फेरिएको संगीत स्वाद- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरिएको संगीत स्वाद

सज्जनराज सिंगर सङ राइटर हुन् । यावेशले अभ्यास गरिरहेको विधा अकस्टिक पप हो । शाश्वतले आफूलाई ‘पप सिंगर सङ राइटर’ को परिचय दिइरहँदा फोस्फिन्स इन्डी विधामा रमाइरहेको देखिन्छ ।
रीना मोक्तान

काठमाडौँ — सार्वजनिक गरेको छैटौं दिनमै १० लाख भ्युज, ८४ हजार लाइक अनि ३ हजारभन्दा बढी कमेन्ट । लगातारको युट्युब ट्रेन्डिङ । नयाँ वर्ष सन् २०२३ को पहिलो दिन सार्वजनिक गरेको ‘ह्यात्तेरी’ बोलको नयाँ गीतले कमाएको दर्शकको माया हो यो ।


यो पछिल्लो समय चलेका गायक सज्जनराज वैद्यको लोकप्रियता दर्शाउने अंकगणित पनि हो । बजारमा आएदेखि फ्यानको प्लेइङ लिस्टमा थपिएको अर्को नयाँ गीत पनि । क्याफेदेखि कभर सङहरूमा अनि टिकटकदेखि टिन एजरहरूका मुखमै झुन्डिएको गीतले युवा दर्शकको संगीत स्वाद दर्शाउँछ । पछिल्लो समय युवा जमातमा कस्तो संगीत रुचाइँदै छ त ? ‘ह्यात्तेरी’ यसको उदाहरण हो ।

अहिले विक्की गुरुङ, यावेश थापा, समीर श्रेष्ठ, शाश्वत खड्का, आशुतोष केसी, बर्तिका एम राई, दिवस पोख्रेल, अपूर्व तामाङ, फोसफिन्सहरूका गीत यसैगरी युवा दर्शकको रोजाइ बन्दै आइरहेको छ । सामाजिक सञ्जाल युट्युब चहार्दैमा पनि उनीहरूका लोकप्रियताको साक्षी बन्न पाइन्छ । झट्ट सुन्दा उनीहरूका गीत उस्ता–उस्तै सुनिन्छन् । संगीतदेखि शब्द चयनको शैली फरक सुनिए पनि गायन समान देखिन्छ । आखिर युवा दर्शकको रुचि बन्दै गएको संगीतको यो विधा कस्तो हो ? लोफाइ र इडिएमको सम्मिश्रणमा मिसिएका स्वरले ल्याएको परिवर्तन के हो ?

