रास्वपाका उपनेता श्रेष्ठले भने- 'हतारमा निर्णय गरी फुर्सदमा पछुताउनुहुन्न'

'सरकारबाट बाहिरिने हो भने पनि त्यसका आधारहरू तय गर्नुपर्‍यो । सरकारमा किन गएको हो र किन निस्किन लागेको हो ? पुष्टि गर्नुपर्छ । निस्किएपछि हामीसामू प्रश्न के तेर्सिन्छ भने- गएको किन ?'
जयसिंह महरा

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पार्टी सरकारबाट बाहिरिने हो भने त्यसको आधार देखाउनुपर्ने बताएका छन् । हतारमा निर्णय नगरी पार्टी अगाडि बढ्नुपर्ने उनको धारणा छ । 

पार्टीले बिहीबार साँझ साढे ४ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठकले पार्टी सरकारबाट बाहिरिने संकेत पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले गरेका छन् । सभापति रवि लामिछानेले पनि सत्ता गठबन्धनबाट बाहिरिने संकेत सामाजिक संजालमा सन्देश लेखेर गरेका छन् ।

यसैबीच संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले भने अहिले पार्टीले लिने हरेक निर्णय महत्वपूर्ण रहेका र त्यसले मुलुकको राजनीतिमा प्रभाव पार्ने भएकाले छलफलबाट आधारसहित स्पष्ट राखेर जानुपर्ने बताए ।

'व्यक्तिगत हिसाबमा कसलाई के लाग्छ भन्ने कुरा फरक भयो, छलफलबाट सबै साथीहरूले अपनत्व लिने गरेर निर्णय गर्नुपर्छ । यो समय हामीले राजनीतिक परिपक्वता देखाउने अवसर हो । अलिकति पनि विचलित हुनु हुँदैन । राजनीतिमा संकट भने आइरहने चिज हो,' उनले भने, 'अहिले हामीले कस्तो नजीरमा काम गर्छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसैले हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने गर्नुहुन्न । हामी कस्तो स्टेप चालेर जान्छौं भन्ने महत्वपूर्ण हुन्छ । हामी सादा कागज छौं, जे लेखे पनि पहिलोपटक लेखिरहेका हुन्छौं ।'

रास्वपाले चाल्ने हरेक कदमप्रति मुलुकका हरेक नागरिक र विदेशमा रहेका नेपालीले पनि नियालिरहेको श्रेष्ठको भनाइ छ । पार्टीलाई व्यवस्थित गरेर अगाडि बढ्नुपर्ने बेलामा महत्वपूर्ण निर्णय लिँदा सबै जिम्मेवार नेताहरूले छलफल गर्नुपर्ने उनको धारणा छ । 'हामी नयाँ पार्टी हौं र सबै कुरा लयमा ल्याउन सकेका छैनौं । सांसदले आफ्ना प्यारामिटर बल्ल ल्याउँदैछ । छलफल गर्नुपर्ने विषय राजनीतिक र रणनीतिक हिसाबले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हो । यी प्राथमिकताहरूलाई पनि समानान्तर हिसाबले लानुपर्ने हुन्छ,' उनले भने ।

सरकारबाट बाहिरिने हो त्यसका आधारबारे छलफल गर्नुपर्ने श्रेष्ठको धारणा छ । हतारमा सरकारबाट बाहिरिने निर्णय लिएमा उठ्ने प्रश्नप्रति पनि ख्याल गर्नुपर्ने उनको भनाइ थियो । 'सरकारबाट बाहिरिने हो भने पनि त्यसका आधारहरू तय गर्नुपर्‍यो । सरकारमा किन गएको हो र किन निस्किन लागेको हो ? पुष्टि गर्नुपर्छ । निस्किएपछि हामीसामू प्रश्न के तेर्सिन्छ भने- गएको किन ?,' उनले भने । सरकारमा बस्नु र छोड्नु भन्दा पनि महत्वपूर्ण कुरा त्यसपछि पार्टीमाथि उठ्ने प्रश्न रहेको उनले बताए ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रवि लामिछानेलाई नै उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउन गएको हो र उनलाई नबनाएकोमा नै निस्किन लागेको हो कि भन्ने प्रश्न उठ्नसक्ने प्रश्नहरूतर्फ ध्यान पार्टीका नेताहरूले दिनुपर्ने श्रेष्ठको भनाइ छ । 'यस्तो भन्ने सन्देश गयो भने त ठिक हुँदैन । बाहिरिनुको पुष्ट्याइँ गर्नुपर्ने हुन्छ । राजनीतिक निर्णय गर्दा सबैको सहमति र अपनत्वमा गर्नुपर्छ,' उनले भने ।

