मार्लीलाई सुन्ने एक बहाना- समाचार - कान्तिपुर समाचार

मार्लीलाई सुन्ने एक बहाना

मार्ली परिवारले विश्व संगीतलाई धेरै कलाकार दिएको छ, हजुरबुबा बबदेखि नाति जोसेफसम्म । मार्लीले ख्याति कमाएको पाँच दशक छोएको छ । सन् १९७३ मा उनका दुई एल्बम निस्केका थिए, ‘क्याच अ फायर’ र ‘बर्निन’ । एल्बमका कारण उनी पश्चिममा खुबै कहलिए, खासगरी अमेरिकामा ।
हिमेश

काठमाडौँ — बब मार्लीलाई सम्झिरहन कुनै ठूलो कारण चाहिन्न । उनका कालजयी गीत सुन्ने एक इच्छा भए पुग्छ । उनको नामै जोडेर एउटा दुःखद् समाचार भर्खरै जस्तो संगीत बजारमा आएको थियो ।

तीन साता जति भयो, उनका नाति जोसेफ मार्लीको पनि अकालमै निधन भएको । उनी पनि कलाकार नै हुन् । डीजे भएर बढी नाम कमाए । उनका बुबा स्टेफेन मार्ली पनि उत्तिकै कहलिएका गायक हुन् । उनले आठ पल्ट ग्रामी अवार्ड जिते ।

स्टेफेन बब मार्लीका पहिलो सन्तान हुन् । मार्ली परिवारले विश्व संगीतलाई धेरै कलाकार दिएको छ, जोसेफ तेस्रो पुस्ताका भए । विश्व संगीतमा बाजे मार्लीप्रति कति धेरै सम्मान छ भने उनको परिवारमा केही हुनुपर्छ, त्यो समाचार भइहाल्छ । जोसेफको पनि धेरै चर्चा किन भयो भने उनी दोस्रो नाति भएर बब मार्लीको परिवारमा जन्मेका थिए । जति बेला जमैकाको किङ्सटनमा उनको जन्म भएको थियो, बब मार्लीको निधन भएको पनि धेरै वर्ष भइसकेको थियो ।

तर परिवारमा संगीत ज्युँको त्युँ कायम थियो । तर ३१ वर्ष पुग्दा नपुग्दै उनले पनि मृत्यु आत्मसात् गरे, बब मार्लीले भन्दा चाँडै । बब मार्ली पनि जम्मा जम्मी ३६ वर्ष बाँचे । ठीक यही बेला बब मार्लीलाई किन धेरै सम्झिन कारण पनि बनेको छ भने उनले खास ख्याति कमाएको पनि ठ्याक्कै ५० वर्ष छोएको छ । सन् १९७३ मा उनका दुई अल्बम निस्केका थिए, ‘क्याच अ फायर’ र ‘बर्निन’ नाममा । यिनै दुई अल्बमका कारण उनी पश्चिममा खुबै कहलिए, विशेषतः अमेरिकामा ।

हाम्रोतिर पनि अंग्रेजी गीतका रूपमा पश्चिमेली संगीतलाई खुबै चाख दिएर सुन्ने बाक्लै जमात छ । यो जमातमा सबैभन्दा लोकप्रिय गायक/गायिका अथवा ब्यान्ड कुन हुन सक्छ त ? यसको ठ्याक्कै उत्तर हामीसँग छैन । फेरि यसको उत्तर गाह्रो पनि छ, किनभने सबैलाई मन पर्ने संगीत एकै खाले हुन्न । कम्तीमा यति भने मज्जाले दाबी गर्न सकिन्छ, हाम्रोमा पनि ‘रेगे’ संगीत उत्तिकै लोकप्रिय छ, जति ‘रक’ र ‘हेभिमेटल’ छन् । रेगेभन्दा हामी सबैको अगाडि त्यसै पनि आउने नाम त बब मार्ली नै हुन् ।

