१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हिउँले ढाक्यो मुगुका गाउँ

राजबहादुर शाही

मुगु — हिमपातले गर्दा मुगुका लेकाली गाउँ कपास झै सेताम्य देखिएका छन् । मंगलबार परेको हिउँले घर आँगन खेतबारी रुखहरु सेतै भएका छन् ।

हिउँले ढाक्यो मुगुका गाउँ

समुद्री सतहदेखि करिब २९ सय मिटर उचाइसम्मका बस्ती बाम, रोवा, घट्टलेख, कोटिला, झयारी, ताल्चालगायत बस्तीमा ५ इन्च हिउँ जमेको छ । त्योभन्दा माथि मुगु, रारा, खमाले, चुचुमारेलेक, क्षेत्रमा आधा फिट हिउँ जमेको छ । बुधबार बिहानदेखि मौसममा केही सुधार आएपछि लेकाली बस्तीका स्थानीय घरको छतमा जमेको बाक्लो हिउँ फाल्न थालेका छन् ।


छायाँनाथ रारा नगरपालिका–३ हेर्नीकााध गाउँकी रामदेबि बुढा माघमा हिउँ परेपछि खुशी भएकी छन् । गत असोज २३ गते बाट वर्षा र हिमपात नहुँदा बारीको हिउँदे तरकारी र खेतबारीको जौ गहुँ सुक्न थालेपछि चिन्तित बनेकी रामदेवी मंगलबार एक्कासी हिमपात र वर्षा भएपछि सुविकाल हुने खुशी देखिकी छन् । 'हिउँ आया पै सुबिकाल हुन्छ,' रामदेवीले भनिन्,'हामी खेतीपाती गरेर जीवन पाल्ने किसानको लागि हिउँ धेरै आवश्यक छ ।'

'खडेरीले बारीको तरकारी सुक्न लागि सकेको थियो,' उनले भनिन्, 'अब हिउँ पानी पर्‍यो साग देखि जौ गहुँ सप्रिने भयो । जिल्लामा भारी हिमपातले गर्दा किसानको मनमा खुशी छाएको छ ।' यस्तै, हिमपातका कारण हवाइ सेवा सडक मार्ग प्रभावित बनेको छ । जिल्लाको एक मात्र रारा विमानस्थलमा आधा फिट भन्दा बढी हिउँ जमेपछि नेपालगञ्ज सुर्खेतदेखि उडान भर्ने सिता, समिट, तारा, नेपाल एयरलाइन्स लगायत हवाइ सेवा अवरुद्ध भएका छन् । एक्कासी हिमपात भई हवाई सेवा बन्द हुँदा जिल्लादेखि तराई झर्ने सुर्खेत नेपालगञ्जबाट माथि जिल्लातिर जाने यात्रुहरु अलपत्र परेका छन् ।

रारा विमानस्थलमा पनि आधा फिट हिउँ जमेपछि सुर्खेत नेपालगञ्जदेखि नियमित उडान नभएको नागरिक उड्डयन प्राधिकरण ताल्चा राराले जनाएको छ । हिमपातका कारण सिमित हवाई सेवा मात्र नभएर गमगढी नाग्मा सडक मार्ग समेत अवरुद्ध हुँदा सवारी साधनबीच बाटोमा अलपत्र परेका छन् । मुगु र जुम्लाको सिमाना घुच्चीलेकमा दुई फिट हिउँ जमेपछि ठूलादेखि साना सवारी साधन चल्न मुस्किल भएको छ ।

माघ महिनाको भारी हिमपातले पर्यटकीय स्थल रारा सेताम्य देखिएको छ । हिउँ नपर्दा खडेरी र सुक्खाग्रस्त देखिन रारा मंगलबार भारी हिमपात हुँदा रारा कपास झै सेताम्य देखिएको हो । यो वर्षकै पहिलो रारामा बाक्लो हिउँ परेको छ ।


गत वर्षहरूमा पुस महिनामै तीन चार पटक हिउँ पर्ने रारामा यो पटक माघ लागेपछि हिउँ परेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । एक फिटभन्दा बढी हिउँ जमेर रारा सेताम्य देखिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर जयहरि धितालले बताए ।

जिल्लामा भारी हिमपात हुँदा चिसोले जनजीवन प्रभावित बनेको छ । बाहिर हिमपात र वर्षा सँगैभित्र स्थानीय कर्मचारी व्यापारी आगो हिटर बालेर बस्न बाध्य भएका छन् ।

प्रकाशित : माघ ११, २०७९ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?