सत्ता कब्जाको दाउ चलिरहेको छ : अध्यक्ष नेपाल- समाचार - कान्तिपुर समाचार

सत्ता कब्जाको दाउ चलिरहेको छ : अध्यक्ष नेपाल

अवधेशकुमार झा

राजविराज — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीति गोलचक्करमा फसेको बताएका छन् । सप्तरीको राजविराजमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले गोलचक्करबाट देश कसरी निस्कने त्यो चिन्ताको विषय भएको बताए ।

उनले नेतृत्व सत्ता कब्जाको सोचले ग्रसित रहेको समेत दाबी गरे । ‘सत्ता कब्जाको दाउ चलिरहेको छ,’ नेपालले भने, ‘सत्ता कब्जा गर्ने दाउ चलिरहेको छ, सभामुख, राष्ट्रपति कब्जा गर्ने, पछि प्रधानमन्त्री कब्जा गर्ने त्यसपछि राज्यका अन्य निकाय कब्जा गर्ने सोचबाट नेतृत्व ग्रसित छ ।’

वर्तमान सरकार आएपछि अहिले तमासाहरु भइरहेको नेपालको आरोप छ । ‘तमासाहरु भइरहेको छ, अझै कतिवटा तमासा आगामी दिनमा हुने हो त्यो हेर्न बाँकी नै छ ।’

एमालेले राष्ट्रपति पाए उसलाई कसैले छुन नसक्ने बताएका छन् । ‘राष्ट्रपति एमालेले पायो भने उसलाई कसैले छुन सक्दैन्, यो कुरा माओवादीले बुझ्या छन् कि छैनन् ?’ नेपालले भने, ‘एमालेमा असहिष्णु र संकीर्ण सोच छ ।’ आफ्नो पार्टी एकीकृत समाजवादीसँग वार्ता गरेकै कारण जसपालाई सरकारमा मौका नदिएको कुरा सुनेको बताए । ‘जसपा नेतासँगको भेटमा एमालेका नेताले माधव नेपालसित वार्ता गरेका कारण सरकारमा मौका नदिएको कुरा बताएको विषय बाहिर आएको छ’, नेपालले भने, ‘यति असहिष्ण, यति संकीर्ण सोच भएकाबाट के होला ?’

नेता नेपालले कांग्रेसलाई पार्टी नै नभएको आरोप लगाए । ‘नेपाली कांग्रेस अनुशासन पालना नगर्ने, गुटैगुटमा चिराचिरा परेको, एकले अर्काको कुरा नमान्ने विचित्रको पार्टी हो,’ नेपालले भने, ‘यो पार्टीभन्दा पाटीपौवा जस्तो छ ।’ राष्ट्रपतिको निर्वाचन आउन समय बाँकी रहेकाले अहिले नै उम्मेदवारका विषयमा छलफल नभएको उनले बताए । कांग्रेस वा गैर कांग्रेस को राष्ट्रपति हुने छलफलको विषय भएको बताउँदै उनले भने, ‘सबै पद कांग्रेसलाई नै चाहिन्छ भन्ने छैन, राष्ट्रपति पनि चाहिने, प्रधानमन्त्री पनि चाहिने तर अरुको कुरा नगर्ने भएपछि त बिग्रिन्छ नि कुरा ।’

माओवादी र जसपासितको पार्टी एकताबारे सोधिएको प्रश्नमा उनले वार्ता र छलफल चलिरहेको बताए । ‘कुराहरु चलिरहेको छ, कुन ठाउँमा गएर निष्कर्षमा पुग्ने हो हेर्न बाँकी छ’, नेपालले भने, ‘नेकपा माओवादी केन्द्र, जसपा, चन्द्रदेव जोसीको नेकपा संयुक्त र वामदेवजीसँग कुरा भइरहेको छ, हामी चाहन्छौं एकता वा सहकार्य होस् ।’

प्रकाशित : माघ १४, २०७९ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्

विद्यार्थीमाथि कठोर बन्दै बेलायत, ‘पोस्ट स्टडी वर्क’ को अवधि घटाउने तयारी

नवीन पोखरेल

लन्डन — बेलायत सरकारले अध्ययनका लागि आउने अन्तर्राष्ट्रिय विद्यार्थीमाथि फेरि कडाइ गर्ने तयारी गरेको छ ।  बेलायती गृहमन्त्री (होम सेक्रेटरी) सुएला ब्रेभरम्यानले यही जनवरी २५ मा पेस गरेको अध्यागमन सुधारसम्बन्धी नयाँ प्रस्तावमा विद्यार्थीहरूमाथि अनुदार नीति समावेश गरिएको हो ।  

