प्रधानमन्त्रीले चासो नदिँदा जनगणनाको नतिजामा ढिलाइ

गणेश राई

काठमाडौँ — सरकारको हरेक अंग र निकायको आधारभूत उद्देश्य नागरिकको जीवनस्तर उकास्ने नीति, योजना तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने हो । त्यसका निम्ति मुलुकको जनसंख्या प्रमुख आधार मानिन्छ । जनसंख्याको सवालमा अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिंकनले भनेका थिए, ‘हामी कहाँ छौं र कता लाग्दै छौं भन्नेमात्र थाहा पायौं भने पनि हामीले के गर्ने र कसरी गर्ने भनेर बढी राम्रोसँग निर्णय लिन सक्नेछौं ।’

मुलुकमा १२ औं राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएको चौध महिना बितेको छ । तत्कालीन केन्द्रीय तथ्यांक विभागले सम्पन्न गरेको जनगणनाको प्रारम्भिक नतिजा गत माघमा प्रकाशित गर्‍यो । प्रारम्भिक नतिजाअनुसार मुलुकको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ । भौगोलिक आधारमा हिमाली भेगमा ६ दशमलब ०९ प्रतिशत बसोबास गर्छन् । पहाडमा ४० दशमलब २५ प्रतिशत र तराई भूभागमा ५३ दशमलब ६६ प्रतिशत बस्छन् । अन्तिम नतिजामा केही थपघट हुने जनाइएको छ । तर, अन्तिम नतिजा नआउँदा एघार वर्षअघिको तथ्यांककै आधारमा नीति, योजना तथा कार्यक्रम नै लागू भइरहेका छन् ।

देशको समग्र र प्रदेश तथा स्थानीय तहगत आधारमा जातिजाति, भाषा, धर्म, सामाजिक, आर्थिकलगायत विविध पक्षको नतिजा आउन बाँकी छ । सरकारले गत भदौमा तथ्यांक ऐन, २०७९ जारी गरेपछि प्रधानमन्त्री कार्यालय मातहत रहने गरी राष्ट्रिय तथ्यांक कार्यालय बनेको छ । तर प्रधानमन्त्री स्वयंले समय दिन नसक्दा जनगणनाको तथ्यांक सार्वजनिक हुन ढिलाइ भएको कार्यालयका अधिकारीले जनाएका छन् । जनसंख्याविद् योगेन्द्र गुरुङले धेरै निकाय, संघसंस्था, व्यक्तिले जनगणनाको नतिजा कुरिरहेको बताए । ‘जनगणनाको नतिजा जतिसक्दो चाँडो आओस् र प्रयोग गरौं भन्ने व्यग्र प्रतीक्षा गर्ने विश्वविद्यालयदेखि विभिन्न निकाय छन्,’ प्राध्यापक गुरुङले भने, ‘नयाँ ऐनअनुसार प्रधानमन्त्री मातहत रहेकाले राष्ट्रिय तथ्यांक कार्यालयले सरकारले यसको मर्म बुझ्न जरुरी देखिन्छ ।’

हरेक पालिका वर्षमा दुईवटा सभा बसेर नीति, योजना, कार्यक्रम बनाई बजेट विनियोजन गर्छन् । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका प्रमुख ज्ञानेन्द्र रुम्दाली राई यकिन तथ्यांकको अभावमा सकस भएको बताउँछन् । ‘जनसंख्याको यकिन तथ्यांक नहुँदा योजना निर्माण र स्रोत बाँडफाँट गर्न समस्या भएको छ,’ उनले भने, ‘यदि नयाँ तथ्यांक पाएको भए, त्यसैका आधारमा नयाँ योजना लिएर अघि बढ्थ्यौं ।’

नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले बाह्र वर्ष पुरानो तथ्यांकले योजना तर्जुमा गर्न अन्योल सिर्जना गरेको बताए । ‘पुरानो तथ्यांकले वडासभा, पालिका सभालाई प्रभावित तुल्याएको छ,’ उनले भने, ‘हरेक वडाको यकिन तथ्यांक चाहिन्छ । त्यो नहुँदा स्थानीय खानेपानी योजना तर्जुमा गर्नसमेत गाह्रो भइरहेको छ ।’