खासमा उनै त हुन्, आफ्नो विशिष्ट खाले संगीतलाई विश्वभरि लोकप्रिय बनाउने । बब मार्ली एक प्रकारले बिम्ब पनि हुन्, जसको नामसँगै अनुहार पनि जोडिएर आउँछ । ‘ड्रेडलक्स’ कपालको शैली उनीसँगै जोडिन्छ । त्यस बिम्बले संगीतको माध्यमबाट राजनीतिक चेतनाका सन्देश दिने गर्छ, अनि रंगभेदप्रति विद्रोह पनि । बब मार्लीका अधिकांश गीत विशेष हुने गर्छन्, किनभने यसमा आफ्नो समाज र त्यससँग जोडिएका कुरीतिप्रति आक्रोश हुने गर्छ ।

कुनै समय हाम्रा रेस्टुरेन्ट अथवा बाटो छेउका पसलतिर पृष्ठभूमिमा गीत बजिरहेको हुन्थ्यो । विशेषतः झोछेँ र ठमेलतिर । त्यसमध्ये असाध्यै सुन्न पाइने दुई गीत हुन्, ‘नो ओमन नो क्राई’ र ‘बफेलो सोल्जर’ पनि हुन् । दुवै बब मार्लीकै गीत त हुन् । उनका जति पनि गीत छन्, त्यससँगै उनको ब्यान्ड पनि जोडिन्छ, ‘द वेलर्स’ को नाममा । किङ्सटन जमैकाको ब्यान्ड हो, यो । बब मार्लीलाई खासै नपछ्याउनेले पनि कम्तीमा ती दुई गीत त पक्कै सुनेकै हुनुपर्छ ।

‘ग्लोबल फिगर’

फेरि दोहोर्‍याएर भन्दा पनि फरक पर्दैन, उनको परिचयका लागि उनको एक तस्बिर नै काफी छ । तर उनको छोटो जीवनलाई पृष्ठभूमि बनाएर उनका संगीत सुन्ने हो भने फरक भने धेरै पर्नेछ । त्यसैले उनको इतिहास बुझ्न आवश्यक छ । जमैका दुई कुराका लागि बढी चिनिन्छ, त्यही रेगे संगीत र क्रिकेटका लागि । बब मार्लीले जमैकाको संगीतलाई विश्व प्रसिद्ध बनाए । उनी गीतकार पनि हुन् उनका शब्द नै फरक छन् । उनको स्वर अझ फरक र विशेष छ ।

रोबर्ट नेस्टा मार्ली नामले सन् १९४५ मा जन्मिँदा उनीको देश आर्थिक रूपमा कमजोर र राजनीतिक रूपमा छिन्नभिन्न थियो । नाइन माइलमा जन्मे, किशोर उमेरमै कुनै एक दिन आफ्नो जीवन संगीतकै लागि भनेर किङ्सटनतिर लागे । केही नजिकका साथीसँग मिलेर ब्यान्ड पनि बनाए, जसको नामपछि त्यही द वेलर्स रह्यो । सुरुमै उनीहरूको एउटा गीत खुबै लोकप्रिय बन्यो, त्यो थियो, ‘वन लभ’ । जति बेला बब मार्ली ‘रस्टाफरी’ नामको एक धार्मिक आन्दोलनसँग जोडिए, उनको संगीत अझ विशेष हुन थाल्यो ।

यो बाइबलमै आधारित धार्मिक आन्दोलन हो, जसले भन्छ, भगवान्ले मानिसलाई जे जति दियो, ती सबै अमूल्य छन् । यो धार्मिक आन्दोलन विशेषतः अफ्रिकी मूलका बीच बढी लोकप्रिय छ । यसको सुरुआत सन् ३० तिर भएको मानिन्छ । बब मार्लीले यसलाई अझ लोकप्रिय बनाइदिए । उनले यही धार्मिक आन्दोलनलाई रेगे संगीतसँग जोडे र एकआपसमा मिसाए । रेगे संगीतको जन्मथलो पनि जमैका नै हो । यसको विशेषता भनेकै संगीतको माध्यमबाट सामाजिक र राजनीतिक मुद्दामा चर्चा गर्नु हो ।

