के प्रधानमन्त्री पिँजडामा छन् ?

राष्ट्रपति, सभामुख, उपसभामुख सत्ता साझेदार दलले लिएको र गृह, अर्थ, परराष्ट्र, कानुनजस्ता मन्त्रालय साथमा नरहेकाले प्रधानमन्त्री दाहाल चेपुवामा
घनश्याम खड्का

काठमाडौँ — ‘प्रधानमन्त्री पिँजडामा छन्, त्यस्तो नगर्दिनुहोला,’ सभामुखका लागि आफ्नो दलबाट ईश्वरीदेवी न्यौपानेलाई प्रस्ताव गर्नेक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिहीबार संसद्‌मा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै भने, ‘तर कांग्रेसले ढोक्सा थापेको छैन ।’

अघिल्लोपटक यही संसद्मा प्रधानमन्त्रीका लागि विश्वासको मत दिने बेला सरकारलाई समर्थन गरेको कांग्रेसप्रति व्यंग्य गर्दै ओलीले ‘ढोक्सा (ढडिया) थापेको’ बताएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षको हैसियत गुमाएको कांग्रेसले बिहीबार सभामुखका लागि भने प्रतिस्पर्धा गर्‍यो । यो क्रम राष्ट्रपति निर्वाचनमा पनि जारी रहने संकेत गर्दै शर्माले ढोक्सा थापेको भन्न नमिल्ने तर्क गरे ।

प्रधानमन्त्री पद पुष्पकमल दाहाललाई दिएर सत्ताका सबै शक्ति आफ्नो हातमा पारेका ओलीले आफैं शासन गर्न खोजेको विश्लेषण कांग्रेसको छ । विश्वप्रकाशले भनेजस्तै, के प्रधानमन्त्री साँच्चै पिँजडामा छन् ?

पछिल्लो राजनीतिक घटनाक्रम, मन्त्रालयको बाँडफाँट र मुख्य पदहरूको चुनावलाई हेर्ने हो भने प्रधानमन्त्री चेपुवामा देखिन्छन् । सामान्यतः गृह र अर्थ मन्त्रालय प्रधानमन्त्री हुने दलकै पोल्टामा पर्छ । स्रोतका अनुसार दाहालले पनि सके यी दुवै, नसके एउटा मन्त्रालय आफ्नो भागमा पार्न निकै प्रयास गरेका थिए । तर, ओलीको साथ पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह चाहिने अड्डी कसे । प्रधानमन्त्रीमा दाहालको प्रस्तावक एमालेले रोजेरै अर्थ मन्त्रालय लियो । परराष्ट्रमन्त्री पनि एमालेकै भागमा छ भने राज्य चलाउनका लागि चाहिने अर्को महत्त्वपूर्ण कानुन मन्त्रालय राप्रपाले लिएको छ ।

सभामुखको निर्वाचनमा एमालेका उम्मेदवारले बहुमत ल्याइसकेका छन् । राष्ट्रपति पनि एमालेकै तर्फबाट निर्वाचित गराउने गठबन्धनमा सहमति भएकाले त्यसैलाई मान्नुपर्ने अभिव्यक्ति ओलीले पटक–पटक दिएका छन् । उपसभामुख रास्वपाको भागमा परेको छ ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री दाहाल एक्लै परेका छन् । यता, ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेर सत्ताको साँचो आफ्नो हातमा रहेको छनक दिइसकेका छन् । कसलाई मन्त्री बनाउने भन्नेबारे निर्णय हुनुअघि दाहालले ओलीनिवास बालकोटमा चार घण्टा ‘लन्च मिटिङ’ गरे । प्रधानमन्त्री चार घण्टा सत्ता साझेदार दलको नेताको घरमा बसेर मन्त्रालय बाँडफाँटको टुंगो लगाउनुपर्ने अवस्था आउनु नै सत्ता कब्जा भएको संकेत देखिनु हो भन्ने कांग्रेस नेताहरूको बुझाइ छ ।

प्रधानमन्त्री निरीह बनेको र सत्ताको खास साँचो ओलीकै हातमा पुगेको भन्दै माओवादीभित्रै असन्तुष्टि चुलिएको छ । ‘हाम्रो हातमा प्रधानमन्त्रीको पदबाहेक केही आएन, शासन त ओलीको तजबिजमा चल्ने अवस्था छ,’ माओवादीका एक नेताले भने, ‘यो भनेको राजकाजमा फेरि पनि ओली नै हाबी हुनु हो ।’

यो व्यवस्थालाई समग्रमा भन्नका लागि आफूले पिँजडा शब्द प्रयोग गरेको शर्माले बताए । ‘प्रधानमन्त्री भनेको के हो ? त्यो आर्थिक शक्ति, सुरक्षा शक्ति र बाह्य शक्तिको स्रोत हो,’ उनले कान्तिपुरसँग भने, ‘तर त्यो सबै अहिलेका प्रधानमन्त्रीसँग छैन । सभामुख अर्काकै, राष्ट्रपति पनि अर्काकै हुने भएपछि प्रधानमन्त्री पिँजडामा भएनन् र ?’

