उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

रासस

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा शुक्रबार अन्तिम सुनुवाइ हुँदैछ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त मुद्दाको आज सुनुवाइ हुने भएको हो । बुधबार सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । यो विवादको आज अन्तिम सुनुवाइ हो ।

यसअघि गत पुस २२ गते अदालतले माघ ११ गतेका लागि पेसी नगर्ने मुद्दाका रूपमा राख्न लगाएको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि फैसला हुने बताइएको छ ।

अदाललते दिएको यसअघिको आदेशमै २०७५ असार ६ गते अध्यागमन विभागमा पेस गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय जहाँ छ, सो निकायबाट सात दिनभित्र झिकाउन आदेश दिएको थियो । अदालतको आदेशानुसार सबै कागजात र विवरण अदालतमा पेश भइसकेका बताइएको छ ।

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए । नेपाली नागरिकता नलिइ राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो ।

प्रकाशित : माघ १३, २०७९ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ : महामन्त्री थापा

रासस

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने प्रयास भइरहेको भन्दै निर्धारित समयमै उक्त चुनाव हुनुपर्ने धारणा राखे । 

संविधान र निर्वाचन कानून बाँझिएकाले समय धकेल्ने प्रयास भइरहेको भन्दै थापाले भने, 'राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ । यो बेलामा नेपाली कांग्रेसले आफ्नो उम्मेदवारलाई जिताउन प्रयास गर्छ ।'

पार्टीले राष्ट्रपतिको उम्मेदवारबारे केही दिनभित्र निर्णय गर्ने बताउँदै थापाले सोही उम्मेदवारलाई जिताउन सबै पार्टीसँग आह्वान गरिने बताए । 'खासगरी नेकपा (माओवादी) केन्द्रले कांग्रेसको उम्मेदवारलाई मत हाल्ने अपेक्षा हाम्रो हो, किनभने पुष्पकमल दाहाल गोरखाबाट जितेर आउँदै गर्दा त्यहाँ कांग्रेसको मत परेको छ । म काठमाडौंमा विजयी हुँदा त्यहाँ माओवादीको मत परेको छ ।'

महामन्त्री थापाले पाँच वर्षका निम्ति मत मागेर आएको बताउँदै अहिले विभिन्न बहाना बनाएर जनताको मतलाई दुरुपयोग गर्न नपाइने उल्लेख गरे । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिइसकेपछि राष्ट्रपति पद नेपाली कांग्रेसको उम्मेदवारलाई दिनुपर्ने भन्दै थापाले भने, 'त्यसो भयो भने राजनीतिमा सन्तुलन ल्याउँछ ।'

महामन्त्री थापाले एकल तागतका आधारमा पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे । अरुसँग मिलेर जाँदा कांग्रेस बलियो नहुने विगतले देखाइसकेको भन्दै पार्टीलाई एकढिक्का बनाएर जानुको विकल्प नभएको थापाले बताए । नेपाली कांग्रेस नयाँ कार्यक्रमका साथ पुनः जनतामाझ आउने थापाको भनाइ थियो ।

फागुन ७ गतेभित्र भातृसंस्थाले पूर्णता पाउने र वैशाखमा नीति अधिवेशन गर्ने तयारी भइरहेको महामन्त्री थापाले बताए । सरकार नहुँदैमा सबै सिद्धियो भन्ने सोच्नु गलत रहेको भन्दै उनले अब त्यसमै अल्झिएर बस्न नहुने बताए ।

प्रकाशित : माघ १२, २०७९ १५:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×