गर्न सकेका छैनन्,’ विष्टले भने, ‘भौतिक पूर्वाधार होस् या सामाजिक पूर्वाधारको सूचकांकमा आधारित भएर योजना तर्जुमा गर्ने प्रयत्नलाई केन्द्रित गर्न नसके फेरि पनि हामी केवल चल्ते चलाते परम्परागत विकासमा मात्र अगाडि बढ्नेछौं ।’

योजना छनोटमा जनप्रतिनिधिका हैसियतले स्थानीय तहलाई त्यस्तो कुनै दबाब नदिइएको उनको दाबी छ । ‘स्थानीय तहले छानेका आयोजनाले त्यहाँको आवश्यकतालाई पूरा गर्न नसके त्यसलाई कसरी संघ र प्रदेशबाट समन्वय गरी परिपूर्ति गर्नेमा हाम्रो ध्यान जान्छ,’ उनले भने, ‘स्थानीय तहले आफ्नै ढंगले योजना छानेर कार्यान्वयन गर्न सक्छ, त्यसमा हाम्रो कुनै दबाब र प्रभाव रहन्न ।’

भौतिक पूर्वाधारभित्र पर्ने सडक, बिजुली, सिँचाइ, पिउने पानी, विमानस्थल, खेलमैदान र सामाजिक पूर्वाधारभित्र पर्ने शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा लगायतका सन्दर्भमा सरकार कसरी अगाडि बढिरहेको छ भनेर हेर्नुपर्ने उनको भनाइ छ । विकास योजना निर्माण गर्दा भौगोलिक अवस्था, जनसंख्याको चाप, गरिबीको अवस्था, विकासको आवश्यकतालाई आधार मान्नुपर्ने उनले बताए ।

संसद् र स्थानीय तहमा गरिने काममा धेरै भिन्नता रहेको सांसद तथा राप्रपा महामन्त्री धवलशमशेर राणाको भनाइ छ ।

संसद्मा ऐन, कानुन बनाउने र स्थानीय तहमा संलग्न भई प्रत्यक्ष विकासका कम गरिने उनले जनाए । ‘संघीय सरकारमार्फत केही जिल्लामा ठूला योजना सञ्चालित छन्, प्रदेशबाट पनि न्यूनतम रूपमा केही ठाउँमा योजना लागू भएका छन्,’ राणाले भने, ‘तर पूर्वाधार विकास भनेकै स्थानीय तहबाट हुने हो, देशको अन्योल, बेथिति र देशै असफल हुने स्थितिमा स्थानीय तहले देशलाई धानिदिएको जस्तो महसुस सबैले गरेका छौं ।’

प्राकृतिक स्रोत साधनको बाँडफाँट राम्रोसँग हुन नसकेको उनको भनाइ छ । ‘जेमा स्रोत छ, त्यो कुरा केन्द्रले आफैं लिएको छ, भारतीय सीमासँग जोडिएको नगरपालिकाबाट अर्बौं रुपैयाँ भन्सार उठ्छ,’ उनले भने, ‘तर त्यो नगरपालिकाले एक रुपैयाँ पाउँदैन, आयकरमा ठूलो रकम उठ्छ, तर सहरी नगरपालिकाले रुपैयाँ पनि पाउँदैनन् ।’

हरेक वडालाई पहिचानसँग जोड्न खोजिए पनि संघ र प्रदेशको कानुनका कारण अघि बढ्न नसकिएको बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले बताए । ‘सुकुम्बासी र अव्यस्थित क्षेत्रको लालपुर्जासम्बन्धी समस्या संघको भूमि आयोगले टुंगो लगाइदिनुपर्‍यो, कि हामीलाई गर्न दिनुपर्‍यो,’ उनले भने, ‘तर यसमा अलमल भइरहेको छ ।’ सुकुम्बासी बस्तीका जनताले सहज रूपमा ०१६ सालदेखि आफ्नो घर, सम्पत्ति उपयोग गरेकामा अहिले व्यक्तिगत खरिद गरेझैं राज्यलाई कर बुझाउनुपर्ने बाध्यता रहेको उनले सुनाए ।

आर्थिक क्षेत्रमा पनि संघ र प्रदेश सरकार स्थानीय तहप्रति उदार हुन जरुरी रहेको उनको भनाइ छ । ठेकेदारकै कारण धेरैजसो पूर्वाधार निर्माणमा ढिलासुस्ती भएको उनको दाबी छ । ‘सुनौली–चिडियाखोला सडक ६ लेनको बनाउन थाले पनि निर्माण व्यवसायीका कारण निर्माणमा ढिलासुस्ती भएको छ, बुटवल–नारायणढ सडकको अवस्था उस्तै छ,’ उनले भने, ‘बुटवलमा बनिरहेका दुई वटा केबलकारको काम भने समयमै सकिने देखिएको छ ।’ केबलकारले भारतका धेरै क्षेत्रका पर्यटकलाई चुरे पहाडसँग जोड्ने उनको भनाइ छ ।

संघीय संरचनाको पहिलो जनप्रतिनिधि भए पनि कोभिडका कारण दुई वर्ष यत्तिकै खेर गएको बगनासकाली गाउँपालिका पाल्पाकी अध्यक्ष सरस्वती दर्लामी चिदीले बताइन् । कोभिडले समय खेर गए पनि विभिन्न वडा र स्वास्थ्य चौकी जोड्ने पूर्वाधार निर्माणमा आफूहरू सफल भएको उनको दाबी छ । ‘‘संघीय संरचनाको पहिलो निर्वाचनबाट उपाध्यक्ष बनें, पहिलो संघीय संरचनाको जनप्रतिनिधि भएकाले सुरुको कार्यकाल अभ्यास र सिकाइमै बित्यो,’ उनले भनिन्, ‘तीव्र गतिमा काम गर्नुपर्ने समयमा दुई वर्ष कोभिड व्यवस्थापनमै सिंगो स्रोतसाधन र जनशक्ति परिचालित हुँदा विकास निर्माणमा ध्यान दिन पाएनौं ।’

गाउँपालिका स्थापना भएपछि सुरुमा कार्यालय सञ्चालन गर्न संरचनासमेत नभएको उनको भनाइ छ । पाँच वर्षको पहिलो कार्यकालमा सडकको ट्र्याक खोल्ने काम सकेको उनले जनाइन् । ‘प्रत्येक बस्तीबस्तीमा जबसम्म सडक पुर्‍याउन सक्दैनौं र सडक सञ्जाललाई गाउँपालिकाभित्र जोड्न सक्दैनौं,’ उनले भनिन्, ‘तबसम्म गाउँपालिकाको विकासलाई जोड्न सकिन्न । त्यसैले सडकलाई मुख्य प्राथमिकतामा राखेर काम गरेका हौं ।’ सडकसँगै खानेपानी, स्वास्थ्य, शिक्षा र विद्युतीकरणको क्षेत्रमा पनि उत्तिकै काम भएको उनको दाबी छ ।

प्रकाशित : माघ २२, २०७९ ०७:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×