सिटामोल खरिदबारे अख्तियारले थाल्यो अनुसन्धान

राजविराजमा एउटै ट्याब्लेट १ रूपैयाँ ४० पैसाको दरले खरिद, केही औषधि जीएमपी प्रमाणित नभएका कम्पनीका
अवधेशकुमार झा

राजविराज — पारासिटामोल ट्याब्लेटलगायतका औषधि खरिदमा अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजविराज नगरपालिकामाथि अनुसन्धान थालेको छ ।

आर्थिक वर्ष ०७६/७७ यताका तीन वर्षर्मा नगरपालिकाले खरिद गरेका औषधिमध्ये सिटामोलको खरिद मूल्य औषधि व्यवस्था विभागले तोकेको न्यूनतम खरिद मूल्यभन्दा धेरै राखिएको छ । केही औषधि जीएमपी (गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) प्रमाणित नभएका कम्पनीका छन् ।

अख्तियारको इटहरीस्थित कार्यालयले गत पुस ४ मा पत्र काटेर नगरपालिकालाई विभिन्न प्रश्न सोधेको थियो । आर्थिक वर्ष २०७६/७७ मा कति रकम विनियोजन गरी कुन प्रक्रियाबाट कति औषधि खरिद भयो भन्ने मुख्य प्रश्न छ ।

अख्तियारले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम १ (क) बमोजिम औषधि खरिद गरिएको छ/छैन, डब्लूएचओ सर्टिफाइड हुनुपर्ने औषधिको उत्पादन मिति, ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषय विज्ञबाट मुचुल्का उठाई औषधि व्यवस्थापन गरिएको हो/होइन भन्ने प्रश्न पनि गरेको थियो । खरिद गरिएका औषधि बिक्रीका लागि हो/होइन भन्नेदेखि कार्यालयबाट १६ लाख १५ हजार ३ सय ८० रुपैयाँको औषधि खरिद गरिएको हो वा होइन भन्ने प्रश्न पनि अख्तियारले सोधेको थियो ।

अख्तियारले औषधि खरिदमा संलग्न स्वास्थ्य शाखाका प्रतिनिधिको सहभागितामा छानबिन टोली गठन गरी कार्यालयको रायसहित १५ दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको थियो । समय सकिँदा पनि नगरपालिकाले यसको उत्तर दिएको छैन । बरु जवाफ पेस गर्नुपर्ने अन्तिम १४ औं दिन छानबिन समिति गठन गरेको छ । पुस १९ मा पशु स्वास्थ्य शाखा अधिकृत परमेश्वर यादवको संयोजकत्वमा नगरपालिकाले ७ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समिति संयोजक यादवले छानबिनको काम जारी रहेको बताएका छन् । नगरपालिकाले ०७६/७७ र ०७६/७७ मा राजविराजस्थित जगदीश यादवको जगदीश फार्मेसी एन्ड सप्लायर्सबाट औषधि किनेको देखिन्छ । जबकि यो सप्लायर्सका सञ्चालक जगदीश नगरपालिकाका शाखा अधिकृत मनोजकुमार यादवका बुबा हुन् ।

आर्थिक वर्ष ०७६/७७ मा ससर्त अनुदानअन्तर्गत आधारभूत स्वास्थ्य सेवा कार्यक्रमका लागि आवश्यक औषधि खरिद शीर्षकमा नगरपालिकाले सप्लायर्सलाई टिप्पणी आदेशकै भरमा कार्यादेश दिएको देखिन्छ । सार्वजनिक खरिद ऐन, २०६४ को नियम ८५ को १ (क) बमोजिम २० लाख रुपैयाँ बराबरको औषधिजन्य सामान सोझै खरिद गर्ने व्यवस्थालाई टेक्दै २० लाखभन्दा ५ सय रुपैयाँ कम रकम बराबरको औषधि सप्लाई गर्न जगदीश फार्मेसी एन्ड सप्लायर्सलाई सोझै कार्यादेश दिइएको थियो ।