पार्टीका अन्य सांसदहरूले पनि यस विषयमा आफ्ना कुराहरू राख्नुपर्ने श्रेष्ठको आग्रह छ । 'सांसद भएर देशको कुरा उठाउँछु भनेर आएका हौं । जनप्रतिनिधि हौं भने अरु सांसदहरूले पनि औपचारिक फोरममा आफ्ना कुरा राख्नुपर्छ । लोकतान्त्रिक पद्दतिबाट निर्णय प्रक्रिया अगाडि बढायो भने कसैले पनि अन्यथा मान्नु हुन्न । अरु सांसदहरूले पनि मनमा रहेका कुरा राख्नुपर्‍यो,' उनले आग्रह गरेका छन् ।

सरकारका विषयमा छलफल गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रमा पार्टीका तर्फबाट सहभागी लामिछानेले गृहमन्त्रीको विषयमा कुरा राख्नुपर्ने बताए । राजनीतिक संयन्त्रमा कुरा राखेर विवाद समाधानमा जानुपर्ने उनको मत छ । 'उहाँले उच्चस्तरीय राजनीतिक संयन्त्रमा हाम्रो दलबाट नेतृत्व लिनुभएको छ । त्यहाँ कसरी कुरा राख्नुभएको छ ?,' उनले भने । पार्टी र सरकार साझा न्यूनतम कार्यक्रम, चुनावमा मतदाता सामू गरेका बाचासँग बचनबद्ध भएर अगाडि बढ्नुपर्ने उनको धारणा छ ।

प्रकाशित : माघ १९, २०७९ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्

खरिद प्रक्रिया पारदर्शी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिएका छन् । बिहीबार स्वास्थ्य सेवा विभागको अनुगमन गर्दै प्रेस ब्रिफिङमा उनले खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिएका हुन्।

'खरिद प्रक्रियालाई लिएर मिडियामा अनेक समाचार आउने गरेको छ। यसलाई पारदर्शी बनाएर काम गर्नु होला,' उनले भने ।

देशका विभिन्न अस्पतालमा रहेका पुराना स्वास्थ्य उपकरणहरु प्रयोगविहीन रहेको गुनासो आइरहेको भन्दै मन्त्री गिरीले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए । उनले भने–'उपकरणहरु यहाँबाट विभिन्‍न ठाउँमा पठाएका छौं । तलबाट माग भएर आएअनुसार खरिद गरिएको हुन्छ । त्यो कुन अवस्थामा छ ? कतै ती उपकरण प्रयोग नभएर डम्पिङ भएको छ र बिरामी अन्यत्रै गइरहेको अवस्था पो छ कि। नेपाली जनताले आफ्नो पसिनाको कमाइबाट तिरेको राजस्वबाट हामीले किनेका सामग्री त्यसरी अलपत्र हुनु हुँदैन । यसतर्फ सजग रहनुस् ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको भ्रमणपछि उनले प्रयोगशालाहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने तथा प्रदेशहरूमा व्यवस्थित प्रयोगशाला खोल्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै मन्त्री गिरीले कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि बुस्टर डोज ल्याउनेबारे योजना बनाउनुपर्ने पनि बताएका थिए । यस्तै स्वास्थ्य संस्थाहरूलाई प्रविधिमैत्री बनाउनुपर्ने पनि उनको भनाइ थियो। 'घरमा बसेर अस्पतालको बेड खाली छ कि छैन भन्ने कुरा सहजै एप्समा हेर्न सकियोस् । सबै कुरा डिजिटलाईज हुनुपर्छ,’ उनले भने ।

मन्त्री गिरीले कुनै पनि निकायबाट नीतिगत भ्रष्टाचार हुने वा निहीत स्वार्थमा काम हुने गरेको पाइएको भन्दै त्यसलाई तत्काल निरुत्साहित पार्न पनि सचेत गराए ।

साथै उनले स्वास्थ्य उपकरणहरुको दूरुपयोग नगर्न पनि मातहतका निकायलाई सचेत गराएका थिए । ‘यो विभाग जतिधेरै प्रभावकारी ढंगले काम गर्छ । आफ्नो अर्गान्सहरुलाई जसरी यसले म्यासिभ्ली जनताप्रति जवाफदेही, उत्तरदायी भएर जति काम गर्छ । त्यति नै जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सक्छ । त्यसकारण यो विभाग बढी जिम्मेवार भएर लाग्न पनि मैले यहाँहरुलाई अनुरोध गर्न चाहन्छु,' उनले भने ।

यस्तै, सामूहिक प्रयासबाट मात्रै प्रभावकारी काम सम्भव भएको भन्दै मन्त्री गिरीले सबैलाई आफ्नो जिम्मेवारी र दायित्व बुझेर काममा जुटिदिन आग्रह गरेका थिए ।

प्रकाशित : माघ १९, २०७९ १५:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×