क्यानको कदमविरुद्ध प्रदर्शन- समाचार - कान्तिपुर समाचार
[तस्बिरहरू]

क्यानको कदमविरुद्ध प्रदर्शन

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — नाबालिग बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको नेपाल क्रिकेट संघ (क्यान) को कदमविरुद्ध विरोध प्रदर्शन गरिएको छ ।

सामाजिक सञ्जालहरूमार्फत जोडिएर शनिबार माइतीघर मण्डलमा भेला भएका युवाहरुले जसरी भए पनि लामिछानेलाई राष्ट्रिय क्रिकेट टिममा ल्याइ छाड्न लागिपरेको क्यानको कदम र अध्यक्ष चतुरबहादुर चन्दविरुद्ध विभिन्न नाराका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

नाबालिग बलात्कारको आरोप लाग्नेबित्तिकै लामिछानेलाई क्यानले निलम्बन गरेको थियो । नाबालिग बलात्कारको आरोप लागेको जनाउँदै निलम्बन गरेको क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेको हो ।क्यानले बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई समेट्दै लिग डिभिजन टुअन्तर्गत नेपालमा हुने नामिबिया र स्कटल्यान्डसँगको खेलका लागि २० जनालाई क्याम्पमा बोलाएको थियो । क्रिकेटर लामिछाने शुक्रवारबाट नियमित अभ्यासमा छन् ।

लामिछानेविरुद्ध लागेको बलात्कारको आरोप अहिले अभियोगमा परिणत भएको छ । जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा लामिछाने दोषी देखिएको भन्दै गत कात्तिक १८ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

फौजदारी कानुनमा तीन वर्षभन्दा बढी कैद हुन सक्ने कसुरमा तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्त दोषी देखिए थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने प्रावधान छ । कसुर स्थापित भए लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद हुन सक्छ । तर पाटन उच्च अदालतले गत पुस २८ मा लामिछानेलाई २० लाख धरौटीमा छाडेकफ थियो ।

उच्च अदालतले समेत लामिछानेलाई तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिने भने पनि थुनामा नपठाएर धरौटीमा छाडेपछि महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत पुगेको छ । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले शुक्रबार लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको फैसलासहितका मिसिल झिकाउने आदेश दिएको छ । लामिछानेविरुद्ध लागेको अभियोग, तत्काल प्राप्त प्रमाण तथा जिल्ला र उच्च अदालतले गरेका आदेशसमेत भएको ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश भएको सर्वोच्चले जनाएको छ । उच्च अदालतले सर्वोच्चमा लामिछानेलाई धरौटीमा छाड्ने आदेश केका आधारमा भएको हो भन्नेबारे पनि छुट्टै रिपोर्ट बुझाउनुपर्नेछ ।

प्रकाशित : माघ २१, २०७९ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्

सिभिलमा टोकन लिनेको लाइन

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — काठमाडौंको मीनभवनस्थित सिभिल अस्पतालमा बिहानैदेखि सयौं मानिसको भीड लाग्ने गरेको छ । बिरामी जाँचका लागि टोकन लिनुपर्ने प्रणाली अस्पतालले अपनाएसँगै अस्पतालमा बिहानैदेखि बिरामी र बिरामीका आफन्तको लाइन लाग्ने गरेको हो ।

पछिल्लो समय उपत्यकाका विभिन्न अस्पताल‚ राहदानी विभागलगायत स्थानमा सर्वसाधारणको भीड लाग्ने गरेको छ । बिहान ३-४ बजेदेखि नै मानिसहरू टोकन लिनका लागि अस्पतालमा आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।


प्रकाशित : पुस १४, २०७९ १८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×