खरिदको प्रक्रियामा ०७६ माघ १० गते टिप्पणी आदेश गरिएको छ भने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापाले ६ दिनपछि अर्थात् फागुन १६ मा त्यसलाई स्वीकृत गरेका छन् । अचम्म त, खरिद आदेश स्वीकृत हुनु अगावै अर्थात् ०७६ माघ २२ गते सप्लायर्स र नगरपालिकाबीच सम्झौता भएको देखिन्छ ।

आर्थिक वर्ष ०७७/७८ मा पनि नगरपालिकाले ३३ लाख ६१ हजार ६ सय ३३ रुपैयाँ ५० पैसाको औषधि जगदीश फार्मेसी एन्ड सप्लायर्सबाटै खरिद गरेको देखिन्छ । ०७७ पुस ४ गते सिलबन्दी दरभाउपत्रको सूचना निकालेको नगरपालिकाले सबभन्दा कम अंक कबोल गरेको भन्दै सप्लायर्ससँग माघ २० गते २९ लाख ५० हजार ९ सय रुपैयाँको सम्झौता गरेको जनाएको छ । जसमा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापा र सप्लायर्सका जगदीश यादवको हस्ताक्षर छ ।

सम्झौता भएकै दिन नगरपालिकाले सप्लायर्सलाई कार्यादेशसमेत दिएको छ । सोही दिन सप्लायर्सलाई ३ लाख ७२ हजार एउटा र अर्को २४ प्रकारका थप औषधि खरिद गर्ने गरी थप दुई वटा कार्यादेश दिएको देखिन्छ । जसअनुसार सप्लायर्सले ९१ हजार ४ सय ३० ट्याब्लेट सिटामोल खरिद गरेको छ । यसका लागि नगरपालिकाले प्रतिसिटामोल १ रुपैयाँ ४० पैसाको दरले भुक्तानी दिएको छ । औषधि व्यवस्था विभागका अनुसार सिटामोलको मूल्य १ रुपैयाँभन्दा बढी तिर्नु अनियमितता हो । ‘सिटामोलको मूल्य प्रतिट्याब्लेट एक रुपैयाँ राजपत्रमै प्रकाशित छ, त्योभन्दा बढी लिनु र दिनु कानुनसम्मत मानिँदैन,’ विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भने ।

सरकारी दरभन्दा धेरै रकम तिरेर सिटामोल किन्ने काम नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा पनि जारी राखेको छ । यो आर्थिक वर्षमा नगरपालिकाले ७२ प्रकारको औषधि खरिद गरेको छ । सबभन्दा बढी खरिद गरिएको सिटामोल ५ सय एमजीको एक ट्याब्लेटको १ रुपैयाँ ५० पैसा भुक्तानी दिएको छ । यो आर्थिक वर्षमा खरिद गरिएका औषधि जीएमपी सर्टिफाई नभएका कम्पनीको रहेको औषधि व्यवस्था विभागका विज्ञहरूले बताएका छन् ।

गत चैतमा खरिद गरी स्वास्थ्य संस्थामा वितरण गरिएका औषधिमध्ये सिटामोल ट्याब्लेट ताउरस फर्मा नौबिसे धादिङमा उत्पादन रहेको छ । ‘यो फर्मा जीएमपी सर्टिफाई छैन,’ विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भने । यसका अतिरिक्त अहिले स्वास्थ्य संस्थामा रहेका औषधि ताउरस फर्माका अतिरिक्त फर्माको इन्डस्ट्रिज काठमाडौंसहितका कम्पनीले उत्पादन गरेका हुन् । स्वास्थ्य संस्थामार्फत सर्वसाधारणलाई वितरण गरिएका औषधिमध्ये अधिकांशको उत्पादन कम्पनी जीएमपी सर्टिफाई नरहेको पाइएको छ ।

