केसीको प्रश्न- 'महिलालाई सभामुखमा किन नउठाउनुभएको?'

काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलहरूले उपसभामुखका उम्मेदवारहरूको प्रसंसा गरेकोप्रति कटाक्ष गर्दै त्यसलाई कृत्रिम बखान भएको टिप्पणी गरेका छन् ।

केसीको प्रश्न- 'महिलालाई सभामुखमा किन नउठाउनुभएको?'

महिलाहरू अहिले पनि बेचिने गरेको भन्दै महिला अधिकारका लागि महिला संगठनले नै काम गर्ने सक्ने उनले बताए । शनिबारको प्रतिनिधिसभामा बोल्दै नेता केसीले यस्तो बताएका हुन् ।

साथै दलहरूले सभामुखमा महिला उम्मेदवार नबनाएकोमा उनको गुनासो थियो । 'उपसभामुखको अधिकार कति हुन्छ हामीले देख्या छैनौं र ? पुरुष समाजले कहिल्यै पनि महिला मुक्ति गर्दैन । अहिले दलहरूले उपसभामुखमा महिलाहरूको बखान गर्नुभएको छ । यो कृत्रिम बखान हो । यदि सक्षम भए सभामुखमा किन उम्मेदवार नबनाउनुभएको त ? महिला मुक्तिका लागि महिला संगठनले नै काम गर्ने हो ।'

केसीले आफ्नो दलको समर्थन कांग्रेसकी उम्मेदवार मुक्ता कुमारी यादवलाई रहेको भन्दै दलहरूले महिला र दलित समुदायलाई प्रमुख पदमा उम्मेदवार नबनाएकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।

यस्तै उनले आफ्नो दलले महिलाविूद्ध महिला दलित विरुद्ध दलित उम्मेदवारलाई नै उम्मेदवार बनाउनु पर्ने अडान राखेको भए पनि राज्यले त्यस्तो नीति नलिएको भन्दै गुनासो गरेका थिए । 'हाम्रो पितृसत्तात्मक मुलुकमा महिलाहरूलाई अहिले पनि व्यवहारमा दोस्रो दर्जाको नागरिक मान्ने चलन छ । संविधान बनाउँदाका बखत महिलाको प्रतिस्पर्धी महिला बनाउनुपर्छ । दलितविरुद्ध दलित उठाउनु पर्छ भनेर हाम्रो पार्टीले अडान राखेको थियो । तर अहिले त्यस्तो त भएन ।'

शनिबार संसद्‍मा उपसभामुखका लागि सत्ता साझेदार दलको तर्फबाट इन्दिरा रानामगर र विपक्षी दल कांग्रेसबाट मुक्ता यादव उम्मेदवार रहेका छन् । वहुमत दलहरूले भने रानामगरलाई समर्थन जनाएका छन् ।

प्रकाशित : माघ ७, २०७९ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?