क्रिप्टोकरेन्सी किन बढ्दै छ लगानी ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रिप्टोकरेन्सी किन बढ्दै छ लगानी ?

सजना बराल

काठमाडौँ — फर्च्युन म्यागजिनको सन् २०२२ अगस्ट/सेप्टेम्बर अंकको आवरणमा ३० वर्षीय अमेरिकी उद्यमी साम ब्यांकम्यान–फ्रिडलाई ‘आगामी वारेन बफेट’ को संज्ञा दिँदै उनको व्यावसायिक सुझबुझको प्रशंसा गरिएको थियो । तिनै युवा उद्यमी २०२२ डिसेम्बर १३ मा ठगीको आरोपमा बहमासको नासाउबाट पक्राउ परे । नोभेम्बरमा आफ्नो क्रिप्टो व्यापार कम्पनी एफटीएक्स टाट पल्टिएको घोषणा गरेका उनी अहिले २५ करोड डलर धरौटीमा रिहा भएर अमेरिकी अदालतमा मुद्दा लड्दै छन् । 



२०२२ को सुरुमा विश्लेषकहरूले २०१९ मा स्थापित ब्यांकम्यान–फ्रिडको कम्पनीको कुल मूल्य (नेट वर्थ) ४० अर्ब डलरभन्दा माथि रहेको आकलन गरेका थिए । करियरको उचाइमा छँदा उनको आफ्नै कुल मूल्य पनि झन्डै २६ अर्ब डलर बराबर पुगेको थियो । आफ्नो अनौठो लगानी नीतिका कारण चर्चामा आएका उनी हाल भने वायर ठगी, सुरक्षा घोटाला र अवैध सम्पत्तिको तस्करीमा मुछिएका छन् । सन् २०२१ को क्रिप्टो पिकदेखि सन् २०२२ को अन्त्यसम्ममा लगानीकर्ताहरूले करिब दुई खर्ब डलर गुमाएको अनुमान सार्वजनिक भएका छन् । यो स्तरको अप्रत्याशित उतारचढाव आउने क्रिप्टो खास के हो त ? क्रिप्टोकरेन्सी डिजिटल मुद्राको एउटा रूप हो, जुन कुनै बैंक वा सरकारको नियमनबिना विकेन्द्रित रूपमा सञ्चालन हुन्छ । परम्परागत मुद्राझैं यसको मूल्य पनि माग र आपूर्तिमा भर पर्छ र पछि त्यसलाई अल्गोरिदममार्फत सुरक्षित गरिन्छ । क्रिप्टोकरेन्सी विद्युतीय कारोबारको तरिका वा प्लेटफर्म होइन, बरु आफैंमा एक वास्तविक मुद्रा हो । यो इन्क्रिप्टेड अल्गोरिदमको प्रयोगबाट सिर्जना गरिएको लेनदेनको एक माध्यम हो । इन्क्रिप्सन प्रविधिको प्रयोग भन्नाले क्रिप्टोकरेन्सीले एक मुद्रा र भर्चुअल खाता (लेजर) प्रणालीको रूपमा एकसाथ काम गर्न सक्छ भन्ने हो । यसको प्रयोगका लागि तपाईंसँग क्रिप्टोकरेन्सी वालेट हुन जरुरी छ । यस्ता वालेट कुनै क्लाउड प्रणाली वा तपाईंको स्वामित्वको कम्प्युटर/ मोबाइलमा भएका कुनै सफ्टवेयर पनि हुन सक्छन् र त्यो तपाईंलाई आफ्नो पहिचान पुष्टि गर्ने इन्क्रिप्सन की राख्न र आफ्नो क्रिप्टोकरेन्सीसँग लिंक गर्न काम लाग्छ ।

