सुरक्षाविहीन सरकारी वेबसाइट- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरक्षाविहीन सरकारी वेबसाइट

प्रधानमन्त्रीको अध्यक्षतामा डिजिटल नेपाल फ्रेमवर्क (डीएनएफ) निर्देशक समिति बनेको चार वर्षमा तीन प्रधानमन्त्री भए, तर एक पटक पनि बसेन बैठक
विश्व बैंकबाट १८ अर्ब २० करोड रूपैयाँ ऋण लिने सम्झौता, काम गर्न गत भदौमा प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको इ–गभर्नेन्स कमिसनको न सचिवालय छ, न बजेट
सजना बराल

काठमाडौँ — सिंहदरबारभित्र रहेको एकीकृत डेटा सेन्टर (जीआईडीसी) अन्तर्गत सञ्चालन हुने ४ हजारभन्दा धेरै सरकारी वेबसाइट शनिबार दिउँसोदेखि साँझसम्म पटक–पटक ठप्प भए । शनिबार भएकाले भारी ‘ट्राफिक’ पनि थिएन, तर सर्भर डाउन हुँदा अध्यागमन विभागजस्ता संवेदनशील सेवा अवरुद्ध भए, सेवाग्राहीहरूले चर्को सास्ती बेहोर्नुपर्‍यो । तर, यो समस्या नेपालका लागि नौलो होइन ।

डिजिटल रूपान्तरणको नीति बनाएको राज्यले कार्यान्वयनलाई कति नजरअन्दाज गरेको छ भन्ने बुझ्न डिजिटल नेपाल फ्रेमवर्क (डीएनएफ) को अलपत्र अवस्थालाई हेरे पुग्छ । सार्वजनिक सेवा प्रवाहलाई रूपान्तरण गर्न चार वर्षअघि सन् २०१९ मा डिजिटल नेपाल फ्रेमवर्क (डीएनएफ) पारित भएको थियो, जसलाई कार्यान्वयन गर्न संस्थागत संरचना पनि बनेको थियो ।

प्रधानमन्त्री अध्यक्ष र सञ्चारमन्त्री उपाध्यक्ष हुने समितिमा सार्वजनिक सेवा दिने सबै मन्त्रालयका मन्त्रीलाई पनि राखिएको थियो । समितिका सदस्यमा अर्थ, गृह, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सहरी विकास, ऊर्जा र उद्योगमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सरकारका मुख्यसचिव, राष्ट्र बैंकका गभर्नर र सदस्यसचिवमा सञ्चार सचिव रहने गरी संरचना बनाइएको थियो । तर निर्देशक समिति बनेको चार वर्षमा तीन प्रधानमन्त्री बन्दा बैठक भने एक पटक पनि बसेको छैन ।

निर्देशक समितिअन्तर्गत डिजिटल नेपाल व्यवस्थापन कार्यालय पनि बनाउने भनिएको थियो, तर कार्यालय स्थापना समेत भएन । त्यसको सट्टा व्यवस्थापनको जिम्मेवारी सञ्चार मन्त्रालयले लियो । सञ्चारले आफ्नो मन्त्रालयसँग सम्बन्धित डिजिटल फाउन्डेसनको संरचना बनाउने केही काम गर्‍यो, तर अन्य मन्त्रालयसँग सम्बन्धित काम गर्न सकेन । जबकि सञ्चारसहित कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधारका सार्वजनिक सेवा सुधार्ने भनिएको थियो । सञ्चार अन्य मन्त्रालय समकक्षी भएकाले कसैले कसैको निर्देशन नमान्ने अवस्थाले व्यवस्थापन अलपत्र परेको हो ।

निर्देशक समितिलाई आवश्यक सहयोग गर्न तथा डिजिटल नेपाल फ्रेमवर्कका कार्यक्रमलाई समन्वय गर्न मुख्यसचिवको नेतृत्वमा समन्वय समिति पनि बनेको थियो ।

