गठबन्धन बचाउन नसक्नुमा पाँचवटै दल जिम्मेवार : नेता केसी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गठबन्धन बचाउन नसक्नुमा पाँचवटै दल जिम्मेवार : नेता केसी

कृष्ण थापा

नुवाकोट — नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले गठबन्धन बचाउन नसक्नु पाँच वटा दल उत्तिकै जिम्मेवार रहेको बताएका छन् । देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको पाँचौ साधारणसभामा शुक्रबार बोल्दै नेता केसीले भने,‘यो गठबन्धनलाई सँगै लिएर जान्छु भन्ने पाँचै वटा दल त्यत्तिकै जिम्मेवार छन् । गठबन्धनलाई बचाउन नसक्नु भनेको नेतृत्व गर्ने पक्ष हाम्रो कमजोरी हो ।’ 

नेता केसीले नेतृत्व तहले समयमा कुरा नबुझेर चुकेको बताए । उनले भने,‘समयमा कुरा नबुझेर चुकिसकेको छ । चुकिसकेपछि अहिले गएर अलमल, गोलमाल गर्नुभन्दा समय आउँदै गरोस् हेरौं।’ उनले यो सरकारको गुण र दोषको आधारमा सशक्त प्रतिपक्षको रुपमा उभिने बताए । उनले भने,‘रचनात्मक लोकतान्त्रिक प्रतिपक्षको रुपमा राम्रो कुरालाई सहयोग गर्ने र जनहितविपरीतका कुराको विरोध गर्छौं र जनताको बीचमा पुर्‍याउँछौं ।’

नेता केसीले सत्तामा नजाँदैमा नेपाली कांग्रेसले शक्ति नगुमाउने बताए । ‘त्यो शक्ति भनेको नेपाली जनता हो,’उनले भने,‘त्यो शक्ति भएकाले हामी हामी भएका हौं । त्यो शक्तिलाई कसरी सशक्त बनाउन सकिन्छ भन्नेमा हामी लाग्नु पर्छ,’।

उनले बुबाआमालाई वृद्धाश्रमसम्म पठाउन तथा जान बाध्य पार्नु नराम्रो पक्ष भएको बताए । उनले प्रतिष्ठानलाई हरतरहबाट सम्पूर्ण सहयोग रहने आश्वासन दिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सीता मिजारले प्रतिष्ठानमा आश्रय लिँदै आएका जेष्ठ नागरिकलाई आगामी दिनमा पालनपोषण, हेरचाह, स्वास्थ्योपचार लगायतमा राज्यका निकायदेखि जनप्रतिनिधि र सन्तति सबैको जिम्मेवारी हुनुपर्ने बताइन् ।

कार्यक्रममा विदुरका नगरप्रमुख राजन श्रेष्ठ, बेलकोटगढीका नगरप्रमुख जगतबहादुर गुरुङ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवीलगायतले प्रतिष्ठान गर्दै आएका कामको प्रशंसा गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष बिन्दा अर्यालको आर्थिक प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा निर्वाचित संघीय तथा प्रदेश सांसदलाई सम्मान र प्रतिष्ठान संचालनका लागि सहयोग गर्ने आजीवन सदस्य, विशेष सदस्यसहित सहयोगी दाताहरुलाई दोसल्ला ओडाएर प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रकाशित : पुस २२, २०७९ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्

नुवाकोट विदुरमा पुस २७ गते सार्वजनिक बिदा 

कृष्ण थापा

नुवाकोट — विदुर नगरपालिकाले यही पुस २७ गते बुधबार सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय एकीकरण दिवसको अवसरमा पुस २७ गते नगरपालिका कार्यालय र अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालले बताए ।

यही पुस १७ गते नगरपालिकाको बैठकको निर्णयअनुसार उक्त दिन सार्वजनिक बिदा दिने भएको विदुर नगरपालिकाले सूचनामा उल्लेख गरेको छ ।

यस्तै राष्ट्रिय शक्ति नेपालले पुस २७ गते राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिन माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । गोरखाका राजा पृथ्वीनारायण शाहले १८०१ सालमा नुवाकोट एकीकरण गरेर नेपाल अधिराज्यको सुरुवात गरेका थिए । उनले विदुर नगरपालिका-२ पुरानो सदरमुकाम नुवाकोटडाँडामा पहिले नौतले (हाल साततले) दरबार निर्माण गर्न लगाई यहींबाट नेपालको राजधानीको रुपमा राज्य संचालन गरेका थिए । १८२५ सालमा हालको काठमाडौं (कान्तिपुर)का राजा जयप्रकाश मल्ललाई पराजित गरेपछि राजधानी काठमाडौं बनाएका थिए ।

पृथ्वीनारायण शाहको नुवाकोटडाँडामा रहेका दरबार र देहवसान भएको देवीघाटस्थित सालिकमा प्रत्येक वर्ष पुस २७ गते विविध कार्यक्रम गरी उनको योगदान र संझना गरिंदै आएको छ । नेपाल गणतन्त्र आएपछि पनि त्यस्ता कार्यक्रमहरु रोकिएका छैनन् ।


प्रकाशित : पुस २१, २०७९ १७:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×