क्रिप्टोकरेन्सीलाई बुझ्न मुख्यतया तीनवटा अवधारणा बुझ्नुपर्ने हुन्छ : ब्लकचेन, विकेन्द्रीकरण र क्रिप्टोग्राफी । क्रिप्टोकरेन्सीको सन्दर्भमा ब्लकचेन भनेको एक किसिमको स्प्रिडसिट जस्तै डिजिटल खाता हो, जसमा अधिकारप्राप्त प्रयोगकर्ताहरूको मात्रै पहुँच हुन्छ । यस्ता खाताले सम्पत्ति, पैसालगायत बौद्धिक अधिकारका लागि भएको कारोबारहरूको रेकर्ड राख्ने गर्छन् । यस्ता रेकर्ड अधिकारप्राप्त प्रयोगकर्ताहरूबीच बाँडिन्छ र यस्तो खाले कुनै पनि रेकर्ड पारदर्शी, तत्काल र अपरिवर्तनीय हुन्छ । केन्द्रीकृत मुद्रा भन्नाले केन्द्रीय बैंक वा बैंकिङ संस्थाको नियमन वा नियन्त्रणमा प्रचलनमा रहेको मुद्रा भन्ने बुझिन्छ । क्रिप्टोकरेन्सीका समर्थक वा प्रशंसकहरूले सबैभन्दा जोडतोडले प्रवर्द्धन गर्ने धारणा यही हो, क्रिप्टोकरेन्सीमा कुनै नियामक, नियन्त्रक वा तेस्रो पक्ष हुँदैन, यसको काम गर्ने प्रक्रिया विकेन्द्रित हुन्छ । कुनै क्रिप्टोकरेन्सीको उतार वा चढावका लागि जिम्मेवारी लिइदिने निकाय यो खाले मुद्राको कारोबारमा हुँदैन । क्रिप्टोग्राफी भनेको इन्क्रिप्सन प्रविधिको माध्यमबाट सम्बन्धित डेटामा अनधिकृत पहुँच रोक्ने प्रणाली हो । ब्लकचेनमार्फत प्राप्त हुने भनिएका गोपनीयता र अपरिवर्तनीयताको आधार नै क्रिप्टोग्राफी हो ।

सन् १९८९ मा क्रिप्टोग्राफिक प्रोटोकल, सफ्टवेयर र डिजिटल मुद्राको परिकल्पना गरिएको थियो । पछि सन् २००८ को सेप्टेम्बर १५ मा त्यतिबेलाको चरम आर्थिक मन्दीबीच चर्चित अमेरिकी बैंक लेहम्यान ब्रदर्सले टाट पल्टिएको घोषणा गर्‍यो । यही पृष्ठभूमिमा प्रविधिविज्ञ सातोसी नाकामोतो नाममा जारी श्वेतपत्रले कुनै वित्तीय संस्थाको हस्तक्षेपबिना नै पियर टु पियर लेनदेन गर्न मिल्ने विद्युतीय मुद्रा अर्थात् बिटक्वाइनको चर्चा गरेको थियो । यो लेख्ने व्यक्ति को हुन् भन्ने कुरामा भने अझै रहस्यमै छ । सन् २००९ मा नाकामोतोले ओपन सोर्स सफ्टवेयरका रूपमा बिटक्वाइन क्रिप्टो मुद्राको घोषणा गरे । सन् २०१० मा यो बजारमा रहेको एकमात्र क्रिप्टो मुद्रा थियो । त्यसपछिका केही वर्ष क्रिप्टो मुद्राहरू खासै चर्चामा रहेनन् । निकै क्रिप्टो मुद्राहरू थपिँदै र हराउँदै गए, तिनको मूल्य बिटक्वाइनसँगै तलमाथि हुने गर्थ्यो ।

२०१७ को सुरुतिर भने बिटक्वाइनसमेतका क्रिप्टो मुद्राहरूको मूल्यमा अभूतपूर्व उछाल आयो । झन्डै ११ सय अमेरिकी डलर मूल्यबाट २०१७ मा बिटक्वाइनको उछाल सुरु भएकामा २०१८ को जनवरीमा उच्च बिन्दुमा पुग्दा झन्डै १८ हजार डलर भयो । २०१८ को जनवरीमा बजार उल्लेख्य रूपमा बिग्रनुअघि क्रिप्टो बजार झन्डै ८ सय २० अर्ब डलर बराबरसम्म पुगेको अनुमान छ । तर २०१७ क्रिप्टो बजारका लागि उल्लेख्य वर्षका रूपमा रह्यो किनभने त्यो वर्ष आएको उछालले क्रिप्टो बजारको आकार र आकर्षणसँगै जोखिम, ह्याकिङ, चोरी र दुर्घटना पनि बढाउने काम गर्‍यो । २०१८ पछिका वर्षमा बिटक्वाइन झरेर ४ हजार डलर हाराहारीमा समेत आयो भने २०२२ को उच्च बिन्दुमा झन्डै ६५ हजार डलर आसपासमा समेत पुगेको थियो । तर वर्षको अन्त्यमा झरेर २० हजार डलरभन्दा तल आइपुगेको थियो ।