‘सिंगर सङ राइटर’, ‘अकस्टिक पप’, ‘इन्डी’ जस्ता विधा युवाहरूले रुचाउन थालेको छ । सज्जनराज सिंगर सङ राइटर हुन् । यावेशले अभ्यास गरिरहेको विधा अकस्टिक पप हो । शाश्वतले आफूलाई ‘पप सिंगर सङ राइटर’ को परिचय दिइरहँदा फोस्फिन्स इन्डी विधामा रमाइरहेको देखिन्छ । बर्तिका लिरिकल, एब्स्ट्र्याक्ट गीतहरूको लेखन/गायनमा अगाडि देखिन्छिन् । अहिले सिंगर सङ राइटर सबैभन्दा बढी चलेको विधाको रूपमा लिन्छन्, संगीतकर्मी । यसले गीत लेख्नेदेखि संगीत आफैंले भर्ने भए । ‘सिंगर सङ राइटर’ सँगै इन्डी (स्वतन्त्र), लोफाइ (लो–प्रोडक्सन) र इडिएम (इलेक्ट्रोनिक डान्स म्युजिक) संगीत पनि मन पराउनेको जमात बढ्दै गएको ‘बतास’ गायक शाश्वतको भनाइ छ । ‘मेरो विचारमा अहिले इन्डी पनि चलेकै छ । त्योभन्दा बढी सिंगर सङ राइटर विधा चलेको देख्छु,’ शाश्वतले भने । इन्डी विधामा काम गर्नेहरू धेरै त अन्डरग्राउन्ड नै बस्न रुचाउँछन् । थोरै स्रोत साधनमै संगीत निर्माण गर्ने हुँदा इन्डीले गीतार बजाउन छोड्दैनन् । फोस्फिन्स ब्यान्डका भोकलिस्ट अभिषेक पोख्रेल अहिले बढ्दै गरेको सिंगर सङ राइटरहरूलाई पनि इन्डीकै रूपमा व्याख्या गर्छन् । ‘नेपालमा संगीत उद्योग ठूलो छैन । अहिले आइरहेको सिंगर सङ राइटरहरू स्वतन्त्र रुपले नै आइरहेका छन्,’ उनले भने, ‘सज्जनराज पनि इन्डिपेन्डेन्ट हो । संगीत क्षेत्रमा राज्यको ध्यान नपुगेका कारण हामीकहाँ राम्रो रेकर्डिङ स्टुडियो पनि छैन । तर पनि कलाकार आफैंले गीत बनाइरहेका छन् । विश्वमा भएकै विधालाई हामीले यता पनि अभ्यास गरिरहेका छौंजस्तो लाग्छ ।’ अहिले इन्डी रक, इन्डी पप अनि इन्डी एक्सपेरिमेन्टल गीतहरू युवाले रुचाइरहेका अभिषेकको अनुभव छ । उनी सज्जनलाई सुन्ने भीडले आफूहरूलाई पनि सुन्न थालेको सुनाउँछन् । ‘अहिले सज्जनराज वैद्यलाई सुन्ने भीडले पनि हामीलाई सुनिरहेको छ । हामीले इन्डी पप, इन्डी रक अभ्यास गर्दैछौं । सज्जनहरूको अगाडि हामी अन्डरग्राउन्ड संगीत गर्नेहरू भयौं । फलोवर्स पनि आर्टिस्टिक, आर्टमा मन पराउनेहरू हुनुहुन्छ,’ उनले भने, ‘खासमा टिन एजर्सहरूले सज्जनराजहरूलाई सुन्छन् । तर, हामीलाई सुन्नेहरू १८ वर्षभन्दा माथिका पनि छन् । उमेरमा दुई बीसको हाराहारीकाले पनि हामीलाई सुनिरहेको भेट्छु ।’

युवा संगीतकर्मीले अभ्यास गरिरहेको अहिलेको यो विधा नौलो भने होइन । विश्वमा पहिल्यै अभ्यास भइसकेको यो संगीतलाई अहिले युवा गायक/गायिकाले पछ्याउन थालेपछि चर्चा चुलिएको मात्र हो । यसअघि अमेरिकामा जोन मेयरहरूले युवालाई लक्षित गरेर अकस्टिक गीतहरू निकाल्थे । यस्तो संगीत सन् १९८० देखि ९० को दशकसम्म पपुलर कल्चरका रूपमा चल्यो । एकातिर बिटल्सहरूले सिंगर सङ राइटरको रुपमा काम गरिरहँदा बब डिलनहरूले इन्डी अभ्यास गरेको देखिन्थ्यो । अहिलेका सिंगर सङ राइटर र इन्डिपेन्डेन्ट (स्वतन्त्र) संगीमा युवा दर्शकको भावना समेटिएका हुनाले पनि यो संगीत युवामा निकै रुचाइएको इथ्नोम्युजिकोलजीमा पीएचडी गरेका लोचन रिजाल बताउँछन् । ‘यो खालका गीत आउनु सकारात्मक पनि हो । यस्ता गीतहरूले अमेरिकाको संगीत उद्योग विकास हुँदै गएको थियो,’ लोचनले भने, ‘यस्तो खालको विधा पछ्याइरहेको गायक/संगीतकार आफैं पनि युवा उमेरको हुनुहुन्छ । त्यही भएर युवा दर्शकमा उहाँहरूले आफ्नो समय र समान भावनालाई पस्किरहनुभएको छ । आर्ट, क्लासिकल, स्थानीय संगीत पप–कल्चरभित्र पर्दैन ।’

