लुम्बिनी प्रदेशसभाका कांग्रेस उम्मेदवार कुर्मीविरुद्ध निर्वाचन कार्यालयमा उजुरी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी प्रदेशसभाका कांग्रेस उम्मेदवार कुर्मीविरुद्ध निर्वाचन कार्यालयमा उजुरी

मधु शाही

काठमाडौँ — निर्वाचन अधिकृतको कार्यालय बाँके निर्वाचन क्षेत्र नम्बर ३ को कार्यालयमा कांग्रेसका लुम्बिनी प्रदेशसभा उम्मेदवार बादशाह कुर्मीविरुद्ध उजुरी दर्ता भएको छ । उम्मेदवारी खारेजीको माग गर्दै बाँके निर्वाचन क्षेत्र नम्बर ३ (२) का कांग्रेस उम्मेदवार कुर्मीविरुद्ध उजुरी परेको हो ।

महिला अधिकार मञ्चले कांग्रेसबाट लुम्बिनी प्रदेशसभाका उम्मेदवार कुर्मीको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन कार्यालयमा उजुरी पेस गरेको थियो । उक्त उजुरी कात्तिक २९ गते दर्ता भएको निर्वाचन कार्यालय बाँके-३ की प्रमुख रमा पन्तले जानकारी दिइन् ।

कांग्रेस नेता एवं संविधानसभा सदस्यसमेत रहेका कुर्मीमाथि छिमेकी एकल महिला निर्मला कुर्मीलाई जग्गा हडप्ने उद्देश्यले बेपत्ता पारी अपहरण गरेको आरोप छ । उक्त घटनामा बादशाह कुर्मीको संलग्नता रहेको भन्दै प्रहरी प्रशासनले छानबिन गरिरहेको छ । मञ्चकी अध्यक्ष खानले भनिन्, 'सरकारले घटनामा संलग्न भनेर शंका गरेको आरोपित व्यक्ति कसरी उम्मेदवार हुनसक्छ ? त्यसैले पनि मञ्चले बादशाह कुर्मीविरुद्ध उजुरी दिएको हो‚ जुन निर्वाचन अधिकृतको कार्यालयले दर्ता गरेको छ ।'

नेपालगञ्ज उपमहानगरपालिका परस्पुर-१७ की निर्मला कुर्मी हाल बेपत्ता छन् । जिल्ला प्रहरी प्रशासन बाँकेले निर्मलाको कालगतिले भारतमा मृत्यु भएको दाबी गर्दै आए पनि अनुसन्धानले आधिकारिक पुष्टि गर्न सकेको छैन । अधिकारकर्मी खानलगायतका स्थानीयले उक्त घटनाको छानबिन हुनपर्ने माग गर्दै आन्दोलन गरेपछि निर्मला बेपत्ता प्रकरण सार्वजनिक भएको हो । अधिकारकर्मीले काठमाडौंमा आएर आन्दोलन गरेपछि सरकाले छानबिन गर्न समिति गठन गरेको थियो ।

गृह मन्त्रालयले सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा २०७८ कात्तिक २ मा गठन गरेको छानबिन समितिले उक्त प्रकरणमा संलग्न कांग्रेस नेता बादशाह कुर्मीलगायत ८ जनाविरुद्ध अनुसन्धान गर्न सिफारिस गरेको थियो । हत्या र सम्पत्ति हिनामिनाको आरोपमा अनुसन्धानमा रहेका व्यक्तिलाई कानुनी कारबाही गर्नुको सट्टा सत्तारुढ दलले नै उम्मेदवार बनाएर प्रोत्साहन गरेको भन्दै अधिकारर्मीले उजुरी दिएका हुन् ।

निर्मला बेपत्ता भएपछि २०७७ चैत २० मा कांग्रेस नेता बादशाह कुर्मीसहित रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, कुँवर बबनसिंह ठकुरी, उर्मीला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्रसिंह गिरिसहित ८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी परेका थियो ।

