३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

हिउँदमै छैन हिमालमा हिउँ

पुसमा नै हिउँले सेताम्मे देखिने हिमाल काला पहाड जस्तामात्रै देखिन थालेका छन्
भानुभक्त निरौला

सोलुखुम्बु — खुम्बुमा हिउँदयाम सकिनै लाग्दा एक पटक पनि हिउँ नपरेपछि स्थानीय चिन्तित बनेका छन् । विगतमा पुस महिनामै हिमपात हुने गरे पनि यो साल आधा माघ बित्दा पनि हिमपात नभएपछि प्राकृतिक सन्तुलनमा समस्या पर्ने भन्दै स्थानीय सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका हुन् । 

हिउँदमै छैन हिमालमा हिउँ

पुसमा नै हिउँले सेताम्मे देखिने हिमाल काला पहाड जस्तामात्रै देखिन थालेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले बताए । ‘आज भन्दा १० वर्षअगाडि पुस महिनामै हिउँ पर्थ्यो, नाम्चेबजार र सबै हिमाल हिउँले भरिभराउ हुन्थे,’ अध्यक्ष शेर्पाले कान्तिपुरसँग भने, ‘माघ अन्तिमसम्म त हिउँ पर्ने चक्रको अन्त्य नै हुन्थ्यो, विडम्बना यो वर्ष माघ दोस्रो सातासम्म हिउँ पर्ने छाँटकाँट छैन ।’

नाम्चे बजारमा अहिले दिउँसोमा न्यानो हुन थालेको छ । ‘७ दिन अगाडि नाम्चेको तापक्रम माइनस १० थियो, तर आजकाल बिहान पनि माइनस १ भन्दा तापक्रम तल झरेको छैन,’ सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख भूमिराज उपाध्यायले कान्तिपुरसँग भने, ‘अचम्म भयो यो पटक, पत्यारै नलाग्ने कुरा नाम्चेमा दिउँसो त गर्मी हुन्छ ।’ उनका अनुसार अहिले नाम्चे र स्याङबोचेबाट देखिने सबै हिमालहरूमा हिउँ छैन । कतिपय हिमाल त काला पहाड जस्तो मात्रै देखिन थालेका छन् ।

जलवायु परिवर्तनको प्रत्यक्ष असर सगरमाथा क्षेत्रमा देखिन थालेको बुझाइ स्थानीय अगुवाहरूको छ । ‘पुस महिनामा हिउँ त कुरै छाडौं, तुसारोसमेत परेन,’ नाम्चेका युवा तथा पर्यटन व्यवसायी छिमिकाल्देन शेर्पाले भने । उनका अनुसार हिउँ नपर्दा कृषि पेसालाई समेत नकारात्मक असर पर्ने छ । ‘आलुलगायतका बाली रोप्नका लागि जमिन भिज्नु पर्ने थियो, न हिउँ पर्छ न त पानी नै,’ उनले भने । उनका अनुसार हिउँ पर्ने सिजनमा नै बदलाव आएको छ । ‘पहिला फागुनतिर त हिउँ पर्ने सिजन नै अन्त्य हुन्थ्यो तर अहिले भने फागुन लाग्न आँट्दा हिमपातको सुरसार नै छैन,’ शेर्पाको भनाइ छ ।

यता खुम्बु क्षेत्रमा तत्काल हिउँ पर्ने सम्भावना नरहेको मौसमविद् बताउँछन् । आगामी ३–४ दिनको मौसम हेर्दा खुम्बुमा हिमपात तथा वर्षाको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले भने । ‘पश्चिमी न्यूनचापीय वायुले ल्याउने मनसुनी प्रभाव अहिले पश्चिम नेपालतिर मात्रै देखिएको छ,’ मौसमविद् लामिछानेले भने, ‘पूर्वमा तत्काल हिमपात र वर्षाको सम्भवाना देखिन्न ।’ विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरमाथिका अग्ला ४ वटा हिमाल रहेको खुम्बु क्षेत्रमा हिमपात नहुँदाको प्रभाव प्रतिकूल देखिएको छ ।

प्रकाशित : माघ १०, २०७९ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?