प्रविधिको विकाससँगै घरमै रेकर्डिङ

स्वतन्त्र रूपले चम्किएका आर्टिस्टहरूले हिजोआज आफ्नै घरको कोठालाई रेकर्डिङ स्टुडियो बनाउने गरेका छन् । सज्जनका अधिकांश चर्चित गीतहरू उनले आफ्नै सुत्ने कोठामा रेकर्ड गरेका हुन् । स्टुडियोमा रेकर्ड गरेजस्तो त नहोला, तर प्रविधिले कोठामै रेकर्ड गर्न सहज गराइदिएको उनको अनुभव छ । ‘कोठामा कसरी राम्ररी रेकर्ड गर्न सकिन्छ भन्ने सोचेरै संगीत निर्माण गरिरहेको हुन्छु । कहिले सोफामाथि माइक राखेर रेकर्डिङ गर्छु । पर्खाइ बोलको गीत साथीको दराज छेउमा पर्दा राखेर रेकर्ड गरेको थिएँ,’ उनले सुनाए ।

सज्जनले भनेझैं अहिलेका आर्टिस्टका लागि रेकर्डिङ सजिलो भइदियो । यावेशले आफ्ना गीत कोठामै रेकर्ड गरेर युट्युबमा राख्थे । प्रविधिले संगीत निर्माण गर्न सहज बनाइदिएकै कारण इन्डी आर्टिस्टहरू बढेको अभिषेक बताउँछन् । ‘प्रविधिको विकासले अहिले इन्डी म्युजिक गर्नेहरू बढेका हुन् । विश्वका कलाकारले अभ्यास गर्दै आइरहेको रेकर्डिङ स्टुडियो भने हामीकहाँ छैन,’ उनले भने, ‘हामीले घरबाटै रेकर्डिङ गरेर सुरु गर्‍यौं । आफैं सिक्ने, आफैं संगीत भर्ने अनि आफैं रेकर्ड गरेका गीत दर्शकलाई मन पनि पर्छ । अहिलेको यो अभ्यास राम्रो पनि हो ।’ कुनै बेला स्पुलमा रेकर्डिङ गरिन्थ्यो । त्यसपछि अडाट हुँदै डिजिटल अडियो टेपको जमाना आयो । अहिले इन्टरनेटबाट थुप्रैले आफैंले संगीत निर्माण गर्न सिके । संगीत निर्माणदेखि रेकर्डिङ शैली उस्ता–उस्तै भएकै कारण अहिलेका गीतहरू उस्ता–उस्तै सुनिएको लोचनको धारणा छ । संगीतकार रोहित शाक्य, सज्जन, यावेश अनि प्रवेशकुमार श्रेष्ठहरूका शैली उस्तै सुनिनुमा दर्शक कारक देख्छन् ।

‘दर्शक पनि उनीहरूबाट उस्तै शैलीका गीत खोजिरहेका छन् । अब दर्शक आर्टिस्टहरूले दिने संगीतबारे अवेयर हुनुपर्छ,’ उनले भने । लोचन युवा संगीतकर्मी फरक धुन निकाल्न खोजिरहेको देख्छन् । ‘अहिलेको गीतार बजाउने शैली पहिलाको जस्तो छैन । उनीहरू थुप्रै शैलीका धुनहरू गीतारमा बजाउँछन् । पहिला त्यही मेजर/माइनरमा गीत बन्थ्यो । प्रविधिको पहुँच र सिकाइकै कारण उनीहरू गितार पनि एकदमै फरक बजाइदिन्छन्,’ लोचनले भने,’ अहिलेको आर्टिस्टहरूको सबैभन्दा मन परेको कुरा, उनीहरू दर्शक लक्षित गरेर संगीत गरिरहेका छन् । साउन्ड एकदमै फरक निर्माण गर्न खोजिरहेका छन् ।’