२०६६ कार्तिकमा निर्मलाका श्रीमान् महालु कुर्मीको कालगतिले निधन भएको थियो । त्यपछि निर्मला दुई छोरा १८ वर्षका रामसार र १४ वर्षीय सुरेशका साथ बस्दै आएकी थिइन् । निर्मलाका दुवै छोराको २०६८ मा २ साताको अन्तरालमा शंकास्पद मृत्यु भएको थियो । त्यसपछि बेसहारा बनेकी निर्मलाको घर र साढे ४ बिघा जग्गा हडप्न गिरोह सक्रिय बनेको थियो । २०७५ पछि निर्मला सम्पर्कविहीन भएकी थिइन् ।

प्रहरीले भारतमा कालगतिले मृत्यु भएको भने पनि हालसम्म उनको मृत्यु भएको हो वा हत्या भन्ने पुष्टि हुन सकेको छैन । अहिले उनको साढे ४ बिघा जग्गा भूमाफियाको कब्जामा छ ।

सम्बन्धित समाचारः

प्रकाशित : मंसिर १, २०७९ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेशसभा उम्मेदवारलाई पनि घरदैलोको चटारो

प्रतिनिधिसभा सदस्यका उम्मेदवार र तिनका एजेन्डाको बढी चर्चा भइरहे पनि आगामी ५ वर्षका योजनासहित प्रदेशसभा उम्मेदवार पनि प्रचारमा
मधु शाही

काठमाडौँ — आगामी मंसिर ४ का लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभातर्फका उम्मेदवार र तिनका चुनावी एजेन्डाको जति चर्चा छ, प्रदेशसभातर्फका उम्मेदवारको छैन । तर, पनि उनीहरू मतदाता आकर्षित गर्न चुनावी घरदैलो (डोर टु डोर) कार्यक्रममा उत्तिकै सक्रिय छन् । ५ वर्षका लागि आफ्ना चुनावी एजेन्डाहरू प्रत्यक्ष भेटेर र पर्चा, पम्पलेट, सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट मतदातामाझ पुर्‍याइरहेका छन् । 

संघीय शासन व्यवस्थामा प्रतिनिधिसभाजस्तै अधिकार र जिम्मेवारीका हिसाबले प्रदेशसभा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । प्रदेशसभा सदस्य छान्न एकैसाथ हुन लागेको निर्वाचन, उम्मेदवारहरूका चुनावी मुद्दा तथा स्थानीय स्तरमै समस्या पहिचान गरी नीतिगत तथा व्यावहारिक रुपमा समाधान गर्ने विषय ओझेलमा पर्नु नहुने तर्क सरोकारवालाको छ । कतिपय उम्मेदवार संघीय सरकार र सदनको छायाबाट प्रदेशसभा र सरकारलाई मुक्त गर्नु पर्ने एजेन्डासहित निर्वाचनमा होमिएका छन् ।

बाग्मती प्रदेशसभा सदस्य बन्न काठमाडौं, ललितपुर र भक्तपुरका ३० क्षेत्रमा गरी कुल ३ सय ४० उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये १ सय २० जना स्वतन्त्र उम्मेदवार हुन् । उमेरका हिसाबले ४० वर्षसम्म ४१ जना छन् ।

काठमाडौ–१ (१) बाट उम्मेदवारी दिएका सम्राट सापकोटाको दिनचर्या अहिले जनताको घरदैलो पुग्दैमा बित्ने गरेको छ । पेशाले उनी निर्देशक तथा कलाकार हुन् । चलचित्रको पर्दादेखि टेलिभिजनको पर्दामा सापकोटालाई देखिरहेका जनताले अहिले प्रत्यक्ष भेट्न र आफ्ना समस्या सुनाउन पाएका छन् । उनले चलचत्रिमा पनि नेताको भूमिका निभाइसकेका छन् । ‘रिलमा नेताको रुपमा धेरै अभिनय गरें, अहिले रियलमै नेताको पहिचान बुझाउन राजनीति रोजेको हुँ,’ स्वतन्त्र उम्मेदवारी दिएका उनले भने ।

