सिन्धुलीगढी : पृथ्वीनारायण शाहको फौजले अंग्रेज सेना लखेटेको किल्ला

राजकुमार कार्की

सिन्धुली — नेपाल एकीकरणका क्रममा सिन्धुलीगढी युद्धमा अंग्रेज सेनालाई पराजित गरेको किल्ला हो सिन्धुलीगढी । वि.सं.  १८२४ असोज १५ गते कप्तान किन्लकको नेतृत्वमा आएको इस्ट इन्डिया कम्पनीका ब्रिटिस सेनालाई पृथ्वीनारायण शाहको गोर्खाली फौजले सिन्धुलीगढीबाट पराजित गरेका हुन् ।

सिन्धुलीगढी : पृथ्वीनारायण शाहको फौजले अंग्रेज सेना लखेटेको किल्ला

आधुनिक हतियारसम्पन्न अंग्रेज सेनालाई तत्कालीन गोर्खाली फौजले परम्परागत हतियार र युद्धकौशलकै बलमा जित्नु ऐतिहासिक भएको इतिहासविद् बताउँछन् । सिन्धुलीगढीमा अहिले त्यतिबेला प्रयोग भएका हातहतियार संकलन गरी राखिएको छ । त्यस्तै पृथ्वीनारायण शाहको सालिक पनि निर्माण भएको छ ।

तत्कालीन काठमाडौंका राजा जयप्रकाश मल्ललाई सहयोग गर्न कप्तान किन्लकको नेतृत्वमा आएको ब्रिटिस फौजलाई वंशु गरुङ नेतृत्वको गोर्खाली फौजले सिन्धुलीगढीमा पराजित गरेको हो । गुरुङलाई ‘सिकारी सरदार’ का रूपमा चित्रित गरिएको छ ।

सिन्धुलीगढी नेपाल एकीकरण र गोर्खाली फौजको वीरताका लागि चिनिएको अन्वेषणकर्ता सागरकुमार ढकालले बताउँछन् । ‘विश्वमै नहारेको ब्रिटिस सेनालाई पृथ्वीनारायण शाहका वीर गोर्खाली फौजले यही भूमिमा पराजित गर्दै धपाएका थिए । त्यो अदम्य साहस ती फौजले शाहबाटै पाएका हुन्,’ उनी भन्छन् ।

मकवानी राजा दिग्बन्धन सेनमातहतमा रहेको सिन्धुलीगढी किल्ला गोर्खाली सेनाले वि.स.. १८१९ को विजयादशमीका दिन आफूमातहतमा ल्याएका थिए । तत्कालीन कान्तिपुर राज्यका राजा जयप्रकाश मल्लले आफ्नो राज्य गोर्खालीको मातहतमा जाने देखेपछि बंगाल स्थित इस्ट इन्डिया कम्पनीसँग सहयोग मागेका थिए । कप्तान किन्लकको नेतृत्वमा १८२४ असोजको मध्यतिर २ हजार ४ सय अंग्रेज फौज सिन्धुलीमाडीमा आइपुगेको थियो । काठमाडौं हिँडेको अंग्रेज फौजलाई सिन्धुलीगढी क्षेत्रसम्म बिनाअवरोध गोर्खाली फौजले आउन दिएर भीषण हमला गरेको थियो ।

गोला बारुद र तोपले सुसज्जित अंग्रेज फौजलाई घरेलु हतियार, भौगोलिक अवस्थाकै कारण हराउन सफल भएको बताइन्छ । त्यतिखेर अंग्रेज फौजले ‘झारै बैरी, पातै बैरी, किराफट्यांग्रासमेत बैरी’ भन्दै भागेको लोकोक्ति छ ।

कमलामाई नगरपालिकाले गुरुयोजना तयार गरेर गढी क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्दैछ । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट २० किलोमिटर उत्तर गएपछि सिन्धुलीगढी क्षेत्र पुगिन्छ । गढी क्षेत्रको आडमा पहिला मोटरबाटो नहुँदा आवतजावत गर्नेलाई प्रवेश गराउने गेटसमेत रहेको छ ।

गढी क्षेत्रमै सेनाले निर्माण गरेको युद्ध संग्रहालय छ । संग्रहालयमा तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्तावेज, युद्धकालीन समयमा घरेलु सेना र विपक्षी सेनाको पोसाकसमेत संगृहीत गरिएको छ ।

प्रकाशित : पुस २७, २०७९ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?