अहिलेका संगीतकर्मीले पश्चिमा संगीत पछ्याइए पनि उनीहरूका गीतमा नेपालीपन भेटिने गरेको सत्य लोचन स्विकार्छन् । भन्छन्, ‘क्लासिकल गायक हुन त खतरा तपस्या नै गर्नुपर्छ । तर, अहिलेको युवा पुस्ताले गरिरहेको संगीत मलाई मनपर्छ । वेस्टको पप स्टार जतिकै राम्रो कलाकार अहिले हामीकहाँ छन् जस्तो लाग्छ । यसरी नै सिक्दै अगाडि बढ्ने हो ।’ शाश्वत पनि लोचनका कुरामा सहमत देखिन्छन् । ‘आजभोलि प्रचलनमा आइरहेको इन्डी विधाभित्र पनि नेपालीपन देख्छु,’ उनले भने । सज्जनकै ‘ह्यात्तेरी’ मा पुरानो गीतको इम्पोभाइज्ड (स्लो+रिभर्भ) भर्सन मिसिएको छ । ‘रातो रानी फुलेझैं साँझमा । तिमी फुल्यौ कलेजी माझमा...’ को इम्पोभाइज्ड भर्सनले गीतमा झनै मिठास भरिदिएको भन्ने कमेन्टहरू ‘ह्यात्तेरी’ मा प्रशस्तै भेटिन्छन् । यसअघि ‘एक सर्वनाम’ बोलको गीतमा फिल्म ‘माइतीघर’ को नमान लाज यस्तरीको इम्पोभाइज्ड भर्सन घुसाइएको थियो ।

सरल र सजिलो

युवा दर्शकले सरल अनि सहज संगीत रुचाउने संगीतकार रोहित शाक्यको विश्लेषण छ । ‘पहिला कुनै संगीत सुन्नलाई त्यो संगीत गर्ने आर्टिस्टलाई नै फलो गरिन्थ्यो । तर, अहिले त सबै संगीत ब्याकग्राउन्डमा बज्ने गरी सुनिरहेका छन् । क्यासेट बजाएर सुनौं भन्ने हुँदैन । केही काम गरिरहँदा पनि ब्याकग्राउन्डमा संगीत बजिरहोस् भन्ने तरिकाले प्रयोग गर्छन्, ‘उनले भने, ‘त्यसो गर्दा संगीतले ध्यान भंग गर्दैन र रुचाइँदो रहेछ । धेरै सोच्नुपर्ने अनि ध्यान दिनुपर्ने संगीत दर्शकले रुचाउँदैनन् ।’ रैथाने संगीतको खोज अनि ‍जगेर्नामा व्यस्त गायिका झुमा लिम्बूको भनाइ पनि रोहितको भन्दा खासै फरक छैन । ‘उनीहरूले गर्ने संगीतमा स्ट्रेस छैन । बोलीचालीको भाषामा बनेका छन् गीत । बुझ्नलाई

अप्ठ्यारो नपर्ने खालका छन्, ‘उनले भनिन्, ‘२० वर्ष अगाडि फलाना गीतकारले लेखेको गीत राम्रो हुन्छ भन्ने मान्यता थियो । अहिले त्यो भत्कियो । युवालाई यो मेरै कथा हो भन्ने भावना जगाइदिने संगीत चलिरहेको छ ।’ ५ करोड बढीले युट्युबमा हेरेको शाश्वतको ‘बतास’ गाउन सजिलो र बुझन् गहिरिनु पर्दैन । शब्द, रचना पनि उस्तै छोटो र मिठो छ ।

व्यावसायिक बजारलाई चुनौती दिइरहेको अहिलेको यो संगीतले युवा भावना समेटेकै कारण ठूलो संख्याको दर्शकले रुचाइदिएको शाश्वत बताउँछन् । ‘इन्डीमा फिलिङहरू जस्तो छ त्यस्तै आउँछ । त्यस्तो भएपछि दर्शकलाई त्यो गीत आफ्नै लाग्ने भयो, आफूले भोगेकै भावना छ भन्ने हुन्छ, ‘उनले भने, ‘अहिले टिकटकका कारण पनि धेरै गीत दर्शकले आफ्नो जीवनसँग जोड्न पाएका छन् ।’

आफूहरूले दर्शकलाई नयाँ संगीत दिन खोजिरहेको र विस्तारै यसमा सफलता मिलिरहेको यावेशको भनाइ छ । ‘हामी आफ्नै शब्द र संगीतमार्फत दर्शकबीच पुगिरहेका छौं,’ उनले भने । तर चर्चामा रहेको यो विधाको आयु भने लामो नरहने लोचनको विश्लेषण छ । भन्छन्, ‘यो एउटा समयको कुरा हो । आजभन्दा २/३ सय वर्ष अगाडि यसरी नै गन्धर्वका गीतहरू चर्चामा थिए । त्यसपछि नारायण गोपालहरू आइपुगे । त्यसपछि क्रसरोड्स, नवीन के भट्टराईहरू आए । आधुनिक गीतको जमाना आयो । अहिले चर्चामा आएको संगीतले व्यवसायमा राम्रै गर्ला तर समयसम्म रहँदैन होला ।’