समितिमा सञ्चार, अर्थ, गृह, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सहरी विकास, ऊर्जा, उद्योग मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिव, राष्ट्र बैंकका डेपुटी गभर्नर सदस्य, दूरसञ्चार प्राधिकरणका अध्यक्ष, उद्योग वाणिज्य महासंघका अध्यक्ष, उद्योग परिसंघका अध्यक्ष, कम्प्युटर एसोसिएसन महासंघका अध्यक्ष सदस्य र सञ्चार मन्त्रालयका सहसचिव सदस्यसचिव हुने व्यवस्था छ । तर, यो समन्वय समितिका बैठक पनि चार वर्षमा दुई पटक मात्र बसेको छ । ती बैठक पनि औपचारिकतामा सीमित भए, कुनै अर्थपूर्ण निर्णय र पहल भएका छैनन् ।

डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत डिजिटल नेपाल एक्स्लेरेसन प्रोजेक्ट (डीएनए) का लागि नेपाल सरकारले विश्व बैंकले १४ करोड अमेरिकी डलर (१८ अर्ब २० करोड रुपैयाँ) ऋण लिने सम्झौता भइसकेको छ । तर, डिजिटल नेपाल फ्रेमवर्कको निर्देशक समिति र समन्वय समितिले काम गर्न नसकेपछि गत भदौमा सरकारले इ–गभर्नेन्स कमिसन (विद्युतीय सुशासन आयोग) गठन गरेको छ । यसमा पनि प्रधानमन्त्री अध्यक्ष, सञ्चारमन्त्री सहअध्यक्ष छन् । तर, यसको बैठक एक पटक पनि बसेको छैन । आयोगमा प्रमुख कार्यकारी अधिकृतका रूपमा दीपेश विष्टलाई नियुक्त गरिएको छ । तर, सरकारले न सचिवालय बनाएको छ, न बजेट व्यवस्था गरेको छ ।

यसरी डिजिटल रूपान्तरणको नारा भए पनि सरकार संवेदनशील नबन्दा सरकारी वेबसाइटको सेवा भद्रगोल छ । यसअघि निर्वाचनका बेला नै निर्वाचन आयोगको वेबसाइट डाउन हुँदा मतदान केन्द्र पत्ता लगाउन, आयोगका सूचनाहरू लिन र कतिपय अवस्थामा निर्वाचन प्रक्रिया रोकिएका थिए । सेवाग्राहीको प्रमुख चासोमा रहेका राहदानी विभाग, यातायात व्यवस्था कार्यालयजस्ता निकायका वेबसाइट त झन् पटक–पटक ‘डाउन’ हुँदै आएका छन् । कतिपय निकायहरूले सर्भर ‘डाउन’ भएको भन्दै हप्तौंसम्म सेवा नै बन्द गर्दै आएका छन् ।

सरकारी सर्भर आफैंमा कमजोर छ भने वेबसाइटको सुरक्षा प्रणाली चुस्त नभएकाले ह्याकरहरूले बेलाबखत ह्याक गरेका उदाहरण पनि छन् । साइबर सुरक्षासम्बन्धी पूर्वतयारी, निरन्तर अनुगमन र सरकारी नेतृत्वमा बुझाइको अभावले यस्ता समस्या हुने गरेको विज्ञहरू बताउँछन् ।

शनिबार लगातार रूपमा सर्भरमाथि भएको आक्रमण पहिलेभन्दा पनि गम्भीर भएको विज्ञहरूको भनाइ छ । ‘यो डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस अट्याक (डीडस) हुन सक्छ, जसमा कुनै पनि सेवा प्रदायक पोर्टललाई सेवा दिन नसक्ने गरी शंकास्पद ट्राफिक सिर्जना गरिन्छ,’ साइबर सुरक्षाविज्ञ विवेक राणा भन्छन्, ‘यसमा धेरै कम्प्युटर प्रयोग भएका हुन्छन् । नेपालमा भएको प्रकृतिको आक्रमणका लागि कम्तीमा ४/५ सयवटा कम्प्युटर प्रयोग भएको हुनुपर्छ । त्यसैले यो गम्भीर छ ।’ डीडस आक्रमण प्रयोजनकै लागि विदेशतिर संस्थागत रूपमै लाग्नेहरू हुने भएकाले त्यस्तो आक्रमणको प्रतिरोध गर्न हाम्रो सुरक्षा प्रणाली कमजोर देखिएको राणाको भनाइ छ ।