ओली प्रधानमन्त्री हुँदा दाहालले उच्चस्तरीय संयन्त्रको नेता बन्ने प्रयास गरेका थिए । त्यतिबेला ओलीले संयन्त्रलाई संविधानले नचिनेको भनेर पन्छाए । अहिले दाहाल प्रधानमन्त्री हुँदाचाहिँ त्यही संयन्त्रलाई ब्युँताएर सरकारले सार्वजनिक गर्नुपर्ने कार्यक्रम ओलीले गर्न थालेकाबाट पनि प्रधानमन्त्री पिँजडामा परेको प्रस्ट संकेत देखिएको शर्माको विश्लेण छ । ‘सुनकै भए पनि पिँजडा पिँजडा नै हो,’ उनी भन्छन्, ‘प्रधानमन्त्रीकै कुर्सी भए पनि राजकाज अर्कैले गर्ने भएपछि त्यो सुनको पिँजडाजस्तै आकर्षक अवश्य छ तर त्यसले बन्धन सिर्जना गरेको छ ।’

दुई तिहाइको प्रधानमन्त्री हुँदा ओलीले राष्ट्रपतिबाट मिल्नेभन्दा बढी सहयोग पाएको र सभामुखबाट त्यस्तै साथ नमिल्दा असहयोग भएको भनेर गुनासो गरेको स्मरण गर्दै शर्माले सन्निकट खतरा टार्न शीतलनिवासमा कांग्रेसको दाबी स्वाभाविक भएको बताए ।

वामविश्लेषक झलक सुवेदी प्रधानमन्त्रीको अवस्था सुरुवातमै कमजोर देखिएकाले उनी चेपुवामा रहेको बताउँछन् । ‘राजनीतिक हिसाबले प्रधानमन्त्रीको डिफ्याक्टो र डिजुरे भूमिका आफैंले देखाउन खोजेको ओलीको गतिविधिले संकेत गर्छ,’ उनी भन्छन्, ‘दाहाललाई प्रधानमन्त्री बनाएर ओलीले राजनीति आफ्नो कमान्डमा राखेका छन् र दैनन्दिनको काममा मात्रै उनलाई (प्रधानमन्त्रीलाई) सीमित गरेका छन् ।’

शर्माले भनेजस्तो पिँजडासँग यो अवस्थालाई तुलना गरिहाल्न नमिले पनि प्रधानमन्त्रीलाई सकस भने अवश्य भएको उनको ठम्याइ छ । ‘प्रधानमन्त्रीले राजीनितक शक्तिको अनुभव गर्न नसकेको देखिन्छ,’ उनी भन्छन्, ‘यो क्रम जारी रहे गठबन्धन लामो समय जाँदैन ।’

प्रकाशित : माघ ६, २०७९ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्

एमालेको ध्यान अब राष्ट्रपतिमा

कांग्रेसले राष्ट्रपति निर्वाचनमा माओवादीको मत लिने प्रयास गरिरहेका कारण एमाले पुस १० को सहमति कार्यान्वयनमा ढुक्क हुन सकेको छैन
बबिता शर्मा

काठमाडौँ — सभामुख निर्वाचनपछि एमालेका ध्यान राष्ट्रपति निर्वाचनतर्फ सोझिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच पुस १० मा भएको सहमतिअनुसार त्यही दिन दाहाल प्रधानमन्त्री र बिहीबार एमाले सांसद देवराज घिमिरे सभामुख भइसकेका छन् । दुई शीर्ष नेताले पुस १० मै राष्ट्रपति एमालेबाट चयन गर्ने सहमति गरेका भए पनि कांग्रेसले राष्ट्रपति निर्वाचनमा माओवादीको मत लिने प्रयास गरिरहेको छ । कांग्रेसको भूमिकाका कारण एमाले पनि ढुक्क देखिँदैन । 

एमालेले सहमतिअनुसार राष्ट्रपति आफ्नै पार्टीबाट हुनुपर्ने अभिव्यक्ति दोहोर्‍याइरहेको छ । राष्ट्रपतिमा सबै दलबीच समझदारी बनाउने प्रयास हुने प्रधानमन्त्री दाहालको भनाइ छ । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा बिहीबार दाहालले राष्ट्रपति र उपराष्ट्रपतिमा सहमतिको प्रयास भइरहेको बताए । ‘सभामुखकै जसरी उपसभामुखको पनि निर्वाचन हुन्छ,’ उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका लागि समय अझै बाँकी छ । छलफल भइरहेको छ । सत्ता साझेदार दल र मैले एउटा समझदारी बनिदिए हुन्थ्यो भनेर प्रयास गरिरहेका छौं ।’