तीनै आर्थिक वर्षमा नगरपालिकाले गरेको औषधि खरिदको काममा स्वास्थ्य शाखाका प्रमुख निरञ्जन यादव, शाखा सहायक हरिवंश यादव, लेखापाल शत्रुधन दास, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय मदनकुमार थापा र भोगेन्द्र यादव प्रत्यक्ष संलग्न छन् । पछिल्लो चार वर्षदेखि राजविराज नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रहेका निरञ्जन यादवले औषधि खरिद गर्दा कमजोरी भएको स्विकारे ।

‘दररेट सबै केलाएर हेर्न सकिएन, जीएमपी सर्टिफाई कम्पनी हो वा होइन, त्यो पनि हेर्न सकिएन, कमजोरी भयो,’ उनले भने । राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनु आफ्नो कार्यकालको विषय नभएकाले यसबारे बोल्न चाहेनन् । उनी गत भदौ ५ गते नगरपालिकामा हाजिर भएका थिए ।

प्रकाशित : माघ १३, २०७९ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्

जसपा र उन्मुक्ति पार्टी सत्तारूढ कि प्रतिपक्ष ?

संघ सरकारलाई समर्थन फिर्ता गरे नेता रिहाइको माग सुनुवाइ नहुने नागरिक उन्मुक्तिलाई डर
जसपालाई विपक्षमा जानासाथ मधेस सरकारको नेतृत्व गुम्ने जोखिम
कलेन्द्र सेजुवाल

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन सघाएका जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सत्ताबाहिरै रहेका छन् । दाबी गरेजति मन्त्रालय नपाएपछि जसपा सरकारमा नगएको हो भने नागरिक उन्मुक्ति पार्टी नेता रेशम चौधरीलाई रिहा गर्नुपर्ने सर्तका कारण सत्तासीन भएको छैन । 

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा माओवादी अध्यक्ष दाहाल पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए ।

संघ सरकारमा अहिले एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाको मात्र प्रतिनिधित्व छ । जसपाले मधेस प्रदेशमा अन्य दलसँग साझेदारी गरेर सरकारको नेतृत्व गरेको छ । नागरिक उन्मुक्ति पार्टी भने विपक्षी बेन्चमा बसेको छ । सत्ता साझेदार दलले सुदूरपश्चिमको उपसभामुख पद दिँदा पनि नागरिक उन्मुक्ति पार्टीले स्वीकार गरेन ।

जसपाले उपराष्ट्रपति र तीन मन्त्रालय मागेकामा सत्ता साझेदार अन्य दलले एकमात्र मन्त्रालय दिने निर्णय गरेका थिए । त्यसपछि रुष्ट बनेको जसपाले मधेस प्रदेशको सत्ता समीकरण भत्किने जोखिमका कारण संघ सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिएको छैन । सातदलीय सत्ता गठबन्धनबीच केन्द्रमा भएको सहमतिअनुसार मधेसमा जसपाका सरोज यादव गत पुस २७ मा एमाले, जनमत पार्टी, माओवादी र तीन स्वतन्त्रको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

मधेसमा एमाले पहिलो, कांग्रेस दोस्रो र जसपा तेस्रो ठूलो दल छन् । प्रदेश सरकारमा आधा कार्यकाल चौथो ठूलो दल जनमत पार्टीले नेतृत्व गर्ने सत्ता गठबन्धनको सहमति छ । ‘मधेसमा कसैले चाहँदैमा सरकार ढल्दैन, तर केन्द्रीय सत्ता बाँडफाँटमा उहाँहरू (एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा) ले मनपरी गर्नुभएको छ,’ जसपा अध्यक्ष उपेन्द्र यादवले कान्तिपुरसँग भने, ‘तैपनि हामी सरकारलाई दिएको तत्काल समर्थन फिर्ता लिँदैनौं, अहिले हामी कुनै पनि गठबन्धनमा छैनौं ।’