सन् २०२२ को अन्त्यसम्ममा विश्वभर १८ हजारभन्दा बढी क्रिप्टो मुद्राहरू आइसकेका अनुमान गरिएको थियो । यसमध्ये अघिल्ला २० मुद्राहरूले कुल बजारको ८७ प्रतिशत भाग ओगटेका छन् । सन् २०२१ को क्रिप्टो मुद्रा उछालको श्रेय अमेरिकी धनाढ्य इलन मस्कलाई पनि जान्छ, हरेक पटक उनले बिटवाइन, डजक्वाइनका बारेमा ट्वीट गर्दा वा क्रिप्टोमार्फत टेस्ला खरिद–बिक्री हुने घोषणा गर्दा क्रिप्टोको बजार र मूल्य दुवै अकासिने गरेको थियो ।

कुनै एक व्यक्ति (वा समूह) ले उन्नतस्तरको गणित र रेकर्ड राख्नेबीचको संयोजनबाट बिटक्वाइन माइन गर्न सक्छन् । कुनै एक जनाले अर्को व्यक्तिलाई बिटक्वाइन पठाउँदा नेटवर्कले त्यो लेनदेन र कुनै निश्चित समयभित्र भएका अन्य लेनदेनको हिसाबकिताबलाई ‘ब्लक’ का रूपमा राख्छ । विशेष सफ्टवेयरसहितका ‘माइनर’ कम्प्युटरहरूले यी लेनदेनलाई एउटा विशाल डिजिटल लेजरमा अंकित गर्ने काम गर्छन् । यी सबैको संयोजनलाई ‘ब्लकचेन’ भनिन्छ । यसमा सबै प्रयोगकर्ताले कहाँ, कति के कारोबार भइरहेको छ भन्ने हेर्न सक्छन् तर हेरफर गर्न सक्दैनन् । विशेष सफ्टवेयर र शक्तिशाली हार्डवेयरमार्फत माइनरहरूले यस्ता ब्लकहरूको प्रयोग गरी कोडको सिक्वेन्स निर्माण गर्छन्, जसलाई ‘ह्यास’ भनिन्छ । बिटक्वाइन वा अन्य क्रिप्टो मुद्राको मूल्य भने खरिदकर्ताहरू कतिसम्म तिर्न तयार हुन्छन् र त्यसको कत्तिको माग छ भन्नेमा भर पर्छन्, त्यस हिसाबले यसको र स्टक मार्केटमा हुने सेयरको मूल्य निर्धारणमा केही समानता हुन्छन् । सरकार अथवा अन्य नियामक निकायको अभावमा यसरी हुने मूल्य निर्धारणन स्वेच्छाचारीसमेत हुन सक्छ । फर्च्युनका अनुसार फेसबुकबाट ६५ मिलियन डलर पेआउट लिएर बिटक्वाइनमा लगानी गर्ने भेन्चर क्यापिटलमा पैसा लगाएका विंकलेभोस् दाजुभाइ अहिले अर्बपति छन् ।