अर्का सूचना प्रविधिविज्ञ नरेश लामगाडे नेपाली वेबसाइटहरूमा ‘डीएनएस फ्लडिङ’ भएको मान्छन् । ‘डीएनएस भनेको कुनै पनि वेबसाइटमा छिर्ने गेटवे हो, गेटवेमै आक्रमण भएपछि सेवाग्राहीहरूले वेबसाइटसम्म पहुँच बनाउन सकेनन् । यो नियोजित आक्रमण हो । त्यसरी डीएनएस फ्लडिङ गर्नेहरूको आईपी ठेगाना र स्थान पत्ता लागेपछि मात्रै यसको कारणबारे विस्तृत थाहा हुनेछ,’ उनको भनाइ छ । उनको विचारमा यो प्रकृतिको आक्रमण नेपालभित्रबाट भएको होइन ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक रमेश पोखरेलले पनि एक्कासि अत्यधिक वेब ट्राफिक आएकाले सरकारी वेबसाइटमा निरन्तर समस्या आएको र आफूहरू समाधानका लागि प्रयासरत रहेको बताए । उनका अनुसार ‘जीआईडीसी’ को ‘फायरवाल’ को ‘थ्रुपुट’ १५ जीबी प्रतिसेकेन्ड रहेकोमा यसभन्दा बढी क्वेरी (म्यासेज) आएकाले समस्या भएको हो । ‘उच्च माग हुँदा भार सन्तुलनको काम हुनुपर्ने थियो तर एकैचोटि यस्तो होला भन्ने पूर्वानुमान गर्न सकिएन,’ उनी भन्छन्, ‘हामीले ४/५ वर्षलाई आकलन गरेर सर्भरलगायत उपकरणहरूको क्षमता निर्धारण गरेका हुन्छौं । हाम्रो डिभाइसको क्षमता बढाएर र शंकास्पद ट्राफिकलाई ब्लक गरेर यो समस्या समाधान गर्न सकिन्छ ।’

डेटा सुरक्षासम्बन्धी एकीकृत नीति तथा परियोजना नबनेकाले समस्या दोहोरिने गरेको बताउँछन् इ–गभर्नेन्स कमिसनका प्रमुख कार्यकारी दीपेश विष्ट । ‘डेटा सेन्टर भनेको निकै संवेदनशील क्षेत्र हो, यो स्थापना भएको पनि २० वर्ष भइसक्यो, तर अहिले पनि करारका कर्मचारीका भरमा चलेको छ, डेटा सेन्टरमा एक वर्षसम्म कुनै प्राविधिक बस्छ, केही सिक्छ र बाहिर जान्छ । कर्मचारी टिकाउन नसक्ने अवस्थाले संवेदनशील डेटा सुरक्षामा पनि समस्या छ,’ उनी भन्छन् । विष्टको भनाइमा आईटी सेक्युरिटीको अडिट नै भएको छैन । भन्छन्, ‘अहिले भएका आईटी सिस्टममध्ये ९० प्रतिशतको सेक्युरिटी अडिट भएको छैन, यो अवस्था जोखिमपूर्ण हो ।’

सूचना प्रविधिविज्ञ राणा पनि आपत्कालीन अवस्थाका लागि भनेर बनाइने कम्प्युटर इमर्जेन्सी रेस्पन्स टिम (सर्ट) को क्षमतामा प्रश्न गर्छन् । ‘हाम्रा संयन्त्रहरू कमजोर भएको र बेलाबखत आउने यस्ता समस्यालाई गम्भीरतापूर्वक नलिने प्रवृत्तिले जोखिम बढेको हो । अत्यावश्यक प्रणालीलाई सुरक्षित बनाउन प्रोक्सी सर्भर वा आईपी ठेगाना व्यवस्थापनका लागि मास्करेडिङजस्ता विकल्पहरू उपलब्ध भए पनि नेपालका निकायहरूले ध्यान दिएका छैनन्,’ उनको टिप्पणी छ । नेपाली संयन्त्रले राखेका उपकरणहरूलाई बाइपास गर्न सक्ने हस्तक्षेप भएकाले यति ठूलो समस्या आएको उनको भनाइ छ ।

