कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जनगणनामा जातजाति र भाषा टुंगो लगाउँदै तथ्यांक कार्यालय

गणेश राई

काठमाडौँ — राष्ट्रिय तथ्यांक कार्यालय (साविक केन्द्रीय तथ्यांक विभाग)ले राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाका निम्ति जातजाति र भाषाबारे छलफल सुरु गरेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार मुलुकमा १ सय २५ जातजाति र १ सय २३ भाषा छन् । 

जनगणनामा जातजाति र भाषा टुंगो लगाउँदै तथ्यांक कार्यालय

संघीय संविधान जारी भएपछि पहिलो पटक सम्पन्न राष्ट्रिय जनगणनामा अधिक संख्याले छुट्टै जातजाति हुनुपर्ने र त्यसैअनुसार जनगणनाको लगत फाराम भराएकाले तथ्यांक कार्यालय निचोडमा पुग्न सकेको छैन । त्यसैगरी भाषा आयोगले यसअघि आठवटा नयाँ भाषा पत्ता लगाएकाले त्यसलाई समेत निचोड पुग्न बाँकी रहेको जनाइएको छ ।

कार्यालयले थारू आयोग, मुस्लिम आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, भाषा आयोग, दलित आयोग, मधेसी आयोगलगायत सरोकार निकायसित अन्तिम चरणको छलफल सुरु गरेको जनाएको छ ।

‘तत्काल जातजाति र भाषाको संख्या यकिन नगरी नतिजा सार्वजनिक गर्ने पक्षमा थियौं,’ कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले कान्तिपुरसित भने, ‘अहिले सरोकार पक्ष र विज्ञहरूलाई बोलाएर छलफल सुरु गरेका छौं ।’

कार्यालयले भाषा आयोगका प्रतिनिधि र भाषाविज्ञहरूलाई बोलाएको जनाएको छ । त्यसैगरी मधेसी आयोग र मधेसीविज्ञहरू, आदिवासी जनजाति आयोग, नेपाल जनजाति महासंघ, विश्वविद्यालयका मानवशास्त्र र समाजशास्त्रका विज्ञहरूलाई बोलाएको जनाइएको छ ।

मधेसी आयोगको अध्ययनले भने तराई-मधेसमा मात्र १ सय २१ जात फेला पारेको र तीमध्ये ३५ जातको भने थर पहिचान हुन नसकेको यसअघि जनाएको थियो । यसैगरी आदिवासी जनजातिभित्र विभिन्न समुदायले छुट्टै जाति हुनुपर्ने माग गर्दैआएका छन् । ‘सरोकार पक्ष र विज्ञहरूको सुझावअनुसार चाँडै निचोडमा पुग्छौं,’ प्रधानमन्त्रीसँग समयको माग गरेको उल्लेख गर्दै निर्देशक लामिछानेले भने, ‘अन्तिम नतिजा प्रकाशनसँगै समग्र देशभरिको, प्रदेश र स्थानीय तहको तथ्यांकसमेत सार्वजनिक गर्ने तयारीमा छौं ।’

२०७८ कात्तिक २५ गतेबाट मंसिर ९ गते देशभरि एकसाथ १२औं राष्ट्रिय जनगणना सम्पन्न भएको थियो । तथ्यांक कार्यालयले गत वर्ष माघ १२ मा उक्त जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको थियो । गत भदौ/असोजमा सार्वजनिक गर्ने भनिएको जनगणनाको नतिजा मुलुकमा सम्पन्न संघ र प्रदेशको निर्वाचनले प्रकाशन पछाडि धकेलिएको कार्यालयले जनाएको छ ।

प्रारम्भिक नतिजाअनुसार देशको कुल जनसंख्या २ करोड ९१ लख ९२ हजार ४ सय ८० रहेको छ । भौगोलिक जनसंख्याका आधारमा ६ दशमलब ०९ प्रतिशत हिमाली भेगमा बसोबास गर्छन् । पहाडमा ४० दशमलब २५ प्रतिशत र तराई भूभागमा ५३ दशमलब ६६ प्रतिशत बस्छन् । दस वर्षको अन्तरालमा तराईको जनसंख्या ३ दशमलब ३९ प्रतिशतले बढेको छ । त्यसैगरी पहाडको जनसंख्या शून्य दशमलब २४ प्रतिशतले मात्र बढेको देखिन्छ भने हिमालमा शून्य दशमलब ६४ प्रतिशतले जनसंख्या घटेको छ । लैगिंक अनुपात ९५.८ रहेको छ, जसअनुसार प्रति सय महिलामा पुरुषको संख्या ९५ दशमलब ९१ छ । संख्या वृद्धिदर ०.९३ प्रतिशतमा रहेको छ ।

प्रकाशित : माघ ५, २०७९ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×