'बाबुसँग लेनदेन नमिलेपछि छोराको अपहरण'- समाचार - कान्तिपुर समाचार

'बाबुसँग लेनदेन नमिलेपछि छोराको अपहरण'

पीडित किशोरका बाबुसँग लेनदेनमा विवाद भएपछि अपहरण गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ
पर्वत पोर्तेल

झापा — झापामा १० दिनअघि अपहरणमा परेका एक किशोरको प्रहरीले उद्धार गरेको छ । बिर्तामोड ३ भगवान चोक निवासी २१ वर्षीय राजीव बस्नेतलाई प्रहरीले अपहरणकारीको पन्जाबाट शनिबार साँझ मुक्त गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगम बहादुर कुँवरले जानकारी दिए ।

राजीव गत माघ ५ गते बिहान इलामको श्रीअन्तु घुम्न भनी घरबाट निस्किएका थिए । प्रदेश १–०१–०१५ प ८०९७ मोटरसाइकल चढेर गएका उनी साँझसम्म नफर्किएपछि परिवारले प्रहरीलाई हुलियासहित उजुरी दिएको थियो ।

डीएसपी कुँवरका अनुसार बुद्धशान्ति घर भई हाल भारतको मणिपुरमा बसेर व्यापार गर्ने राजु भनिने राजकुमार भण्डारी नामको व्यक्तिको संलग्नतामा राजीवको अपहरण भएको खुलासा भएको छ। राजीवका बाबु कमल बस्नेत र भण्डारी पहिले व्यापार साझेदार थिए । तर, पछिल्लो समय आर्थिन लेनदेनमा विवाद भएपछि यी दुईबीच मनमुटाव सुरु भएको थियो । उनीहरु सुन व्यापारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

‘पीडितका बाबु र भण्डारी पुराना कारोवारी रहेछन् । व्यापारको कुरामा लेनदेनको समस्या रहेछ, त्यही निहुँमा राजीवलाई अपहरण गरिएको खुलेको छ,’ डीएसपी कुँवरले भने, ‘बस्नेतले भण्डारीलाई रकम तिर्न बाँकी रहेको र त्यही कारण भाडाका मान्छे परिचालन गरेर छोरालाई उठाइएको पाइयो ।’

१० दिनसम्म अज्ञातस्थलमा राखिएका उनलाई प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको छ । अपहरणकारीले छोरालाई छुटाउन फिरौती रकम मागे पनि परिवारले भने नदिएको प्रहरीले दाबी गरेको छ ।

प्रकाशित : माघ १६, २०७९ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्

अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा, थुनामुक्त गराउन लेनदेन

अन्तरजातीय विवाहलाई छुट्याउने घटना सामसुम पार्न पैसाको लेनदेन गर्ने काममा स्थानीय तहका जनप्रतिनिधिदेखि नेतासम्म संलग्न
पर्वत पोर्तेल

कचनकवल, झापा — मुलुककै होचो भूभाग कचनकवलको पुछारको गाउँ लोधाबारी मंगलबारदेखि शोकमग्न छ । सदरमुकाम चन्द्रगढीदेखि करिब ३० किलोमिटर दक्षिणको यो सीमान्त देहातमा अन्तरजातीय बिहेपछिको बिछोड खेपेका कचनकवल–४ का २५ वर्षीय राजेशकुमार गणेश (गनगाई) र १८ वर्षीया पवित्रा राजवंशी मृत फेला परेका थिए ।

राजेशको परिवार भने दोहोरो पीडामा छ । उनका बाबु ५० वर्षीय जितलाल र ४५ वर्षकी अन्नवतीको आँखा अझै ओभाएको छैन । अन्नवती आँगनमा बर्बराइरहेकी छन् । जितलाल भक्कानिँदै बिलौना सुनाउँछन्, ‘पैसा, पैसा सकियो । जवान छोरा गयो, हामीलाई सहनै नसक्ने दुःखले छोप्यो ।’