पटक–पटक व्यवस्था परिवर्तन भइरहे पनि नागरिकले सामान्य जीवनयापनका आवश्यकता गाँस, बास, कपास नै सहज रुपमा पाउन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । शिक्षा, स्वास्थ्यको अवस्था नाजुक भएको, देशको परनिर्भता बढ्दै गएको र गुन्द्रुकसमेत किनेर खानुपर्ने अवस्थाले आफूलाई पिरोल्ने गरेको उनले सुनाए । ‘कलाकार हुँ, त्यो भन्दा पहिला देशको नागरिक हुँ,’ उनले भने, ‘देश नै जोखिममा रहे कला कहाँ रहला र ? त्यसैले देश जोगाउन प्रदेशसभा पहिलो खुड्किलो हो ।’

प्रदेस सभा सदस्यकै अर्का स्वतन्त्र उम्मेदवार हुन्, अभियानकर्मी जगन्नाथ लामिछाने । उनी काठमाठौं–५ (२) का उम्मेदवार हुन् । ‘अकुपाई बालुवाटार’ आन्दोलनमा सक्रिय भएर चर्चा बटुलेका उनी सामूहिक हित राजनीतिबाटै हुने भएकाले त्यही बाटो रोजेको बताए । उनी आफ्ना प्रतिवद्धता समेटिएको पर्चासहितको खाम बोकेर मतदाताको ढोकाढोकामा पुगिरहेका छन् । ‘विचार र जनताको चासोका मुद्दा उठाएर विजय हासिल गर्नुपर्छ,’ उनले भने । खासगरी देशलाई आर्थिक भारदेखि जोगाउन मन्त्रीमण्डल संख्या कम गर्नुपर्ने उनको तर्क छ । ‘प्रदेशसभाका लागि धेरैमा ७ जनाको मात्रै मन्त्रीमण्डल भए पुग्छ । जनताको दैनिक आवश्यकता पूरा गर्ने नीति र योजना बनाउने, संघीयतालाई काम गर्न दिनुपर्छ,’ उनले आफ्ना एजेन्डा सुनाए । आफू राजनीतिमा आउनुको पछाडि पुराना दल र नेताको अवगुण कारण रहेको उनको भनाइ छ । ‘राम्रा नेताहरू पुराना दलहरूले दिन सकेनन्,’ उनले भने, ‘त्यसैले आफैं परीक्षामा होमिएको हुँ ।’

स्वतन्त्रसँगै विभिन्न दलका उम्मेदवारहरू पनि प्रदेशसभाको चुनावी दौडमा छन् । स्वतन्त्रले आफ्नो एकल एजेन्डा प्रचार गर्दै आएका छन् भने दलका उम्मेदवारहरू समानुपातिक र प्रत्यक्ष दुवैतर्फ भोट मागिरहेका छन् । काठमाडौं–७ (१) मा एमालेबाट उम्मेदवार रहेका जीवन मानन्धरले आफू जित हासिल गर्नेमा निर्धक्क रहेको सुनाए । यो क्षेत्रमा काठमाडौं महानगरपालिका–१६, १७, १८ र २३ पर्छ । जसमध्ये उनी बस्ने वडा–१६ सबैभन्दा बढी मतदाता भएको वडा हो । कुल ४१ हजार मतदातामध्ये यो वडाको मतदाता संख्या मात्रै २० हजार ७ सय छ । ‘यसअघि ५ वर्ष वडा सदस्यका रूपमा काम गरें । जसले मतदातासँग गहिरो परिचय बनाउन सघायो । यसपल्टको निर्वाचनमा यही आधार नै मेरो जित्ने जग हो,’ उनले भने ।

पछिल्लो समय पुरातन रूपमै पार्टी हेरेर मत दिने निर्वाचनको शैली फेरिएकोमा भने उनी जानकार छन् । ‘अचेलका मतदाताले पार्टी हेर्न छोडेका छन्,’ उनले भने, ‘एजेन्डादेखि उम्मेदवारका व्यवहारसमेत मूल्यांकन गर्छन्, त्यसैले म व्यक्तिगत आचरणमा सचेत छु ।’ प्रदेशको सांस्कृतिक सम्पदाको जर्गेना, युवा रोजगारीको व्यवस्था, शिक्षा र स्वास्थ्य सेवा प्रभावकारी बनाउने उनका मुख्य चुनावी मुद्दा हुन् ।