सन् २०२२ को मार्च महिनामा एक्सी इन्फिनिटी जस्ता चल्तीका गेम बनाउने अमेरिकी कम्पनी रोनिन नेटवर्कको खाताबाट ६ सय १५ मिलियन बराबरको १ लाख ७३ हजार युथेरम्समेतको क्रिप्टो मुद्रा गायब भयो । यो गेम खेल्दा एनएफटी (डिजिटल सम्पत्ति) जम्मा गरेर क्रिप्टो मुद्रा जित्न सकिने भएकाले फिलिपिन्सजस्ता देशमा निकै लोकप्रिय रहेको थियो । पछि खोज्दै जाँदा उत्तर कोरिया समर्थित ह्याकर समूह लजारससम्म यो क्रिप्टो ह्याक जोडियो । यस्तै छिमेकी देश भारतमै गेन बिटक्वाइन नामक पोन्जी स्क्याममार्फत अमित भारद्वाज नामक व्यक्तिले अहिलेको मूल्यमा झन्डै ९० हजार करोड भारतीय रुपैयाँ ठगी गरेको अनुसन्धान पनि चलिरहेको छ । यी घटनाहरू र अन्य क्रिप्टो अपराधका गुनासोहरू हेर्दा अन्य परम्परागत मुद्राहरूजस्तै विभिन्न समस्या देखिए पनि क्रिप्टो मुद्राका आफ्नै सबल र दुर्बल पक्षहरू छन् ।

क्रिप्टो मुद्राको सबल पक्ष भनेको विकेन्द्रीकरण हो । कोइनबेसले आफ्नो विज्ञापनमा भेन्मो वा पेपालजस्तो परम्परागत वित्तीय प्रणालीको अनुमति लिनु नपर्ने पक्षलाई जोड दिएको छ भने नस्दाकले आफ्नो सन्देशमा प्रयोगकर्ताको पूर्ण नियन्त्रण हुने पक्षलाई प्रमुख सबलता भनेको छ । दैनिक जीवनमा क्रिप्टो दिएर कुनै सामग्री पाउन अहिलेलाई त्यति सहज नभए पनि अन्तरदेशीय या महादेशीय लेनदेन, गोप्य किनबेचलगायत कार्यमा क्रिप्टोकरेन्सीको प्रयोग बढ्दो छ । कुनै समय क्रिप्टोलाई ‘फ्रड’ भनेको जेपी मोर्गनले आफ्नो कारोबारमा क्रिप्टो मुद्रा स्वीकार गर्न सुरु गरेको छ भने विभिन्न देश र प्रमुख कम्पनीहरूले क्रिप्टो मुद्रालाई अपनाउन थालेका छन् । यससँगै तेस्रो पक्षको हस्तक्षेप नहुनु, सुरक्षित लेनदेन, फिर्ता नहुने, ठगीबाट सुरक्षालगायतलाई पनि क्रिप्टोको फाइदाका रूपमा प्रचार गर्ने गरिएको छ । कुनै समय निकै कम मूल्यमा क्रिप्टो मुद्रा खरिद गर्ने विंकलेभोस्जस्ता लगानीकर्ताहरूले यसबाट उल्लेख्य कमाएका पनि छन् । यस अर्थमा क्रिप्टोकरेन्सीहरूले लगानी र प्रतिफलको अवसर पनि जुटाएका छन् ।

तर यसका केही दुर्बल पक्ष पनि रहेको मान्न सकिन्छ । ‘पपिङ द क्रिप्टो बबल’ का लेखक स्टेफेन डेहलले भनेका छन्, ‘क्रिप्टो सिद्धान्तले धन आर्जनको चामत्कारिक आश्वासन त दिन्छ तर त्यो मिहिनेत वा आर्थिक क्रियाकलापमा भन्दा पनि भरोसामा आधारित छ ।’ जतिसुकै गोपनीय भनिए पनि क्रिप्टो कारोबारले एक किसिमको डिजिटल ट्रेल छोड्ने भएकाले आवश्यक परेको खण्डमा नियमनकारी निकायले त्यसको जाँच गर्न सक्छन् । क्रिप्टोकरेन्सीको लोकप्रियता सँगै नियमनकारी निकायको उपस्थिति नहुने भएकाले अवैध कारोबार र कालोधनको कारोबारमा पनि यसको प्रयोग बाक्लिन थालेको छ ।