बब मार्लीको व्यक्तित्वको एउटा खास ठूलो पक्ष के भने उनका बुबा गोरा थिए । त्यसैले उनी आफ्ना साथाीभाइबीच केही बढी नै गोरो थिए । त्यसैले सानामा उनको नामै थियो, ‘ह्वाइट ब्वाई’ । तर पनि उनले सक्दो रंगभेद सहनै पर्‍यो । सानैदेखि भेदभाव खेप्नुपर्‍यो । यसको प्रभाव उनका गीतमा पर्ने नै थियो । आफ्नो संगीत करियरको चरम बिन्दुमा उनले जमैकाको राजनीतिलाई संगीतको माध्यमबाट मिलाउने प्रयास पनि गरे, शान्त राख्ने काम पनि गरे ।

‘स्माइल जमैका’ नामको एक सांगीतिक कार्यक्रम अगाडि उनलाई गोली पनि हानिएको थियो । उनले इथोपिया र जिम्बावेका लागि पनि धेरै काम गरे । उनले धेरै लामो जीवन भने पाएनन् । सन् १९७८ तिर उनी बिरामी हुन थाले, पछि थाहा भयो, क्यान्सरकै कारण दायाँ खुट्टाको बूढीऔंला काट्नुपर्ने भयो । तर उनले सुरुमा मानेनन् । जति बेला माने, त्यो धेरै ढिला भइसकेको थियो । नसामै रमाइरहने बानीले पनि उनलाई राम्रो गरेन, अनि सन् १९८१ मा उनको निधन भयो ।

नेपाल साइनो

हाम्रोतिर एउटा दाबी के गरिन्छ भने बब मार्ली सन् ७० तिर नेपाल आएका थिए । उनी मुस्ताङतिर पनि गए । त्यहीं केही दिन मज्जाले रमाए । त्यसैले अहिले पनि उनको नाम जोडिएका होटल रेस्टुरेन्टहरू मनाङतिर पाइन्छ । विशेष गरेर जति बेला झोछेँ आफ्नो प्रसिद्धीको अन्त्यतिर पुगिसकेको थियो, त्यही बेला पनि त्यहाँ बब मार्ली नेपाल आएको प्रशस्त गफ सुन्न पाइन्थ्यो । के साँच्चै कुनै समय बब मार्ली नेपाल आएका थिए त ? यसको ठ्याक्कै उत्तर भने कोहीसँग छैन ।

सायद उनी आएकै थिएनन् । अझ भनौं, आएकै होइनन् । यसलाई एक अर्को ‘बब मार्ली लेजेन्ड’ भन्दा हुन्छ । यस्ता अनौठा कथा किङ्सटनमा जत्ति पनि सुन्न पाइन्छ, अनि लन्डन र न्युयोर्कमा पनि । मनाङ पनि अपवाद नभएको मात्रै हो । भनिन्छ, कोही एक स्टार कति ठूलो हो भनेर नाप्ने औजार भनेको उनलाई लिएर चल्ने कथा हुन् । जति धेरै कथा, त्यति ठूला स्टार । यी सबै कथा सत्य हुनुपर्छ भन्ने पनि छैन । बब मार्ली नेपाल आएको पनि यस्तै एउटा कथा मात्र हो ।