विभागका पूर्वउपमहानिर्देशक रुद्र सुवाल जनगणनाको नतिजा चाँडो प्रकाशित भएमा सरकारका विभिन्न निकाय र तहलाई नीति, योजना तर्जुमा गर्न सहज हुने बताउँछन् । ‘जनताकै निम्ति कार्यान्वयन गर्ने नीति, योजना निर्माणका निम्ति सान्दर्भिक हुन्छ,’ उनले भने, ‘आम मान्छे, केडेमियाहरूले त्यही तथ्यांकका आधारमा अध्ययन, अनुसन्धान गर्छन् । जति ढिलो भयो त्यसको सान्दर्भिकता कम हुन जान्छ ।’

तथ्यांक कार्यालयले गत असोजमा तथ्यांक सार्वजनिक गर्ने लक्ष्य लिएको थियो । मंसिरमा संघ र प्रदेशको चुनाव हुने भएपछि नतिजा पछाडि धकेलिएको थियो । चुनावलगत्तै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट नतिजा सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो । राजनीतिक परिदृश्य बदलिएसँगै पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि जनगणनाको नतिजा सार्वजनिक गर्ने समयतालिका पाउन नसकेको जनाइएको छ । ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिनुभएपछि मात्र जनगणनाको नतिजा सार्वजनिक गर्ने समय मिल्ने भएको छ,’ कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले भने, ‘राज्यलाई नयाँ तथ्यांक चाहिएको छ । संघ, प्रदेश र स्थानीय तहको तथ्यांक विश्लेषणको काम भइरहेको छ ।’ १९६८ सालमा पहिलो जनगणना भएको थियो । त्यसयता हरेक दस वर्षमा जनगणना हुँदै आएको छ । अन्तर्राष्ट्रिय प्रचलन र वैज्ञानिक हिसाबले नेपालमा पहिलो पटक २०१८ सालको जनगणना देशभर एकै समयमा भएको थियो । त्यसयता सातवटा जनगणना अन्तर्राष्ट्रिय मान्यताअनुकूल सम्पन्न भएका थिए भने असार ८ गतेलाई ‘जनगणना दिवस’ कायम गरिएको थियो ।

कोभिड–१९ महामारीको दोस्रो लहर फैलिएपछि १२औं राष्ट्रिय जनगणना निर्धारित मितिभन्दा पाँच महिना पछि धकेलिएको थियो । ०७८ जेठ २५ गतेबाट असार ८ गतेभित्र सम्पन्न हुनुपर्नेमा कात्तिक २५ गतेबाट मंसिर ९ गते सम्पन्न भएको थियो ।

प्रकाशित : पुस २२, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्

आँगनैपिच्छे तान

‘हातमा सीप नभएपछि के गरेर खान्छे भने र प्रश्न गर्थे, त्यसैले पनि सिक्यौं’
महेश केसी

रुकुम पूर्व — हिउँदको पहारिलो घाम ताप्दै भुमे–६ महतकी रामु बुढामगर तानमा बख्खु बुन्न व्यस्त थिइन् । भेडाको ऊनबाट बख्खुलगायत कपडा बनाउनु उनको दैनिकी हो । यहाँका धेरै महिला यसरी नै काम गरिरहेका भेटिन्छन् । उनले १२ वर्षको उमेरबाट ऊनका कपडा बुन्न थालेकी हुन् । ‘अहिले ६१ वर्षकी भएँ,’ उनले भनिन्, ‘१० वर्ष लागेपछि आमाले सिकाएर कपडा बुन्न लागेकी हुँ ।’

पहिले भेडा पालन प्रमुख पेसा हुन्थ्यो । त्यसैले ऊनबाट कपडा बुन्ने सीप धेरैको हातमा छ । प्रत्येक घरमा तान लगाएर ऊनबाट कपडा बनाउने गरिएको काँक्रीकी रम्बा पुनले सुनाइन् । उनका अनुसार महिलामा यो सीप अनिवार्यजस्तै मानिन्छ । ‘पुरुष भेडा चराउन खर्क जान्छन्,’ उनले भनिन्, ‘हामी घरमा बसेर राडी–पाखी बनाउँछौं ।’