ओली भने एमाले उम्मेदवारको हकमा मात्रै राष्ट्रिय सहमति हुने बताउँछन् । ‘एमालेले उम्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ,’ प्रतिनिधिसभाको बिहीबारको बैठकपछि उनले भने । माओवादीका एकथरी नेता भने सरकार गठनदेखि विश्वासको मतसम्ममा राजनीतिक परिस्थितिमा बदलिएको बताउने गरेका छन् ।

विश्वासको मत दिएका कारण कांग्रेसलाई दाहालले टाढा धकेल्न चाहेका छैनन् । त्यसैले उनले सहमतिको प्रयास गर्ने बताउँदै आएका छन् । दाहालले विश्वासको मत दिएका दलहरूको बैठक राखेर संवैधानिक पदमा सहमति गरेर जानुपर्ने प्रस्ताव राखिसकेका छन् । उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीको ‘प्रभाव’ सन्तुलन गर्न पनि प्रधानमन्त्री दाहालले कांग्रेससँग निकटता कायम राखिराख्न खोजिरहेका छन् । कांग्रेसले पनि आफ्नै पार्टीबाट राष्ट्रपति चयन गर्न भरमग्दुर प्रयास गर्ने देखिएको छ ।

एमालेको बलमा सरकार निर्माण भएकाले राष्ट्रपतिमा अर्को बाटो लिन नहुने आवाज पनि माओवादीभित्र छ । दाहालनिकट एक नेताका अनुसार राष्ट्रपतिमा सहमतिको प्रयास हुने बताए पनि ओलीलाई उनले बचन दिइरहेका छन् । सहमतिको प्रयास भइरहेको भन्दै दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिलाई सन्तुलनमा राख्ने प्रयास गरेको ती नेताको भनाइ छ ।

राष्ट्रपति निर्वाचनलाई लिएर दाहाल र ओलीबीच रहेको आशंका मेटाउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल र माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव शक्तिबहादुर बस्नेत सक्रिय रहेको स्रोतको भनाइ छ । सभामुख आफ्नो दलको निर्वाचित भएपछि भने ओली थप विश्वस्त भएको एक नेताले बताए ।

विश्वासको मत दिए संवैधानिक पदमा राष्ट्रिय सहमति जुटाउन पहल गर्ने आश्वासन प्रधानमन्त्री दाहालले दिएकाले राष्ट्रपति पद आफूले पाउने कांग्रेसको विश्वास छ । प्रधानमन्त्री दहालले पुस २६ मा देउवाकै निवासमा पुगेर विश्वासको मत मागेका थिए भने बुधबार पनि देउवासँग टेलिफोन संवाद गरेका थिए । कांग्रेस र दाहालनिकट माओवादीका दोस्रो तहका नेताहरूबीच संवाद पनि जारी छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपतिको निर्वाचनमा परिणाम हात पार्ने गरी तयारीमा लाग्ने बताए । ‘राष्ट्रपतिका रूपमा हामी प्रतिस्पर्धा गर्दैगर्दा परिणाम हासिल गर्ने ढंगले लाग्छौं,’ उनले भने ।

निकट एक नेताले प्रधानमन्त्री दाहाल राष्ट्रपति पद कांग्रेसलाई दिने राजनीतिक वातावरण बनाउने गृहकार्यमा रहेको बताए । उनका अनुसार कांग्रेसलाई पनि शक्ति बाँडफाँटमा जोड्न सके संक्रमणकालीन न्याय टुंगाउन सहज हुने दाहालको बुझाइ छ । सबै संवैधानिक पदमा वामपन्थी शक्ति मात्रै हुँदा सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध प्रभावित हुन सक्ने डर पनि दाहाललाई छ ।

राष्ट्रपति र सभामुख लिइसकेको अवस्थामा साढे दुई वर्षपछि सरकारको नेतृत्व पनि एमालेलाई दिँदा संविधानमाथि चुनौती आउन सक्ने डरले दाहालले शक्ति सन्तुलन मिलाउन खोजेको एक नेताले बताए । विगतमा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनमा भूमिका खेलेर संविधानलाई चुनौती दिएको दाहालको बुझाइ छ । कांग्रेसले संविधान रक्षाका लागि भन्दै दाहाललाई विश्वासको मत दिएको थियो । माओवादी र एमालेबीच प्रधानमन्त्री र सभामुख पद आधा–आधा कार्यकाल बाँड्ने सहमति छ । उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीले लिने भएको छ । उपराष्ट्रपतिमा निर्णय भएको छैन ।

निर्णायक चरणमा दाहालले राष्ट्रपति पद अर्कैको पोल्टामा पारिदिने हुन् कि भन्ने डर एमालेमा हटिसकेको छैन । माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेत भने अहिले नै गठबन्धनलाई शंका गर्नुपर्ने ठाउँ नरहेको बताउँछन् । ‘हाम्रो सहकार्य आपसी विश्वासमा अघि बढ्छ । सभामुख निर्वाचनसम्म आइपुग्दा आपसी विश्वासमा कमी आएको छैन,’ उनले भने ।

प्रकाशित : माघ ६, २०७९ ०६:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×