त्यस्तै, काठमाडौं–१ (२) मा कांग्रेसका उम्मेदवार छन्, सुरजचन्द्र लामिछाने । प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाशमान सिंहसँगै उनी घरदैलो गरिरहेका छन् । ठूला नेतासँगै मत माग्न जाँदा मतदाताको ध्यान केन्द्रित गराउन सजिलो हुने उनको अनुभव छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई लिएर प्रतिबद्ध रहेको बताउने उनका भौतिक पूर्वाधारमा दिगो विकास, सामाजिक विकास, युवा स्वावलम्बी कार्यक्रम, भाषा, कला र संस्कृतिको उत्दान, फोहोरमैला व्यवस्थापन तथा सरसफाइ, समन्वय, सहकार्य र साझेदारीलगायत ७ बुँदे योजना छन् । प्रदेशका मुख्य सहरमा सूचना प्रविधिको पहुँच बढाउन सार्वजनिक स्थलहरूमा निःशुल्क वाईफाई जोनको व्यवस्था गर्ने कार्यक्रम पनि उनको घोषणापत्रमा छ ।

उपत्यकाकै अर्को क्षेत्र काठमाडौं–८ (२) मा कांग्रेसका उम्मेदवार अमिन पाण्डे नयाँ अनुहार हुन् । उनले ५ दलीय गठबन्धनको साथ र युवा उम्मेदवार भएकाले जित्ने दाबी गरे । ‘मतदाताले काम गर्न सक्ने युवा उम्मेदवार खोजेका छन्,’ उनले भने, ‘समाजसेवी पनि भएको हुनाले सजिलो लागिरहेको छ ।’

ललितपुर–३ (१) बाट रघुनाथ महर्जन पहिलोपटक एमालेबाट उम्मेदवार भएका छन् । उनले पार्टीको घोषणापत्रमा स्थानीय विकासका मुद्दा जोडेर मैदानमा उत्रिएको बताए । ‘सबैले पत्याउँछन् भन्ने लागेको छ । यही क्षेत्रमा लामो सायदेखि राजनीतिक यात्रामा छु,’ उनले भने । भक्तपुर–२ (१) मा कांग्रेसबाट उम्मेदवार बनेका विष्णुराज कार्कीले प्रदेशसभा सदस्यका उम्मेदवारले चुनावी माहोल बनाएको जिकिर गरे । ‘दिगो विकासका लागि पूरा ५ वर्ष प्रदेश सरकार टिकाउनुपर्छ,’ उनले भने, ‘राजनीतिक आवरणमा विकास–निर्माणमा देखिएका विकृति निर्मुल गर्ने, सुशासन स्थापना गर्ने मेरा मुख्य चुनावी मुद्दा छन् ।’

विवेकशील साझा पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका रामहरि अधिकारी अहिले दलीय राजीतिमा सक्रिय छैनन् । तर, राजनीतिको लत भने छुटेको छैन । उनले लोरो चुनाव चिन्ह लिएर काठमाडौं–५ (१) बाट उम्मेदवारी दिएका छन् । उनका लागि प्रदेशसभाको निर्वाचन अनुभव दोस्रो पटक हो ।

२०७४ को निर्वाचनमा विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका उनले ४ हजार ४२ सय मत प्राप्त गरेका थिए । तर अन्तरिक विवादले पार्टीका नेता छिन्नभिन्न भएपछि उनले अहिले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको बताउछन् । घरदैलो गर्ने क्रममा मतदाताले युवा उम्मेदवारका कुरा चासोका साथ सुन्ने गरेको र पार्टीप्रतिको वितृष्णा पोख्ने गरेको उनले सुनाए । ‘यसले जनता परम्परागत पार्टीप्रति निराश भएको संकेत गर्छ । यही भरोसामा चुनाव पनि जित्ने आश छ,’ उनले भने ।

प्रकाशित : कार्तिक ३०, २०७९ १०:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×