राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य : माओवादी केन्द्र- समाचार - कान्तिपुर समाचार

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य : माओवादी केन्द्र

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा राष्ट्रपति निर्वाचनबारे चर्चा भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरूसँग छलफलका लागि आफूहरु खुला रहेको बताए । उनले आजको बैठकमा गृहमन्त्रीको बारेमा भने कुनै छलफल नभएको जानकारी दिए ।

सत्ता साझेदार दल एमालेलाई चिढ्याउन आफूहरूले नचाहेको भन्दै सबै मिलेर अघि बढ्नका लागि प्रयत्न गरेको उनको भनाइ थियो । ‘राष्ट्रपति निर्वाचनमा सहमति हुन सकेन भने जोसँग विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्छ, उसैसँग मिलेर अघि बढ्छौं । सबै पक्षसँग हामी खुला छौं, प्रधानमन्त्रीलाई सबै दलले समर्थन गरेको छ, सबै मिलेर जाऔं भनेर अघि बढ्ने कुरा राम्रो हो,' पौडेलले भने, 'गृहमन्त्रीको बारेमा केही कुरा भएन, नयाँ शिराबाट नयाँ ढंगले अघि बढ्नेछौं । एमालेलाई बाहिर राखेर जाने भनेको होइन, सबैसँग मिलेर अघि बढौं भन्ने हो । समय माग्नुभएको हो, प्रधानमन्त्रीले बितिसकेको समय पछि उहाँहरु के भनेर आउनुहुन्छ, त्यसअनुसार हुन्छ ।’

फागुन २५ गते राष्ट्रपति निर्वाचनको मिति तोकिएको छ । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने धारणा अगाडि सारेको छ । एमालेले भने आफूले उठाएको उम्मेदवारको नाममा राष्ट्रिय सहमति हुनुपर्ने अडान राख्दै आएको छ ।

प्रकाशित : माघ २१, २०७९ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्

तादी अध्यक्ष कप भलिबलको उपाधि म्यागङलाई

कान्तिपुर संवाददाता

नुवाकोट — अन्तरपालिकास्तरीय 'प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता'को उपाधि म्यागङ गाउँपालिकाले जितेको छ ।तादी गाउँपालिकाद्वारा आयोजित प्रतियोगिताअन्तर्गत शनिबार अमरज्योति नमुना मावि, खरानीटारको मैदानमा भएको फाइनल खेलमा आयोजक टिमलाई हराउँदै म्यागङको टिम च्याम्पियन बनेको हो ।

२५-१५-२५-२५ स्कोर बनाउँदै म्यागङ विजेता बन्यो भने उपविजेता तादीले २१-२५-२३-२२ स्कोर बनाएको थियो । पञ्चकन्याको टिम तेस्रो बनेको छ ।

तादी गाउँपालिकाका कर्मचारी राजेश श्रेष्ठका अनुसार शुक्रबार भएको सेमिफाइनलमा पञ्चकन्या गाउँपालिकाको टिमलाई हराउँदै म्यागङ फाइनल प्रवेश गरेको थियो । म्यागङले सेमिफाइनलमा २५-२५-२५ सोझो सेटमा पञ्चकन्यालाई पराजित गरेको थियो । पञ्चकन्याले २०-२४-२४ स्कोर बनाएको थियो ।

उपविजेता बनेको तादी सेमिफाइनलमा दुप्चेश्वर गाउँपालिकाको टिमलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । तादीले २०-२५-२५-२५ र दुप्चेश्वरले २५-१५-२०-२१ स्कोर बनाउन सफल भएको थियो ।

विजेता टिमले ट्रफीसहित १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गरेका छन् ।

'खेलमार्फत विकास अनुशासन र गतिशीलता' भन्ने मूल नाराका साथ यही माघ १८ देखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । समापन समारोहमा संघीय सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङ, प्रदेश सांसद रमेशकुमार महत, तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी लगायत सहभागी थिए ।

प्रकाशित : माघ २१, २०७९ १६:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×