हो, यसले एउटा तथ्य भने निकै ठोस ढंगले स्थापित भने गर्छ । र, यो हो, नेपालमा पनि बब मार्ली खुबै लोकप्रिय छ, जति अरूतिर । सन् सत्तरीको समय त्यस्तै थियो, हिप्पी युग सकिनै लागेको समय । यही युगले जन्माएको एउटा कथा हो, बब मार्लीको नेपाल आगमन । अनि यस्ता कथा त्यही बेला ‘फ्रिक स्ट्रिट’ नामले चिनिने झोछेँमा सुन्न पाइन्न भने कता पाइन्छ त ? तय छ, यो कथा कहिले पनि सेलाउने छैन । बब मार्ली नेपाल आएको एकै कथाले पनि हामीलाई उनका गीत सुन्न प्रेरित गरिरहनेछ ।

प्रकाशित : माघ ४, २०७९ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्

खाडी पसे रोनाल्डो

साउदी अरब उनका लागि मैदान बन्छ कि मरुभूमि !
हिमेश

काठमाडौँ — क्रिस्टियानो रोनाल्डोलाई जत्ति पनि मन नपराउन पाइन्छ । तर, उनी चर्चाबाट हराउने खेलाडी भने पक्कै होइनन् । त्यसैले उनलाई बेवास्ता गर्न पनि सकिन्न । कतार विश्वकप सकिएको मात्र के थियो, लियोनल मेसी भने एकाएक चर्चाबाट हराए ।

प्रतियोगिता चल्दै गर्दा सबैको ध्यान यी अर्जेन्टिनी खेलाडीमै थियो । अर्जेन्टिनाले विश्वकप जितेपछि त झन् के चाहियो, सबैले भन्न थालेका थिए, मेसीको खेल जीवन अब पूर्ण भयो । किनभने उनी विश्वकप विजेता पनि हुन् ।

मेसीको बानी नै छ, सबैको ध्यानबाट सर्लक्क हराएर आफ्नै परिवार र साथीभाइसँग रमाउने । उनी साँच्चै हराए । लगत्तै चर्चा भने उनको ‘खास प्रतिद्वन्द्वी’ खेलाडी क्रिस्टियानो रोनाल्डोको भयो । यी पोर्चुगाली खेलाडीलाई भने राम्रोसँग थाहा छ, मिडियाको ‘हेडलाइन’ मा कसरी छाइरहनुपर्छ भन्ने । मेसीले जस्तो उनले विश्वकप भने जित्न सक्ने सम्भावना छैन । त्यसैले उनको खेल जीवन भने एक अर्थमा अपूर्ण नै भनौं । तर, उनको खुबी नै मानौं न, अहिले सबैको मुखमा उनकै नाम छ ।

फेरि रोनाल्डो भनेपछि उनका प्रशंसक जति पनि छन्, ती सबै ‘डाइहार्ट’ हुन् । त्यो भनेको नमरुन्जेल रोनाल्डोकै मात्र नाम जप्ने । त्यसैले रोनाल्डो आफैंमा निकै ठूला जबरदस्त ‘ब्रान्ड’ हुन्, जसको नामै बिक्छ । नामै काफी पनि छ । पछिल्लो समय भने उनी साउदी अरबमा छन् । सँगै छिन्, प्रेमिका जर्जिना रोड्रिग्वेज । उनीहरूबीच अहिलेसम्म विवाह भइसकेको छैन । साउदी अरबको कानुनले भन्छ, विवाह नगरेका जोडी त्यहाँ सँगै बस्न पाउँदैनन् । तर, रोनाल्डो न परे, उनका लागि साउदी कानुन लागेको छैन । छुने कुरै भएन ।

यी त भए, ‘गसिप’ कुरा । अब गम्भीर कुरा । ‘इतिहास अब बन्ने क्रममा छ,’ रोनाल्डो साउदी अरबमा उत्रनेबित्तिकै यस्तै भनिएको थियो । रियादमा उनको भव्य रूपमा स्वागत गरियो । उनले अल नासर फुटबल क्लबसँग दुई वर्षका लागि अनुबन्ध गरेका छन् । साना–साना बच्चाहरू पहेंलो र नीलो रङको जर्सीमा विमानस्थलसम्म पुगे । नासरको जर्सी यस्तै रङको हुने गर्छ । रोनाल्डोको एकै वर्षको तलब पनि २० करोड डलर बराबर छ र यसै क्रममा उनी सर्वाधिक कमाउने फुटबल खेलाडी पनि बने ।