प्रतिनिधिसभा निर्वाचनमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका अध्यक्ष यादवको प्राथमिकता केन्द्रीयभन्दा प्रदेश सत्तामा रहेको छ । चुनाव जितेका बहुमत सांसदले सरकारमा जानुपर्नेमा जोड दिएका भए पनि अध्यक्ष यादवले सरकारबाहिर रहेर पार्टीको शक्ति आर्जन गर्नुपर्ने तर्क गर्दै शक्ति बाँडफाँटमा चासो नदिएको एक सांसदले गुनासो गरे । ‘अध्यक्षजी संसद्मा नभएपछि उहाँको तर्फबाट सरकारमा सम्मानजनक सहभागिताका लागि जति प्रयास हुनुपर्ने हो, त्यसमा कमी रह्यो,’ उनले भने, ‘बरु पार्टीको प्रमुख जनाधार रहेको मधेस प्रदेशमा पार्टी नेतृत्वको सरकार बनाउन उहाँले निकै मिहिनेत गर्नुभयो ।’

जसपा संसदीय दल नेता रामसहाय प्रसाद यादवले सुरुमा सरकारमा नगई पार्टी निर्माणमा लाग्नेबारे छलफल भए पनि सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा नागरिकतालगायत मुद्दा सम्बोधन गर्ने उल्लेख भएपछि सरकारमा जाने निर्णय भएको बताए । ‘हाम्रा माग र मुद्दामा सकारात्मक परिणाम आउने देखिएपछि सरकारमा सहभागी हुन कुनै समस्या छैन, तर शक्ति बाँडफाँटमा कुरा मिलेको छैन,’ उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाललाई शक्ति बाँडफाँटको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरिरहेका छौं ।’

सरकारलाई समर्थन र विश्वासको मत दिएर पनि विपक्षी बेन्चमा बसेको नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा दोषी (पार्टीको भनाइमा राजबन्दी) देखिएका नेता–कार्यकर्तालाई जेलमुक्त गर्नुपर्नेर् एकसूत्रीय माग राखेको छ । संविधान निर्माणका क्रममा मधेस र थरुहटका मुद्दा सम्बोधन नभएको भन्दै सुरु भएको आन्दोलन हिंसात्मक हुँदा २०७२ भदौ ७ मा टीकापुर घटना भएको थियो, जसमा ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।

घटनाको अर्को दिन थारूहरूका घर जलाइएका थिए भने ५८ जनामाथि मुद्दा चलाइएको थियो । मुद्दा चलाइएकामध्ये ३१ जना अहिले पनि फरार छन् । बाँकी २७ जनामध्ये कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलबाट सजाय सुनाइएका ७ जना जेलमा छन् । रेशम चौधरीसहित ६ जनाले जन्मकैद र एक जनाले १० वर्षको सजाय भोगिरहेका छन् । जिल्ला अदालतले तीन वर्षको सजाय तोकेका एक जना (लक्ष्मण थारू) लाई उच्च अदालतले जन्मकैद हुने फैसला सुनाएको छ । उच्च अदालतको आदेश आउनुअघि नै जिल्ला अदालतले तोकेको तीन वर्षको सजाय पूरा गरेका उनी जेलमा छैनन् । रेशमसहित सातै जनाले सर्वोच्च अदालतमा गरेको पुनरावेदन विचाराधीन छ ।

वर्तमान सरकार निर्माणका बेला प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले कानुन संशोधन गरेर उनीहरूलाई जेलमुक्त गर्ने आश्वासन दिएका थिए । ‘टीकापुर घटनाका राजबन्दीलाई जेलमुक्त गर्ने समझदारी भएपछि हाम्रो पार्टीले सरकारलाई समर्थन र विश्वासको मत दिएको हो,’ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले भनिन्, ‘माग पूरा नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौं ।’ बन्दी रिहाइको माग पूरा भए सरकारमा जाने उनको भनाइ छ ।