नेपाल सरकारको सूचना प्रविधि क्षेत्रको अनुभव प्राप्त एक पूर्वकर्मचारीको अनुभवमा यस्तो समस्या प्राविधिक मात्र होइन, नेपालका सरकारी निकायहरूले विभिन्न नयाँ उपकरण र सेवा खरिद गर्ने वातावरण बनाउन पनि यस्ता समस्या निम्त्याउने गरेका छन् । ‘यस्तै समस्याहरू देखाएर आगामी आर्थिक वर्षमा सर्भरलगायत उपकरणहरू किन्न बजेट विनियोजन गराउने मनसायले पनि समस्या आउन दिइन्छ,’ भन्छन्, ‘निरन्तर समस्या देखिएकाले ह्याक्टिभिस्टहरूले जानीजानी यस्तो गरेको पनि हुन सक्छ ।’ नेपाल सरकारअन्तर्गत सूचना प्रविधिसम्बन्धी विषय सम्बोधन गर्ने अनेक निकायहरूबीच समन्वय र एकरूपताको कमी हुने गरेकाले पनि यस्ता समस्या आउने गरेको उनको भनाइ छ ।

नेपाल सरकारकै सेवानिवृत्त अर्का पूर्वसचिवको भनाइ पनि यस्तै छ । उनका अनुसार सूचना प्रविधिसम्बन्धी वस्तु तथा सेवा आपूर्ति मात्र नभई तिनको सञ्चालनसमेत सरकार निजी क्षेत्रमा पूर्णतया निर्भर छ । र, सरकारी निकायहरूमा विषयको गाम्भीर्यता बुझ्ने प्राविधिक र विज्ञहरूको अभाव भएकाले समस्या दोहोरिने गरेको छ । ‘हरेक पटक समस्या आउँदा त्यसको खास कारण पत्ता लगाउन र समाधानको उपाय खोज्नभन्दा नयाँ सामान खरिद गर्न र चिनजानका व्यक्तिलाई ठेक्का दिन हतार हुन्छ,’ उनी भन्छन्, ‘आजभोलि सरकारका ठेक्कापट्टावाला ठूला चलखेल सूचना प्रविधिसँग सम्बन्धित वस्तु तथा सेवाको आपूर्तिमा हुने गरेको छ । डिजिटल नेपाल बनाउने नाममा आगामी दिनमा यो अझै बढेर जानेछ ।’

विज्ञहरूका अनुसार नेपालमा आईटी सेन्टरमा सबैभन्दा बढी घोटाला हुने ठाउँ नै डेटा सेन्टर हो । ‘उपकरण खरिद गर्दा स्पेसिफिकेसन यसरी राखिन्छ कि कुनै कम्पनी विशेषको बाहेक अरूले प्रतिस्पर्धा गर्नै मिल्दैन, एउटै कम्पनीले मात्र सामान दिन मिल्ने भएपछि प्रतिस्पर्धा हुँदैन । मूल्य जति राखे पनि हुन्छ, यसरी नै भ्रष्टाचार भइरहेको छ,’ एक अधिकारी भन्छन् ।

सूचना प्रविधिविज्ञहरू पनि नेपाल आर्थिक वा प्राविधिक रूपमा महत्त्वपूर्ण देश नभएकाले ठूला ह्याकरहरूले यस्तो समस्या सिर्जना गर्नेमा शंका व्यक्त गर्छन् । अन्तर्राष्ट्रिय ह्याकरहरूका लागि नेपाल त्यति आकर्षक गन्तव्य नभएको र कसैले आक्रमण गरिहाले पनि तर्साएर वा भय सिर्जना गरेर आफ्नो उपस्थिति देखाउने हिसाबले मात्रै गरेको हुन सक्ने उनीहरू बताउँछन् । यस विषयमा जिज्ञासा राख्दा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले आफूहरू यो समस्याको कारण पत्ता लगाउन र समाधानका उपाय खोज्न लागिपरेको जानकारी दिए । उनले यति मात्र भने, ‘अहिलेलाई वेबसाइटहरू चल्ने बनाऊँ, अनि यसका कारण र समाधान खोजौंला ।’

प्रकाशित : माघ १५, २०७९ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्

क्रिप्टोकरेन्सी किन बढ्दै छ लगानी ?