तर सन् २०१० बाट सिंगर सङ राइटर शैली अभ्यासमा आएको हुनाले अझै लामो समय टिक्ने रोहितको बुझाइ छ । ‘बल्ल यो संगीत सुरु हुँदै छ । सुन्दा–सुन्दा वाक्क भइसकेपछि यो संगीत हराउँदै जाला । तर, अझै केही समय त चल्छ होला,’ उनले भने । ‘जति नै गहिरिएको संगीत भए पनि एउटा भुइँमान्छेले गीतलाई जसरी बुझ्छ, त्यही संगीत चर्चामा आउने हो ।’ यो संगीतको आयु यकिन गरेर यति नै भन्न नमिल्ने झुमा बताउँछिन् । ‘अहिले फ्याट्ट चर्चामा आउन सजिलो छ । अनि फुत्त हराउन पनि समय लाग्दैन ।’

प्रकाशित : पुस २६, २०७९ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्

आधा दर्जन फिल्मले ल्याएको उत्साह र आसा

रीना मोक्तान

काठमाडौँ — कोभिडपछि कस्ता फिल्म बन्नुपर्छ ? एक पत्रकार सम्मेलनमा निर्देशक नवीन सुब्बाले यो प्रश्नको जवाफमा भनेका थिए, 'महामारीपछिका फिल्म मौलिक, गुणात्मक र प्रतिस्पर्धी हुनुपर्छ ।'

नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्न नसके नेपाली फिल्मको अस्तित्त्व नै नरहनेसमेत भनाइ सुब्बाले राखेका थिए । के महामारीपछिका फिल्ममा यी तत्त्वहरु भेटिन्छन् त ? अंग्रेजी वर्ष २०२२ लाई फर्केर हेर्दा आधा दर्जन फिल्म यी गुणहरुले भरिएको भेटियो । यो वर्ष प्रदर्शनमा आएका दर्जन बढी फिल्महरुमा केही फिल्महरुले भने नेपाली फिल्मको नयाँ पहिचान बनाउने प्रयास गरेको देखिन्छ । यी फिल्महरुमा कमजोरी पक्कै थिए । तर फिल्म निर्माणका केही त्रुटीहरुकाबीच पनि व्यवसायिक बजारलाई चुनौति दिँदै फरक धारका फिल्महरु बन्नु फिल्म क्षेत्रका लागि साँच्चै यो वर्ष उत्साह र आसाको वर्ष बन्यो ।

व्यवसायिक रुपले करोडौं कमाउने 'कब्बडी ४'देखि 'ऐना झ्यालको पुतली'जस्ता फरक शैलीका फिल्मले पनि दर्शक पाइरहनु यो वर्ष फिल्म नगरीमा देखिएको आसलाग्दो दृश्य हो । आसा गरिएका फरक धारका केही फिल्महरुले बक्स अफिसमा पानीसमेत भन्न नपाउनु लगानीकर्ताका लागि दु:खको कुरा होला तर यी फिल्महरुले दर्शकमा रोपेको नयाँ स्वादले पक्कै फिल्म लिट्रेसीमा टेवा पुर्‍याउनेछ । अन्तर्राष्ट्रिकरणकै हिसाबले हेर्ने हो भने लघु फिल्म 'लोरी'को कान्स जीत, अनि 'ऐना झ्यालको पुतली'ले 'ढाका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल'मा उचालेको अवार्डले पनि फिल्महरुमा नयाँ उत्साह थपिदिएको छ ।

त्यस्तै, सन्तोष सेन निर्मित 'प्रेमगीत ३'ले छिमेकी राष्ट्र भारतको ठूलो बजारमा टेकेको कदमले वैकल्पिक बाटोको सम्भावना पनि देखाइदियो । यो वर्ष बलिउड फर्मुलाका फिल्महरु नबेका होइनन् तर फरक धारका फिल्महरुको पाएको प्रतिक्रिया, दर्शक अनि अनेक उपलब्धिहरुले वर्ष २०२२ फिल्म क्षेत्रका लागि फलदायी रह्यो भन्दा फरक नपर्ला । २०२३ मौलिक, गुणात्मक र प्रतिस्पर्धी फिल्महरुको वर्ष बनोस् ! अब फर्केर हेरौं २०२२ का फरक शैलीका फिल्महरु:

ऐना झ्यालको पुतली

२० औं ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको सुजित बिडारी निर्देशित 'ऐना झ्यालको पुतली' यो वर्ष नेपालबाट ओस्कारमा सिफारिस गरिएको फिल्म हो । फरक विषयवस्तु, फरक कथ्य शैलीका यस्ता फिल्महरु महोत्सव लक्षित गरी बनाइएका हुन्छन् । तर निर्देशक बिडारीले यो फिल्मलाई नेपाली बजारमै प्रदर्शन गर्नका लागि बनाए । फर्मुला फिल्म, दुईअर्थी संवादले भरिएका कमेडी फिल्म मन पराइरहेको बजारमा बिडारीले 'ऐना झ्यालको पुतली' प्रदर्शन गरेर चुनौति मोल्नु आफैंमा सकारात्मक विषय हो । यही फिल्ममार्फत नेपाली फिल्म क्षेत्रले एक सुन्दर कथ्यवाचक प्राप्त गर्‍यो ।

दिदीभाइको सम्बन्धमाथि बनाइएको 'ऐना झ्यालको पुतली'मा खासै ठूला मुद्दा समेटिएको छैन । तर त्यही सम्बन्धहरुको सुक्ष्मताबीच बिडारीले देखाइदिएको नेपाली समाज, गरिबी अनि महिलाका चित्रणले भने बहसको सुरुवात गरिदियो । दिदीभाइको सम्बन्ध, उनीहरुले बाँचेको समय र भूगोलमार्फत धेरै दर्शक आफ्नो बाल्यकालमा फर्किए । केन्द्रीय द्वन्द्वमा प्रष्ट पटकथा, बाल मनोविज्ञानलाई केन्द्रमा राखेर बुनिएको संवाद, चरित्रहरुको स्थापनादेखि अवतरणमा गरिएको मिहेनत, एस्पेक्ट रेसियोको खिचाइ, ध्वनीमा देखाएको चलाखी थुप्रै पक्षहरुले यो फिल्मलाई बलियो बनाएको छ ।

प्रकाश

दिनेश राउतजस्ता व्यवसायिक फिल्मकर्मीहरुमा फरक शैलीका फिल्म बनाउने चाह थपिनु नेपाली फिल्म क्षेत्रले २०२२ मा पाएको राम्रो सफल्ता हो । हुन त यसअघि 'प्रसाद'मार्फत नै राउतले फिल्म निर्माणमा केही नयाँ गर्ने आभास दिलाएका थिए । तर 'प्रकाश'ले भने राउतबाट अझ परिस्कृत कामहरुको आसा जगाइदिएको छ । प्रदीप खड्का अभिनित 'प्रकाश' विभेद, हली जीवन, द्वन्द्वमा आफ्नालाई गुमाउनेहरुको पीडा समेटिएको थियो । दुर्गम गाउँमा जन्मिएका एक पात्रले आफ्नो गरिबीबीच शिक्षक बन्ने सपना पूरा गर्न कस्तो आर्थिक, सामाजिक अनि राजनैतिक समस्याहरुको सामना गर्नुपर्छ भन्ने कथा फिल्ममा समेटिएको थियो । जुम्ला को लवज, भाषा अनि त्यहीँका पात्रहरुमार्फत देखाउन खोजिएको संसारमा दर्शकले मौलिकपना भेटे ।

यही फिल्ममार्फत 'सिंक साउन्ड'मा उत्तम न्यौपानेले गरेको नयाँ अभ्यासा तारिफलायक थियो । ध्वनिले पनि फिल्ममा कथा वाचनको लय पक्रेको कुरा पात्रहरूको तनाव बढ्दै जाँदा गड्याङगुडुङ गर्ने आकाशको बिम्बले प्रष्ट पार्थ्यो । सपना प्रेम र राजनीतिको समिश्रणमा भनिएको फिल्मको कथाले दर्शकको मन हुँडल्यो । तर यही फिल्ममार्फत कोटा प्रणालीलाई घुमाउरो शैलीमा प्रहार गर्ने फिल्मकर्मीको नियतमाथि भने फिल्म वृतमा ठूलो बहस छेड्यो ।

