‘न्याय पाउन कत्ति महँगो रहेछ’
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — पुसको कठ्यांग्रिँदो चिसोमा न्यायका लागि गुहारेको २४ औं दिन भइसकेको छ । न्यायको लागि हरेक दिन धाउँदा उनीहरु गलिसकेका छन् तर आत्मबल भने गलेको देखिँदैन । एकल महिला निर्मला कुर्मीलाई बेपत्ता पारिएको घटनामा दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनरत महिलाहरु जबसम्म न्याय सुनिश्चित हुँदैन तबसम्म पछि नहट्ने प्रणमा छन् । आन्दोलनलाई नेतत्व गरिरहेकी महिला अधिकारकर्मी रुबी खान न्यायका लागि जति भौतारिँदा पनि कसैले आवाज नसुनेकोमा गुनासो गर्छिन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![‘न्याय पाउन कत्ति महँगो रहेछ’](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/3262875127427537741306966117703884821674201n-2112023111703-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
माइतीघर मण्डलामा शनिबार ‘न्यायको संघर्षमा सीमान्तकृत महिला’ शीर्षकमा आजाद मोर्चाले आयोजना गरेको सडक बहसमा न्यायको आन्दोलनमा भोगेका चुनौती र जटिलताहरु बारेमा बोल्दै भनिन्–‘तीन चरणको आन्दोलन गरिसकेका छौं । न्याय मागेको त एक दशक नै भइसक्यो । केन्द्रमा आउँदा पनि न्याय पाएको महसुस भएको छैन । न्याय पाउन कत्ति महँगो रहेछ । न्याय माग्ने काम अपराध हो भने हामी अपराधी हौं ।’
जात व्यवस्थाविरुद्ध बोल्दै आएकी नेतृ रुपा सुनारले संरचनागत तथा संस्थागत हिसाबले गरिएको विभेदमा सीमान्तकृत महिलाहरुको लागि बोल्न कठिन हुने धारणा राख्छिन् । ‘संस्कृति, राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिक क्षेत्रमा ती समुदायलाई निषेध गरिएको छ । सहभागी हुन दिइएको छैन,’ उनले भनिन्, ‘जसरी अन्य गैरदलित महिलाहरु अन्यायमा पर्दा जुन तहमा मिडिया, सामाजिक सञ्जालदेखि लिएर सडकसम्म धेरै मान्छे बोले त्यति सिमान्तकृत महिलाहरुको लागि साथ दिने मान्छे कम देखिएका छन् । सिमान्तकृत महिलाहरुले बोल्नु नै बेकार मान्दिने, पीडकलाई समात्दा पनि पीडितलाई समाजमा बस्ने गाह्रो बनाइदिने घटना देखिन्छन् ।’
बहसको सहजकर्ता हिरादेवी वाइबाले शक्तिभन्दा बाहिर रहेका सिमान्तकृत वर्गहरुलाई न्याय पाउन किन कठिन भन्ने प्रश्नमा लेखक तथा नागरिक आन्दोलनका अभियन्ता सञ्जीव उप्रेतीले यसमा संरचनात्मक असंवेदनशीलतासँग जोडिने बताउँछन् । उनले लैंगिक हिंसा, बलात्कारजस्ता घटनालाई संरचनासँग जोडेर हेर्नुपर्ने बताउँदै भन्छन्–‘नेपालको संरचना यसो हेर्दा विभेद नै विभेदको चाङहरु थुप्रेर बनेको छ । जो पिँधमा छ त्यो न्यायबाट परपर उछिट्टिएको अध्ययन तथा अनुभवले नै देखाउँछन् । संरचनाको जो टुप्पोतिर छ उ त्यति नै गम्भीर र जिम्मेवार हुन जरुरी छ । लिंग, जात, वर्गको हिसाबले सबैको किसिमको लाभांस हुँदा पनि किन आन्दोलनमा छौं त ? त्यही जिम्मेवारीबोध भएर नै हो ।’
उनले यहाँ सामाजिक न्यायको अभ्यास होइन क्रूर अभिनय भइरहेको बताउँदै भने, ‘संरचनाको टुप्पोमा प्राय: गरेर एउटै जात, थर, एउटै लिंग खासगरी पुरुष छन् । टुप्पोबाट पिंधमा हेर्दा के देखिन्छ ? उसले मान्छेहरुलाई किरा जस्तो देख्छ । देख्दै नदेख्ने । तर कोही देखेजस्तो गर्ने, माग सुनेजस्तै गर्ने, बुझेजस्तै गर्ने, बाचा गरेजस्तै गर्ने पनि छन् । जो न्यायको अभ्यास होइन अभिनय गर्देछन् ।’
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)