५ लाख कामदार भित्र्याउँदै मलेसिया- समाचार - कान्तिपुर समाचार

५ लाख कामदार भित्र्याउँदै मलेसिया

नेपाली कामदारको अवस्था बुझ्न मलेसियाका गृहमन्त्री केही दिनमै आउने 
होम कार्की

काठमाडौँ — तत्काल पाँच लाख विदेशी कामदार लिने निर्णय गरेको मलेसियाका गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल नेपाली कामदारको अवस्था बुझ्न आउने भएका छन् । इजमाइल फेब्रुअरी पहिलो साता नेपाल आइपुग्ने भएका हुन् ।

दुई देशबीचको श्रम सम्झौतापछि मलेसियाबाट उच्च अधिकारीको औपचारिक नेपाल भ्रमण भएको थिएन ।

मलेसियाले उत्पादन, निर्माण, खेती, प्लान्टेसन र सेवा क्षेत्रका लागि स्रोत देशबाट कामदार लैजान ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन’ योजना ल्याएको छ । मलेसियाले औद्योगिक उत्पादन, निर्माण, खेती, प्लान्टेसन र सेवालाई ‘संवेदनशील’ क्षेत्रका रूपमा लिएको छ । ‘तुरुन्तै ५ लाख कामदार भर्ना गर्ने नीति ल्याए पनि नेपालबाट कति लैजाने भन्ने कोटा यकिन गरेको छैन,’ मलेसियाका गृह र मानव संसाधन मन्त्रीसँग शुक्रबार छुट्टाछुट्टै कूटनीतिक भेट गरेका नेपाली राजदूत डिल्लीप्रसाद पौडेलले कान्तिपुरसँग भने, ‘अहिले देखिएको कामदारको अभाव पूर्ति गर्ने नेपाल प्रमुख स्रोत देशभित्र पर्छ ।’

मलेसियाले नेपालसहित १५ वटा देशबाट कामदार लैजाने गर्छ । तीमध्ये नेपालसँग मात्रै शून्य लागतमा कामदार लैजाने श्रम सम्झौता भएको छ । स्रोत मुलुकमध्ये भियतनाम र इन्डोनेसियाबाट पछिल्लो समय कामदार आपूर्ति घटेको छ ।

स्वदेशमै रोजगारीका अवसर बढ्दै गएपछि भियतनाम र इन्डोनेसियाका नागरिक मलेसियामा जाने क्रम घटेको हो । तत्काल ५ लाख कामदार लिने मलेसियाको नीतिबाट नेपाली कामदारले उल्लेख्य संख्यामा अवसर पाउने सम्भावना छ ।

राजदूत पौडेलका अनुसार गृहमन्त्रीको भ्रमण कूटनीतिक मात्रै नभई रणनीतिक हिसाबले निकै महत्त्वपूर्ण छ । ‘गृहमन्त्रीको भ्रमण नेपालपछि भारत र बंगलादेशमा हुनेछ,’ उनले भने । टोलीमा मानव संसाधनको प्रतिनिधि पनि रहनेछन् । कोभिड महामारीका समयमा रोकिएको विदेशी कामदार भर्ना प्रक्रिया गत अप्रिलमा सुरु भएको थियो । त्यसयता झन्डै दुई लाख नेपाली मलेसिया गइसकेका छन् । मलेसियाको मानव संसाधन मन्त्रालयका अनुसार विदेशी कामदार केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मार्फत संवेदनशील क्षेत्र र यसका उपक्षेत्रका रोजगारदाताले आफूलाई चाहिने कामदारको कोटाका लागि आवेदन दिन पाउने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको छ ।

नेपाल भ्रमणका क्रममा मलेसियाका गृहमन्त्रीले विदेशी कामदारको हित र सुरक्षाका लागि पछिल्लो पटक लिएको नीतिबारे औपचारिक रूपमा जानकारी गराउने पौडेलको भनाइ छ । मलेसियाले गत सेप्टेम्बर १ देखि नयाँ श्रम कानुन कार्यान्वयनमा ल्याएको छ । ‘पछिल्लो समय मलेसियाले कामदारको हित, अधिकार र सुरक्षालाई ध्यानमा राखेर श्रम र अध्यागमन नीति परिवर्तन गरेको छ । यसबारे मलेसियाले आफ्नो कुरा प्रस्टसँग राख्ने एजेन्डा तय गरेको छ,’ पौडेलले भने, ‘नेपालबाट मात्रै सुरक्षा गार्ड ल्याउने भएकाले कसरी तालिमयुक्त सुरक्षागार्ड ल्याउने भन्ने विषयमा मलेसियाले आफ्नो योजना राख्नेछ ।’

