प्रतिनिधिसभा उम्मेदवार बन्न पाउने उमेर २० वर्ष बनाउनुपर्छ : पूर्वकानुनमन्त्री पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा सदस्य बन्नका लागि आवश्यक उमेर २५ वर्षबाट घटाएर १८ वा २० वर्ष बनाउनुपर्ने पूर्वकानुनमन्त्री माधवप्रसाद पौडेलले बताएका छन् । कानुन आयोगका पूर्वअध्यक्षसमेत रहेका उनले नेपालमा पुरातन परम्परालाई पछ्याएर प्रतिनिधिसभा सदस्य बन्न पाउने उमेर राखिएको बताएका हुन् । 

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा पौडेलले निर्वाचनमा उम्मेदवार बन्न पाउने उमेर सीमा घटाउनुपर्ने बताएका हुन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासमेत सहभागी समितिको बैठकमा पौडेलले मतदान गर्न पाउने तर उम्मेदवार बन्न नपाउने व्यवस्था हटाउनुपर्ने बताएका हुन् । 'सांसद उम्मेदवार बन्ने उमेर घटाउनुपर्‍यो । उम्मेदवारको उमेर २५ वर्ष बनाउने धेरै पुरानो मान्यता हो । बेलायतमा बेबी एमपीको अवधारणा आइसक्यो,' उनले भने । स्थानीय तहको प्रमुखको उम्मेदवार बन्नका लागि २० वर्ष भए पुग्ने तर सांसद बन्न किन २५ वर्ष चाहियो ? भन्ने उनको प्रश्न थियो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ मा उम्मेदवारको योग्यताको व्यवस्था गरिएको छ । जसमा उम्मेदवार बन्न पाउने योग्यतामा २५ वर्ष उमेर पूरा भएको, मतदाता नामावलीमा नाम समावेश भएको, नेपालको नागरिक हुनुपर्ने लगायत छन् ।

काठमाडौं महानगरपालिकाको मेयर हुनका लागि २० वर्षको भए हुने तर सांसद बन्नका लागि किन २५ वर्ष बनाएको भन्ने कुराको कारण पत्ता हुन नसकेको पौडेलको भनाइ थियो । स्थानीय तहको प्रमुखले कार्यकारी अधिकार प्रयोग गर्ने भएपनि कम उमेरको हुने तर कानुन निर्माणको क्षेत्रमा किन २५ वर्षकै चाहिने भन्ने उनको भनाइ थियो ।

त्यस्तै, निर्वाचनको मिति कानुनमा नै निश्चित गर्नुपर्ने पौडेलको भनाइ छ । 'निर्वाचनको मिति तोक्ने काम संसदले गरोस्, ऐनको व्यवस्था गरेर । निर्वाचन मितिको ऐन संसदले बनाउनुपर्छ । त्यसो हुँदा सरकार र निर्वाचन आयोगले निर्वाचन मितिका लागि एक अर्कालाई देखाउने अवस्था नरहोस्,' उनले भने ।

विद्युतीय मतदानको व्यवस्था र विवाद समाधान तत्काल गर्नुपर्नेतिर पनि आयोग लाग्नुपर्ने पौडेलको भनाइ छ ।

प्रकाशित : माघ १८, २०७९ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्

निस्दीको राष्ट्रपति रनिङ सिल्ड उपाधि राधाकृष्णलाई

माधव अर्याल

पाल्पा — जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि निस्दी गाउँपालिकामा आयोजित छनोट प्रतियोगिताको उपाधि राधाकृष्ण मावि बाँकामलाङले जितेको छ । यसअघिको प्रतियोगितामा बालहित मावि सहलकोट पहिलो भएको थियो ।

गाउँपालिकामा भएको प्रतियोगितामा १२ माध्यमिक विद्यालयले भाग लिएका थिए । मित्याल झ्याल्टुङ खेल मैदानमा भएको प्रतियोगितामा राधाकृष्ण माविले ८ स्वर्ण, १ रजत र १ कास्यसहित पहिलो भएको हो । उसले १० पदक हात पारेको छ । ६ स्वर्ण, ६ रजत र ५ कास्यसहित सरस्वती मावि गल्धा दोस्रो भयो । उसले १७ पदक जितेको छ । बालहित माध्यमिक विद्यालय सहलकोटले ४ स्वर्ण, ७ रजत र ४ कास्य हात पारेको छ । उसले १५ पदक जितेको छ ।

२४ विद्यामा छात्र र छात्रा समावेश गरेर प्रतियोगिता आयोजना गरेको थियो । विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्दै लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले विद्यालयस्तरमा हुने यस्ता खेलकुद प्रतियोगिताले विद्यार्थीको सशक्तीकरण हुने बताए । स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले युवा पुस्तालाई अनुशासनमा राख्न खेलकुदको महत्वपूर्ण भूमिका रहने बताए ।

उता, रामपुर नगरपालिकामा पनि राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र दरैठाँटी माध्यमिक विद्यालय रामपुर–६, को व्यवस्थापनमा विजयपुर खेल मैदानमा प्रतियोगिता भएको हो ।

रामपुर नगरपलिकाका नगर प्रमुख रमणबहादुर थापाले विद्यार्थीहरुको बौद्धिक तथा शारीरिक विकासका लागि खेलकुद अपरिहार्य रहेको बताए । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले खेलकुदले अनुसाशनसँगै एकता र सद्भाव कायम राख्ने बताए । प्रतियोगितामा नगरभित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच छात्र–छात्रा भलिबल, १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर दौड, हाइजम्प, लङजम्पका सहित एथलेटिक्सका विद्याहरुमा प्रतिस्पर्धा हुने शिक्षा शाखा प्रमुख विकल काफ्लेले बताए ।

प्रकाशित : माघ १८, २०७९ १२:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×