युनाइटेड नेसन्स कन्फेरेन्स अन ट्रेड एन्ड डेभलपमेन्ट रिपोर्ट २०२१ का अनुसार २०२१ सम्म भारतको जनसंख्याको ७.३ प्रतिशतसँग क्रिप्टोकरेन्सी थियो । तर यसअघि २०१७ मा एक सूचना जारी गरेर भारतको केन्द्रीय बैंकले देशभित्र क्रिप्टोकरेन्सीको कारोबार अवैध भएको भन्यो तर कारोबारमा प्रतिबन्ध भने लगाएको थिएन । सन् २०१९ मा आएर सोही बैंकले भारतमा क्रिप्टो कारोबार गरेमा आर्थिक जरिवानाका साथै १० वर्षसम्मको जेल सजाय हुन सक्ने चेतावनी दियो । तर २०२० मा भारतको सर्वोच्च अदालतले सो प्रतिबन्ध हटाइदिएपछि सरकारले विभिन्न नियमनकारी निर्देशनहरू जारी गर्दै क्रिप्टोमार्फत हुने कुनै पनि कारोबारमा ३० प्रतिशत कर लाग्ने घोषणा गर्‍यो । नेपालमा भने सन् २०१७ को अगस्टमा राष्ट्र बैंकले बिटक्वाइन कारोबारमा प्रतिबन्ध लगाएको थियो । बैंकले कुनै किसिमका क्रिप्टोकरेन्सी कारोबार र लेनदेनलाई पूर्ण रूपमा अवैध भनेको छ । विदेशमा रहने नेपालीले यदाकदा सामाजिक सञ्जालमा क्रिप्टो खरिद–बिक्रीको चर्चा भने गर्ने गरेका छन् ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : माघ ९, २०७९ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्

महाकाली वारिपारि सिमानाले छुट्याउँछ, संस्कृतिले जोड्छ

एकै प्रकारको भूगोलमा देशका सिमाना छन्, वारिपारिका उस्तै समुदायबीच भने पारिवारिक र सांस्कृतिक सम्बन्ध कसिलो छ
मनोज बडू

दार्चुला — झोलुंगे पुलको वारिपारि, जहाँ वारिपारि सुरक्षाकर्मीको पहरा छ, राति हम्मेसी आउजाउ चल्दैन । जब बिहानको ७ बज्छ, नाकामा वारिपारि आउजाउ सुरु हुन्छ । महाकाली नदीले छुट्याएको नेपाल–भारत सीमालाई दार्चुलामा १० वटा झोलुंगे पुल र केही तुइन एवं ट्युबले जोडेको छ ।

खुला सिमानाबाट वर्षौंदेखि दुवै मुलुकका नागरिक आवतजावत गरिरहेका छन् । सीमावर्ती क्षेत्रका नेपाली भारतीय बजारमा निर्भर छन् । उस्तै भूगोललाई सिमानाले छुट्याए पनि सामाजिक सम्बन्धले वारिपारि जोडेको छ, कतिपय अवस्थामा जीविकोपार्जनमा पनि एकअर्कालाई छ ।

सीमान्त जिल्ला दार्चुलाको बीचबाट महाकाली नदी बगेको छ । वारि नेपाल र पारि भारत पर्छ । सीमान्त क्षेत्रको रहनसहन एवं संस्कृति मिल्दो छ । महाभारतकालदेखि भारतको कुमाउँ समुदायको संस्कृतिसँग दार्चुलाको समाज जोडिएको छ । त्रिदेशीय सीमाबिन्दुमा अवस्थित दार्चुलाको अधिकतर सम्बन्ध भारतको सीमान्त क्षेत्रसँग मिल्दो रहेको दार्चुला बहुमुखी क्याम्पसका प्राध्यापक नरेन्द्रराज अवस्थी बताउँछन् । ‘भूगोलले दार्चुला र धारचुलाको सम्बन्ध छुट्याएको भए पनि पारिवारिक, वैवाहिक सम्बन्ध र धार्मिक संस्कृतिले जोडेको छ,’ उनी भन्छन्, ‘महाकाली वारिपारि हिन्दु बहुल बसोबास छ ।’ दार्चुलाको लेकम–३ लालीदेखि व्यास गाउँपालिकाको लिम्पियाधुरासम्मको भूगोल महाकाली नदीले छुट्याएको छ । व्यास क्षेत्रको माथिल्लो भाग र सदरमुकामको खलंगा क्षेत्रमा वारि र पारि सौका समुदायको बसोबास छ । दुवै क्षेत्रमा समान समुदायको बसोबास रहेकाले जन्मदेखि मृत्यु संस्कारमा वारिका पारि र पारिका वारि आउजाउ गर्छन् ।