यो केही होइन, यो त साउदी अरबको कुनै पनि हालतमा विश्व खेलकुदमा अब्बल बन्ने लक्ष्यका लागि चालिएको पहिलो ठूलो पाइला हो । अझ ठ्याक्कै भन्दा साउदी राजपरिवारको रणनीति हो, यो । तेल बेचेर धनी बनेको साउदी अरबसँग जति पनि पैसा छ । केवल उसले रहर मात्र गर्नुपर्छ, खोलाजस्तै पैसा बगाउन नसक्ने कुरै भएन । यसअघि पनि उसले पैसाको खोलो नबगाएको होइन तर प्रतिष्ठा भने कमाउन सकेको थिएन । त्यसका लागि अहिले भने उसले खेलकुदलाई नयाँ रणनीतिका रूपमा अंगीकार गरेको छ ।

के हो ‘स्पोर्ट्स वासिङ’ ?

विश्व राजनीतिमा अचेल एउटा शब्दावली खुबै चर्चामा छ र यो हो, ‘स्पोर्ट्स वासिङ’ । अझ कूटनीतिक क्षेत्रमा यसको यो शब्द बढी प्रयोग हुन्छ । यसको अर्थ पनि सामान्य छ, सबैले बुझ्न सकिने । खेलकुदको नाम जपेर नुहाउने । अझ भन्दा खेलकुदको पानीले नुहाएर मैलो पखाल्ने । अझ ठ्याक्कै भन्दा खेलकुद खेलकुद भन्दै पाप धुने । विश्व राजनीतिमा साउदी अरबको छवि त्यति साह्रो सफा छैन । यस्तो किन छ भन्दा यसको पनि लामो इतिहास छ, छोटकरीमा भन्दा त्यहाँका शासकले ‘लोकतन्त्र’ र ‘स्वतन्त्रता’ जस्ता शब्द सुन्नै चाहँदैनन् ।

पछिल्लो समय साउदी अरबको छवि किन नराम्रैसँग धमिल्लिएको छ भने त्यसका लागि सन् २०१८ मा फर्किनुपर्छ । वासिङ्टन पोस्टका पत्रकार जमल खसोग्गी साउदी एजेन्टहरूका हातबाट मारिए । त्यसमा सिधा साउदी राजपरिवारकै हात रहेको मानिएको छ । सन् २०१५ देखि सुरु भएको यमन युद्धमा साउदी अरबले लिएको नीतिका कारण पनि उसको प्रशस्त आलोचना हुने गर्छ । यहाँनिर केही पश्चिमेली सञ्चारमाध्यमको विश्लेषण सटिक देखिन्छ ।

त्यसअनुसार, पछिल्लो समय साउदी अरेबियाले के बुझ्न थालेको छ भने ‘हार्ड पावर’ मात्र विश्व राजनीतिमा आफू बलियो र सम्मानित बन्न सकिन्न । त्यसका लागि चाहिन्छ, ‘सफ्ट पावर’ पनि । यो भनेको खेलकुदलाई सक्दो आफूअनुकूल हुने गरेर प्रयोग गर्नु हो । साउदी अरबले यो सबै बुझ्न धेरै समय लगायो, कम्तीमा २५ वर्ष । उसको छिमेकी सानो देश कतारले उसलाई यो बाटो देखाइदिएको हो, नत्र सायद अझै रनभुल्लमै हुन सक्थ्यो । साउदी नेतृत्वको नाकाबन्दीले कतारलाई छुन पनि सकेन ।