अन्तरजातीय प्रेम विवाह गरेका जोडीलाई समाजले छुट्याएको थियो । राजवंशीहरू आफूलाई उच्च जातको मान्छन् भने गणेशहरूलाई तल्लो जातको । २०७८ साउन पहिलो साताको एक साँझ राजेशले कचनकवल–४ खुट्टामनी टोलकी पवित्रा राजवंशीलाई प्रेम विवाह गरेर घर भित्र्याएका थिए । गणेश परिवारले बुहारी आएकामा हर्ष नै माने । तर, पल्लो गाउँको राजवंशी परिवार भने छोरीले अन्तरजातीय विवाह गरेकामा खुसी थिएन । स्थानीय महेन्द्र रत्न माविमा ८ मा पढ्दै गरेकी पवित्राले परिवारको मञ्जुरीविपरीत प्रेम विवाह गरेकी थिइन् ।

सुरुमा त राजवंशी परिवारले पहिला छोरीलाई छुट्याउने प्रयत्न गरे । तर, पवित्राले ‘राजीखुसी बिहे गरेर आएकी हुँ’ भनेपछि बाबु भुवनलालको केही लागेन । तर, उनले गणेश परिवारलाई धम्क्याउँदै छोरीका नाममा जमिन पास नगरे मुद्दा चलाउने धम्की दिए । कमजोर आर्थिक हैसियतका गणेशको परिवारले भनेजस्तो गर्न सक्ने अवस्था थिएन । राजेश त्यतिबेला कचनकवल गाउँपालिकाको माछापोखरी हेरालुको करार जागिर गर्थे । जसको आम्दानीले खान, लाउन जेनतेन मात्रै पुग्थ्यो ।

राजकुमारको गाउँ कचनकवल गाउँपालिका–४ लोधाबारी । तस्बिर : पर्वत/कान्तिपुर

कान्तिपुरसँगको कुराकानीमा पनि भुवनलालले केटाकेटीको जीविकाका लागि संयुक्त नाममा १० कट्ठा जमिन पास गरिदिन गणेश परिवारसँग माग गरेको बताए । उनले भने, ‘जमिन पास गर्न नमानेपछि मैले मुद्दा हालेको हो ।’ समाजले पनि मुद्दामा जान उक्साएपछि २०७८ असोज १२ मा भुवनलालले जिल्ला प्रहरी कार्यालय झापा पुगेर राजेशविरुद्ध घरमा गएर छोरीलाई बलात्कार गरेको आरोपमा उजुरी दिए । भोलिपल्टै प्रहरी टोली गाउँमै पुगेर राजेश र पवित्रा दुवैलाई नियन्त्रणमा लियो । पवित्रालाई राति नै परिवारको जिम्मा लगायो भने राजेशलाई थुनामा राख्यो । ‘प्रहरीले तपार्इंको छोरामाथि अपहरणको उजुरी परेको छ, छाड्न मिल्दैन भन्यो,’ जितलालले सुनाए, ‘अनि हामी घर फर्कियौं ।’

त्यसपछि छुटाउने कोसिस सुरु भयो । त्यसबेला भुवनलालले पैसा दिए मुद्दा फिर्ता गरिदिने सर्त राखेको जितलालले बताए । भुवनलालले सुरुमा १० लाख रुपैयाँ मागेका थिए । तर, त्यत्रो रकम दिने हैसियत नभएको भनेपछि साढे ६ लाख रुपैयाँमा सहमति भएको केटाका मामा रघुनन्दनले बताए । तत्कालीन वडाध्यक्ष परमानन्द सिंह राजवंशी र कांग्रेसका नेता (वर्तमान प्रदेश सांसद) भूमि राजवंशीको रोहवरमा रकम दिने सहमति भएको थियो । ‘ऋणपान र भएका जायजेथा बेचेर साढे ६ लाख बुझाइयो,’ जितलालले बुधबार बगेको आँसु पुछ्दै भने, ‘पैसा बुझाएपछि वकिलमार्फत काम गर्दा छोरा चाँडो छुट्ने आश्वासन पनि दिए ।’

