सर्वोच्चको टिप्पणीप्रति राज्य सरकार गम्भीर नभएको भन्दै सिक्किमका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा- समाचार - कान्तिपुर समाचार

सर्वोच्चको टिप्पणीप्रति राज्य सरकार गम्भीर नभएको भन्दै सिक्किमका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

पर्वत पोर्तेल

झापा — सर्वोच्च अदालतको हालैको एक फैसलामा सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ को संज्ञा दिएपछि सिक्किम आन्दोलित छ । यही आन्दोलनका बिच त्यहाँका स्वास्थ्यमन्त्री डा. मणिकुमार शर्माले बिहीबार राति मन्त्री पदबाट राजीनामा दिएका छन् । 

क्याबिनेट मन्त्री शर्माले सर्वोच्चको हालैको फैसलाका कारण आफूले राजीनामा दिएको जनाएका छन् । राजीनामापत्रमा उनले सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ को दर्जामा राख्दा पनि राज्य सरकारले कुनै कदम नचालेका कारण मन्त्री पदमा बसिरहँदा आफूलाई लज्जाबोध भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘राज्य सरकारले सिक्किमे जनताको भावनालाई गम्भीरताका साथ नलिनु दुःखद् कुरा हो ।’

भारतको सर्वोच्च अदालतले ‘विदेशी’ भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

यसैबीच सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी राजीनामा दिएका मन्त्री शर्मालाई पार्टीले कारबाही गर्ने जनाएको छ । ‘पार्टीले उनलाई यसअघि पनि कारबाहीको तयारी गरिरहेको थियो,’ मुख्यमन्त्री प्रेमसिंह तामाङका राजनीतिक सल्लाहकार जेकब खालिङले भने, ‘उनीमाथि कानुनी कारबाहीको प्रक्रिया पनि सुरु हुँदै छ ।’ खालिङले सन् २०२० मा सरकार गिराउन नसकेको कुण्ठालाई उनले राजीनामाको रुपमा पोखेको दाबी गरेका छन् ।

प्रकाशित : माघ २०, २०७९ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्

तोलामा १४ सय रुपैयँले घट्यो सुनको मूल्य

कान्तिपुर संवाददाता

काठमाडौँ — सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार छ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख सात हजार रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपैयाँले घटेर एक हजार तीन सय ६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रकाशित : माघ २०, २०७९ १२:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×