कतारले सन् २०१० मा फुटबल विश्वकपको आयोजना अधिकार पाएको थियो । त्यति बेलै यसको खुबै आलोचना भयो । कतारमा मानव अधिकारको स्थिति राम्रो नभएको, उसले आप्रवासी कामदारमाथि सक्दो दमन र अन्याय गरेको अनेक कुरा आए । अझ केही कटु आलोचकले त ‘आप्रवासी कामदारको चिहान’ माथि आयोजना भएको विश्वकपसमेत भने । तर, विश्वकपको समाप्तिमा फेरि सबैले मान्न बाध्य भए, यो प्रतियोगिता त खुबै पो सफल रह्यो । कतारको प्रशंसा गर्ने पनि अनेक भए ।

यही विश्वकपमा साउदी टिमको प्रदर्शन पनि राम्रै रह्यो, आखिर अर्जेन्टिनालाई हराउने यही त एक मात्र टिम रह्यो । कतारले विश्वकप मात्र ढंगले गरेको छैन, यसअघि एसियाली खेलकुद र एसिया कप फुटबल नै बेजोडले आयोजना गरिसकेको छ । आजभोलि खाडी देशहरूमा विश्व खेलकुदमा को अब्बल भन्ने प्रतिस्पर्धा चलिरहेको छ । यसमा कतार र साउदी अरब त सहभागी छन् नै, सँगै यूएई पनि छ । उनीहरूको ध्यान फुटबलमै मात्र केन्द्रित छैन, खेलकुदका अनेक आयाममा छ ।

यसको एक पक्ष भनेको ठूल्ठूला प्रतियोगिताको आयोजना नै हो । साउदी अरबले अबको केही वर्षमा एसियाली खेलकुद त आयोजना गर्ने नै छ । उसको महत्त्वाकांक्षा बढेर फुटबलको विश्वकप र ओलम्पिक्ससम्म पुगिसकेको छ । यस्तै कतार र साउदीले युरोपका नामी क्लबहरूमा पनि प्रशस्त लगानी गरिरहेका छन् । यही त हो, ‘स्पोर्टवास’ । खेलकुदमा मस्त लगानी गर्ने अनि आफ्नो छवि सुधार्ने । कतारले यो नीतिअनुसार धेरथोक गरिसक्यो, अब पालो साउदीको ।

फाइदा भने एसियाली फुटबललाई

घुमाइफिराइ कुरा उही हो, विश्व फुटबलमा साउदीको महत्त्वाकांक्षा झन्–झन् बढ्दै छ । यसकै एउटा कडीका रूपमा अल नासरले रोनाल्डोलाई अनुबन्ध गर्‍यो । यहाँनिर मीठै संयोग पनि जुर्छ । मेसीलाई धेरै हदसम्म कतारसँग जोडेर हेर्न सकिन्छ । बार्सिलोना छाडेयता उनी अचेल पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्छन् । यो फ्रान्सेली लिग–वानमा खेल्ने पीएसजीको मालिक को भन्दा कतार हो । कतारले पीएसजी किनेर यसलाई निकै शक्तिशाली बनाएको छ ।

पीएसजीलाई पैसाको केही कमी छैन । त्यसैले यो क्लबबाट मेसी मात्रै खेल्दैनन्, फ्रान्सकै केयलिन एमबापे पनि खेल्छन् अनि ब्राजिलका नेयमार पनि । मेसीलाई बराबरीको टक्कर दिन सक्ने भनेको रोनाल्डो नै हुन् । साउदी अरबलाई लागेको हुन सक्छ, मेसी नभएर के भयो त, हामीसँग अब रोनाल्डो छ । जसरी कतारले पीएसजी किनेपछि यो बलियो भएको छ, त्यसरी नै साउदीले इंग्लिस प्रिमियर लिग क्लब न्युकासल युनाइटेड किनिसकेको छ ।

