अनलाइनलाई नियमित अभिमुखीकरण गरौं :  सञ्चारमन्त्री शर्मा

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नयाँ अनलाइनलाई जस्तै चलिरहेका अनलाइनका सञ्चालक/सम्पादकलाई पनि नियमित अभिमुखीकरण गर्न सुझाव दिएकी छन् । प्रेस काउन्सिल नेपालको मंगलबार अवलोकन भ्रमणका क्रममा मन्त्री शर्माले काउन्सिलले दिने आचारसंहितासम्बन्धी प्रशिक्षण र अभिमुखीकरणलाई अझै व्यापक र प्रभावकारी बनाउन सुझाव दिइन् ।

अनलाइनलाई नियमित अभिमुखीकरण गरौं :  सञ्चारमन्त्री शर्मा

प्रेस काउन्सिलले पछिल्लो समय नयाँ अनलाइनका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण कक्षा सञ्चालन गर्दै आएको छ । मन्त्री शर्माले सञ्चार मन्त्रालयले आमसञ्चारसँग जोडिएका विषयसँग सम्बन्धित रहेर काम गर्ने बताइन् ।

आमसञ्चार क्षेत्रलाई आचारसंहिताको पालनासहित जिम्मेवार बनाउन काउन्सिल थप सक्रियतापूर्वक लाग्नुपर्ने उनले बताइन् । मन्त्री शर्माले काउन्सिल संग्रहालयमा आमसञ्चार माध्यमका प्राचीन माध्यमको संरक्षण हुने भएकाले नयाँ पुस्ताका लागि यो अति नै महत्वको काम भएको बताइन् । उनले सञ्चारका मुद्दालाई व्यवस्थित बनाउन प्रेस काउन्सिल ऐन समसामयिक बनाउने लगायतबारे सरोकारवालासँग समन्वय हुने बताइन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले प्रेस काउन्सिल कर्मचारी विनियमावली स्वीकृत भइसकेको र अन्य ऐन, कानुन प्राथमिकताका साथ अगाडि बढाइने जानकारी दिए ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार क्षेत्रको नियमनकारी निकायलाई प्राथमिकतामा राख्न अनुरोध गरे । उनले सीमित जनशक्ति र स्रोत साधनको अभावमा पनि काउन्सिलले आफ्नो जिम्मेवारी बहन गरिरहेको स्मरण गराउँदै काउन्सिललगायत आम सञ्चार क्षेत्रका समस्या सम्बोधन गरिदिन आग्रह गरे ।

प्रकाशित : माघ १०, २०७९ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?