माओवादी-जसपा-एकीकृत समाजवादी छलफल

राष्ट्रपतिको चुनावअघि नै एकता नभए मोर्चा बनाउने तयारी

मणि दाहाल

काठमाडौँ — राष्ट्रपति निर्वाचनअघि नै पार्टी एकता नभए मोर्चा निर्माण गर्ने विषयमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच आइतबार छुट्टाछुट्टै वार्ता भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच छलफलपछि वार्ता टोली सक्रिय भएको हो । 

आइतबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तीनकुनेमा जसपा र एकीकृत समाजवादीका वार्ता समितिबीच छलफल भएको थियो । जसमा एकीकृत समाजवादीको तर्फबाट महासचिव बेदुराम भुसाल, उपमहासचिवद्वय विजय पौडेल र प्रकाश ज्वाला सक्रिय रहेका थिए । जसपातर्फबाट अशोक राई र राजेन्द्र श्रेष्ठसहितका नेताको सहभागी रहेका थिए ।

त्यसैगरी दिउँसो एकीकृत समाजवादी र माओवादी केन्द्रको वार्ता टोलीबीच माओवादी मुख्यालय पेरिसडाँडामा वार्ता भएको थियो । जसमा माओवादीका नेता कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत सहभागी थिए ।

‘तीनै दलका अध्यक्षबीच गोप्य स्थानमा छलफलपछि वार्ता टोली सक्रिय भएको हो,’ वार्ताको विषयमा जानकार स्रोतले भन्यो, ‘नेताहरुबीच राष्ट्रपति निर्वाचनअघि नै एकता नभएर मोर्चा निर्माण गर्ने विषयमा तयारी रहेको छ । त्यसैअनुसार आइतबारबाट वार्ता सुरु भएको हो ।’

राष्ट्रपति निर्वाचन माघ २८ अघि नै गरिसक्नु पर्ने छ । संवैधानिक राष्ट्रपति भए पनि कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा सरकार निर्माणसहित विषयमा भूमिका महत्वपूर्ण हुने अनुमान गरिदै आएको छ ।

एमालेले राष्ट्रपति आफ्नो दलले पाउने गरी गठबन्धनभित्र सहमति रहेको जनाउँदै आएको छ । वार्ता टोलीका सदस्य रहेका एकीकृत समाजवादी उपमहासचिव प्रकाश ज्वालाले ३ दलबीच एकताका लागि वार्ता सुरु भएको बताए । ‘तीनै दलबीच वार्ता सुरु भएको छ । पहिलो चरणमा दस्तावेजको आदान प्रदान गरेका छौं,’ ज्वालाले भने, ‘आजको वार्तामा पार्टी एकता, वर्तमान र भविष्यको राजनीतिक यात्रा, वार्ता समितिहरुको कार्य जिम्मेवारीलगायत विभिन्न वैचारिक राजनीतिक विषयमा छलफल हुनुको साथै दुई पार्टीबीच पार्टीका दस्तावेजहरु आदानप्रदान गरिएको छ । आजको वार्ता सकारात्मक रहेको र दुई पार्टीबिच सम्वादलाई निरन्तरता दिने सहमति भएको छ ।’

माओवादी केन्द्र र एकीकृत समाजवादीले आमनिर्वाचनअघि नै एकताका लागि एकता संयोजन समिति बनाएको थियो । प्रतिनिधिसभामा ३२ सीट रहेको माओवादी सरकारको नेतृत्व गरिरहेको छ भने १२ सीट रहेको जसपाले सत्ता गठबन्धनमा रहेको छ । मन्त्रालयको भागबन्डामा असन्तुष्टि जनाउँदै सरकारमा सहभागी भएको छैन । १० स्थान रहेको एकीकृत समाजवादी भने विपक्ष दलको रुपमा रहेको छ । चुनावअघिको कांग्रेससहितको गठबन्धनमा भने ३ वटै दल एकै स्थानमा रहेका थिए ।

प्रकाशित : माघ ८, २०७९ २२:३१
प्रतिक्रिया
पठाउनुहोस्

क्रस कन्ट्री दौड माघ १४ मा

कान्तिपुर संवाददाता

नुवाकोट — बेलकोटगढी नगरपालिका–५ को आयोजनामा सातौं झिल्टुङ क्रस कन्ट्री दौड प्रतियोगिता गरिने भएको छ । माघ १४ गते ‘जे गरौं गज्जबले गरौं’ भन्ने नाराका साथ झिल्टुङ क्रस कन्ट्री दौड प्रतियोगिता गरिन लागेको वडाध्यक्ष मदन भुजेलले बताए । प्रतियोगितामा साढे १३ किमि खुला महिला/पुरुषतर्फको दौड छ भने साढे १३ किमि खुला स्थानीय पुरुषतर्फको दौड रहेको छ ।

त्यसैगरी १६ वर्षमुनिका छात्र/छात्रातर्फ साढे ४ किमि खुला जुनियर दौड, १६ वर्षमुनिका स्थानीय छात्रा/छात्र दौड तथा साढे ४ किमि स्थानीय ४५ वर्षमाथिका पुरुषको दौड र भेट्रान खुला साढे १३ किमि पुरुषतर्फको दौड प्रतियोगिता रहेको छ । त्यसैगरी स्थानीय आमा समूहको साढे ४ किमि दौड प्रतियोगितासमेत राखिएको वडाध्यक्ष भुजेलले बताए । सहभागी हुनका लागि वडा कार्यालय र काठमाडौंका लागि त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको दोस्रो तल्लामा नाम दर्ता खुला गरिएको आयोजकले जनाएका छन् । नाम दर्ताका लागि १ सय रुपैयाँ र अन्तिम मिति भने यही बिहीबार १२ गतेसम्मलाई तोकिएको आयोजकले जनाएका छन् ।

साढे १३ किमि खुला महिला तथा पुरुषतर्फको पहिलो पुरस्कार राशि १५ हजार, दोस्रो १० हजार र तेस्रो ५ हजार रहेको छ भने साढे १३ किमि स्थानीय खुला महिलातर्फको पहिलो, दोस्रो र तेस्रो पुरस्कार राशि क्रमशः १०, ७ र ५ हजार राखिएको छ । साढे ४ किमि स्थानीय आमा समूहतर्फको पुरस्कार राशि पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १२, ९ र ६ हजार रुपैयाँ राखिएको छ ।

झिल्टुङ साहित्यिक क्षेत्रदेखि क्रस कन्ट्री दौड प्रतियोगिताले समेत चिनाउन यो प्रतियोगिता गर्न लागिएको उपमेयर शिव दाहालले बताए । झिल्टुङ महाकवि लक्ष्मीप्रसाद देवकोटाको मामा सुराली घर भएकाले झिल्टुङलाई विश्व समुदायसम्म पहिचान गराई आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरी आयआर्जन बढाउने लक्ष्य लिएर कार्यक्रम गर्न लागिएको नगरपालिकाका मेयर जगतबहादुर गुरुङले पत्रकार सम्मेलनमा बताए । झिल्टुङ चीन–भारत जोड्ने गल्छी–त्रिशूली–स्याफ्रुबेंसी–रसुवागढी मार्गमा पर्छ । प्रतियोगितामा ४ सयभन्दा बढी खेलाडी सहभागी गराउने आयोजकको लक्ष्य रहेको छ । प्रतियोगितामा राष्ट्रिय धावकसमेत सहभागी हुने आयोजकले जनाएका छन् ।

प्रकाशित : माघ ८, २०७९ २२:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×