यो क्लबमा साउदी लगानी भित्रिएपछि इंग्लिस फुटबलको समीकरण नै तलमाथि भएको छ । यसअघि रेलिगेसनबाट बच्नका लागि संघर्ष गर्ने न्युकासल अब उपाधिका लागि टक्कर दिने टिम भएको छ । अहिले तत्काल न्युकासल प्रिमियर लिगको तेस्रो स्थानमा छ । इंग्लिस फुटबलका विश्लेषकले भनिसकेका छन्, यस्तै स्थिति रहने हो भने अबको केही वर्षमा न्युकासलले प्रिमियर लिग त जित्ने नै छ, उसले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग पनि जित्नेछ ।

च्याम्पियन्स लिग भनेपछि मरिहत्ते गर्ने खेलाडीमा पर्छन्, रोनाल्डो । गत सिजनको खराब प्रदर्शनका कारण म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुन सकेन । त्यो सिजन रोनाल्डोले म्यानचेस्टरबाटै खेलेका हुन् । यस सिजन रोनाल्डोले म्यानचेस्टर छाड्ने अनेक बहाना बनाए, पछि क्लब र खेलाडी दुवै पक्षबीच मनमुटाव बढी नै भयो र एकआपसमा अलग पनि भए । त्यसैका कारण पनि हो, रोनाल्डो साउदी पुगेको, अल नासरबाट खेल्न ।

अब के पनि हुन सक्छ भने रोनाल्डो सम्भवतः अर्को सिजन त्यही न्युकासलबाट खेल्न इंग्ल्यान्ड जान सक्छन् । खालि एउटै सर्त के भन्दा न्युकासल च्याम्पियन्स लिगका लागि छनोट हुनुपर्‍यो । अब न्युकासल पनि साउदी अरबकै, अल नासर पनि । दुवैका मालिक एउटै भएपछि ऋणमा रोनाल्डोलाई च्याम्पियन्स लिग खेल्नकै लागि न्युकासल जान के गाह्रो ? रोनाल्डोले यस्तै हो भनेर मुख खोलेका छैनन् तर मनमा यस्तै हुनुपर्छ । कारण जस्तै हो, रोनाल्डोको आगमनले फाइदा हुने भनेकै साउदी अरब र समग्रमा एसियाली फुटबलकै हो । यो भने हामी एसियाली फुटबल समर्थकको नजरिया हो । यसपल्टको विश्वकपमा एसियाली टिमको प्रदर्शन राम्रै रह्यो । तीन टिम नकआउट चरण पुगे । तर ती टिम पुगे मात्रै, पछि त्यहीं रोकिए । कोही पनि क्वाटरफाइनल पुग्न सकेनन् । विश्व फुटबलमा हालीमुहाली चल्ने भनेकै युरोप र दक्षिण अमेरिकी देशकै हो । यसको एउटा ठोस कारण भने त्यहाँको फुटबल संस्कृति हो, त्यहाँको मजबुत लिग ढाँचा हो ।

अब रोनाल्डोले खेल्ने भएपछि साउदी अरबको माथिल्लो डिभिजनको लिगबारे जताततै चर्चा हुनेछ । यसको खास नाम हो, साउदी प्रो लिग । अब यो लिगलाई पछ्याउनेहरू पनि उत्तिकै बढ्ने छन् । रोनाल्डोलाई अनुबन्ध गरेलगत्तै अल नासरलाई सामाजिक सञ्जालमा पछ्याउनेहरू ह्वात्तै बढे । यसरी नै साउदी अरेबियाको लिग कस्तो छ भनेर चाख राख्नेहरू लाख होइन, करोडौंमा बढेका छन् । यस्तोमा रोनाल्डो साउदी अरब पुग्नुका अनेक कारण छन् भनेर मज्जाले भन्न सकिन्छ र यी सबै ऐतिहासिक पनि छन् ।

प्रकाशित : पुस २५, २०७९ ११:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×