दोख

१० वर्षसम्म चलेको माओवादी सशस्त्र द्वन्द्वको प्रभावमा परेकाहरुको सन्तुलित कथा समेटिएको फिल्म हो 'दोख' । रंगकर्मी एवं निर्देशक अनुप बराल निर्देशित यो फिल्म बन्न लामो समय लाग्यो । युद्धको असरमा केन्द्रित यो फिल्मले युद्धकै कथा त भन्दैन । तर तर युद्धको पृष्ठभूमिमा लेखिएको फिल्मले युद्धले बनाएका घाउहरू समेट्छ । जुन घाउ खतका रुपमा अझै बाँकी छन् । माओवादी युद्धको समयमा दुई पक्षबीच पिल्सिएका जनता, उनीहरूको मनस्थिति र बाँच्ने संघर्ष फिल्ममा देखाइएको छ । नेपाली समाजले भोगेको एउटा यस्तो कालखण्डको यथार्थ चित्रण गरिएको यस फिल्ममा पात्रहरू समाजबाट टप्पक्क टिपिएका देखिन्छ भने ठेट संवाद दर्शकलाई फिल्मसँग जोड्ने बलियो कडी बन्यो । फिल्ममा थुप्रो चरित्रलाई उत्तिकै स्थान दिन खोज्दा एउटै गतिमा फिल्म नहिँडेको आभास हुन्छ । युद्ध र फुटबलको कथालाई समानन्तर ढंगले लैजान नसक्दा फिल्मको केन्द्रीय द्वन्द्व अलमलमा पर्छ । चुथ्रे विवादले दुई गाउँबीच फुटबल प्रतिस्पर्धा आयोजनाको घोषणा त हुन्छ । तर फिल्मको कथा युद्धतिर बढी ढल्किँदा मध्यान्तरसम्म फुटबलको प्रसंग हराएको हो कि भन्ने पनि लाग्छ । यी कमजोरीका बावजुद पटकथा, निर्देशन अनि प्राविधिक पक्षको तालमेलले फिल्मलाई सुन्दर बनाएको थियो ।

चिसो एस्ट्रे

दीन्स पाल्पाली निर्देशित फिल्म 'चिसो एस्ट्रे'मा कथा थिएन तर प्रस्तुतिकरण थियो भन्दा फरक पर्दैन । फर्मुला फिल्मको नियम तोड्दै नयाँ प्रयोग गरिएको यो फिल्म कवितात्मक संवाद, रंगहरूको कलात्मक संयोजन, सुन्दर फ्रेममा कैद गरिएका दृश्य एवं नौलो कथ्य शैलीले भरिएको थियो । तर कवि भूपी शेरचनको कविता 'चिसो एस्ट्रे'मा आधारित यो फिल्ममा खासै कथा भने थिएन । काठमाडौंमा सपना लिएर आइपुगेका पात्रहरुले शहरसँगको अन्तरघुलनमा आफ्नो विश्वास, निर्दोषपना अनि मान्यतासँगै चुकाएका मूल्यमा फिल्मको कथा केन्द्रित छ । जीवन चलाउनका लागि काठमाडौंमाख ट्याक्सी हाँक्दै आएका पात्रसँग भेटिने पात्रहरु अनि एउटा समयपछि छुटिँदै जाने सम्बन्धहरु फिल्ममा समेटिएको छ । यो फिल्ममा आँखा जुध्दा 'आँखा तर्‍यो' भनेर निहुँ खोज्ने युवा उमेर, उम्लिएको रगतको मात, जवानीको जोश अनि हराएको होस देखाउँछ । सहरका गल्लीहरूमा भेटिने मदन, ज्याकी, रोनी र शालीनताको कथाले दर्शकलाई बाँधेर राख्छ । दिव्यको गहकिलो स्वरमा कथा वाचन । कविताको लयमा बग्ने संवाद अनि कलाकारहरूको बेजोडको अभिनय फिल्मको सबैभन्दा बलियो पक्ष बन्यो तर कथा नहुँदा खल्लो स्वाद पस्कियो ।