६५ वर्षीया रम्बा पहिलेका दिन सम्झिँदा रमाइलो लाग्ने बताउँछिन् । ‘ऊ बेला त तानको सीप नभएकाको बिहे नै हुन गाह्रो हुन्थ्यो,’ उनले भनिन्, ‘सीप नभए के गरेर खान्छे भनेर प्रश्न गर्थे, त्यसैले सिकियो ।’

पछिल्लो पुस्तामा तानबाट घरबुना कपडा बनाउने सीप हस्तान्तरण हुन सकेको छैन । थोरैले मात्र यस्तो सीप सिक्ने गरेको रम्बाले बताइन् । पछिल्ला पिँढीले नसिकेकामा उनलाई दुःख लागेको छ । भेडाको ऊनबाट घरबुना कोट, जुहारी कोट, इस्टकोट, पेटी, कम्मल, राडीपाखी, बर्की, टोपी र पटुकी आदि तयार पारिन्छ ।


भेडाको ऊनबाट बनाइएका कपडाले बर्खाको झरीबाट बचाउने गरेको तकसेराका दलबहादुर घर्तीले बताए । आफूहरू अहिले पनि भेडी गोठ जाँदा लगाउने कपडाका रूपमा ऊनबाट बनेका कपडा नै प्राथमिकतामा पर्ने गरेको उनको भनाइ छ । ‘भेडाको ऊनले झरी र चिसो छल्छ,’ उनले भने, ‘हामी त यही कपडा अहिले पनि प्रयोग गर्छौं । यो अरूभन्दा मजबुत हुन्छ । गोठमा बस्दा न्यानो पनि हुन्छ ।’ तान र घरबुना कपडा आफूहरूको सान र चिनारी भएको उनले बताए । पहिले–पहिले ऊनबाट जस्ताको तस्तै कपडा बनाइने भए पनि हिजोआज प्रशोधन गरी तानमा राखेर कपडा बनाउने चलन बढेको छ । ‘पहिला भेडाको ऊनलाई हातैले कातेर डोरी बनाइन्थ्यो र तानमा राखेर कपडा बनाउँथ्यौं,’ रम्बाले भनिन्, ‘अब त मेसिन प्रयोग हुन्छ । यसकारण काम गर्न पनि सहज छ, कपडा पनि आकर्षक बन्छन् ।’


रुकुम पूर्वमा भेडाको ऊन प्रशस्त पाइने भए पनि प्रशोधनका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको स्थानीय महिला बताउँछन् । गाउँमै ऊन प्रशोधन गर्ने प्रविधिको व्यवस्था भए यसले कपडामाथिको लागत घटाउने र बिक्री बढाउने उनीहरूको अनुमान छ । ऊनबाट बनेका कपडाको आकार–प्रकार र डिजाइनअनुसार १ हजारदेखि ५० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको रामु पुन बताउँछिन् । तर, उत्पादन बेच्ने बजार र ग्राहकको कमी हुँदा चाहेअनुसारको मूल्य पाउन छाडेको उनको गुनासो छ । भेडाको ऊनबाट कपडा बनाउने सीपको प्रवर्द्धन गर्दै यसको संरक्षण, पुस्तान्तरण र बजारीकरणका लागि भूमे गाउँपालिकाले प्रत्येक वडामा तालिम दिने उपाध्यक्ष सविना बुढाले बताइन् ।


ऊनका कपडालाई बजारसम्म पुर्‍याएर यसप्रतिको आकर्षण बढाउन योजना बनाएर गाउँपालिका लाग्ने उनको प्रतिबद्धता छ । ‘भेडाको ऊनबाट बनेका कपडालाई हामी यस क्षेत्रको ब्रान्डका रूपमा स्थापित गर्न चाहन्छौं,’ उनले भनिन्, ‘यसका लागि सीपको संरक्षण, पुस्तान्तरण र यसको सम्भावनालाई देखाउन जरुरी छ । त्यो हामी गर्छौं ।’

प्रकाशित : पुस २२, २०७९ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×