बेलायती पत्रिका ‘द टाइम्स’का अनुसार होम सेक्रेटरीले डिग्री पूरा गर्ने विदेशी विद्यार्थीले पाउँदै आएको ‘पोस्ट स्टडी वर्क’ को अवधि अहिले कायम रहेको दुई वर्षबाट घटाएर ६ महिनामा ल्याउने प्रस्ताव गरेकी छन्। पढाइ पूरा भएको ६ महिनाभित्र कुनै लाइसेन्सवाहक कम्पनीबाट स्पोन्सरसिप नपाएको अवस्थामा विद्यार्थीहरू आफ्नै मुलुक फर्किनुपर्ने छ।

त्यस्तै, अध्ययनका लागि आउने विद्यार्थीले आफ्ना 'डिपेन्डेन्ट' बेलायत ल्याउन सक्ने सुविधामा पनि कडाइ गर्ने नीति गृहमन्त्रीको नयाँ प्रस्तावमा समावेश छ। प्रस्तावित नीतिअनुसार रिसर्च बेस्ड पोस्ट ग्र्याजुएट कोर्समा आउने विद्यार्थीले मात्रै डिपेन्डेन्ट ल्याउन पाउनेछन्। पीएचडी वा कम्तीमा दुई वर्षे अवधिको रिसर्च बेस्ड पोस्ट ग्र्याजुएट कोर्समा आउने विद्यार्थीबाहेक अरुले डिपेन्डेन्ट सुविधा पाउनेछैनन्। छोटो अवधिको कोर्समा आउने विद्यार्थीले पनि डिपेन्डेन्ट ल्याउने सुविधाका कारण अध्यागमन दुरुपयोग भएको ठहर सरकारको छ ।

गृह मन्त्रालयले अहिले शिक्षा मन्त्रालयसँगको समन्वयमा नयाँ नीति कार्यान्वयनमा लैजाने तयारी गरिरहेको छ । तर, पोस्ट स्टडी वर्कको अवधि घटाउँदा विदेशी विद्यार्थीमाझ रहँदै आएको बेलायतप्रतिको आकर्षण घट्न सक्ने भन्दै शिक्षा मन्त्रालय भने नीति परिवर्तनको विपक्षमा रहेको जनाइएको छ।

प्रधानमन्त्री ऋृषि सुनकको सरकार भने विदेशी विद्यार्थीको संख्या घटाउने रणनीतिमा दृढ रहेको बताइन्छ । बेलायत सरकारले सन् २०३० सम्म मात्रै विदेशी विद्यार्थीको संख्या ६ लाख पुर्‍याउने लक्ष्य राखेकोमा गत वर्ष नै त्यो संख्या ६ लाख ८० हजार पुगेको सरकारी तथ्यांकले देखाएको छ।

बेलायत सरकारले झन्डै १० वर्षअघि पनि दुई वर्षे पोस्ट स्टडी वर्क सुविधा हटाएको थियो। जसका कारण त्यसपछिका कैयौं वर्ष बेलायतप्रति विदेशी विद्यार्थीको आकर्षण ह्वात्तै घटेको थियो। तर सन् २०२१ मा यो सुविधा पुनः ल्याइएपछि संसारभरबाट विद्यार्थीहरू बेलायत आउने क्रम उल्लेख्य रुपमा बढेको छ।

पछिल्लो समय नेपालबाट पनि हजारौँ विद्यार्थी अध्ययनका लागि बेलायत आइरहेका छन्। नेपालका विद्यार्थी एकैपटक ओइरिँदा उनीहरुलाई काम र बस्ने कोठासमेत सहजै पाउन सकस भएको छ । गृहमन्त्रीको प्रस्तावअनुसार पोस्ट स्टडी वर्कको अवधि ६ महिनामा घटाइने र डिपेन्डेन्टमा पनि कडाइ गरिने हो भने त्यसको सिधा असर नेपाली विद्यार्थीमा पनि पर्ने एक कन्सल्टेन्ट बताउँछन् ।

प्रकाशित : माघ १४, २०७९ १७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×