नेपालले भने श्रम सम्झौताको प्रभावकारी कार्यान्वयनलाई प्रमुख एजेन्डा बनाउने तयारी गरेको छ । ‘शून्य लागतमा कामदार लैजाने मलेसियाको कानुनअनुसार उसले नेपालसँग श्रम सम्झौता गरेको छ । शून्य लागत ग्लोभ्स, इलेक्ट्रोनिक्स र प्लान्टेसनका क्षेत्रमा मात्रै कार्यान्वयन भइरहेको देखिन्छ । हामी सबै क्षेत्रमा लागू हुनुपर्छ भन्ने मान्यता राख्छौं,’ श्रम मन्त्रालयका एक अधिकारीले भने, ‘सुरक्षा क्षेत्रमा नेपाली कामदारले उचित ज्याला पाइरहेका छैनन् । गत वैशाखमा सुरक्षा गार्डका लागि कम्तीमा ३ हजार रिंगेट तोकिनुपर्छ भनेका थियौं, त्यही विषय यस पटक पनि उठाउँछौं ।’

पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसियाका गृहमन्त्रीको नेपाल भ्रमणका क्रममा श्रम सम्झौता कार्यान्वयनको समीक्षा हुनुपर्ने बताए । ‘श्रम सम्झौतामा कामदार भर्ना गर्ने कुरा मात्रै छैन, लागत शुल्क मात्रै पनि होइन । मलेसिया गइसकेपछि कार्यस्थल सुरक्षा, उनीहरूमाथि गरिने व्यवहार, बिमा र सामाजिक सुरक्षाका विषय पनि महत्त्वपूर्ण छ,’ उनले भने, ‘यो दुवै देशका लागि हितकर हुनेछ ।’

प्रकाशित : माघ १५, २०७९ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्

विन्फ्रेको जन्म

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९५४ मा आजकै दिन (जनवरी २९) मा अमेरिकी टेलिभिजन कार्यक्रम निर्माता तथा सञ्चालिका, अभिनेत्री तथा लेखिका ओप्रा विन्फ्रेको जन्म भएको थियो । विन्फ्रे मिसिसिपीको ग्रामीण भेगको एक गरिब परिवारमा जन्मिएकी थिइन् ।

१४ वर्षको उमेरमा एक रेडियोबाट आफ्नो करिअर सुरु गरेकी विन्फ्रे १९ वर्षकी हुँदा समाचारवाचिक बनेकी थिइन् ।

सन् १९९० को दशकमा आइपुग्दा उनी अमेरिकाकै बिख्यात टेलिभिजकर्मीका रूपमा चिनिइसकेकी थिइन् । उनी अमेरिकाको सिकागोबाट प्रसारण हुने ‘द ओप्रा विन्फ्रे शो’ नामक टक शोबाट निकै चर्चित भएकी थिइन् । उक्त कार्यक्रम सन् १९८६ देखि २०११ सम्म राष्ट्रिय सिन्डिकेसनमार्फत प्रसारण भएको थियो ।

सन् १९९३ मा विन्फ्रेले चर्चित गायक माइकल ज्याक्सनसँग लिएको अन्तर्वार्ता अमेरिकी टेलिभिजनको इतिहासमा सबैभन्दा बढी हेरिएको चौथो अन्तर्वार्ता बनेको थियो । उक्त अन्तर्वार्ता हालसम्मकै धेरै हेरिएकोमध्येमा पर्छ । कुनै समय एकमात्र अश्वेत अर्बर्पति बनेकी विन्फ्रे २० औं शताब्दीमा अफ्रिकी मूलकी अमेरिकीमध्येमा सबैभन्दा धनी थिइन् । सन् २००७ सम्म उनी विभिन्न समयमा विश्वकै सबैभन्दा प्रभावशाली महिलासमेत घोषित भएकी थिइन् ।

विन्फ्रेले विभिन्न पाँचवटा पुस्तकको सहलेखन गरेकी छन् । उनले ‘द कलर पर्पल’, ‘विलोभेड’, ‘द प्रिन्सेस एन्ड द फ्रग’, ‘द बट्लर’, ‘सेल्मा’ लगायतका फिल्ममा अभिनयसमेत गरेकी छन् । सन् २०२१ मा विन्फ्रेले बेलायती राजकुमार ह्यारी र मेघनसँग लिएको अन्तर्वार्ताले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा चुलिएको थियो ।

प्रकाशित : माघ १५, २०७९ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×