प्रदेशसभा सदस्य भूमी राजवंशीले दुवै परिवारलाई मिलाउन सहजीकरण गरेको दाबी गरेका छन् । ‘केटाबिना केटी पनि बस्न नसक्ने अवस्था भएपछि समझदारीमै वकिलसँग सल्लाह गरेर केटाअनुकूल मुद्दा बनाइएको हो,’ उनले भने, ‘त्यसपछि केटा छुटेको हो ।’

यो घटनालाई नजिकबाट नियालेकाहरूका अनुसार केटा निस्किएपछि मात्रै परिवारलाई रकम दिने सर्तअनुसार वडाध्यक्षको हातमा साढे ६ लाख रुपैयाँ दिइयो । तर, भुवनलालले भने ५ लाख मात्रै हात पारे । डेढ लाख रुपैयाँ कसले गायब पार्‍यो भन्नेबारे दुवै पक्ष बेखबर छन् ।

आरोपितविरुद्ध प्रहरीले कात्तिक ४ मा जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाएको थियो । झापा अदालतका न्यायाधीश टीकाराम आचार्यले कात्तिक ७ मा राजेशलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेका थिए । जेल चलान भएको करिब डेढ महिनापछि मंसिर २१ मा न्यायाधीश आचार्यकै इजलासले अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ दियो ।

राजेशको पक्षमा मुद्दा हेरेका एक कानुन व्यवसायीका अनुसार केटीले ‘केटालाई जेलबाट नछुटाए आत्महत्या गरिदिन्छु’ भनेर त्यतिबेलै परिवारलाई धम्क्याएकी थिइन् । त्यसपछि राजवंशी परिवारले आर्थिक लेनदेन गरेर राजेशलाई थुनामुक्त गराउने पहल गरेको हो । ‘राजवंशी परिवारले हामीले गाउँमै कुरा मिलायौं भने,’ ती कानुन व्यवसायीले भने, ‘अनि केटीको अनुकूल बकपत्र गराइएपछि केटा जेलमुक्त भए ।’

गणेश परिवारका अनुसार राजवंशी परिवारलाई दिएको साढे ६ लाखबाहेक पनि अरू ७ लाख रुपैयाँ अदालती प्रक्रियामा खर्च भएको थियो । ‘वकिल, प्रहरी र न्यायाधीशलाई मिलाउने काममा ७ लाख जति खर्च भयो,’ रघुनन्दन गणेशले भने, ‘करिब १४ लाख हाराहारी खर्च भएपछि बल्ल भान्जा जेलबाट छुटे ।’ अदालती खर्चका लागि गणेश परिवारले ६ कट्ठा जमिन मात्रै बेचेनन्, आफन्तसँग ऋण पनि लिएका थिए ।

कारागारबाट निस्किएका गणेश गत असारसम्म गाउँपालिकाले खटाएकै काम गर्दै थिए । पुराना जनप्रतिनिधि गएर जब नयाँ आए, उनको करारको जागिर खोसियो । जागिर गुमेपछि घरदेखि करिब एक किलोमिटर नजिकै ब्रोइलर कुखुरा पाल्न सुरु गरेका थिए । सोमबार राति भाइ दिनेशसँग पोल्ट्री फार्ममा सुतेका उनी उठेर गएपछि फर्किएनन् । ‘११ बजेसम्म कुखुरालाई चारो दिएर दाइ सुतेको थियो,’ भाइ दिनेशले भने, ‘ब्युझिँदा दाजु छैन । खोज्दै जाँदा बगानमा झुन्डिएको भेटियो ।’


प्रकाशित : माघ १२, २०७९ ०७:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×