महाकाली नदीको वारि र पारि दुवैतिर विशाल पहाड छन् । नेपालबाट हेर्दा भारतीय पहाडमा बिहानको सूर्य पहिले उदाउँछ । भारततिरबाट हेर्दा नेपाली पहाडमा सूर्यको पहिलो किरण परेको देखिन्छ । पहाडको त्यही फेदीमा एकातिर दार्चुलाको खलंगा बजार छ, अर्कातिर भारतीय राज्य उत्तराखण्डको धारचुला बजार । दुवै बजार महाकाली नदीमाथिको एउटा निकै पुरानो, धरापजस्तो झोलुंगे पुलले जोडिएका छन् । यो पुल दुई देशको सीमा हो । पुलको दुवैतर्फ जस्ताका ढोका बनाइएका छन्, जुन बिहान खुल्छन् र साँझ बन्द हुन्छन् । भारतीय सुरक्षाकर्मीले पुलको तस्बिर खिच्न दिँदैनन्, नेपाली सुरक्षाकर्मीले भने तस्बिर खिचे–नखिचेको त्यति वास्ता गर्दैनन् । सीमाका दुवैतिर बस्ने जनताको सुरक्षित आवागमनको पुरानो पुल यही हो । महाकालीको दुवैपट्टि किनारामा ठूलो बस्ती छ । दुवैपट्टिका बासिन्दाका बीचमा राम्रो सम्बन्ध छ । बिहेबारी, बजार र दुःखसुखको सम्बन्ध रहेको पूर्वशिक्षक शास्त्री केशवदत्त बडूले बताए ।

उनका अनुसार ब्रिटिसकालदेखि नै भारतमा विकासले फड्को मारेको हुनाले नेपालको तुलनामा सम्पन्नतामा अगाडि छ । दशकअघि भारतले धारचुलासम्म सडक मार्गको पहुँच पुर्‍याएपछि विकास र रोजगारीको अवस्था राम्रो छ । स्थानीयलाई सरकारी सेवासुविधा पनि नेपालमा भन्दा राम्रो पाइन्छ । पहिलादेखि बजार विस्तार र सीमा क्षेत्रमा सडक निर्माण गरिएको हुनाले सीमावर्ती बस्तीका मानिसहरू भारतमा बढी निर्भरता बढाएको बडूको भनाइ छ । पञ्चायतसम्म जिल्लाका दुई नाकाबाट मात्र भारत आवतजावत गर्न मिल्थ्यो । अहिले लेकमको लालीदेखि व्यासको सीतापुलसम्म करिब एक दर्जन ठाउँमा झोलुंगे र काठेपुलबाट वारिपारि आउजाउ भइरहेको छ ।

करिब डेढ दशकअघिसम्म दार्चुलामा अधिकांश ठाउँका बासिन्दा भारतीय बजारमा आश्रित थिए । दार्चुला सदरमुकामसम्म राष्ट्रिय राजमार्ग र सदरमुकाम जिल्लाका शाखा सडक सञ्चालनमा आएपछि निर्भरता घटेको छ । तर, सीमावर्ती बस्ती भने पारिकै बजारको भर छ । सीमावर्ती बस्तीका नेपालीका लागि दैनिक उपभोग्य वस्तु, लत्ताकपडादेखि निर्माण सामग्रीसम्म भारतीय बजारबाट आपूर्ति हुने गरेको छ । वारिको बजारमा ग्राहक थोरै छन् । ‘हाम्रो पूरै व्यापार नेपाली ग्राहकमा निर्भर छ,’ भारत धारचुला बजारका व्यवसायी कैलाश भट्टले भने, ‘हाम्रो सम्बन्ध व्यापारको मात्रै होइन, पूजापाठका लागि नेपाल नै जान्छौं । हाम्रो परिवारको कुल पुज्न नेपाल नै जानुपर्छ ।’ महाकाली नगरपालिका–४ जमन महरा नजिकै पर्ने भारतीय बजारबाट नेपालीले खेतीका बेला चाहिने बीउ, मल ल्याउँछन् । सजिलो हुने भएकाले गाउँलेले दैनिक उपभोग्य सामान ल्याउने गरेको उनी बताउँछन् ।