सजना बराल

काठमाडौँ — फर्च्युन म्यागजिनको सन् २०२२ अगस्ट/सेप्टेम्बर अंकको आवरणमा ३० वर्षीय अमेरिकी उद्यमी साम ब्यांकम्यान–फ्रिडलाई ‘आगामी वारेन बफेट’ को संज्ञा दिँदै उनको व्यावसायिक सुझबुझको प्रशंसा गरिएको थियो । तिनै युवा उद्यमी २०२२ डिसेम्बर १३ मा ठगीको आरोपमा बहमासको नासाउबाट पक्राउ परे । नोभेम्बरमा आफ्नो क्रिप्टो व्यापार कम्पनी एफटीएक्स टाट पल्टिएको घोषणा गरेका उनी अहिले २५ करोड डलर धरौटीमा रिहा भएर अमेरिकी अदालतमा मुद्दा लड्दै छन् । 



२०२२ को सुरुमा विश्लेषकहरूले २०१९ मा स्थापित ब्यांकम्यान–फ्रिडको कम्पनीको कुल मूल्य (नेट वर्थ) ४० अर्ब डलरभन्दा माथि रहेको आकलन गरेका थिए । करियरको उचाइमा छँदा उनको आफ्नै कुल मूल्य पनि झन्डै २६ अर्ब डलर बराबर पुगेको थियो । आफ्नो अनौठो लगानी नीतिका कारण चर्चामा आएका उनी हाल भने वायर ठगी, सुरक्षा घोटाला र अवैध सम्पत्तिको तस्करीमा मुछिएका छन् । सन् २०२१ को क्रिप्टो पिकदेखि सन् २०२२ को अन्त्यसम्ममा लगानीकर्ताहरूले करिब दुई खर्ब डलर गुमाएको अनुमान सार्वजनिक भएका छन् । यो स्तरको अप्रत्याशित उतारचढाव आउने क्रिप्टो खास के हो त ? क्रिप्टोकरेन्सी डिजिटल मुद्राको एउटा रूप हो, जुन कुनै बैंक वा सरकारको नियमनबिना विकेन्द्रित रूपमा सञ्चालन हुन्छ । परम्परागत मुद्राझैं यसको मूल्य पनि माग र आपूर्तिमा भर पर्छ र पछि त्यसलाई अल्गोरिदममार्फत सुरक्षित गरिन्छ । क्रिप्टोकरेन्सी विद्युतीय कारोबारको तरिका वा प्लेटफर्म होइन, बरु आफैंमा एक वास्तविक मुद्रा हो । यो इन्क्रिप्टेड अल्गोरिदमको प्रयोगबाट सिर्जना गरिएको लेनदेनको एक माध्यम हो । इन्क्रिप्सन प्रविधिको प्रयोग भन्नाले क्रिप्टोकरेन्सीले एक मुद्रा र भर्चुअल खाता (लेजर) प्रणालीको रूपमा एकसाथ काम गर्न सक्छ भन्ने हो । यसको प्रयोगका लागि तपाईंसँग क्रिप्टोकरेन्सी वालेट हुन जरुरी छ । यस्ता वालेट कुनै क्लाउड प्रणाली वा तपाईंको स्वामित्वको कम्प्युटर/ मोबाइलमा भएका कुनै सफ्टवेयर पनि हुन सक्छन् र त्यो तपाईंलाई आफ्नो पहिचान पुष्टि गर्ने इन्क्रिप्सन की राख्न र आफ्नो क्रिप्टोकरेन्सीसँग लिंक गर्न काम लाग्छ ।

क्रिप्टोकरेन्सीलाई बुझ्न मुख्यतया तीनवटा अवधारणा बुझ्नुपर्ने हुन्छ : ब्लकचेन, विकेन्द्रीकरण र क्रिप्टोग्राफी । क्रिप्टोकरेन्सीको सन्दर्भमा ब्लकचेन भनेको एक किसिमको स्प्रिडसिट जस्तै डिजिटल खाता हो, जसमा अधिकारप्राप्त प्रयोगकर्ताहरूको मात्रै पहुँच हुन्छ । यस्ता खाताले सम्पत्ति, पैसालगायत बौद्धिक अधिकारका लागि भएको कारोबारहरूको रेकर्ड राख्ने गर्छन् । यस्ता रेकर्ड अधिकारप्राप्त प्रयोगकर्ताहरूबीच बाँडिन्छ र यस्तो खाले कुनै पनि रेकर्ड पारदर्शी, तत्काल र अपरिवर्तनीय हुन्छ । केन्द्रीकृत मुद्रा भन्नाले केन्द्रीय बैंक वा बैंकिङ संस्थाको नियमन वा नियन्त्रणमा प्रचलनमा रहेको मुद्रा भन्ने बुझिन्छ । क्रिप्टोकरेन्सीका समर्थक वा प्रशंसकहरूले सबैभन्दा जोडतोडले प्रवर्द्धन गर्ने धारणा यही हो, क्रिप्टोकरेन्सीमा कुनै नियामक, नियन्त्रक वा तेस्रो पक्ष हुँदैन, यसको काम गर्ने प्रक्रिया विकेन्द्रित हुन्छ । कुनै क्रिप्टोकरेन्सीको उतार वा चढावका लागि जिम्मेवारी लिइदिने निकाय यो खाले मुद्राको कारोबारमा हुँदैन । क्रिप्टोग्राफी भनेको इन्क्रिप्सन प्रविधिको माध्यमबाट सम्बन्धित डेटामा अनधिकृत पहुँच रोक्ने प्रणाली हो । ब्लकचेनमार्फत प्राप्त हुने भनिएका गोपनीयता र अपरिवर्तनीयताको आधार नै क्रिप्टोग्राफी हो ।

