कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३
माओवादी-जसपा-एकीकृत समाजवादी छलफल

राष्ट्रपतिको चुनावअघि नै एकता नभए मोर्चा बनाउने तयारी

मणि दाहाल

काठमाडौँ — राष्ट्रपति निर्वाचनअघि नै पार्टी एकता नभए मोर्चा निर्माण गर्ने विषयमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच आइतबार छुट्टाछुट्टै वार्ता भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच छलफलपछि वार्ता टोली सक्रिय भएको हो । 

राष्ट्रपतिको चुनावअघि नै एकता नभए मोर्चा बनाउने तयारी

आइतबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तीनकुनेमा जसपा र एकीकृत समाजवादीका वार्ता समितिबीच छलफल भएको थियो । जसमा एकीकृत समाजवादीको तर्फबाट महासचिव बेदुराम भुसाल, उपमहासचिवद्वय विजय पौडेल र प्रकाश ज्वाला सक्रिय रहेका थिए । जसपातर्फबाट अशोक राई र राजेन्द्र श्रेष्ठसहितका नेताको सहभागी रहेका थिए ।

त्यसैगरी दिउँसो एकीकृत समाजवादी र माओवादी केन्द्रको वार्ता टोलीबीच माओवादी मुख्यालय पेरिसडाँडामा वार्ता भएको थियो । जसमा माओवादीका नेता कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत सहभागी थिए ।

‘तीनै दलका अध्यक्षबीच गोप्य स्थानमा छलफलपछि वार्ता टोली सक्रिय भएको हो,’ वार्ताको विषयमा जानकार स्रोतले भन्यो, ‘नेताहरुबीच राष्ट्रपति निर्वाचनअघि नै एकता नभएर मोर्चा निर्माण गर्ने विषयमा तयारी रहेको छ । त्यसैअनुसार आइतबारबाट वार्ता सुरु भएको हो ।’

राष्ट्रपति निर्वाचन माघ २८ अघि नै गरिसक्नु पर्ने छ । संवैधानिक राष्ट्रपति भए पनि कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा सरकार निर्माणसहित विषयमा भूमिका महत्वपूर्ण हुने अनुमान गरिदै आएको छ ।

एमालेले राष्ट्रपति आफ्नो दलले पाउने गरी गठबन्धनभित्र सहमति रहेको जनाउँदै आएको छ । वार्ता टोलीका सदस्य रहेका एकीकृत समाजवादी उपमहासचिव प्रकाश ज्वालाले ३ दलबीच एकताका लागि वार्ता सुरु भएको बताए । ‘तीनै दलबीच वार्ता सुरु भएको छ । पहिलो चरणमा दस्तावेजको आदान प्रदान गरेका छौं,’ ज्वालाले भने, ‘आजको वार्तामा पार्टी एकता, वर्तमान र भविष्यको राजनीतिक यात्रा, वार्ता समितिहरुको कार्य जिम्मेवारीलगायत विभिन्न वैचारिक राजनीतिक विषयमा छलफल हुनुको साथै दुई पार्टीबीच पार्टीका दस्तावेजहरु आदानप्रदान गरिएको छ । आजको वार्ता सकारात्मक रहेको र दुई पार्टीबिच सम्वादलाई निरन्तरता दिने सहमति भएको छ ।’

माओवादी केन्द्र र एकीकृत समाजवादीले आमनिर्वाचनअघि नै एकताका लागि एकता संयोजन समिति बनाएको थियो । प्रतिनिधिसभामा ३२ सीट रहेको माओवादी सरकारको नेतृत्व गरिरहेको छ भने १२ सीट रहेको जसपाले सत्ता गठबन्धनमा रहेको छ । मन्त्रालयको भागबन्डामा असन्तुष्टि जनाउँदै सरकारमा सहभागी भएको छैन । १० स्थान रहेको एकीकृत समाजवादी भने विपक्ष दलको रुपमा रहेको छ । चुनावअघिको कांग्रेससहितको गठबन्धनमा भने ३ वटै दल एकै स्थानमा रहेका थिए ।

प्रकाशित : माघ ८, २०७९ २२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?