सीमा जोडिएकाले मजदुरीलगायत रोजगारका लागि अन्य ठाउँका तुलनामा सीमावर्ती बस्तीका बासिन्दालाई सहज छ । सीमा वारि र पारिका पिछडिएका समुदायका लागि खुला सिमाना बरदान जस्तै छ । वारिका मानिस घर छाडेर खाडी बहराइनलाई होइन कि छिमेकी भारतको नजिकका बजार एवं ठाउँहरूमा गएर आयस्रोत बनाएका छन् । ती ठाउँ उनीहरूका लागि जीवनयापन गर्ने राम्रो स्रोत सिद्ध भएको छ । उनीहरूमा प्रत्येक एक जनाले वर्षमा लाखौं आम्दानी गर्ने गरेका छन् । उनीहरूका लागि ती ठाउँ वैदेशिक रोजगारको थलो भएको छ । यस्तै सीमापारिका समुदायका मानिसहरू निर्माणजन्य कामका लागि नेपाल भित्रिने गरेका छन् । जिल्लाबाट हजारौं मानिसहरू रोजगारीका लागि भारत जाने भए पनि भारतबाट पनि सयौंको संख्यामा मजदुरीका लागि आउने गरेका छन् । दक्ष मिस्त्रीहरू नेपालभन्दा भारतीय बढी हुन्छन् । पेन्टिङ, कारपेन्टिरी, घर निर्माणमा मिस्त्रीहरू भारतकै बढी छन् । भारतीय कामदारको उपलब्धता वारिका लागि सहयोगी रहेको निर्माण व्यवसायी चक्रसिंह बोहराले बताए ।

सीमावर्ती क्षेत्रका बासिन्दाको आयस्तर राम्रो छ । विकास निर्माणमा भारतले धेरै फड्को मारेपछि सीमावर्ती क्षेत्रका स्थानीयले मजदुरी पाएका छन् । नजिक बस्तीका मानिसहरू राति घर फर्कने र दिनमा भारतमा गएर मजदुरी गर्ने गरेका छन् । महाकाली नगरपालिका, व्यास, मालिकार्जुन र लेकम गाउँपालिकाबाट भारतसित सीमा जोडिएका गाउँमा मजदुरीका लागि आउजाउ चल्छ । रोजगारीका अवसर सहज छन् । भारतमा धेरै अघि विद्यालय खुलेको हो । पहिले–पहिले पारि पढ्न जाने धेरै हुन्थे । ६० को दशकअघिसम्म यहाँका धेरै मानिसहरू उच्च शिक्षा पढ्नका लागि भारतमा निर्भर थिए । जिल्लाका धेरै ठाउँमा उच्च शिक्षासम्म पढाउने संस्थाहरू खुलेपछि भारत पढ्न जानेहरू घटेको स्थानीय दानसिंह टिंकरीले बताए ।

अहिले सीमा विवादले सीमा क्षेत्रका नागरिकमा यसअघिको सम्बन्ध चिसिन थालेको छ । भारतले सीमा नदी महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध निर्माण गर्न थालेपछि नागरिकस्तरमा वारिपारि ढुंगा हानाहानको घटना भइसकेको छ । अवरोधकै बीच भारतीय पक्षले एकलौटी तवरले काम अगाडि बढाउँदा दार्चुलावासी ढुंगामुढामै उत्रिएका हुन् । स्थानीय नागरिकमै गत मंसिर १८ को घटनायता बिग्रिएको सम्बन्ध सुधारको प्रयासमा दुवै देशका प्रशासनिक निकायले छलफल गर्नुपरेको थियो । उक्त छलफलपछि अहिले नागरिकस्तरमा सम्बन्ध सुधारिँदै छ ।

प्रकाशित : माघ ९, २०७९ ०८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×