सन् १९८९ मा क्रिप्टोग्राफिक प्रोटोकल, सफ्टवेयर र डिजिटल मुद्राको परिकल्पना गरिएको थियो । पछि सन् २००८ को सेप्टेम्बर १५ मा त्यतिबेलाको चरम आर्थिक मन्दीबीच चर्चित अमेरिकी बैंक लेहम्यान ब्रदर्सले टाट पल्टिएको घोषणा गर्‍यो । यही पृष्ठभूमिमा प्रविधिविज्ञ सातोसी नाकामोतो नाममा जारी श्वेतपत्रले कुनै वित्तीय संस्थाको हस्तक्षेपबिना नै पियर टु पियर लेनदेन गर्न मिल्ने विद्युतीय मुद्रा अर्थात् बिटक्वाइनको चर्चा गरेको थियो । यो लेख्ने व्यक्ति को हुन् भन्ने कुरामा भने अझै रहस्यमै छ । सन् २००९ मा नाकामोतोले ओपन सोर्स सफ्टवेयरका रूपमा बिटक्वाइन क्रिप्टो मुद्राको घोषणा गरे । सन् २०१० मा यो बजारमा रहेको एकमात्र क्रिप्टो मुद्रा थियो । त्यसपछिका केही वर्ष क्रिप्टो मुद्राहरू खासै चर्चामा रहेनन् । निकै क्रिप्टो मुद्राहरू थपिँदै र हराउँदै गए, तिनको मूल्य बिटक्वाइनसँगै तलमाथि हुने गर्थ्यो ।

२०१७ को सुरुतिर भने बिटक्वाइनसमेतका क्रिप्टो मुद्राहरूको मूल्यमा अभूतपूर्व उछाल आयो । झन्डै ११ सय अमेरिकी डलर मूल्यबाट २०१७ मा बिटक्वाइनको उछाल सुरु भएकामा २०१८ को जनवरीमा उच्च बिन्दुमा पुग्दा झन्डै १८ हजार डलर भयो । २०१८ को जनवरीमा बजार उल्लेख्य रूपमा बिग्रनुअघि क्रिप्टो बजार झन्डै ८ सय २० अर्ब डलर बराबरसम्म पुगेको अनुमान छ । तर २०१७ क्रिप्टो बजारका लागि उल्लेख्य वर्षका रूपमा रह्यो किनभने त्यो वर्ष आएको उछालले क्रिप्टो बजारको आकार र आकर्षणसँगै जोखिम, ह्याकिङ, चोरी र दुर्घटना पनि बढाउने काम गर्‍यो । २०१८ पछिका वर्षमा बिटक्वाइन झरेर ४ हजार डलर हाराहारीमा समेत आयो भने २०२२ को उच्च बिन्दुमा झन्डै ६५ हजार डलर आसपासमा समेत पुगेको थियो । तर वर्षको अन्त्यमा झरेर २० हजार डलरभन्दा तल आइपुगेको थियो ।

सन् २०२२ को अन्त्यसम्ममा विश्वभर १८ हजारभन्दा बढी क्रिप्टो मुद्राहरू आइसकेका अनुमान गरिएको थियो । यसमध्ये अघिल्ला २० मुद्राहरूले कुल बजारको ८७ प्रतिशत भाग ओगटेका छन् । सन् २०२१ को क्रिप्टो मुद्रा उछालको श्रेय अमेरिकी धनाढ्य इलन मस्कलाई पनि जान्छ, हरेक पटक उनले बिटवाइन, डजक्वाइनका बारेमा ट्वीट गर्दा वा क्रिप्टोमार्फत टेस्ला खरिद–बिक्री हुने घोषणा गर्दा क्रिप्टोको बजार र मूल्य दुवै अकासिने गरेको थियो ।