पानी फोटो

द्वन्द्वमा हराएको छोराको आसमा पर्खिरहेको एउटा जोडीको आसा, छटपटी अनि पीडाको मिश्रण समेटिएको छ फिल्म 'पानी फोटो'मा । खगेन्द्र लामिछाने निर्देशित यस फिल्ममा अभिनयका गुरु अनुप बराल र मेनुका प्रधानले आफ्ना छोराको आसमा बिताएको क्षणलाई निकै मार्मिक ढंगमा देखाइएको छ । द्वन्द्वको समयमा हराएकाहरुको पर्खाइ मात्रै होइन पर्खेकाहरुले खोज्नलाई गरेको संघर्ष, गर्ने यात्राहरु फिल्ममा प्रस्तुत छ । त्यस्तै प्रेमीकै पर्खाइमा रहेका कयौं प्रेमिकाहरुको आशाका रुपमा राधा(मलिका महत) पात्रलाई पनि देखाइएको छ । द्वन्द्वमा हराइएका, लखेटिएका, बेपत्ता पारिएका पात्रहरु फिल्ममा देखिन्छन् । द्वन्द्वकै प्रभावमा लेखिएको यो फिल्मले भन्ने हृदयस्पर्धी कथाले अझै द्वन्द्वमा हराएका आफन्त, इष्टमित्रले गरेको पर्खाइको झल्को दिन्छ ।

चिसो मान्छे

कोभिडको सेटिङमा तयार भएको 'चिसो मान्छे'ले आफ्नो पतिको शवलाई बाजुरासम्म पुर्‍याउन गरिएको यात्राको कथा भन्छ । कोभिडकालमा कतार पुगेका छोराको शव लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका बाबु(देशभक्त खनाल) र पत्नी(स्वस्तिमा खड्का)को दृश्यबाट फिल्म अगाडि बढ्छ । शव लिएर बाजुरा पुग्दै गर्दा त्यही पत्नीमा देखिने परिवर्तनमा कथा केन्द्रित छ । उनी आफ्नो पतिको शवलाई लिएर किन चिसो छिन्, दुईको सम्बन्ध आखिर कसरी चिसो बन्यो भन्नेतर्फ जब फिल्मको कथा खुल्दै जान्छ दर्शकको ध्यान पनि तान्दै जान्छ । पतिको शवलाई बाजुरासम्म पुर्‍याउँदा आफूलाई चिनेकी एक महिला पात्रको कथा 'चिसो मान्छे'मा बेजोडले देखाइउको छ । पटकथामा केही कमजोरी भेटिए पनि पुरुष निर्देशक दीपेन्द्र के खनालले महिलाका विषयवस्तु, मनोविज्ञानलाई यसरी पर्दामा पस्कन खोज्नु पनि प्रशंसाको विषय हो ।

राधा

सुवर्ण थापा निर्देशित 'राधा' प्रदर्शनमा आएका यी फरक धारका फिल्महरुमध्येमा सो पाउनकै लागि धेरै संघर्ष गर्नुपरेको फिल्मको अग्रपंक्तिमा पर्‍यो । हराएको पतिलाई खोज्न एउटी पत्नीले गर्ने संघर्ष, त्याग र आसाको कथा 'राधा'मा प्रस्तुत छ । फिल्मको प्रमुख पात्र हुन् राधा(श्रृष्टी श्रेष्ठ) । आफ्नो पतिलाई खोज्न राधाले गर्ने हर प्रयास, चाल्ने हर कदमलाई सशक्त दृश्यभाषामार्फत राधामा देखाइएको छ । लामो समयपछि फिल्म निर्माणमा फर्किएका सुवर्णलाई भने 'राधा'ले निरुत्साहित पार्‍यो । प्रदर्शनको केही दिनमै फिल्म हलबाट निकाल्नु परेको थियो ।

यससँगै अन्य कतिपय सर्ट फिल्महरू अन्तर्राष्ट्रिय मञ्चहरूमा जाने अवसर पाए । र तिनले राम्रो प्रशंसा पनि पाए । यसबीचमा केही नयाँ फिल्मकर्मीका कामले फिल्म क्षेत्रमा उत्साह थपेका छन् ।

प्रकाशित : पुस १७, २०७९ २०:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×