माग पूरा नभएको भन्दै सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि दोस्रो पटक भएको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका सांसद तटस्थ बसेका थिए । सरकारबाट रेशमलगायतलाई जेलमुक्त गर्ने आश्वासन पुनः पाएपछि तेस्रो पटक बल्ल माओवादी केन्द्रका सभामुख उम्मेदवार भीमबहादुर भण्डारीलाई नागरिक उन्मुक्ति पार्टीले मतदान गरेको थियो । उसले विश्वासको मत नदिए सुदूरपश्चिम सरकार ढल्ने अवस्थामा छ । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले चाहेमा कांग्रेसको सहयोगमा सरकारको नेतृत्व गर्न सक्छ । कांग्रेसले मुख्यमन्त्री दिएर सरकार निर्माण गर्न प्रस्तावसमेत गरिसकेको थियो । तर प्रदेशमा सत्तारोहण गरेर संघीय सरकारसँग टकराब गर्ने जोखिम उसले उठाउन चाहेन ।

नागरिक उन्मुक्ति पार्टीका एक नेताले संघीय सरकारसँग दूरी बढाउँदा आफ्नो प्रमुख माग पूरा हुनुको साटो थप अप्ठेरो अवस्था आउने देखेरै समर्थन र विश्वासको मत दिएको बताए । रेशमलगायतका नेता जेलमुक्त गर्नका लागि फौजदारी कार्यविधि (संहिता) ऐन संशोधन गर्नुपर्छ । त्यसका लागि अध्यादेश ल्याउने वा संसद्मा विधेयक लाने काम सरकारले नचाहे सम्भव छैन । फौजदारी कार्यविधि (संहिता) ले जिल्ला अदालतमा विचाराधीन मुद्दा मात्रै सरकारले फिर्ता लिन सक्ने व्यवस्था गरेको छ ।

पूर्ववर्ती कांग्रेस नेतृत्वको सरकारले गत मंसिर २५ मा अध्यादेशमार्फत फौजदारी कार्यविधि (संहिता) संशोधन गरेर ‘जुनसुकै अदालतमा विचाराधीन’ मुद्दा पनि फिर्ता लिन सक्ने गरी कानुनी व्यवस्था गर्ने निर्णय गरेको थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी नगर्दा ऐन संशोधन हुन सकेन । ‘सत्ता गठबन्धनलाई सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण आफ्नो पक्षमा पार्नका लागि हामीलाई साथमा राख्नुपर्ने बाध्यता छ भने हामीलाई हाम्रा राजबन्दी छुटाउन सरकारको सहयोग चाहिएको छ,’ ती नेताले भने, ‘होइन भने त हामीलाई कांग्रेससँग मिल्न कुनै समस्या थिएन, आखिर कांग्रेसको सरकारले अध्यादेश ल्याएर हाम्रो माग पूरा गर्न खोजेकै थियो ।’

सत्ता समीकरणमा चार दल (एमाले, माओवादी, राप्रपा र रास्वपा) को स्पष्ट बहुमत भएकाले जसपा र नागरिक उन्मुक्ति पार्टी सरकारबाहिर बस्दा केन्द्रीय सत्तामा खासै फरक पर्दैन । सुदूरपश्चिमको सत्ता समीकरण भने फेरिन सक्ने भए पनि बदलामा आफ्ना नेताहरूको जेलमुक्तिको प्रमुख माग सुनुवाइ नहुने भएकाले सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने ती नेताको भनाइ छ ।

विपक्षी बेन्चमा सर्नेबित्तिकै जसपाले मधेस सरकारको नेतृत्व गुमाउन सक्छ । ‘संसद्मा चार दल (एमाले, माओवादी केन्द्र, राप्रपा र रास्वपा) को स्पष्ट बहुमत हुँदा हामी पेलिएका छौं, तर अहिल्यै सरकारसँग विद्रोह गर्न सक्ने अवस्थामा छैनौं,’ जसपाका एक सांसदले भने ।

प्रकाशित : माघ १३, २०७९ ०८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×