कुनै एक व्यक्ति (वा समूह) ले उन्नतस्तरको गणित र रेकर्ड राख्नेबीचको संयोजनबाट बिटक्वाइन माइन गर्न सक्छन् । कुनै एक जनाले अर्को व्यक्तिलाई बिटक्वाइन पठाउँदा नेटवर्कले त्यो लेनदेन र कुनै निश्चित समयभित्र भएका अन्य लेनदेनको हिसाबकिताबलाई ‘ब्लक’ का रूपमा राख्छ । विशेष सफ्टवेयरसहितका ‘माइनर’ कम्प्युटरहरूले यी लेनदेनलाई एउटा विशाल डिजिटल लेजरमा अंकित गर्ने काम गर्छन् । यी सबैको संयोजनलाई ‘ब्लकचेन’ भनिन्छ । यसमा सबै प्रयोगकर्ताले कहाँ, कति के कारोबार भइरहेको छ भन्ने हेर्न सक्छन् तर हेरफर गर्न सक्दैनन् । विशेष सफ्टवेयर र शक्तिशाली हार्डवेयरमार्फत माइनरहरूले यस्ता ब्लकहरूको प्रयोग गरी कोडको सिक्वेन्स निर्माण गर्छन्, जसलाई ‘ह्यास’ भनिन्छ । बिटक्वाइन वा अन्य क्रिप्टो मुद्राको मूल्य भने खरिदकर्ताहरू कतिसम्म तिर्न तयार हुन्छन् र त्यसको कत्तिको माग छ भन्नेमा भर पर्छन्, त्यस हिसाबले यसको र स्टक मार्केटमा हुने सेयरको मूल्य निर्धारणमा केही समानता हुन्छन् । सरकार अथवा अन्य नियामक निकायको अभावमा यसरी हुने मूल्य निर्धारणन स्वेच्छाचारीसमेत हुन सक्छ । फर्च्युनका अनुसार फेसबुकबाट ६५ मिलियन डलर पेआउट लिएर बिटक्वाइनमा लगानी गर्ने भेन्चर क्यापिटलमा पैसा लगाएका विंकलेभोस् दाजुभाइ अहिले अर्बपति छन् ।

सन् २०२२ को मार्च महिनामा एक्सी इन्फिनिटी जस्ता चल्तीका गेम बनाउने अमेरिकी कम्पनी रोनिन नेटवर्कको खाताबाट ६ सय १५ मिलियन बराबरको १ लाख ७३ हजार युथेरम्समेतको क्रिप्टो मुद्रा गायब भयो । यो गेम खेल्दा एनएफटी (डिजिटल सम्पत्ति) जम्मा गरेर क्रिप्टो मुद्रा जित्न सकिने भएकाले फिलिपिन्सजस्ता देशमा निकै लोकप्रिय रहेको थियो । पछि खोज्दै जाँदा उत्तर कोरिया समर्थित ह्याकर समूह लजारससम्म यो क्रिप्टो ह्याक जोडियो । यस्तै छिमेकी देश भारतमै गेन बिटक्वाइन नामक पोन्जी स्क्याममार्फत अमित भारद्वाज नामक व्यक्तिले अहिलेको मूल्यमा झन्डै ९० हजार करोड भारतीय रुपैयाँ ठगी गरेको अनुसन्धान पनि चलिरहेको छ । यी घटनाहरू र अन्य क्रिप्टो अपराधका गुनासोहरू हेर्दा अन्य परम्परागत मुद्राहरूजस्तै विभिन्न समस्या देखिए पनि क्रिप्टो मुद्राका आफ्नै सबल र दुर्बल पक्षहरू छन् ।

क्रिप्टो मुद्राको सबल पक्ष भनेको विकेन्द्रीकरण हो । कोइनबेसले आफ्नो विज्ञापनमा भेन्मो वा पेपालजस्तो परम्परागत वित्तीय प्रणालीको अनुमति लिनु नपर्ने पक्षलाई जोड दिएको छ भने नस्दाकले आफ्नो सन्देशमा प्रयोगकर्ताको पूर्ण नियन्त्रण हुने पक्षलाई प्रमुख सबलता भनेको छ । दैनिक जीवनमा क्रिप्टो दिएर कुनै सामग्री पाउन अहिलेलाई त्यति सहज नभए पनि अन्तरदेशीय या महादेशीय लेनदेन, गोप्य किनबेचलगायत कार्यमा क्रिप्टोकरेन्सीको प्रयोग बढ्दो छ । कुनै समय क्रिप्टोलाई ‘फ्रड’ भनेको जेपी मोर्गनले आफ्नो कारोबारमा क्रिप्टो मुद्रा स्वीकार गर्न सुरु गरेको छ भने विभिन्न देश र प्रमुख कम्पनीहरूले क्रिप्टो मुद्रालाई अपनाउन थालेका छन् । यससँगै तेस्रो पक्षको हस्तक्षेप नहुनु, सुरक्षित लेनदेन, फिर्ता नहुने, ठगीबाट सुरक्षालगायतलाई पनि क्रिप्टोको फाइदाका रूपमा प्रचार गर्ने गरिएको छ । कुनै समय निकै कम मूल्यमा क्रिप्टो मुद्रा खरिद गर्ने विंकलेभोस्जस्ता लगानीकर्ताहरूले यसबाट उल्लेख्य कमाएका पनि छन् । यस अर्थमा क्रिप्टोकरेन्सीहरूले लगानी र प्रतिफलको अवसर पनि जुटाएका छन् ।

तर यसका केही दुर्बल पक्ष पनि रहेको मान्न सकिन्छ । ‘पपिङ द क्रिप्टो बबल’ का लेखक स्टेफेन डेहलले भनेका छन्, ‘क्रिप्टो सिद्धान्तले धन आर्जनको चामत्कारिक आश्वासन त दिन्छ तर त्यो मिहिनेत वा आर्थिक क्रियाकलापमा भन्दा पनि भरोसामा आधारित छ ।’ जतिसुकै गोपनीय भनिए पनि क्रिप्टो कारोबारले एक किसिमको डिजिटल ट्रेल छोड्ने भएकाले आवश्यक परेको खण्डमा नियमनकारी निकायले त्यसको जाँच गर्न सक्छन् । क्रिप्टोकरेन्सीको लोकप्रियता सँगै नियमनकारी निकायको उपस्थिति नहुने भएकाले अवैध कारोबार र कालोधनको कारोबारमा पनि यसको प्रयोग बाक्लिन थालेको छ ।

युनाइटेड नेसन्स कन्फेरेन्स अन ट्रेड एन्ड डेभलपमेन्ट रिपोर्ट २०२१ का अनुसार २०२१ सम्म भारतको जनसंख्याको ७.३ प्रतिशतसँग क्रिप्टोकरेन्सी थियो । तर यसअघि २०१७ मा एक सूचना जारी गरेर भारतको केन्द्रीय बैंकले देशभित्र क्रिप्टोकरेन्सीको कारोबार अवैध भएको भन्यो तर कारोबारमा प्रतिबन्ध भने लगाएको थिएन । सन् २०१९ मा आएर सोही बैंकले भारतमा क्रिप्टो कारोबार गरेमा आर्थिक जरिवानाका साथै १० वर्षसम्मको जेल सजाय हुन सक्ने चेतावनी दियो । तर २०२० मा भारतको सर्वोच्च अदालतले सो प्रतिबन्ध हटाइदिएपछि सरकारले विभिन्न नियमनकारी निर्देशनहरू जारी गर्दै क्रिप्टोमार्फत हुने कुनै पनि कारोबारमा ३० प्रतिशत कर लाग्ने घोषणा गर्‍यो । नेपालमा भने सन् २०१७ को अगस्टमा राष्ट्र बैंकले बिटक्वाइन कारोबारमा प्रतिबन्ध लगाएको थियो । बैंकले कुनै किसिमका क्रिप्टोकरेन्सी कारोबार र लेनदेनलाई पूर्ण रूपमा अवैध भनेको छ । विदेशमा रहने नेपालीले यदाकदा सामाजिक सञ्जालमा क्रिप्टो खरिद–बिक्रीको चर्चा भने गर्ने गरेका छन् ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : माघ ९, २०७९ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×